भर्खरै :

जर्ज बर्नार्ड शा–सोभियत जनताका मित्र

आइरिस विख्यात साहित्यकार बर्नार्ड शाको यो वर्षको जुलाई २६ मा १६० औं जन्म दिवस उनलाई मन पराउनेहरुले घुमधामसँग मनाए । शाको जन्म सन् १८५६ मा भएको थियो र निधन सन् १९५० मा भएको थियो ।
बर्नार्ड शाले आफ्नो जीवनकालमा ६३ वटा नाटक, थुप्रै उपन्यास र हजारौं निबन्ध र समालोचनाहरु लेखे । उनले सन् १९२५ मा नोबेल पुरस्कार पाएका थिए । उनलाई शेक्सपियरपछि अङ्गे्रजी साहित्यका सबभन्दा विख्यात नाटककार मानिन्छन् ।
शा सोभियत समाजवादका प्रशंसक र सोभियत जनताका मित्र थिए ।
सन् १९३१ मा बर्नार्ड शाले सोभियत संघको भ्रमण गरेका थिए । सोभियत समाजवादप्रति उनी पटक पटक सद्भाव व्यक्त गर्ने गर्थे । सन् १९१४ मा उनले कम्युनिष्टहरुको अखबार प्राभ्दाको सम्पादकीय कार्यालयमा एउटा पत्र लेखेर रुसी श्रमिक पार्टीको वार्षिकोत्सवको शुभकामना व्यक्त गरेका थिए ।
बर्नार्ड शा बेलायतको फेबियन समाजको सदस्य थिए । फेबियन समाज बेलायतको एउटा समाजवादी संगठन थियो । सन् १९१७ मा रुसमा अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भइसकेपछि बर्नार्ड शा रुसी क्रान्तिप्रति ऐक्यबद्धता अभियानका सदस्य बनेका थिए । त्यो अभियानको सदस्यको नाताले उनले रुसी गृहयुद्धमा प्रतिक्रियावादी सेनाको पक्षमा लागेर बेलायतले गरेको हस्तक्षेपको विरोध गरेका थिए । त्यत्तिबेला उनी लेनिनका समर्थक बनेका थिए र लेनिनलाई ‘युरोपका एक मात्र साँच्चैको चित्कार्षक राजनेता’ को रुपमा व्याख्या गरेका थिए ।
चेखबका सच्चा प्रशंसक
तर रुसमाथि बर्नार्ड शाको चासो राजनीतिमा मात्र सीमित थिएन । उनी रुसका केही महान लेखकहरुबाट आकर्षित थिए । आफ्ना नाटकहरुमध्ये उनलाई सबभन्दा बढी मनपर्ने नाटक हार्टबे्रक हाउस (मन तोडिएको घर) बताएका थिए । उनले त्यो नाटक सन् १९१९ मा लेखेका थिए । त्यो नाटक रुसी साहित्यकार एन्टोन चेखबबाट प्रभावित थियो । त्यो नाटकको टिप्पणीमा उनले लेखेका थिए,‘अङ्ग्रेजी विषयबस्तुको रुसी तरिकाको कल्पना ।’
यसप्रकारको सद्भाव भने दोहोरो थियो । रुसका विख्यात साहित्यकार मेक्सिम गोर्कीले पनि शालाई ‘युरोपका सबभन्दा बहादुर चिन्तक’ भनी लेखेका थिए ।
तर रुसका सबै साहित्यकारहरुले शाको प्रशंसा नै भने गरेका थिएनन् । रुसी साहित्यकार लिओ तोल्सतायले शाका नाटकहरुमा अति सतहीपना र कटाक्ष भएको भन्दै आलोचना गरेका थिए । ‘ईश्वर, पाप र असल आदि विषयका आन्तर्यमा कुराकानी गर्नु ज्यादा महत्पूर्ण छ ।’, शालाई सन् १९१० मा लेखेको पत्रमा तोल्सतायले लेखेका छन् ।
स्तालीनबारे
सन् १९३१ मा शा सोभियत संघको नौ दिने भ्रमणमा गएका थिए । मस्कोमा उनको जन्म दिन पनि मनाइएको थियो । विभिन्न स्रोतले जनाएअनुसार उनी सोभियत संघ नहेरी मन चाहँदैनथे ।
शालाई सोभियत सरकारले सम्मान गरेको थियो र निकै हार्दिक स्वागत गरेको थियो । भ्रमणको शुरुको दिन उनी लेनिनको स्मारकमा पुगेका थिए । त्यहाँ उनी निकै प्रभावित भएका थिए र भनेका थिए,‘विशुद्ध बौद्धिक तरिकाको । यो हो साँचो भव्यता । अबदेखि नेपोलियनको समाधिको भन्दा अगाडि यसलाई पहिलो स्थानमा गनना गरिनेछ ।’
सोभियत संघमा शाले राजधानी र विभिन्न प्रान्तहरुको भ्रमण गरे । तर नौ दिने भ्रमणको क्रममा सबभन्दा महत्वपूर्ण कार्यक्रम सोभियत नेता स्तालिनसँगको भेटघाट थियो । उनले स्तालिनसँग तीन घण्टा कुराकानी गरेका थिए । उनीसँगै एस्टोर दम्पत्ती पनि थिए । बर्नार्ड शाले आफूलाई एक जना पुराना मित्र जस्तै गरी स्तालिन गरेको स्वागतको खुलेर प्रशंसा गरेका थिए ।
‘मैले एक जना रुसी मजदुरलाई भेट्ने अपेक्षा गरेको थिएँ तर मैले एक जना जर्जियाली भदालमी भेटें’, स्तालिनसँगको भेटघाटपश्चात बर्नार्ड शाले भने । सोभियत संघको भ्रमणबाट उनी यति धेरै प्रभावित भएका थिए, आफ्नो देश फर्केर उनले भनेका थिए,‘हिजो मैले आशाको भूमि छोडेर बिस्मातको भूमि मेरो पश्चिमा देशमा अवतरण गरें ।’
सोभियत संघको भ्रमणबाट बर्नार्ड शामा गहिरो प्रभाव परेको थियो । फर्कने क्रममा उनीसँग पहिलो अन्तर्वार्ता बर्लिनमा लिइएको थियो । त्यो अन्तर्वार्तामा उनले स्तालिनलाई ‘विशाल व्यक्तित्व’ र अरु नेताहरुलाई ‘होचापुड्का’ भनेका थिए । केही दिनपश्चात लण्डनमा उनले आफ्नो सोभियत संघ भ्रमणको बारेमा निकै लामो सम्भाषण दिएका थिए । सोभियत संघको भोकमरी भएको हल्लालाई चिर्दै उनले आफ्नो जीवनकै सबभन्दा चित्तबुझ्दो खाना सोभियत संघमा खाएको बताएका थिए ।
आज पनि बर्नार्ड शालाई दोस्रो विश्वयुद्धअघि स्तालिन र नाजी नेता एडोल्फ हिटलरको बारेमा भनेका सकारात्मक शब्दहरुलाई लिएर आलोचना हुने गरेको छ ।
अन्तिम समयसम्म पनि रुसका मित्र
बर्नार्ड शाको भ्रमणप्रति सोभियत रुसको भनाई के थियो त ? शाले सोभियत संघको भ्रमणलाई लिएर अधिकसेअधिक सकारात्मक प्रभाव व्यक्त गरे । सोभियत सरकारको समर्थकको रुपमा शालाई सकारात्मक रुपमा स्वागत गरियो । धेरै वर्षसम्म सोभियत अखबारहरुले शाको लामो भ्रमणको बारेमा लेख रचना प्रकाशित गरिरह्यो । उनको निधनपश्चात पनि त्यस्ता लेख रचना आउने क्रम रोकिएन ।
सन् १९५६ मा रुसको सबभन्दा पुरानो र सम्मानित अखबार ओगोनोइकले एउटा लेख छापेको थियो । त्यसको शीर्षक थियोे–बर्नार्ड शा, सोभियत राष्ट्रका मित्र ।
त्यो लेखमा लेखिएको थियो,‘मस्कोबाट फर्केर बर्नार्ड शाले भनेका थिए–मेरा अन्तिम दिनसम्म पनि म सोभियत संघको मित्र रहनेछु ।’ साँच्चै उनी जीवनको अन्तिम समयसम्म पनि सोभियत जनताका मित्र रहे ।
स्रोतः रसिया बियोन्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *