धूर्तले बुनेको जाल एक दिन तोडिने छ
- आश्विन २८, २०८१
युवा विचारले हुन्छ, उमेरले हुँदैन । यदि कुनै मानिस उमेर या शरीरले बुढो भए तापनि सोच, विचार नयाँ काममा निरन्तर क्रियाशील छ भने उनी युवा नै हुन्छ । उनीहरूले समाज, संस्कृति, देशको उत्थानको लागि सधैँ विचार र दिमागलाई क्रियाशील बनाइरहेका हुन्छन् । उनीहरूले आफ्नो विचार दिएर, बोलेर, लेखेर, सल्लाह सुझाव दिएर सहयोग गरिरहेका हुन्छन् । हाम्रो अगाडि वरिष्ठ राजनीतिज्ञ एवम् नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित), वरिष्ठ पत्रकार भैरव रिसाल, संस्कृतिका गुरु तेजेश्वरबाबु ग्वङ्गजस्ता युवा विचारका व्यक्तित्वहरू हुनुहुन्छ । संस्कृति वाङ्मयका शताब्दीपुरुष सत्यमोहन जोशी र राष्ट्रकवि माधवप्रसाद घिमिरेहरू पनि जीवनको अन्तिम समयसम्म युवा नै हुनुहुन्थ्यो । उहाँहरूले देश विदेशको राजनीति, संस्कृति, इतिहास आदिबारे निरन्तर लेखेर, बोलेर, प्रशिक्षण दिएर देशको निर्माणमा क्रियाशील युवा विद्यार्थीहरूलाई समय–समयमा विचार, सल्लाह, सुझाव, प्रेरणा दिँदै किताब छापेर, लेखहरू लेखेर युवाको भूमिका निभाइरहनुभएको छ । त्यस अर्थमा उहाँहरू युवाहरूका प्रेरक हुनुहुन्छ ।
तर, युवा भए पनि समाज, संस्कृति, देशसँग कुनै सरोकार राख्दैन, मतलब गर्दैन, सधैँ आफ्नो र आफ्ना परिवार या नातागोताको मात्र स्वार्थ हेर्छन् भन्ने देश बन्दैन । जुलुस, सभा, सम्मेलन गरेर आफूलाई के हुन्छ, बाटो, मन्दिर, पाटी, धारा, पोखरी बनाएर के हुन्छ ?
निःस्वार्थ समाज, संस्कृति, देश निर्माणमा लागेका अग्रजको खेदो खन्ने काम गर्छ तर आफू एउटा सिन्को भाँच्दैन भने त्यस्तो मान्छे उमेरले युवा भए पनि विचार र सोचले बुढो नै हुन्छ । त्यस्तो मान्छेमा रिस, दाहा, हीन भावनाबाहेक केही हुँदैन । तिनीहरूको जीवन बाँचेर पनि मरेतुल्य हुन्छ । सके त्यस्तो काम गरिरहेका अग्रजहरूको काममा भौतिक, आर्थिकलगायतका अन्य सहयोग दिएर सघाउनु नसके बोलीवचनले भए पनि सम्मान गरेर उत्प्रेरणा, प्रशंसा या स्यावासी दिनुमा सबैको कल्याण हुन्छ । बिस्तारै उनीहरूमा पनि त्यसै युवा विचार, सोच, जोश, जाँगरको जन्म भएर आउने छ ।
प्रसङ्ग भक्तपुर नगरपालिकाको सूर्यमढीस्थित ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको वाकुपति नारायण परिसरको छ । समाज अनि देशकै लागि अनुकरणीय र उल्लेखनीय काम वाकुपति नारायण परिसरमा भएको छ । वाकुपति नारायण मन्दिरको छानामा सुनको जलप लगाउन उपभोक्ता समितिमा बसेर काम गर्ने अग्रजहरू अधिकांश उमेरले ज्येष्ठ नागरिक हुनुहुन्छ । तर, विचार र कामले उहाँहरू युवा हुनुहुन्छ । उहाँहरू विभिन्न क्षेत्रमा पुगेर सहयोगको लागि निरन्तर खटिनुभयो । उहाँहरूले करिब सवा करोड सहयोग उठाएर वाकुपति नारायणको छानामा सुनको जलप लगाउन काम सफल हुनुभयो । त्यस्तै परिसरका अन्य कलात्मक पाटी, ढुङ्गेधारा र अन्य मन्दिरुहरूको पुनः निर्माण सम्पन्न भएको छ । त्यसमा भक्तपुर नगरपालिकाको पनि पूर्ण सहयोग रहेको छ । यस अर्थमा उहाँहरू सबै सम्मानित र धन्यवादका पात्र हुनुहुन्छ ।
भक्तपुर नगरपालिका र भक्तपुरका जनताको देश निर्माण एवम् सांस्कृतिक सम्पदा निर्माण र संरक्षण, सरसफाइ, शिक्षा तथा स्वास्ध्यमा अतुलनीय योगदान छ । यहाँका हरेक विकास निर्माण, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको निर्माण र पुनः निर्माण, संरक्षणमा सम्बन्धित ठाउँकै जनताको सक्रिय साथ र सहयोगमा उपभोक्ता समितिमार्फत काम हुँदै आएको छ । कुनै ठाउँको विकास निर्माण, सांस्कृतिक सम्पदाको पुनः निर्माण र संरक्षण भनेको स्थानीय जनताले नै मिलेर गर्ने हो । अरू ठाउँ वा विदेशी आएर गरिदियो भने त्यहाँका जनताको त्यसमा अपनत्व, गौरव, माया हुँदैन । भक्तपुरको सम्पदा विश्व सम्पदा सूचीमा सूचिकृत छ । पाँचतले मन्दिर, भैरव मन्दिर, नृत्य वत्सला मन्दिर, पचपन्न झ्याले दरबार, तलेजु मन्दिर आदि स्थानीय जनताकै पहलमा भएका हुन् । यहाँको अभ्यासको अनुकरण देशका अरू नगरपालिका, गाउँपालिका र जनताले पनि बिस्तारै गर्दैछन् ।
विगतमा देशको विकास निर्माणको नीति निर्माणबारे छलफल गर्न, राय सुझाव दिन पूर्व भौतिक निर्माण संस्कृतिमन्त्री रामकुमारी झाँक्रीले देशका प्रमुख नगरपालिकाका जनप्रतिनिधिहरू र विज्ञहरूलाई बोलाइएको बैठकमा सबै विकास निर्माणको काम ठेक्कामा दिनुपर्ने कुरामा जोड दिइन् । बैठकमा सहभागी भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले विकास निर्माण, सांस्कृतिक सम्पदा पुनः निर्माण र संरक्षणका काम ठेक्कामा नदिई उपभोक्ता समितिमार्फत गराउनुपर्नेमा जोड दिए । विकास निर्माण गर्ने हो भने सम्बन्धित ठाउँको नगरपालिका र गाउँपालिकाको अगुवाइमा स्थानीय जनता सम्मिलित उपभोक्ता समिति बनाएर काम गर्दा राम्रो हुनेछ । भक्तपुरमा यही अनुभव र अभ्यासबाट काम भइरहेको छ ।
मन्त्री झाँक्रीले भनेजस्तै अन्यत्र विकास निर्माणमा लुट हुन्छ । विकासको बजेटमा रम्न पाउने भएकाले समितिमा बस्न कुकुर झगडा गर्छन् । समितिमा बसेका मान्छेहरूले तलब, ज्याला, भत्ता आादि सुविधा लुट्छन् । त्यस्तै निर्माण सामाग्रीहरू, कमिसन लुट्छन् र भ्रष्टाचार गर्छन् । अनि काम राम्रो बन्दैन र केही समय वा महिनामै काम बिग्रिन थाल्छ । नामले राष्ट्रसेवक भनिएका अधिकांश कर्मचारीहरूले पनि लुट्छन् भन्ने कुरा विगतमा प्रदेश सभाका मुख्य मन्त्रीहरूबाट पनि सुनिएकै कुरा हो ।
एनजीओ, आइएनजीओ र विदेशीको सहयोगले देश सिधिएको इतिहास छ । जनतालाई जातजाति, भाषाभाषी, धर्म, क्षेत्र, लिङ्ग, वर्ण, प्रजातन्त्र, मानव अधिकारका नाममा भिडाएर देश कङ्गाल बनेको छ । देशको प्राकृतिक र सांस्कृतिक सम्पदा लुटेको विरोधमा सङ्घर्ष गरेका देशभक्त नेताहरूको हत्या भएको इतिहास छ । भक्तपुर नगरपालिकाले देशको स्वाभिमान र स्वाधीनतामा आँच आउने विदेशीको सहयोगलाई अस्वीकार गर्दै आएको जनतालाई थाहा छ ।
विगतमा सांस्कृतिक सम्पदा संरक्षणको नाममा देशको स्वाभिमानमा आँच आउने, विदेशी हस्तक्षेप गर्ने खालको करोडौँ र अरबौँ विदेशी सहयोगलाई भक्तपुर नगरपालिकाले ठाडै अस्वीकार गरेको जगजाहेर छ । त्यसैको परिणाम आज एकातिर भक्तपुरका सांस्कृतिक सम्पदाहरू भक्तपुरका जनताले आफ्नै पौरख, रगत पसिनाले गौरवका साथ पुनः निर्माण, निर्माण गरेका छन् भने अर्काेतिर देशघाती सर्तहरूलाई स्वीकारेर सम्पदाहरूमा विदेशीको झण्डा, चिन्हो राखेर, आदेश शिरोपर गरेर सम्पदा पुनः निर्माण गर्न परेको छैन । यसको अर्थ विदेशी सहयोग लिछौँ, नलिन भनेको होइन । निःस्वार्थ, सेवा गर्ने हेतुले गरिने सहयोग ठिकै हो । देशको सार्वभौमिकता, स्वाधीनतामाथि आँच हुने सर्तहरू भएको सहयोगलाई भने अस्वीकार गर्नैपर्छ । आफ्नो देशको बलबुट्टाले भ्याएको श्रम, सीप र बुद्धिको प्रयोग गरेर आफ्नै खुट्टामा उभेर देशको निर्माण गर्न आवश्यक छ । जुन हिजो हाम्रा पुर्खाहरूले देशलाई बनाए । जसमा हामी नेपालीले छात्तीमा हात राखेर संसारको अगाडि गर्व गर्दैछौँ । त्यस्तै सुन्दर सांस्कृतिक सम्पदाले भरिएको सुन्दर देशले, प्राकृतिक स्रोत र साधनले धनी देशले देशको विकासको नाममा विदेशीसँग सहयोगका नाममा हात फैलाइरहँदा त्यस्तो मगन्ते सोच, बुद्धि देख्दा चिनियाँ, कूटनीतिज्ञले ‘सुनको कचौरा थपेर मागी हिँड्ने देश’ त्यसै मन नपरी, नपरी भनेका होइनन् होला । त्यसबाट नेपाली जनताले शिक्षा लिएर देशको निर्माणमा लाग्नु आजको आवश्यकता हो तबमात्र हामी नेपाली नेता र जनता विचार तथा कामले युवा हुने छौँ ।
Leave a Reply