सामाजिक सञ्जालमा नेमकिपाविरूद्ध प्रकाशित झूटा समाचारको खण्डन
- आश्विन २८, २०८१
(नेपालमा अहिले धेरै प्रकारका धर्म प्रचारकहरूले अनेक किसिमले फरकफरक नामका धर्म प्रचार गर्दै छन् । ती धर्महरूबारे सानो जानकारीको भरमा आँखा चिम्लेर समर्थन र विरोध गर्ने अन्धविश्वास नहोस् भन्ने उद्देश्यले केही धर्महरूको सरल भाषामा सङ्क्षिप्त परिचय दिने प्रयास गरिएको छ । विश्वमोहन जोशी त्रिविका अवकास प्राप्त इतिहासका प्राध्यापक हुनुहुन्छ । पाठक साथीहरू यसबारे आ–आफ्नो टीका–टिप्पणी गर्न स्वतन्त्र छन् – सं.)
पश्चिम जर्मनीको राइन प्रान्तको ट्रियर नगरको एक सभ्य एवम् सुसंस्कृत परिवारमा हेनरिक माक्र्सको पुत्रको रूपमा सन् १८१८ को ५ मेका दिन कार्ल माक्र्सको जन्म भएको थियो । बाल्यकालदेखि नै परिश्रमी स्वभावका कार्ल माक्र्स धेरै समय अध्ययनमा व्यस्त हुन्थे । सन् १८३० देखि १८३५ सम्म ट्रियर जिम्नेजियम विद्यालयका तीक्ष्ण बुद्धि एवम् विशिष्ट श्रेणीका छात्रको रूपमा कार्ल माक्र्सले विद्यालय जीवन बिताए । यसबेलादेखि नै सम्पूर्ण समाजको भलाइको लागि सोच्ने प्रवृत्ति उनमा विकसित भयो । निःस्वार्थरूपमा मानव सेवा गर्नु नै राम्रो पेसा हुने विचार एक निबन्धमा उनले व्यक्त गरेका थिए । विद्यालयस्तरको अध्ययनपश्चात् उनले जर्मनीको बोन र बर्लिन विश्वविद्यालयमा कानुन विषय अध्ययन गरे । दर्शनशास्त्र र इतिहास विषय पढ्न उनी अति उत्साहित हुन्थे । विद्यालयमा अध्ययन गर्दादेखि नै उनी एक विशिष्ट श्रेणीका छात्र थिए । त्यसैले उच्च शिक्षामा पनि उनले राम्रै ज्ञान हासिल गरे । जर्मनीको बर्लिनमा स्नातक युवाहरूको ‘स्नातक क्लव’ नामक एक क्लव थियो जहाँ दार्शनिक हेगलद्वारा प्रतिपादन गरेको विचार ‘हरेक वस्तु परिवर्तनशील छ र समाज पनि परिवर्तनशील छ’ बारे हुने गहन छलफलमा माक्र्स पनि भाग लिन्थे । सन् १८४१ मा उनले जेना विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि प्राप्त गरे । प्राध्यापन पेसाबाट जनताको सेवा गर्ने उनको चाहना हुँदाहुँदै तत्कालीन जर्मनी सरकारको स्वतन्त्र तथा प्रगतिशील विचारविरोधी नीतिले गर्दा उनी बोन विश्वविद्यालयबाट निष्काशित भए ।
कार्ल माक्र्स गरिब एवम् दुःखी जनतालाई अति माया गर्थे । उनीहरूको स्वतन्त्रता र मुक्तिका लागि माक्र्स सा¥है चिन्तित थिए । त्यसबेला जर्मनीको राइन प्रान्तमा औद्योगिकीकरणको लहर चल्दै थियो । फ्रान्स र बेलायतमा पुँजीवादको विकास भइरहेको थियो । तर, शासन सत्ता सामन्त र जमीनदारवर्गको हातमा रहेकोले पुँजीपतिवर्ग असन्तुष्ट थिए । शासन सत्तामा आफ्नो बर्चस्व राख्न ती दुई वर्गबिच सङ्घर्ष भइरहन्थे । तर, किसानहरू भने भ्दासत्व र कमारा वा दास हुन बाध्य थिए । गरिब जनताको यस्तो अवस्था देखेर कार्ल माक्र्स अति दुःखी हुन्थे र उनीहरूलाई जमिनदार, सामन्त तथा पुँजीपतिवर्ग शोषण र दमनबाट कसरी मुक्ति दिलाउन सकिन्छ भन्नेबारे उनी धेरै चिन्तनशील हुन्थे । पत्रकारिताको माध्यमबाट ती गरिब जनतामा चेतना फैलाउने अठोट गरी सन् १८४२ मा कोलोनबाट राइनिश जाइतुङ (राइन समाचार) नामक समाचार पत्र प्रगतिशील विचारका केही युवाहरूले प्रकाशित गरे जसमा माक्र्स पनि सहभागी भएर पछि आफैँ सम्पादक भए । त्यस पत्रिकामा चेतनामूलक विभिन्न लेखहरू लेखी प्रकाशित गरी जनतामाथिको अत्याचारबारे प्रकाश पार्दै त्यसको विरुद्धमा लाग्न जनतालाई प्रेरित गर्थे । गरिब जनताले त्यो पत्रिकालाई रुचाएको र जनतामा चेतना फैलिएको कारण तत्कालीन जर्मनीको सरकारलाई सह्य भएन र सो पत्रिकामाथि सन् १८४३ मा प्रतिबन्ध लगाए । यस पत्रिकामा लागिरहँदा माक्र्सलाई जर्मनीको राजनीतिक अवस्था र श्रमिकहरूको अवस्थाबारे राम्रो ज्ञान भयो । अर्थ व्यवस्था र अर्थशास्त्रमा उनको रुची बढ्दै गयो । २५ वर्षका माक्र्स सन् १८४३ सम्ममा जनताको हितचिन्तक र तत्कालीन प्रतिक्रियावादी सरकारका विरोधीका रूपमा स्थापित भए ।
माक्र्स परिवारको सम्बन्ध भने वेस्टफालेन भन्ने एक सम्भ्रान्त परिवारसँग थियो । यी दुई परिवारबिचको सम्बन्धले गर्दा माक्र्सलाई त्यसको घरमा रहेको पुस्तकालयमा अध्ययन गर्न सजिलो थियो । त्यसै शिलशिलामा त्यस घरकी छोरी शिक्षित, बुद्धिमति र अत्यन्त सुन्दरी जेनीसित माक्र्सको प्रेम भयो । सन् १८४३ मै विवाह भयो । त्यसमाथि त्यही वर्षमा माक्र्स पेरिस पुगे । त्यहाँ उनले राजनीतिशास्त्र र समाजवादको अध्ययन गरे । यसले गर्दा उनको राजनैतिक चिन्तन अझ बढी परिपक्व भयो । सन् १८४४ मा पेरिसमै फ्रेडरिक एङ्गेल्ससित भेट भयो । दुवैको सोचाइ, व्यवहार र विचारमा धेरै समानता भएकोले यी दुवै प्रगतिशील विचारका व्यक्तित्वहरूबिच गहिरो मित्रता कायम भयो । त्यतिखेर जर्मनी राज्यहरू विखण्डित थिए । ती राज्यहरूमा प्रमुख राज्य (Prussia) प्रस्सिया थियो । त्यसैले प्रायः जर्मनीभन्दा प्रस्सियालाई नै बुझिन्थ्यो । त्यही प्रस्सिया भनौँ वा जर्मनीको सरकार भनौँ त्यसैको दबाबको कारण सन् १८४५ मा पेरिसबाट माक्र्स निष्काशित भए । त्यसपछि माक्र्स बेल्जियमको राजधानी ब्रुसेल्समा गए । त्यहाँ समाजवादी र समाजवादी संस्थाहरूसित उनको घनिष्ठता बढ्दै गयो । त्यही घनिष्ठता र सम्बन्धलाई अझ बढी विस्तार गर्न सन् १८४६ मा कम्युनिस्ट पत्र व्यवहार समिति खोले । सबै समाजवादीहरूको निमन्त्रणलाई स्वीकार्दै सन् १८४७ मा माक्र्स र एङ्गेल्स न्याय दल (League of Justice) मा सामेल भए । त्यसपछि माक्र्सकै सक्रियतामा यस समितिको नाम परिवर्तन गरी ‘कम्युनिस्ट दल’ (Communist League) नाम राखियो । यही वर्षमा अर्थात् सन् १८४७ मा लण्डनमा यस लिगको दोस्रो सम्मेलन भयो र माक्र्स तथा एङ्गेल्स त्यसमा सक्रियरूपमा सहभागी भए । सम्मेलनका सहभागीहरूको अनुरोधमा उनीहरूले कम्युनिस्ट घोषणापत्र लेखे । त्यो सन् १८४८ को फेब्रुअरीमा प्रकाशित भयो । माक्र्स र एङ्गेल्सको संयुक्त विचारको निचोड थियो त्यो घोषणापत्र ।
सन् १८४८ को फ्रान्सको दोस्रो राज्य क्रान्तिलाई कम्युनिस्ट घोषणापत्रले निकै प्रभावित गरेको थियो । क्रान्तिको जिम्मेवार व्यक्तिको रूपमा माक्र्सलाई ठानेर फ्रान्सको दबाबमा उनलाई बेल्जियमबाट पनि निष्कासन गरियो । उनी फेरि पेरिस फर्के । पेरिसमा उनले धेरै समस्याहरूको सामना गरे । पछि उनी सन् १८४८ मै आफ्नो मातृभूमि जर्मनी फर्के । जर्मनीमा पनि मजदुर तथा गरिब जनताको हितमा नै उनी व्यस्त रहे । पुरानै पत्रिका राइनिश जाइतुङ (राइन समाचार) को सन् १८४८ मा उनी प्रकाशनमा लागे । यसका प्रधानसम्पादक उनी आफै थिए । यस पत्रिकामा लेखिएका आफ्ना लेखहरूमार्फत उनले फ्रान्सको दोस्रो राज्य क्रान्ति सन् १८४८ को प्रशंसा गरे । जर्मनी सरकारले यो समाचारपत्रमाथि प्रतिबन्ध लगायो सन् १८४९ सम्ममा । यस पत्रिकाको अन्तिम प्रकाशनमा उनले लेखेका थिए, “सबै ठाउँबाट आफ्नो अन्तिम साससम्म मजदुरवर्गको मुक्तिको लागि आफ्नो सङ्घर्ष चालु राख्नेछु ।” यसपछि ३१ वर्षका माक्र्सलाई सन् १८४९ मा जर्मनी सरकारले निष्काशित गरेकोले उनी पेरिस पुगे । त्यहाँबाट पनि निष्काशित भएपछि उनी लण्डन पुगे । माक्र्सको जीवन निकै कष्टपूर्ण थियो तर उनले हरेस खाएनन् । घर खर्च चलाउन उनलाई आफ्ना लेखहरूबाट कमाएको पैसा अपर्याप्त थियो । चार जना बालबच्चा, पत्नी र आफूलाई खर्च पु¥याउन सकिरहेका थिएनन् । बिरामी पर्दा उपचार गर्न नसक्दा दुई जना बच्चाहरूको मृत्यु भयो । पछि गरिबीकै कारण उनको पाँचौँ छोरीको पनि मृत्यु भयो । मृत छोरीको लागि कात्रो किन्ने पैसासम्म उनीहरूसँग थिएन । एकजना छिमेकीले माक्र्सको पत्नी जेनीलाई दुई पाउन्ड दिए । त्यसैबाट खर्च चलाइयो । सन् १८८१ मा क्यान्सर रोगको कारण जेनी माक्र्सको निधन भयो । गरिबी र व्यस्तताकै कारण माक्र्स कमजोर हुँदै गए । तैपनि, आफ्नो विचार, सिद्धान्त र लगनशीलताबाट अलिकति पनि विचलित नभई धैर्य र हिम्मतका साथ विभिन्नखाले दमन, उत्पीडित तथा शोषणबाट गरीब जनता र मजदुरहरूलाई मुक्ति दिलाउन उनी लागी नै रहे ।
सन् १८५७ मा पुँजीवादी दुनियाँमा आर्थिक सङ्कट सुरु भयो । पुँजीवादी अर्थशास्त्रीहरूको सिद्धान्त र दृष्टिकोणलाई आलोचना गर्दै माक्र्सले ‘पुँजी’ पुस्तकको प्रथम खण्ड रचना गरी सन् १८६७ मा प्रकाशित गरे । यस पुस्तकमा उनले पुँजीवादको विकास र यसको पतनबारे स्पष्ट व्याख्या गरे । सन् १८६४ मा उनले ‘अन्तर्राष्ट्रिय मजदुर सङ्घ’ को स्थापना गरे । सामन्तवादको विरोधमा पुँजीपतिहरूले गर्ने क्रान्तिले सर्वहारावर्गको हित गर्ने छैन र क्रान्ति पूरा हुने छैन । त्यसैले सर्वहारावर्गले गरेको क्रान्तिले मात्र क्रान्ति पूरा हुनेछ । त्यसको लागि सर्वहारावर्गको अधिनायकत्वमा राज्यसत्ता स्थापित हुनुपर्दछ भन्ने उनको विचार एवं अठोट थियो । यसैको लागि उनले विभिन्न लेखहरू प्रकाशित गरी सर्वहारावर्गलाई सचेत पार्दै गए । उनको विचार अन्तर्राष्ट्रिय स्तरमा प्रचार हुँदै गयो । यसैको फलस्वरूपः सन् १८७१ मा पेरिस मजदुरहरूले कब्जा गरी पेरिस कम्युन सरकार स्थापित गरे । यस पेरिस कम्युन सरकारले निःशुल्क शिक्षाको व्यवस्था, धर्मको नाममा हुने शोषणलाई अन्त गर्दै चर्चको सम्पत्ति गरीब जनतामा वितरण, शिक्षालाई धर्मबाट मुक्ति गर्दै सार्वजनिक शिक्षाको व्यवस्था, जनजीवनको सुरक्षाको व्यवस्था, मजदुरीको लागि ८ घण्टा समय र उचित आदि मजबुत साहसिक कदमहरू चाले । यस घटनाले गर्दा विश्वका विभिन्न देशका प्रतिक्रियावादी, सामन्ती एवं पुँजीपतिवर्गको सरकारहरू एकजुट भई पेरिस कम्युन सरकार स्थापना भएको ७२ दिनपछि यस सरकारलाई ढालिदियो । पेरिस कम्युन सरकार बचाउन अन्तर्राष्ट्रिय स्तरमै माक्र्सले प्रयास गरे तर सकेनन् । यो सबै मजदुरवर्गमा क्रान्ति, राज्य सत्ता टिकाउने राजनैतिक ज्ञान र सैनिक ज्ञान तथा अनुभवहरूको कमीले गर्दा पेरिस कम्युन सरकारको पतन भयो । गरिब जनता र मजदुरवर्गको मुक्ति र हितको लागि लाग्दालाग्दै सन् १८८३ मा ६५ वर्षको उमेरमा माक्र्सको निधन भयो । उनको शवलाई उनको पत्नीको शवसँगै लण्डनको हाइगेट नामक समाधिमा समाधिस्थ गरियो । माक्र्सका घनिस्ट मित्र एङ्गेल्सले भनेका थिए, “उहाँको नाम युगौँयुगसम्म अमर रहनेछ, उहाँको कृति पनि अमर रहनेछ ।” त्यस्तै बर्लिनको कृषि एकेडेमीका एक विद्यार्थीले एङ्गेल्सलाई पठाएको चिट्ठीमा लेखिएको थियो, “माक्र्सको विचार युगौँयुगसम्म सम्मानित रहनेछ र उन्नाइसौँ शताब्दी माक्र्सको नाममा रहनेछ । माक्र्स र एङ्गेल्सको सिद्धान्तलाई नै सामान्यतः माक्र्सवाद भनिन्छ । कम्युनिस्ट घोषणापत्रमा उल्लेख भएअनुसार माक्र्सवादको शिक्षा सारांशमा निम्न अनुसारको छ ः
१) अहिलेसम्मको समाजको इतिहास वर्गसङ्घर्षको इतिहास हो ।
२) मजदुरसँग हार्नको निम्ति आफूलाई बाँधेको सिक्रीबाहेक अरू केही छैन । जित्नको निम्ति उसको अगाडि सारा संसार छ ।
३) संसारका मजदुरहरू एक हौऔँ !
माक्र्सले शोषण, अत्याचार, असमानता, उत्पीडन आदिबाट मुक्ति पाउन संसारभरिका मजदुर, किसान, सुकुमवासी र सर्वहारावर्गलाई बाँधेको बन्धन सहन होइन बरु चुँडाल्ने शिक्षा दिए । त्यसको लागि सारा शोषितपीडितहरू एकजुट भई शोषणवर्गको विरुद्ध वर्गसङ्घर्ष, आन्दोलन र क्रान्ति गर्नुपर्ने बाटो देखाए । वर्गसङ्घर्ष, क्रान्ति र आन्दोलनबाट मात्र शोषकहरूको सत्ता पुँजीवादी सत्ता अन्त्य हुने यथार्थबोध गराए । त्यसपछि समाजवादी व्यवस्था स्थापित हुने जसमा उत्पादनको साधनमाथि सामूहिक स्वामित्व हुने, सबैलाई योग्यताअनुसारकोे काम तथा कामअनुसारको ज्यालाको बन्दोबस्त हुनेछ । शिक्षा, स्वास्थ्य र जीवन उन्नतिको लागि सबैलाई समान अवसर प्रदान गरिने तथ्य स्पष्ट पारियो । समाजवाद विकसित हुँदै साम्यवादमा पुग्ने बाटो देखाइयो । वैज्ञानिक समाजवाद माक्र्सको अति महत्वपूर्ण देन हो ।
शोषण, उत्पीडन, दुराचार, दुःख, विभेद आदिबाट मुक्ति पाउने बाटोको रूपमा विश्वको प्रायः विभिन्न धर्महरूले र त्यसका प्रवर्तकहरूले सत्य, सदाचार, सद्व्यवहार भइरहने र दैविक न्यायमा विश्वास गर्नुपर्ने बताए । तर, कार्ल माक्र्सले ती दुःखी तथा शोषितपीडित जनता एकजुट भई आफ्नो मुक्तिका लागि आफैले ती शोषक र अत्याचारीहरूको विरुद्ध वर्गसङ्घर्ष, आन्दोलन र क्रान्ति गर्नुपर्ने बताए । त्यसैको फलस्वरूपः सन् १८७१ को पेरिस कम्युन सरकार, सन् १९१७ देखि १९९० सम्मको रुसको समाजवादी सरकार, चीन, क्युवा, उत्तर कोरिया, भियतनामका सरकारहरू निर्माण भए । पेरिस कम्युनको सरकार गठन भएको ७२ दिनमा र रुसको लगभग ७३ वर्षपछि समाजवादी सरकार र व्यवस्था ढल्यो । जसको लागि विश्वका अमेरिकाजस्ता पुँजीवादी सरकारहरूको संयुक्त दुष्प्रयास तथा षडयन्त्रहरू आदि कारणहरू जिम्मेवार छन् । अझ चीन, क्युवा, उत्तर कोरियाजस्ता देशहरूमा माक्र्सवाद त्यत्तिकै फलिफाप छँदै छ जसले विश्वलाई प्रभावित पार्दै छ ।
सन्दर्भग्रन्थ सूची
१) डा. अधिकारी, सूर्यमणि । वि.सं. २०७५ । विश्व इतिहासको रूपरेखा । काठमाडौँ । भँुडी पुराण प्रकाशन
२) डा. दाहाल, पेशल । वि.सं. २०६५ । नेपालको इतिहास संस्कृति । काठमाडौँ । एम.के. पब्लिसर्स
३) जागोरी, एस.एल. । सन् २०१६ । विश्वके प्राचीन सभ्यताएँ । नयाँ दिल्ली – श्री सरस्वती सदन
४) प्रभात, विष्णु । वि.सं २०७४ । प्रज्ञा संस्कृति कोष । काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठान
५) डा. शिवाकोटी, गोपाल । वि.सं. २०५९ । राजनीतिक विचारधाराको इतिहास । काठमाडौँ । रत्न पुस्तक भण्डार
६) डा. शर्मा, ऋषिप्रसाद । वि.सं. २०६४, नेपाल राष्ट्रिय चाडपर्व । काठमाडौँ । रत्न पुस्तक भण्डार
७) श्रेष्ठ, हरिबहादुर । वि.सं. २०७५ । माक्र्स र एङ्गेल्सको सङ्क्षिप्त जीवनी । भक्तपुर । जनप्रकाशन गृह
८) सेतोकारेब (अनुवादक : पद्म गौतम) । धर्मको इतिहास । काठमाडौँ । विवेक सिर्जनशील प्रकाशन
पत्रिका
१) साप्ताहिक ‘श्रमिक’ । वर्ष ३०, अङ्क १६ । २६ वैशाख, २०८०
Leave a Reply