भर्खरै :

विदेश गइरहेको देश

विदेश गइरहेको देश

मुलुकमा आफ्नो भविष्यसँग आश्वस्त नभएर सिङ्गो तन्नेरी पुस्ता नै विदेश हिंड्न तम्तयार हुँदा मुलुकको उन्नतिको सम्भावना भने थप खुम्चँदो छ ।
काँधमा खादा वा माला लगाएका युवा र बिदाइमा तिनलाई अँगालो हालिरहेका प्रियजन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पटाङ्गिनी विदेश जाने युवा र तिनका आफन्तजनले खचाखच भरिएको हुन्छ । दिनहुँ सरदर दुई हजार ४०० भन्दा बढी युवा मुलुक छोडेर काम र पढाइको लागि विदेश उड्न थालेपछि विमानस्थलमा सधैं घुइँचो लाग्छ । यसरी देश छोडिरहेकामध्ये कैयौँ युवाले सधैँका लागि विदेशमा बसोबास गर्ने योजना बनाएका हुन्छन् ।
बितेको वर्ष मात्रै काम र अध्ययनका लागि करीब नौ लाख युवाले देश छोडे । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९÷८० मा कामका लागि सात लाख ७५ हजार युवा विदेश पुगेका छन् । त्यस्तै, गत वर्ष एक लाख १० हजार नेपाली विद्यार्थी अध्ययनका लागि विदेशिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्क छ । यो चानचुने सङ्ख्या होइन, देशको युवा उमेर समूह १६–४० को करीब सात प्रतिशत हो ।

विदेश पढ्न गएका विद्यार्थी
गत एक दशकमा मात्रै ५ लाख ४३ हजार नेपाली विद्यार्थी पढ्नका लागि विदेश पुगे । यसअघि एकै वर्ष यति धेरै सङ्ख्यामा युवाले देश छोडेको अभिलेख छैन । योभन्दा पनि महत्वपूर्ण त युवा पलायनको तीव्रता मत्थर हुने छाँटकाँट छैन । मुलुकमा आफ्नो भविष्यसँग आश्वस्त नभएर सिङ्गो तन्नेरी पुस्ता नै विदेश हिँड्न तम्तयार देखिन्छ । जसकारण गाउँघरमा युवा छिटपुट मात्रै फेला पर्न थालेका छन् भने कलेज–विश्वविद्यालयमा विद्यार्थी सङ्ख्या घट्दो छ । समाजशास्त्री डा.गणेश गुरूङ भन्छन्, “न युवा जमात देशमा भविष्य देख्छ न त बाबुआमा नै उनीहरूलाई मुलुकमा राख्न चाहन्छन् । यस्तो लाग्छ– सिङ्गो देश नै विदेश गइरहेको छ ।”

देश छोड्ने हतारो
रसुवाको कालिका–३ का ६ युवा एकैसाथ भदौको पहिलो साता कामका लागि यूरोपेली देश क्रोएशिया प्रस्थान गरे । देशमा बसेर उन्नति गर्न नसकिने निचोडसहित अध्ययन, व्यवसाय र जागीर छोडेर उनीहरूले सात समुन्द्रपारि पसिना बगाउने निधो गरेका थिए । तिनैमध्येका एक भुवन न्यौपानेको चाहना यूरोपमा दीर्घकालसम्म स्थायी रूपमा बस्न पाइने अनुमति पाइन्छ कि भन्नेमा छ । देश छोड्नुअघि उनले सुनाए, “भाग्यले साथ दिए क्रोएशियाबाट यूरोपको अर्को मुलुकमा सरेर स्थायी आवास अनुमति (पीआर) पाइएला नि !”
नुवाकोटको विदुरका विनोद पौडेलको दैनिकी खल्तीमा हात हालेर यताउता बरालिएर बित्छ । बेरोजगार पौडेल अहिले राहदानी वैदेशिक रोजगार व्यवसायीलाई बुझाएर विदेशिने दिन कुरिरहेका छन् । “यता के गरेर बस्ने ? भएका साथीभाइ जति सबै विदेश गइसके,” उनी भन्छन् ।
विद्यालय शिक्षा (कक्षा १२) सक्ने बित्तिकै तरूणको ध्यान थप उच्च शिक्षा हासिल गर्ने होइन, विदेश गएर कमाउनेतिर गइरहेको छ । भर्खरै कक्षा १२ सकेकी काठमाडौँको बालाजुकी आकृति तिमल्सिना क्यानडा वा अस्ट्रेलियामध्ये एक देश पढ्न जान तयारी गरिरहेकी छिन् । स्टडीपोर्टलको एक अध्ययनमा सन् २०२२ मा संसारभरिको वैदेशिक अध्ययनमा जानेमध्ये आधा विद्यार्थी नेपालसहितका १४ देशबाट रहेको उल्लेख छ । नेपालले कुल अन्तर्राष्ट्रिय विद्यार्थीको १.७ प्रतिशत हिस्सा ओगटेको छ ।

पढ्नलाई पराइ देश !
सन् २०२२ मा मात्रै १ लाख २१ हजार ४१९ नेपाली विद्यार्थीले ६९ देशका शैक्षिक संस्थामा अध्ययनका लागि अनुमतिपत्र लिए । अर्थशास्त्री डा. समीर खतिवडा मानिसको आधारभूत चरित्र नै अवसर खोज्दै हिँड्ने भएकाले राम्रो भविष्यका लागि युवाले नेपाल छोड्न खोज्नु स्वाभाविक भएको मान्छन् । खतिवडा भन्छन्, “जसलाई पनि भोलिको दिन राम्रो होओस्, छोराछोरीको जिन्दगी राम्रो बनोस् भन्ने लाग्छ। नेपालमा त्यस्तो आशा नदेखेपछि हिंड्न खोज्नु अस्वाभाविक होइन ।”
हुन पनि नेपाली युवाका लागि विदेशको गन्तव्य बाध्यता र रहर दुवै बनिरहेको छ । समाजशास्त्री दिनेश प्रसाईं नेपाली समाज लाहुरे संस्कृतिसँग अभ्यस्त भएकाले परिवारका सदस्य विदेश जानु गर्वको कुरा भएको अनुभूतिबाट गुज्रिंदै आएको बताउँछन् । त्यसमाथि पछिल्लो समय त सिङ्गो नेपाली समाजले देशबाट आशा नै गुमाइसकेकाले विदेश विकल्प बनेको देख्छन् । प्रसाईं भन्छन्, “राजनीतिप्रति आशा नै भएन । मुलुक सप्रिन्छ भन्ने आशा नै नभएपछि सबैलाई विदेश जाऔँ भन्ने लागेको छ ।”
त्यसो त नेपाली समाजमा लाहुर जाने र कमाएर ल्याउने परम्परा नौलो होइन । १९औं शताब्दीको सुरुतिर नै ‘पन्जाब केशरी’ रणजीत सिंहको लाहोर छाउनीमा नेपाली युवा भर्ती भएर धन कमाउन थालिसकेका थिए । सन् १८१६ को सुगौली सन्धिपछि त नेपाली युवाका लागि विदेशी सेनामा गोर्खा भर्तीको औपचारिक ढोका नै खुल्यो । विश्वव्यापीकरण र आर्थिक उदारीकरणको युग सुरु भएपछि बितेका तीन दशकमा भने आम्दानी बढी हुने सम्पन्न र विकासोन्मुख मुलुकतिर नेपाली कामदार ओइरिन थाले ।
पछिल्लो दशकमा भने अध्ययनका लागि विदेशिने विद्यार्थी पनि उत्तिकै बढेका छन् । वैदेशिक अध्ययनका लागि देश छोडे पनि प्रकारान्तरले विदेश पुगेकाको उद्देश्य स्वदेश फर्किने होइन, उतै स्थायी बसोबास गर्ने हुन्छ ।
आर्थिक सर्वेक्षण २०७९/८० का अनुसार, २०७९ फागुनसम्म ५५ लाख २६ हजार ७०० जनाले वैदेशिक रोजगारीमा जान औपचारिक श्रम स्वीकृति लिएका छन् । वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीको सङ्ख्या पनि सानो छैन । यस हिसाबले भारत बाहेकका तेस्रो मुलकमा रोजगारी, अध्ययनका लागि औपचारिक तथा अनौपचारिक रूपमा पुगेका नेपालीको सङ्ख्या ५० लाख हाराहारी रहेको अनुमान गरिन्छ । परिवारबाट अलग भई अक्सर विदेशमा बसोबास गर्ने नेपालीको सङ्ख्या करीब २२ लाख रहेको राष्ट्रिय जनगणना, २०७८ ले देखाएको छ । यद्यपि अध्ययन र कामकाजका लागि विदेशमा रहने नेपालीको सङ्ख्या योभन्दा कैयौँ गुणा धेरै छ ।
मुलुकबाट बाहिरिने ताँतीमा श्रम बेच्न मध्यपूर्व वा मलेशिया हिँडेका मात्र होइन, उच्च सीप र शिक्षायुक्त दक्ष जनशक्ति समेत आश्चर्यलाग्दो गरी बढिरहेको छ । देशमा भविष्य नदेखेपछि उच्च शिक्षा अध्ययन गरेका र प्राविधिक ज्ञान पाएको जनशक्ति सुरक्षित भविष्य र आकर्षक आम्दानीका लागि पलायन भइरहेको छ ।
देश छोड्नेमा चिकित्सक, इन्जिनीयर, चार्टर्ड एकाउन्टेन्ट (सीए), नर्स, भेटेरिनरी डाक्टर, कृषिविज्ञ, प्राध्यापकदेखि भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान लगायतका विषय पढेका जनशक्तिको लर्को छ । नेपालबाट बर्सेनि कति सङ्ख्यामा पेशागत दक्ष र बौद्धिक समुदाय पलायन हुन्छ भन्ने तथ्याङ्क सरकारसँग छैन । समाजशास्त्री गणेश गुरूङ पेशागत विशेषज्ञ र दक्ष जनशक्ति पलायन हुनुले देशको अधोगतिलाई सङ्केत गरेको देख्छन् ।
किन देश छोड्दै छन् युवा ?
समाजशास्त्री दिनेश प्रसाईं युवा जनशक्तिको विदेश आकर्षणमा आम्दानीको अवसरलाई कारण मान्छन् । एक त देशमा पर्याप्त रोजगारीको अवसर छैन, काम मिलिहाले पनि तलब–ज्याला विदेशका तुलनामा थोरै छ । यही आम्दानीको असमानताका कारण मजदूरी गर्ने मात्र होइन, सीप र व्यावसायिक दक्षता भएका युवा पनि मुलुक छोड्न खोजिरहेका छन् ।
त्योभन्दा पनि महत्वपूर्ण चाहिँ राजनीतिप्रति नेपाली समाजको नै आशा झन् हराएको प्रसाईंको तर्क छ । “राजनीति, प्रशासन सबै भ्रष्ट छन् भन्ने सबैलाई थाहा छ । मुलुक भविष्यसम्मै बन्दैन, सुधार हुँदैन भन्नेमा आमनागरिक विश्वस्त भएकाले अभिभावक नै छोराछोरीलाई गच्छे अनुसारका देश पठाउन चाहिरहेका छन्,” समाजशास्त्री प्रसाईंले भन्छन् ।
अर्थशास्त्री खतिवडा पनि आर्थिकलाई नै युवा विदेशिने प्रमुख कारण मान्छन् । नेपालमा अर्थतन्त्रको स्वरूप नै आम्दानी र खर्चका बीचमा मेलमिलाप नहुने स्थितिमा पुगेको छ । निश्चित आम्दानी भएका घरपरिवारलाई आधारभूत चिजबिज किनेर घर चलाउनै कठिन पर्ने स्थिति छ । “जागीर गरेर घर, गाडी जोडौँ, छोराछोरी राम्रोसँग पढाऔँ वा रोग लाग्दा उपचार गरौँ भन्न सकिने स्थिति छैन । यसैले धेरैलाई विदेशतिर धकेलिरहेको हो,” खतिवडा भन्छन् ।
समाजशास्त्री गुरूङ दशक लामो द्वन्द्व र राजनीतिक सङ्क्रमणपछि मुलुकले उन्नति र समृद्धिको बाटो समात्ने नागरिक आशा पूरा नभएपछि आमनिराशा बढेको बताउँछन् । उनका अनुसार कोभिड–१९ महामारी मोचनपश्चात् देशमा आर्थिक गतिविधिको सुस्तताका कारण व्यवसाय र रोजगारीको अवसर खुम्चिएकाले युवाको विदेश जाने क्रम बढेको छ । त्यसैमाथि सरकारको कमजोर कार्यसम्पादन, राजनीतिक अस्थिरता, लथालिङ्ग प्रशासन, यत्रतत्र भ्रष्टाचारले युवालाई देश छोड्न बाध्य पारिरहेको उनको तर्क छ । गुरूङ भन्छन्, “पछिल्लो समयमा त यो मुलुकमा बालबच्चाको भविष्य छैन भनेर उच्च मध्यमवर्गीय परिवार समेतले विदेशमा घरघडेरी किनेर दुई देशमा खुट्टा राख्न खोजेको देखियो ।”
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. पुष्कर बज्राचार्य मुलुकबाट युवा बाहिरिने अहिलेको प्रवृत्ति भयावह स्तरमा पुगिसकेको बताउँछन् । बज्राचार्य नेपाली समाज छिटो प्रतिफल चाहने, छिटो धनी हुने लालसाले ग्रस्त बनिसकेकाले देशको अवसरभन्दा विदेशै ताकिरहेको देख्छन् । “एकाध दशकअघिका तुलनामा मान्छेको अपेक्षा अनपेक्षित मात्रामाले बढेको छ । उपभोग गर्ने प्रवृत्ति उसैगरी फेरिएको छ । त्यसले सबैलाई विदेशतिर आकर्षित गरिरहेको छ, नेपाली समाजका लागि यो चानचुने सङ्कट होइन,” बज्राचार्य भन्छन् ।

आत्माविहीन मुलुक
नेपालीको लाहुर गएर धन कमाउने प्रवृत्तिले नेपाली समाजको अर्थ–राजनीतिक चरित्रमा ठूलो फेरबदल ल्याएको तथ्य बिर्सनै मिल्दैन । संसारभरि छरिन पुगेका नेपालीको कमाइ उनीहरूको परिवारको अर्थोपार्जनका लागि मात्रै होइन, देशको अर्थतन्त्रका लागि पनि मुख्य टेको बनिरहेको छ । मुलुकको विदेशी मुद्रा आम्दानीको भरपर्दो आधार रेमिटेन्स नै बनेको छ ।
तीन दशकअघि दुईमध्ये एक जना नेपाली गरीब थिए । गरीबीको दर करीब १७ प्रतिशतमा झार्न मुख्य रूपमा विदेशकै धनले काम गरेको मानिन्छ । त्यति हुँदाहुँदै पनि युवाको निरन्तर पलायनले मुलुकलाई ठूलो चुनौती खडा गरेको छ, दीर्घकालसम्मै ।
राष्ट्रिय जनगणना, २०७८ अनुसार मुलुकमा काम गर्न सक्ने उमेर समूह १५–६४ को सङ्ख्या कुल जनसङ्ख्याको झन्डै ६५ प्रतिशत छ । उच्च श्रम गरेर कमाउन सक्ने उमेर समूहको जनसङ्ख्या धेरै हुनु मुलुकको उन्नतिका लागि हितकर मानिन्छ । अर्थशास्त्री र जनसङ्ख्याविद्हरूले यसलाई ‘जनसाङ्ख्यिक लाभ’ भनेर अथ्र्याउने गरेका छन् ।
तर, नेपालमा उपलब्ध श्रमशक्तिको लाभ लिन मुलुक चुकिरहेको त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख डा. शिवराज अधिकारी बताउँछन् । अधिकारी भन्छन्, “जनसाङ्ख्यिक लाभ मुलुकले सधैँ पाउँदैन । यो अवसर छोप्न सके मुलुकले काया फेर्न सक्छ, उपयोग गर्न नसके देश बूढो हुँदै जान्छ र मुलुकको गति पछाडि पर्छ । नेपालमा काम गर्न सक्ने युवा धमाधम विदेशिइरहेकाले अवसर गुमिरहेको छ ।”
कुनै पनि देशको जनसाङ्ख्यिक लाभको अवस्था लामो समय टिक्दैन । विगतमा उच्च जन्मदर भएका बेला जन्मिएकाको ठूलो सङ्ख्या क्रमशः तन्नेरी र युवामा रूपान्तरित भई तिनको श्रमले मुलुकलाई छिट्टै समृद्ध बनाउन सक्ने सम्भावना हुक्छ । तर, जन्मदर कम हुँदै जाँदा र वृद्धवृद्धाको अनुपात बढ्दै जाँदा कुल जनसङ्ख्यामा युवा शक्तिको अनुपात घट्छ । यसले श्रम गर्ने भन्दा उत्पादनमा न्यून सक्रिय र अरूप्रति आश्रितको अनुपात धेरै बनाउँछ ।
२०७८ सालको जनगणना अनुसार देशको औसत जनसङ्ख्या वृद्धिदर ०.९२ प्रतिशतमा ओर्लिएको छ । दुई दशकअघि मात्रै जन्मदर २.२४ प्रतिशत थियो । अहिले ६५ वर्षमाथिका वृद्धवृद्धाको सङ्ख्या कुल जनसङ्ख्याको झन्डै सात प्रतिशत पुगेको छ ।
औसत आयुमा वृद्धि, खानपान–स्वास्थ्योपचारको सुधारका कारण बढी समय बाँच्ने वृद्धवृद्धाको सङ्ख्या भविष्यमा बढ्दै जानेछ । जसले गर्दा देशमा ज्येष्ठ नागरिकको अनुपात बढ्दै जान्छ । तर, ती ज्येष्ठ नागरिकलाई रेखदेख गर्ने छोराछोरी नेपालमा हुनेछैनन् । जसले गर्दा तिनको वृद्धावस्था एक्लो बित्नेछ ।
राष्ट्रिय योजना आयोगको डेमोग्राफिक चेन्ज अफ नेपालः ट्रेन्ड्स एन्ड पोलिसी इम्प्लिकेसन्स प्रतिवेदनका अनुसार नेपालले जनसाङ्ख्यिक लाभ पाउने समय सन् १९९२ बाट सुरु भएको हो र यो सन् २०४७ सम्म कायम रहन्छ । अर्थात्, श्रमशक्ति उच्च हुने समयावधिबाट अवसर लिन नेपालसँग अब अढाई दशक मात्रै बाँकी छ । तर, श्रमशक्ति धमाधम विदेशी भूमिमा पुगेपछि त्यो अवसर समात्ने सक्नेमा सन्देह उब्जिएको छ ।
श्रम गर्न सक्ने क्षमता भएका जनशक्ति र बौद्धिक पलायनले नेपाल जस्तो अति कम विकसित देशको उन्नतिको अवसर समाउने प्रयत्नमा असर परिरहेको अर्थशास्त्री डा. अधिकारी बताउँछन् । उनी राजनीति र सरकारले नागरिकलाई उत्साहित र देशमै काम गर्न प्रोत्साहन गर्न नसकेको तर्क गर्छन् । अधिकारीका मतमा तरूण वयका युवालाई देशमै अवसर सिर्जना गर्न सकिने वा विदेश जाँदाका जोखिमबारे सही सूचना नै पुगिरहेको छैन । अधिकारी भन्छन्, “अर्धसूचनाका भरमा धेरै युवा विदेश गइरहेका छन् । सही सूचना दिने हो भने सबैथोक छोडेर विदेश हाम फाल्ने प्रवृत्ति रोकिन्छ ।”
समाजशास्त्री प्रसाईंका मतमा देश छोडेर विदेश हानिन खोज्ने अहिलेको प्रवृत्ति नेपाली समाजको नैतिक सङ्कट नै हो । “यो सङ्कटको आत्मसमीक्षा नीतिनिर्माता, राजनीतिज्ञ कसैले पनि गरेको छैन । कसैलाई केही मतलब नै छैन । तर, युवा रित्तिंदै गएको मुलुक भने झन् झन् आत्माविहीन भइरहेको छ,” उनी भन्छन् ।
अर्थशास्त्री बज्राचार्य विदेशिने युवाका लागि देशभित्रै कामको अवसर सिर्जना गर्न, आशा देखाउन हतारोसाथ काम थाल्नुपर्ने बताउँछन् । हरेक वर्ष विदेशिनेमध्ये निश्चित प्रतिशतलाई देशभित्र राख्ने, अवसर सिर्जना गर्नेमा चरणबद्ध रणनीति र योजना अघि सार्नुपर्ने उनको भनाइ छ । “विदेश जाने अहिलेकै प्रवृत्ति कायम रहे भविष्यमा नेपालको राजनीतिक, सामाजिक र आर्थिक मात्रै होइन, सार्वभौमसत्ताकै सङ्कट आउने जोखिम छ,” बज्राचार्य भन्छन् ।
त्यसो त युवा जनशक्ति द्रुतगतिमा विदेशिएकोमा सरकार र राजनीतिक नेतृत्व खुशी छैन । अर्थमन्त्री प्रकाशशरण महतले भदौको दोस्रो साता एक सार्वजनिक कार्यक्रममा विदेश जानैपर्छ भन्ने नेपालीको मानसिकता परिवर्तन गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री पुष्पकमल दाहालले एक सार्वजनिक कार्यक्रममा पनि देशमा निराशाको खेती भइरहेको बताएका थिए ।
अर्थमन्त्री महतले त पढ्न जाने युवालाई छात्रवृत्तिबाहेक जानै दिन नहुने तर्क समेत गरे । तर, अर्थशास्त्री खतिवडा यस्तो तर्क घातक रहेको बताउँछन् । उनी भन्छन्, “देशमा गुणस्तरीय जीवनयापन हुने वातावरण नबनाउने, तर विदेश जान नदिन हातखुट्टा बाँध्ने प्रवृत्ति बिल्कुल सही होइन । यो झन् घातक हुन्छ ।”
–हिमाल खबर डट कमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *