पश्चिमा लोकतन्त्रको कन्तबिजोग
- आश्विन १८, २०८१
हाल धरानमा डेङ्गु घरघरमा देखिने र बढ्ने क्रम जारी छ । यस्तो अवस्थामा सबै सङ्क्रमित अस्पताल जाने र भर्ना हुने अवस्था हालको सीमित शय्याले धान्ने अवस्था हुँदैन । काठमाडौँमा पनि गत वर्ष डेङ्गुले महामारीको रूप लिँदा अधिकांश घरघरमा बसेर स्वास्थ्यलाभ गरेका थिए । जहिले पनि महामारीको अवस्था सृजना हुँदा भएका/उपलब्ध अस्पतालका शय्याहरू सबै सङ्क्रमितलाई भर्ना गरी उपचार गर्न पर्याप्त हँुदैन । विकसित देशमा पनि यस्तो अवस्था हुने कोभिड–१९ को महामारीमा नै देखाइसकेको छ । तसर्थ, अधिकांश सङ्क्रमित घरमा अलग्गै बस्ने र स्वास्थमा विशेष परिस्थिति सृजना जस्तैः अक्सिजनको स्तर घटेमा तुरुन्तै अस्पताल जाने सल्लाह दिने गरिन्थ्यो । कोभिड–१९ को यही मोडेल काठमाडौँ डेङ्गु महामारीमा पनि लागु भएको थियो ।
सङ्क्रमित भई घरमा बसेको अवस्थामा जटिल डेङ्गुका (चेतावनीका सङ्केतहरू) सङ्केतहरू देखिए तुरुन्त अस्पताल जान सल्लाह दिने गरिएको थियो । हाल धरानलगायतका विभिन्न ठाउँहरूमा डेङ्गु विस्तार हुँदै गर्दा भएका अस्पतालका शय्याहरू पर्याप्त नहुँदा धेरै सङ्क्रमित घरमा बस्नुपर्ने बाध्यता हुनेछ । तसर्थ, कोभिड–१९ को मोडेल अहिलेको धरान डेङ्गु महामारीमा पनि लागु गर्न सकिन्छ । ‘कोभिड–१९ मोडेल’ मा जस्तै डेङ्गुमा पनि यसको जटिल अवस्थाका सङ्केतहरू थाहा पाउन अति आवश्यक हुनेछ ।
डेङ्गु रोगलाई फेवराइल, क्रिटिकल र रिकभरी फेज गरी तीन अवस्थामा बाँडिएका हुन्छन् । फेवराइल फेज सामान्यतया २ देखि ७ दिनको हुने गर्दछ । यो अवस्थामा अचानक उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, मांशपेशीका र जोर्नी असाध्य दुख्ने, शरीरमा स–साना राता बिबिरा देखिने आदि जस्ता लक्षणहरू देखिने गर्दछ । धेरैमा ज्वरो घटेपछि बिस्तारै सुधारउन्मुख हुँदै जान्छ ।
गत वर्षको काठमाडौँ महामारीमा ८ देखि १० दिनमा बिरामीमा ज्वरो घटेर स्वस्थलाभ गर्ने गरेका थिए । तर, कतिपयमा भने ज्वरो घटेसँगै क्रिटिकल फेज वा जटिल डेङ्गु देखिन सुरु हुन्छ । यही समय नै सङ्क्रमितको लागि महत्वपूर्ण र सतर्कता अपनाउनुपर्ने अवस्था हो ।
क्रिटिकल फेज वा जटिल डेङ्गुको जोखिम २४ देखि ४८ घण्टाको हुने गर्दछ । तारन्तार बान्ता हुनु, असाध्य पेट दुख्नु, अति आलस्य हुनु, रक्तश्राप जस्तैः गिजा, नाक आदिबाट रगत बग्नुजस्ता समस्या बिरामीले अनुभव गर्न सक्दछन् भने प्रयोगशाला परीक्षण गर्दा रगतमा प्लेट्लेट्सको सङ्ख्या तीव्रगतिमा घट्ने र हेमाटोकृत बढेको पाइन्छ ।
चिकित्सकले परीक्षण गर्दा कलेजोको आकार बढेको र पेट वा छातीमा पानी जमेको हुन्छ । तसर्थ, घरमा सङ्क्रमित भई बसेको अवस्थामा ज्वरो घटेसँगै तारन्तार बान्ता हुने, असाध्य पेट दुख्ने, अति आलस्य हुने, रक्तश्राप आधी देखिएमा त्यो जटिल डेङ्गु हुनसक्ने र तुरुन्त अस्पताल जानुपर्दछ ।
तर, ४८ घण्टा पार गरे वा सो अवधिमा जटिलताहरू देखिएन भने बिरामीले स्वास्थ्यलाभ गर्दै जानेछ । तसर्थ, डेङ्गु सङ्क्रमितले घरमा बसिरहेको अवस्थामा माथि उल्लेखित जटिल डेङ्गुका लक्षणहरूलाई बेवास्ता गर्नुहुँदैन । चिकित्सकको सल्लाह र आवश्यकताअनुसार रगतको जाँच पनि गर्नुपर्दछ ।
लामखुट्टे कस्तो व्यक्तिप्रति बढी आकर्षित हुन्छ ?
लामखुट्टेले कसलाई बढी टोक्दै छ ? यो प्रश्नको सीधा सम्बन्ध लामखुट्टेबाट सर्ने सङ्क्रमणसँग देखाउन खोजेको हो । अर्थात्, जसलाई लामखुट्टेले टोक्दछ उसैलाई सङ्क्रमण हुने सम्भावना पनि बढी हुने गर्दछ । हाल देशका विभिन्न ठाउँमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु भाइरस सक्रिय हुँदै गइरहेको छ ।
लामखुट्टे अँध्यारो/गाढा रङ्गप्रति आकर्षित हुने गर्दछ । तसर्थ, यदि कसैले अँध्यारो÷गाढा रङ्गको कपडा लगाउनुभएको छ भने लामखुट्टेले टोक्ने सम्भावना बढी हुने गर्दछ । शरीरको तापक्रम बढी हुँदा पनि लामखुट्टे आकर्षित हुने गर्दछ । जापानमा गरिएको एक अनुसन्धानमा बियरप्रेमी (वा मापसे गर्ने) लाई लामखुट्टेले बढी टोक्ने गरेको नतिजा देखाएको थियो । यसर्थ, मापसे गर्ने बानी छ भने विशेषतः लामखुट्टे सक्रिय हुने सिजनमा टोकाइको उच्च जोखिममा पर्नुहुनेछ ।
रगतको समूह ‘ओ’ भएकाहरूलाई अरू समूहभन्दा बढी टोक्ने गरेको विभिन्न अनुसन्धानहरूले देखिएका छन् । महिला गर्भवती हुँदा पनि लामखुट्टे आकर्षित हुने गरेको अध्ययनहरूले देखाएका छन् ।
यी माथि उल्लेखित बानी वा अवस्थाहरूमा लामखुट्टेले टोक्ने सम्भावना बढी हुने अध्ययन÷अनुसन्धानहरूले देखाएको भए तापनि सबैको सटिक र व्यवहारिक समाधान भने छैन÷देखिँदैन । तसर्थ, लामखुट्टे सक्रिय भएको वा लामखुट्टेजन्य सङ्क्रमण फैलिएको ठाउँहरूको पहिचान गरी लार्भा ‘खोज र नष्ट’ गर अभियानलाई सञ्चालन गर्न नै उपयुक्त र बुद्धिमानी हुनेछ । त्योभन्दा राम्रो, लामखुट्टेको वृद्धि विकास हुने वातावरण नै सृजना हुन नदिनु हुनेछ ।
(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।)
– स्वास्थ्य खबर डटकमबाट
Leave a Reply