अनावश्यक ठाउँमा बजेट प्रयोग नगरियोस्
- पुष २५, २०८१
शिक्षा समाज विकास र परिवर्तनको प्रमुख आधार हो । योग्य, तालिम प्राप्त र सीप भएका विद्यार्थीहरू भोलि देशको दरिलो खम्बा बन्नेछन् । राज्य दक्ष र क्षमतावान नागरिक तयार गर्नको लागि हरदम तयारीका साथ लागिरहनु पर्दछ । परिवेश, समयानुकूल पाठ्यपुस्तक र पाठ्यक्रम तयार गरेर हरेक नागरिकलाई योग्य बनाउन राज्य सधैँ अघि बढिरहनुपर्दछ । शिक्षक भने संवाहकको रूपमा रहन्छ ।
आज विकट गाउँ क्षेत्रका विद्यार्थीहरूले समयमै पाठ्यपुस्तक पाउन सकिरहेका छैनन् । आवश्यक मात्रामा योग्य शिक्षक पनि पाउन सकिरहेको हुँदैन । शिक्षा क्षेत्रमा भएको समस्या र बेथिति बारम्बार देख्न र सुन्नमा आइरहेको हुन्छ । तर, राज्यको ध्यान गइरहेको देखिन्न । सरकारको बर्सेनि अर्बौँ रुपैयाँ शिक्षा क्षेत्रमा लगानी हुन्छ । शिक्षा क्षेत्रमा खर्च गर्नुपर्दछ । तर, नतिजा हेर्ने हो भने सन्तुष्टि हुन लायक छैन । खर्बौँ खर्च गरेर जेनतेन तयार भएका विद्यार्थी युवाहरू विदेसिएपछि देशले पाउने भनेको क्षति नै हो । तयारी विद्यार्थी युवाहरूलाई उत्पादनशील क्षेत्रमा राज्यले लगाउनुपर्दछ । उद्योग कलकारखाना विस्तार गरेर प्रत्येक नागरिकलाई काममा लगाउन सक्नुपर्दछ । तर, आज यस्तो छैन ।
शिक्षकलाई सेवा सुविधाको राम्रो बन्दोबस्त हुनुपर्दछ । आफ्नो समस्या सँगसँगै समाजको समस्याको विषयमा पनि शिक्षकले वकालत गर्नुपर्दछ । एक जना विद्यार्थीलाई तीन जना शिक्षकले पढाएर बस्नुपरेको समाचार पनि बाहिर आयो । कहीँ पढ्ने विद्यार्थी नभएर विद्यालय नै बन्द गर्नु परिरहेको स्थिति छ । सँगैको निजी विद्यालयमा विद्यार्थी भरपुर हुन्छन् । यस्तो स्थिति किन आयो ? शिक्षकलाई जानकार हुनुपर्दछ । आज सबैभन्दा धेरै बिदा हुने, बन्द हुने क्षेत्र विद्यालय क्षेत्र बनेको जनगुनासो छ । विद्यालय धेरै बन्द हुँदा बिदामा रमाउने अल्छी शिक्षकहरूबाट समाजले के उपलब्धि खोज्ने ? सक्षम र सबल शिक्षकहरूबाट विद्यालयको मुहार परिवर्तन भएको पनि समाजमा उदाहरण पाउन सक्छौँ । राजनीतिक आडभरोसामा रोजगार पाउनकै निम्ति पदपूर्ति भएका शिक्षकहरूबाट भने मीठो फल पाउन गा¥है हुनेछ ।
Leave a Reply