भर्खरै :

जालझेलविरुद्ध सधैँ लडिरहनुपर्छ

जालझेलविरुद्ध सधैँ लडिरहनुपर्छ

सामन्ती व्यवस्थामा मात्र होइन पुँजीवादी व्यवस्थामा पनि आफ्नो शासन टिकाइराख्न अनेक जालझेल र षड्यन्त्र भइरहेका हुन्छन् । ती शासकहरू र शासकको पछि लाग्ने नेता तथा कार्यकर्ताहरू भए नभएका कुरा फलाकेर जनतामा भ्रम छर्छन्, जनता जनता भिडाउने काम गर्छन् । तिनीहरू कहिले पार्टीको विभाजन गर्ने प्रयासमा लाग्छन् त कहिले कार्यकर्ता भड्काउने जाल बुन्छन् । यस्ता षड्यन्त्रका जालहरू बुन्न प्रतिक्रियावादी र पुँजीवादीहरूले गुप्तचर खेलाइरहेका हुन्छन्, उच्छृङ्खल व्यक्तिहरू पालिरहेका हुन्छन् । यिनीहरूको काम लोभलालच देखाएर मन भाँड्ने, धाक धम्की दिएर पार्टी छोडाउने र पार्टीमा लाग्न नदिन कहिले बल त कहिले षड्यन्त्रको खेल रच्नु हो । कहिलेकाहीँ अनेक निहुँ खोजेर धम्कीमात्र होइन जाली मुद्दा हालेर दुःख दिन्छन् । यसको एउटा दृष्टान्त २०४५ साल भदौ ९ गते घटेको ‘भक्तपुर काण्ड’ पनि हो ।
सिद्धान्तनिष्ठ पार्टीका नेता, कार्यकर्ता तथा जनता त्यस्ता षड्यन्त्रविरूद्ध लड्छन् । तिनीहरू जेलभित्र होस् या बाहिर जहाँ पनि षड्यन्त्रको विरोधमा लडिरहेका हुन्छन् । प्रतिक्रियावादीहरूको कुचाललाई उदाङ्ग्याउन तिनीहरू पछि पर्दैनन् । जालीफटाहा, शोषक, सामन्त र पुँजीपतिहरूले सर्वसाधारण जनताको हितमा काम गर्दैनन् । सर्वसाधारण जनताको श्रम, पसिनामा तिनीहरू रजाइँ गर्छन् । देश र जनताको सेवामा लागेका नेता तथा कार्यकर्तालाई प्रतिक्रियावादीहरू जेलमा राख्ने र भड्काउने काममा लागिरहेका हुन्छन् । माओ त्सेतुङले भन्नुभएको थियो, “हरेक समस्यासँग जुझ्दा उसले आफ्नो उज्यालो भविष्यलाई देख्न छाड्नुहुन्न । हरेक अँध्यारोपछि उज्यालो आउँछ ।” प्रतिक्रियावादी, सामन्तवादी र पुँजीवादीहरू षड्यन्त्र र बेइमानीको राजनीति गरेर आफ्नो सत्ता र शक्ति टिकाउने दुस्प्रयास गर्छन् । निरङ्कुश पञ्चायती व्यवस्थाले ‘भक्तपुर काण्ड’ को षड्यन्त्र रचेर नेमकिपाको अस्तित्व मेटाउने असफल प्रयास ग¥यो । अन्ततः षड्यन्त्रकै कारण पञ्चायती व्यवस्था अन्त्य भयो ।
जनतालाई दुःख दिने, पीडा दिने, शारीरिक र मानसिक यातना दिने र अरूलाई दुःख दिएर खुसी मनाउने ती जालीफटाहा, प्रतिक्रियावादीहरू आज पनि अपराधबोध गर्दै छन् । उनीहरू अहिले पनि शिर ठाडो गरेर हिँड्दैनन् । षड्यन्त्रको पोल खुल्दै गएपछि उनीहरू जनतामाझ उदाङ्गिए । अतः पार्टी कार्यकर्ताहरू आफ्नो कर्तव्य र लक्ष्यप्रति विश्वस्त हुनुपर्छ, जानकार हुनुपर्छ । कार्यकर्ताहरूले जेललाई राजनीतिक कार्यकर्ताको घर सम्झनुपर्छ । राजनीतिमा लाग्दा अनेक समस्या र चुनौती पार गर्नुपर्ने हुन्छ । शासक एवं प्रतिक्रियावादीहरूले जस्तोसुकै षड्यन्त्र रचे पनि कार्यकर्ताहरू विचलित हुनुहुँदैन । दलको सिद्धान्त र विचारप्रति प्रतिबद्ध भई अझ जोश र जाँगर लिएर अघि बढ्नुपर्छ । दलको लक्ष्य पूरा नहोउञ्जेल लागिरहनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *