भर्खरै :

धारणा बनाउनुअघि वास्तविकता बुझौँ

धारणा बनाउनुअघि वास्तविकता बुझौँ

शिक्षा जनस्वास्थ्य प्रवद्र्धन गर्ने सशक्त साधन हो । उपचार त छँदै छ, जनतालाई निरोगी बनाउन ख्वप अस्पतालले स्वास्थ्य शिक्षा कार्यक्रमको अभियानलाई जोड दिनुपर्छ ताकि अस्पताल धाउनै नपरोस् । यी कार्यक्रमहरूमा जनतालाई स्वस्थ जीवनशैली र रोग रोकथामबारे शिक्षित गर्नुपर्छ । भक्तपुरलाई ज्ञान र सीपद्वारा सशक्त बनाएर ख्वप अस्पतालले स्वस्थ व्यवहार र सुसूचित निर्णय लिनेमा योगदान दिन सकोस् र ‘सबैका लागि स्वस्थ, सुखी र समृद्ध समाज’ को नारालाई बुलन्द पार्न सकोस्, ख्वप अस्पताललाई यही शुभकामना ।
तिलगङ्गाबाट भक्तपुर आउँदै गरेको गाडीको झ्याल बाहिर हेर्दै २०/२१ वर्षको छोरा बाउसँग कुरा गर्दै थिए । छोरा खुसीले चिच्याउँदै भने, “हेर्नु त बा रुख कसरी दगुरिरहेका । एकछिनपछि फेरि हेर्नु त बा कति धेरै गाडी गुडिरहेका ।” यसरी नै छोरा खुसीले अनेक कुरा गर्दै थिए अनि बाउ भावुक भएर छोरोको कुरामा होमा हो मिलाउँदै थिए । सँगैको सीटमा अर्काे एक जोडी युवा युवतीसँगै टाँसिएर बाउ छोराको कुरामा मजाकको पारामा टिप्पणी गरिरहे । कस्तो बाउ होला यत्रो छोरालाई बोल्ने तरिका पनि सिकाउनुपर्दैन ? ३/४ वर्षको बच्चाजस्तै कुरा गर्छ । धेरै भएपछि युवतीले बाउतिर हेर्दै भनिन्, “तपाईँको छोरालाई कुरा गर्ने तरिका सिकाउनुपर्दैन ? कहिल्यै केही चिज नदेख्याजस्तै गरी बोलिरहेको छ ।” बाबुले केही भन्न खोज्यो तर बोली फुटेन । फेरि बोल्न प्रयास गर्दै भने, “हो बहिनी, यो मेरो छोराले भर्खरमात्र यी सबै चिज देखेका हुन् । यो छोरा जन्मेदेखि नै अन्धो थियो । आजमात्रै आँखाको अपरेसन गराएर फर्केको । त्यही भएर यिनलाई सबै चिज नौलो लाग्छ । तपाईँहरूलाई डिस्टर्ब भएकोमा क्षमा ।” वास्तविकता बुझेपछि ती जोडी बोल्नै सकेनन् । आफूले गरेको टिप्पणीमा पछुताए ।
कसैमाथि धारणा बनाउन हतार गर्नुहुँदैन । कुनै चिजको वास्तविक चरित्र बुझ्न गहिरो अध्ययन गर्नु आवश्यक हुन्छ । नेवारीमा एउटा भनाइ छ, “मान्छे जोख्ने एक पटक सुन जोख्ने अनेक पटक ।” तर, व्यवहारमा यसको ठीक उल्टो हुन्छ । मान्छे चिन्न धेरै पटक जोख्नुपर्ने रहेछ । बरु सुन चाहिँ एक पटक जोख्यो, अनि किन्यो । आवेगमा आएर वा भावनामा बगेर कसैमाथि हतारमा धारणा बनाउँदा फुर्सदमा पछुताउनुपर्ने हुन्छ ।
गहिरिएर वास्तविकता नबुझी ख्वप अस्पतालमाथि आवेगमा आएर धारणा बनाउँदा केही व्यक्ति अहिले पछुताएका पनि हुनसक्छन् । म र मेरो परिवारले पनि ख्वप अस्पतालबाट थुप्रै पटक सेवा पाउने अवसर पाएका छौँ । यस अवधिमा आकलझुकल केही स–साना छुच्चो व्यवहार व्यहोर्नु नपरेको पनि होइन तर यही अपवादको रूपमा हुने स–साना घटनालाई नै आधार बनाएर समग्र ख्वप अस्पताल परिवारलाई मर्यादा बाहिर गएर गाली गलौज गर्नु भनेको गुणको बदला बैगुण गर्नुजस्तै हो । नाफाको निम्ति बिरामीको ज्यानसँग खेल्ने नाफामुखी निजी अस्पताललाई गाली गरेजस्तै ख्वप अस्पताललाई गाली गर्नु मूर्खता हो । ख्वप अस्पतालको जग यहाँका भुइँमान्छेको पसिनामा अडेको छ । ख्वप अस्पतालको अहित चिताउनु भनेको भक्तपुरवासीको अहित चिताउनु नै हुन्छ ।
नेपालका ठूला राजनीतिक दल भनाउँदाहरू आफ्नै देशको स्वास्थ्य स्थितिलाई सुधार्नुको सट्टा स–सानो रोगको लागि पनि विदेश दौडिने बानी परेको अवस्थामा निर्वाचनमा प्राप्त मतको आधारमा सानै राजनीतिक दल भए पनि नेमकिपाले आफ्नोे नेतृत्वमा रहेको भक्तपुर नगरपालिकाअन्तर्गत जनतासँग प्रत्यक्ष जोडिएको स्वास्थ्यजस्तो जटिल समस्यालाई समाधान गर्न ख्वप अस्पताल स्थापना ग¥यो तर फरक विचारधाराकै कारण न्वारनदेखिको बल लगाएर ख्वप अस्पताललाई गाली गर्ने मान्छेहरू छन् । ख्वप अस्पतालको व्यवस्थापनलाई सचेत गराउनु वा खबरदारी गर्नु राम्रै कुरा हो । तर, यही खबरदारी गर्ने नाममा निरन्तर गाली गलौज गरिरहन्छ भने त्यो खबरदारी गरेको होइन, खोइरो खनिरहेको भनेर बुझ्नुपर्छ । पूर्वाग्राही घृणाले कहिल्यै पनि समाजको भलाइ हुनसक्दैन । घृणा हटाउ, माया बढाउ, यही हो धर्म, यही हो समाज सेवा । मानवताभन्दा ठूलो अरू कुनै धर्म छैन ।
निजी अस्पतालहरू नाफामुखी संस्था भएको हुँदा तिनीहरूको प्राथमिक लक्ष्य नाफा गर्नु र शेयरधारक वा मालिकलाई नाफा बुझाउनु हुन्छ । नाफाको लागि तिनीहरू प्रायः चिकित्सा सेवाहरूको लागि उच्च शुल्क निर्धारण गर्छन्, जुन कम आय भएका व्यक्तिहरूको लागि तिर्नै नसकिने आर्थिक बोझ हुन्छ । हाम्रो देशका निजी अस्पतालहरूमा स्वास्थ्य सेवाको गुणस्तर र पहुँचलाई असर गर्न सक्ने थुप्रै चुनौती र विकृतिहरू विद्यमान छन् । हाम्रो देशको नियामक निकाय कमजोर भएको हुँदा निजी अस्पतालहरूलाई गुणस्तर मापदण्डहरूको पालना नगरी सञ्चालन गर्न अनुमति दिएका थुप्रै उदाहरणहरू छन् । यसले बढी शुल्क, गुणस्तर र स्वास्थ्य सेवा प्रदायकहरूको योग्यताको सम्बन्धमा पारदर्शिताको कमीजस्ता समस्याहरू निम्त्याउने गरेको छ । लाभको उद्देश्यले बिरामीको कल्याणलाई ओझेलमा पारेर अनावश्यक परीक्षण, उपचार र शल्यक्रियाहरू गरिन्छन्, जसले बिरामीहरूमाथि आर्थिक बोझ सिर्जना गर्दछ । कम आय भएका व्यक्तिहरूको लागि सीमित पहुँच, अपर्याप्त आपत्कालीन हेरचाहको कारण स्वास्थ्य सेवामा असमानता बढिरहेको छ ।
यस्तै विकृतिहरूलाई सम्बोधन गर्न र सबैका लागि पहुँचयोग्य, किफायती र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने महत्वपूर्ण लक्ष्य राखेर आफ्नो क्षमताले भ्याउने गरेर भक्तपुर नगरपालिकाले ख्वप नामकरण गरेर ‘ख्वप अस्पताल’ स्थापना गरेको हो । ख्वप अस्पतालले जनस्वास्थ्यको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । यद्यपि, अहिलेको समयमा ख्वप अस्पतालले ठूला मेडिकल सेन्टरहरू र शिक्षण अस्पतालहरूले प्रदान गर्नेजस्तो उन्नत सेवा प्रदान गर्न नसके पनि समुदायमा स्वास्थ्य सेवाको मेरुदण्डको रूपमा सेवा गरिरहेको छ ।
समृद्ध सार्वजनिक नै स्वास्थ्य समृद्ध समाजको आधारशिला हो । पूर्ण सार्वजनिक स्वास्थ्यको खोजीमा ख्वप अस्पताल महत्वपूर्ण संस्थाको रूपमा खडा भएको छ जसले स्वास्थ्य सेवा शृङ्खलामा महत्वपूर्ण भूमिका खेलेको छ । समुदायको विविध स्वास्थ्य सेवा आवश्यकतालाई सम्बोधन गर्न ख्वप अस्पतालले अथक प्रयास गरिरहेको छ । आफ्नो स्थानीय जनताको अद्वितीय स्वास्थ्य सेवा आवश्यकताहरूलाई सम्बोधन गरेर, ख्वप अस्पतालले सबै भक्तपुरवासीलाई स्वास्थ्य सेवाहरू पहुँचयोग्य, किफायती र प्रभावकारी बनाएको छ । सङ्क्षेपमा, ख्वप अस्पतालले गरिब जनताको स्वास्थ्यको लागि द्वारपालको रूपमा काम गरिरहेको छ ।
शिक्षा जनस्वास्थ्य प्रवद्र्धन गर्ने सशक्त साधन हो । उपचार त छँदै छ, जनतालाई निरोगी बनाउन ख्वप अस्पतालले स्वास्थ्य शिक्षा कार्यक्रमको अभियानलाई जोड दिनुपर्छ ताकि अस्पताल धाउनै नपरोस् । यी कार्यक्रमहरूमा जनतालाई स्वस्थ जीवनशैली र रोग रोकथामबारे शिक्षित गर्नुपर्छ । भक्तपुरलाई ज्ञान र सीपद्वारा सशक्त बनाएर ख्वप अस्पतालले स्वस्थ व्यवहार र सुसूचित निर्णय लिनेमा योगदान दिन सकोस् र ‘सबैका लागि स्वस्थ, सुखी र समृद्ध समाज’ को नारालाई बुलन्द पार्न सकोस्, ख्वप अस्पताललाई यही शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *