अन्तर्राष्ट्रिय विद्यार्थीहरूमाथि अस्ट्रेलियाको सीमा भनेको ‘गाई मारी गधा पोस्ने’ कार्य हो
- आश्विन १८, २०८१
(नेपालमा अहिले धेरै प्रकारका धर्म प्रचारकहरूले अनेक किसिमले फरकफरक नामका धर्म प्रचार गर्दै छन् । ती धर्महरूबारे सानो जानकारीको भरमा आँखा चिम्लेर समर्थन र विरोध गर्ने अन्धविश्वास नहोस् भन्ने उद्देश्यले केही धर्महरूको सरल भाषामा सङ्क्षिप्त परिचय दिने प्रयास गरिएको छ । विश्वमोहन जोशी त्रिविका अवकास प्राप्त इतिहासका प्राध्यापक हुनुहुन्छ । पाठक साथीहरू यसबारे आ–आफ्नो टीका–टिप्पणी गर्न स्वतन्त्र छन् – सं.)
ईसापूर्व छैटौँ शताब्दी भारत वर्षमा वैदिक सनातन धर्मको नाममा ब्राह्मणवादी धर्मको व्यापक प्रचारप्रसार भइरहेको थियो । समाजमा वर्ण व्यवस्थाको कारणले गर्दा जातपात र उचनीच भेदभाव व्याप्त थियो । ठुलाठुला अनुष्ठान, यज्ञ, होम, ब्राह्मणभोज गर्ने, आडम्बरी देखाउने, अन्धविश्वासलाई धर्मकै एक पथको रूपमा स्वीकार्ने चलन व्याप्त थियो । यसले गर्दा एक सामान्य हिन्दूले यस्ता यज्ञ र कर्मकाण्डहरू सम्पन्न गर्न मुस्किल हुन थाल्यो । फलस्वरूप यस्ता अनावश्यक भड्किलो, आडम्बर र अन्धविश्वासलाई पन्छाई दुईवटा सुधारवादी धर्महरू बौद्ध धर्म र जैन धर्म देखापरे ।
हाल नेपालको लुम्बिनी प्रदेशको तराई क्षेत्रमा पर्ने तिलौराकोट त्यसबेलाको कपिलवस्तु राज्य थियो । त्यहाँका शाक्यवंशीय राजा शुद्धोधन र उनकी रानी महामाया देवीबाट ई.पू. ५६३ वैशाख पूणिमा शुक्रबारको दिन जन्मेका सिद्धार्थ गौतम बुद्धद्वारा प्रतिपादित धर्मलाई नै बौद्ध धर्म मानिन्छ । जीवनको सबै अर्थ सिद्ध गर्ने भएकोले यिनको नाम सिद्धार्थ राखिएको थियो । बालक सिद्धार्थलाई तत्कालीन राजकुमारहरूलाई घोडचढी, शास्त्र सञ्चालन र राज्य शास्त्र आदि विषयको शिक्षा दिइयो । उनलाई बिलासी जीवन बिताउन जतिसुकै प्रयास गरिए तापनि उनी एकान्तमा सोचमग्न भइरहन्थे । उनको विवाह १६ वर्षको उमेरमा ई.पू. ५४७ मा यशोधा रानीकी सुन्दर कन्यासित भए तापनि उनको एकान्तप्रिय स्वभावमा खासै परिर्वतन आएन । २८ वर्षको उमेरमा छोरा राहुल जन्मे ।
एकदिन साँझपख एक वृद्ध, एक रोगी, एक मुर्दा र एक सन्न्यासी देखेपछि सिद्धार्थको मनमा वैराज्ञ पैदा भयो । त्यसपछि उनी परिवार, सुखसयल, दरबार सबै छाडी २९ वर्षको उमेरमा सोमबारको दिन कसैलाई केही नभनी निस्के । जीवन दुःखमय भएको हुँदा दुःखबाट कसरी मुक्ति पाउन सकिन्छ भन्ने प्रश्नको उत्तरको खोजीमा उनी ज्ञानीपुरुषहरूको चेला भए । उनले कष्टका साथ तपस्या गरे । ६ वर्ष बित्यो । तर उनको जिज्ञासाको उत्तर प्राप्त भएन । ज्ञान प्राप्त भएन । शरीरलाई कस्ट दिनाले ज्ञान प्राप्त हुँदैन भनी उनले बुझे । त्यसैले धेरै सुख पनि हैन, धेरै दुःख पनि हैन उनले बिचको मध्यम बाटो अपनाए । जसलाई मध्यम मार्ग भनियो । एक पिपलको रुखमुनि उनी ध्यान मग्न भए । त्यही उनलाई ज्ञान प्राप्त भयो । ई.पू. ५२८ वैशाख पूर्णिमाको बुधबारको त्यो बेला उनको उमेर ३५ वर्षको थियो । उनी बुद्ध भए । भारतको उत्तरप्रदेशको वनारसमा पर्ने सारनाथमा सर्वप्रथम सिद्धार्थ गौतम बुद्धले आफ्नो पहिलेका पाँचजना साथीहरूलाई शनिबारको दिन उपदेश दिए । यसलाई धर्मचक्र प्रवर्तन भनिन्छ । त्यसपछि उनले आफ्नो जीवनको ४५ वर्षसम्म मगध, बनारस, राजगृह (विहारको राजगीर), नालन्दा (विहार), गया, पटना, चम्पा, मथुरा, वैशाली, लुम्बिनी आदि स्थानहरूमा आफ्ना उपदेशहरू दिँदै गए । यही प्रचारको क्रममा ८० वर्षको उमेरमा सिद्धार्थ गौतम बुद्धले मल्ल राज्यको राजधानी कुशीनारा वा कुशीनगर (उत्तर प्रदेश) मा ई.पू. ४८३ वैशाख पूर्णिमामा मङ्गलबारको दिन महापरिनिर्वाण प्राप्त गरे । अर्थात् उनको देहावसान भयो । उनको जन्म, ज्ञान प्राप्त र महापरिनिर्वाण प्राप्त गरेको दिन वैशाख पूर्णिमा नै भएकोले बौद्ध धर्मावलम्बीहरूको लागि यो दिन निकै महत्वपूर्ण छ । त्यसैले यस दिनलाई ठुलो उत्सवको रूपमा मनाइन्छ । उनी जन्मेको लुम्बिनी, ज्ञान प्राप्त गरेको बौद्धमा प्रथम पटक उपदेश दिएको सारनाथ र महापरिनिर्वाण प्राप्त गरेको कुशीनगरलाई पवित्र बौद्ध धर्मको तीर्थस्थलको रूपमा लिइन्छ । बौद्ध धर्मावलम्बी एवं इतिहासकारको लागि यो अति महत्वपूर्ण मानियो । त्रिपिटक बौद्ध धर्मको महान् धर्मग्रन्थ हो । नेपाली भाषामा लेखिएको यो ग्रन्थमा सिद्धार्थका उपदेशहरू सङ्ग्रहित गरिएको छ । विनय पिटक (बौद्ध सङ्घको आचार विचार) सुतपिटक (बुद्धका प्रवचनहरू) र अभिधम्म पिटक (आध्यात्मिक विचार) को सङ्ग्रहित रूप त्रिपिटक हो । यस ग्रन्थको मूल प्रति अहिले श्रीलङ्कमा सुरक्षित छ । सिद्धार्थ गौतम बुद्धको मृत्युपछि उनकै शिष्य आनन्दको प्रयासबाट सङ्ग्रह गरिएको भनिन्छ । कुनै विद्वानहरू यो त्रिपिटक ई.पू. पहिलो शताब्दीतिर लेखिएको मान्दछन् । त्रिपिटक ग्रन्थमा उल्लेख भएअनुसार गौतम बुद्धका उपदेशहरू उनका चार आर्य सत्यबाट सुरु भएको भनिन्छ । विचार आर्य सत्यहरू निम्न अनुसारका छन् –
१) जीवन दुःखै दुःखले भरिएको छ ।
२) दुःखका कारणहरू छन् ।
३) दुःखका कारणहरू निवारण गर्न सकिन्छ ।
४) दुःख निवारण गर्न आर्य अस्टाङ्गमार्ग अपनाउनु पर्दछ ।
तृष्णा, लालसा, मोह आदि दुःखका कारणहरू हटाई निर्वाण प्राप्त गर्न गौतम बुद्धले निम्न लिखित आर्य अस्टाङ्गमार्ग अपनाउने उपदेश दिएका छन् –
१) सम्यक दृष्टि – चार आर्य सत्य मनन गर्नु ।
२) सम्यक सङ्कल्प – स्वार्थ त्यागी प्रेम र शान्तिपूर्ण रहने सङ्कल्प गर्नु ।
३) सम्यक बचन – असत्य नबोल्नु, निन्दा नगर्नु, मधुत्वबचन बोल्नु ।
४) सम्यक कर्म – असल कर्म गर्नु, परोपकार गर्नु, हिंसा नगर्नु ।
५) सम्यक आजीविका – इमानदारीपूर्वक कमाइ गर्नु ।
६) सम्यक व्यायाम – असल कार्य गर्नु, मनलाई बसमा राख्नु
७) सम्यक स्मृति – सांसारिक विषयवस्तुमा आसक्त रहँदा आउने कुपरिणामप्रति सचेत रहनु
८) सम्यक समाधि – चित्त एकाग्रगरी समाधिमा बस्नु ।
व्यक्तिगत जीवनमा सदाचार र समाजमा शान्ति सद्भाव कायम गर्न गौतम बुद्धले गृहस्थीहरूको निमित पञ्चशील र भिक्षुहरूको निमित्त अष्टशील सिद्धान्त प्रतिपादन गरेका छन् । तिनीहरू निम्नअनुसार छन् –
१) हिंसा नगर्नु
२) चोरी नगर्नु
३) झूटो नबोल्नु
४) नशालु पदार्थ सेवन नगर्नु
५) परस्त्री वा परपुरुषसँग समागम नगर्नु ।
अष्टशीलका सिद्धान्तहरू
माथि उल्लेखित पञ्चशीलका सिद्धान्तहरूसँग अरु तीनवटा सिद्धान्तहरू थपी आठ वटा शील बनाइएको छ । तीनवटा सिद्धान्त वा शीलहरू निम्न छन् –
६) धर्ममा श्रध्दा राख्नु
७) मध्यान्हपछि भोजन नगर्नु
८) सङ्गीतमा नरम्ने तथा उच्च आसन त्याग्नु ।
सिद्धार्थ गौतम बुद्धले सदाचार, सदभावमा विशेष जोड दिदै कर्मकाण्ड, ब्राह्मणवाद, ईश्वर स्वर्ग, नर्क, भाग्य, आत्माको अवधारणाप्रति असहमति जनाएका थिए । मानवमात्रको कल्याण, शान्ति, दया, करुणा, अहिंसा, शान्ति भावमा उनी विश्वास गर्दथे । गौतम बुद्धको मृत्युपश्चात् बौद्धधर्ममा पनि विवादहरू देखिए । ई.पू. तेस्रो शताब्दीतिर मगध सम्राट अशोकको समयमा यस धर्ममा दुईवटा विचारहरू देखापरे । गौतम बुद्धका उपदेशहरूलाई संरक्षण गर्दै जस्ताको तस्तै अवलम्बन गर्नुपर्छ भन्नेहरूलाई परम्परावादी थेरवादी हीनयान र ती उपदेशहरूलाई परिस्थितिअनुरूप आवश्यकीय सुधार गर्नुपर्दछ भन्नेहरूलाई सुधारवादी महायानी सम्प्रदाय भनियो । पछि महायान सम्प्रदायमा पनि साधना तन्त्रमन्त्र, जादुटुना, सिद्धीजस्ता विश्वासले प्रभाव पारेपछि महायानी सम्प्रदायमा अर्को सम्प्रदाय देखाप¥यो जसलाई बज्रयानी सम्प्रदाय भनियो । हीनयानीहरू विहारमा बसी भिक्षु जीवन बिताउँदै छन् भने महायानी र बज्रयानीहरू गृहस्थी जीवन बिताउँछन् ।
Leave a Reply