भर्खरै :

पोखरीको ऐनामा भक्तपुर

पोखरीको ऐनामा भक्तपुर

केही वर्षअघि भक्तपुरस्थित खँचा पुखु (ऐनापोखरी) मा प्रसिद्ध पाँचतले मन्दिर ङातापोलको प्रतिबिम्ब देखिन्थ्यो । घनाबस्तीका कारण ङातापोलको प्रतिबिम्ब अहिले देखिन्न तर यहाँका जीवन्त पोखरीमा भक्तपुरका कला, संस्कृति र जीवनशैलीसँगै सिङ्गो सहरको प्रतिबिम्ब भेटिन्छ ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः भन्छन्, “यहाँका पोखरीसँग कला र संस्कृतिको प्रगाढ सम्बन्ध छ । मानिसको जीवनशैलीसँग जोडिएका यी पोखरीमा सिङ्गो भक्तपुर प्रतिबिम्बित हुन्छन् ।”
संस्कृतिविद् ओम धौभडेल पनि ग्वंगःका कुरामा सहमत छन् । भक्तपुर नगरभित्रका टोलबस्तीमा रहेका धेरैजसो पोखरीहरू परापूर्वकालदखि नै यहाँका स्थानीय बासिन्दाहरूको धर्म, कर्म तथा संस्कृतिसित अभिन्न सम्बन्ध गाँस्दै आइरहेको धौभडेल बताउँछन् ।
लिच्छविकालदेखि नै नगरको सौन्दर्य बढाउन पोखरी बनाउन थालिएको इतिहास भेटिने बताउँदै उनले मिथिलासँग भक्तपुरको सम्बन्ध बढेसँगै भक्तपुर पोखरीको नगरका नामले समेत चिनिन थालेको धौभडेल बताउँछन् ।
लिच्छविकालदेखि नै नगरको सौन्दर्य बढाउनका लागि पोखरी बनाउन थालिएको इतिहास भेटिन्छ । अझ नान्यदेवका पालामा मिथिलासँग भक्तपुरको सम्बन्ध बढेसँगै भक्तपुरमा पोखरी बन्ने क्रम बढेको हो ।
–ओम धौभडेल, संस्कृतिविद्
बिहान उठ्नासाथ नित्य स्नान, मुख धुने, तर्पण दिने, देवदेवीलाई शुद्ध जल चढाउनेजस्ता कार्यमा यहाँका पोखरीको उपयोग हुँदै आएको उनले सुनाए । मुलुककै सानो जिल्ला भक्तपुरमा रहेको भक्तपुर नगरपालिका हाल १० वडामा विभाजित छ । यो नगरको क्षेत्रफल ६ दशमलव ८८ वर्गकिमि छ । यहाँभित्र रहेका ३५ जीवन्त पोखरीले यसको सांस्कृतिक क्षेत्रफल निकै बढाएका छन् ।
भक्तपुरको सम्पदा भनेर चिनिने यिनै जीवन्त पोखरीलाई लक्षित गर्दै अघिल्लो शनिबार सम्पदा पोखरी पदयात्रासमेत आयोजना गरियो । भक्तपुर नगरपालिकाको आयोजनामा भएको उक्त सम्पदा पदयात्रामा स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्थानीय बासिन्दा तथा सङ्घसंस्थाको बाक्लो सहभागिता रहेको थियो । रानी पोखरीको डिलमा बसेर सुस्ताउँदै गरेकी ८४ वर्षीया शरणमायाले भनिन्, “हामीलाई आज पनि जात्राजस्तै महसुस भएको छ । पोखरीको डिलमा बस्दा मन शान्त हुन्छ ।”
‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
भक्तपुरको भ्रमणमा आउने आन्तरिक एवम् बाह्य पर्यटकलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाबारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए । प्रजापतिले भने, “सम्पदा चिनेपछि मात्र त्यसको संरक्षणमा झनै सहजता हुन्छ । त्यसैले नयाँ पिँढीलाई पोखरी चिनाउन पनि हामीले पदयात्रा आयोजना गरेका हौँ ।”


बाजागाजा र परम्परागत पहिरनसहित नगरवासीले देखाएको उत्साहजनक सहभागिताले नगरलाई थप हौसला प्रदान गरेको उनले सुनाए ।
भक्तपुर किराँतकालदेखि नै बसोबास भएको सहरका रूपमा चिनिन्छ । किराँतकालमा पोखरीको बारेमा ऐतिहासिक प्रमाण नभेटिए पनि लिच्छविकालमै नेपालमण्डलको अन्य ठाउँमा भेटिएका अभिलेखहरूमा पोखरीबारे उल्लेख भएको संस्कृतिविद् ओम धौभडेलले सुनाए ।
भक्तपुरका विभिन्न जात्रा तथा पर्वमा पोखरी प्रयोजनमा आउने गरेको छ । यन्यापुन्हीको अवसरमा तीन दिनसम्म फरकफरक तीन ठाउँबाट यामता ल्याउने क्रममा पहिलो दिनको यामताको जात्रापछि यातु बाहार पोखरी परिक्रमा गराउने चलन रहेको धौभडेल बताउँछन् ।
दोस्रो दिनको यामताको जात्रापछि झाख्यः का मे गथा पोखरी परिक्रमा गराउनुपर्ने नियम छ भने अन्तिम दिनको यामताको जात्रापछि तः पोखरी घुमाउने चलन छ । आश्विन शुक्ल षष्ठीका दिन तः पोखरीमा नवरात मेला धुमधामसित लाग्ने उनले बताए ।
जनैपूर्णिमाको दिन भक्तपुर व्यासीस्थित कालदह पोखरीमा स्नान वा मुख धोएमा रसुवाका प्रसिद्घ सिल दहमा स्नान गरेजति नै पुण्य मिल्ने मान्यता रहेको धौभडेल सुनाउँछन् ।
त्यस्तै भालाछेबाट उत्तरको महाकाली पीठ नजिक रहेको अँचा पोखरीमा प्रत्येक तीन वर्षको एकपटक एक महिना पुरुषोत्तम महिनाभरि ठुलो मेला लाग्ने उनले सुनाए । नासमनाको मेगलकुण्ड पोखरीमा प्रत्येक वर्ष ऋषि पञ्चमीको दिन मेला लाग्छ ।
त्यस्तै यहाँका कतिपय पोखरीमा औषधियुक्त पानी रहेको मान्यता छ । यहाँका पोखरीमा देखिएको अर्काे विशेषता वा गुण पोखरीको पानीले कतिपय अवस्थामा औषधिको समेत भूमिका निभाएको हुन्छ । उदाहरणको लागि भक्तपुर तलेजुभित्रको दुमाजु पोखरीलाई लिन सकिन्छ । धौभडेल सुनाउँछन्, “यहाँ रुन्चे लागेका केटाकेटीलाई आइतबार वा बिहीबारका दिन मुख धुवाएमा रुन्चे निको हुन्छ भन्ने मान्यता छ । त्यस्तै काल्हाचा पोखरीमा नुहाएमा घाउ खटिरा निको हुन्छ भन्ने मान्यता छ ।’
नगरको छेउछाउका पोखरी वास्तु एवम सौन्दर्यका लागि निर्माण भएका हुन् भने नगरभित्रका पोखरी यहाँका नगरवासीहरूको दैनिक जनजीवनसँग जोडिएको धौभडेल बताउँछन् ।
पोखरी हाम्रो सम्पदा हो, नगरको सान हो । नयाँ पिँढीलाई यसको महत्व सम्झाउँदै अगाडि बढेका छौँ । अहिले ३५ पोखरी जीवन्त रहेका पायौँ । लुप्त भएका अन्य पोखरीलाई ब्युँताउने नगरको प्रयास जारी छ ।
–सुनिल प्रजापति, मेयर, भक्तपुर नगरपालिका
आगलागीजस्ता प्राकृतिक विपत्तिदेखि गाईवस्तुलाई नुहाउन, पानी खुवाउन, हातखुट्टा धुन, खेतबाट ल्याएका औजार सफा गर्न आदि कार्यमा यी पोखरीको उपयोग भएको उनले सुनाए । पछिल्लो समय यी पोखरी युवाहरूमाझ लोकप्रिय स्थल बन्न पुगेका छन् । अचेल यहाँका कैयौँ पोखरी आन्तरिक एवम् बाह्य पर्यटकहरूको गन्तव्यस्थल बन्न पुगेको उनले बताए ।
भक्तपुरका प्रसिद्ध पोखरीहरू
तः पुखु (सिद्धपोखरी)
भक्तपुर नगरपालिका वडा नं १ इनागःमा अवस्थित तः पुखु (सिद्धपोखरी) भक्तपुर नगरको सबैभन्दा ठुलो पोखरी हो । यो पोखरीको पूर्व–पश्चिम लम्बाइ करिब ५७४ फिट र उत्तर–दक्षिण चौडाइ २४९ फिट छ ।


नेसं २३९ मा राजा इन्द्रदेवले यो पोखरी बनाउन लगाएको गोपालराज वंशावलीमा उल्लेख छ । भक्तपुरको प्रसिद्ध येन्या पुन्हिको दिन यो पोखरीमा मेला लाग्ने गर्छ । त्यस्तै दसैँको नवरातअन्तर्गत छैटौँ दिन पनि भक्तजनहरू यहाँ मेला भर्न आउँछन् ।
न्हु पुखु (रानीपोखरी)
यो पोखरी रानीपोखरी नामले चर्चित छ । नेसं ७५० मा राजा जगत्ज्योति मल्लले यो पोखरी बनाउन लगाएका थिए । नेसं ७९८ मा राजा जितामित्र मल्लले यो पोखरीको निर्माणलाई पूर्णता दिएको बताइन्छ ।


कान्तिपुर राज्यका राजा प्रताप मल्लले भादगाउँमाथि हमला गर्ने क्रममा यो पोखरीमा राखिएका कलाकृति लगेर कान्तिपुरमा पनि रानीपोखरी बनाउन लगाएका थिए । लामो समय नेपाली सेनाको संरक्षणमा रहेको यो पोखरी हाल भक्तपुर नगरपालिकाले संरक्षण गर्दै आएको छ । रानीपोखरी परिसरमा भक्तपुरका विभिन्न समुदायका कुल देवता (दिगु द्यः) पनि छन् ।
कालदह
भक्तपुरको प्रख्यात नः पुखुको उत्तरतर्फ अवस्थित वर्गाकार सानो पोखरी कालदह हो । यो पोखरीको पानीको रङ कालो देखिने भएकोले यसलाई कालदह नामकरण गरिएको हुनसक्ने भनाइ छ । आकारले सानो भएकोले पनि यसलाई दह भनिएको हुनुपर्छ । यस पोखरीमा पुगेपछि रसुवा जिल्लामा पर्ने प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाईँकुण्ड (सिलु) पुगेसरह हुने स्थानीय जनविश्वास छ । कालदहमा जनैपूर्णिमाका दिन मेला लाग्ने गर्छ ।
नः पुखु
भक्तपुरका मल्लकालीन पोखरीमध्ये नः पुखुको निर्माण नेसं २८९ मा भएको गोपालराज वंशावलीमा छ ।

बौद्ध सम्पदा थथुबहीको आँगनमा रहेको यो पोखरी वरपर अरू पनि बौद्ध सम्पदाहरू छन् । भक्तपुर नगरकै दोस्रो ठुलो यो पोखरीको उत्तर दक्षिण लम्बाइ ४३१ फिट र चौडाइ २५० फिट छ । मल्लकालमा यो पोखरी नै प्रमुख द्वार मानिन्थ्यो । तर, हाल नः पुखुको पूर्व र पश्चिम ढोकामा पुरानो द्वारको अवशेष मात्र बाँकी छ ।
भोलाछेँ पुखु
भक्तपुर नगरको उत्तरी प्रवेशद्वार महाकाली बाटो हुँदै नगर प्रवेश गर्दा भोलाछेँमा भोलाछेँ पुखु पर्छ । भोलाछेँ पुखुलाई पहिला भौल्वा पुखु भनिन्थ्यो । भक्तपुर नगर बन्नुअघि नै यो पोखरी बनिसकेको जनविश्वास छ । किंवदन्तीअनुसार मुसा र बिरालोबिच झगडा पर्दा यो पोखरी बनेको थियो । मुसाको बथान मिलेर बिरालोलाई घाइते बनाएको थियो । यो पोखरीको लम्बाइ १ सय फिट र चौडाइ ६० फिट छ ।
नागपुखु
भक्तपुर नगरका अधिकांश पोखरी आयाताकारका छन् । तर, भक्तपुर नपा वडा नं १० मा पर्ने नागपोखरी भने वर्गाकार छ । नागपोखरीको मध्तगमा नागको प्रतिमा प्रतिस्थापन गरिएको छ । मन्दिरको वरपर विभिन्न देवदेवीका मन्दिर, सत्तल, पाटी र ढुङ्गेधारा छन् । यो पोखरीको लम्बाइ ८४ फिट र चौडाइ ७२ फिट छ ।
ग्वंगः पुखु
भक्तपुर नगरको उत्तरमा अवस्थित मुःलाँलामा पर्ने ग्वंगः पुखुको निर्माण तत्कालीन अपुर दरबारका भारदार चुनी (चुकुटी) ग्वंगःले गरेको बताइन्छ ।
ग्वंगः थरी भारदारले बनाएको हुनाले यसको नाम नै ग्वंगः पुखु राखिएको इतिहास छ । पूर्व पश्चिम लाम्चो आकारको यो पोखरी विश्व प्रसिद्ध ङातापोल मन्दिर बनाउन आवश्यक माटो निकाल्ने क्रममा बनाइएको पनि बताइन्छ ।
ख्यः पुखु (धवाहिटी पुखु)
भक्तपुर नगरलाई चारै दिशामा अष्टमातृका देवीको पीठ वरपर खुला ठाउँमा रहेका पोखरी नै ख्यः पुखु (धवाहिटी पुखु) हुन् । तीमध्ये इन्द्रायणी देवीको पीठको पश्चिममा धवाहिटीसँगै रहेको ख्यः पुखु (धवाहिटी पुखु) इन्द्रायणी देवीमा समर्पित पोखरी हो । त्यसकारण, यो पोखरीलाई इन्द्रायणी पुखु पनि भनिएको हो । यो पोखरीमा कमलको फूल फुल्ने भएकोले आजभोलि पलेस्वाँ पुखु भनी जानिन्छ ।
क्वाठण्डौ पुखु
मल्लकालीन भक्तपुरका चौबीस टोलमध्ये सामरिक महत्वको किल्ला भएको टोल हो क्वाठण्डौ । क्वाठण्डौ टोलको मध्य भागमा क्वाठण्डौ पोखरी छ । पूर्व–पश्चिम लाम्चो आकारको यो पोखरीको उत्तरपश्चिम कुनामा ढुङ्गेधारा पनि छ । यो पोखरीको लम्बाइ १७५ फिट र चौडाइ ६० फिट छ ।
अँचा पुखु
महाकाली पीठको उत्तरपूर्वमा पर्ने अँचा पोखरी आकारमा सानो पोखरी हो । यसको लम्बाइ २०३ फिट र चौडाइ ७६ फिट छ । चारैतिर पर्खालले घेरिएको यो पोखरीको मध्य भागमा जलासनमा विराजमान नारायणको प्रस्तर प्रतिमा छ । पोखरी वरपर अनेकन देवदेवीका मन्दिर र प्रतिमा छन् । यो पोखरीमा प्रत्येक चार वर्षमा एक महिना पुरुषोत्तम महिनामा मेला लाग्ने गर्छ ।
लामगः पुखु
हालको कमलविनायकबाट नवदुर्गा द्योछेँ जाने बाटोमा पर्ने यो पोखरी भक्तपुर नगरभित्र प्रवेश गर्ने मार्गमा अवस्थित पोखरीमध्ये एउटा हो । विगतमा ठुलै आकारको यो पोखरीको हालको आकार भने सानो छ । किंवदन्तीअनुसार रावणको घुँडाबाट बनेको पोखरी भएकाले यो पोखरीको नाम नै रावण पोखरी थियो । हाल भने यो पोखरी लामगः पुखु नामले नै चर्चित छ । यो मन्दिरको उत्तरपश्चिम कुनामा सुचु फल्चा अवस्थित छ ।
सलाँ पुखु
भक्तपुर नपा वडा नं ९ तचपालस्थित सलाँ गणेश मन्दिरको पश्चिममा अवस्थित पोखरी नै सलाँ पुखु हो । लाम्चो आकारको यो पोखरीको उत्तरपश्चिम कुनामा दुई वटा ढुङ्गेधारा छन् । पोखरीको पूर्वतिर विभिन्न देवदेवीका प्रतिमा छन् ।
बा¥हे पुखु
हाल कमलविनायक पोखरी नामले चिनिएको बाहे्र पोखरी भक्तपुर नगरभित्रका ठुला पोखरीमध्ये पर्छ । विगतमा कमलको फूल फुल्ने यो पोखरीको पूर्वमा यातु गणेशको मन्दिर, बौद्ध चिवः द्यो र पाटी छन् । यातु गणेशको परिसरमा भएको पोखरी भएकाले यो पोखरीलाई यातु पुखु पनि भन्ने चलन छ ।
खँचा पुखु
ङातापोलको छाया देखिने पोखरी भनी चिनिएको खँचा पुखु लाम्चो आकारको छ । यसको पूर्वतिर धारा छ भने पोखरीको उत्तर र दक्षिणमा घर छन् । यस पोखरीको नजिकै मुनिविहार अवस्थित छ ।
गोल्मढी पुखु
गोल्मढी यातामा अवस्थित गोल्मढी पुखु उत्तरदक्षिण लाम्चो आकारमा फैलिएको पोखरी हो । यो पोखरीको दक्षिणतिर ढुङ्गेधारा र पाटी छन् ।
ब्यासी पुखु (ब्यासी पोखरी)
भक्तपुर नगर प्रवेश गर्ने उत्तरतर्फको एक महत्वपूर्ण नाका त¥हा ब्यासीको प्रवेशद्वार भएर नगर भित्रिने क्रममा मूल बाटोसँगै रहेको पोखरी ब्यासी पुखु (ब्यासी पोखरी) हो । उत्तरदक्षिण लाम्चो परेको यो पोखरी नगर प्रवेश गर्ने सम्मुखमै परेको हुँदा नगरको शोभा बढाउने पोखरीको रूपमा चिनिन्छ ।
पोखरी वरपर पाटी सत्तल, विभिन्न देवदेवीका मूर्ति र नारायण मन्दिर पनि रहेका कारण धार्मिक सांस्कृतिक एवम् सामाजिक दृष्टिकोणले यो पोखरी महत्वपूर्ण छ । यो पोखरीले ब्यासी टोलको वातावरण स्वच्छ बनाउन सहयोग भइरहेको छ । यसको उत्तरदक्षिण लम्बाइ ९३ फिट र पूर्वपश्चिम चौडाइ ५९ फिट छ ।
– ‘नागरिक’ दैनिक
२७ साउन, २०८०

Leave a Reply

Your email address will not be published. Required fields are marked *