भर्खरै :

अल्जाइमर्स : सम्हाल्नै नसक्ने अवस्थामा पुग्न सक्छन् बिरामी

अल्जाइमर्स : सम्हाल्नै नसक्ने अवस्थामा पुग्न सक्छन् बिरामी

अल्जाइमर्सको रोकथाम कसरी गर्ने ?
अल्जाइमर्स एक प्रकारको स्मृति क्षय हुने रोग हो । कति बिरामीहरू उपचारका लागि सुरुवाती अवस्थामा आइपुग्ने गर्छन् भने धेरै बिरामीहरू चिकित्सककहाँ आइपुग्दा अवस्था जटिल भइसकेको हुन्छ । विगतमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेको मेरो अनुभवका आधारमा सहरी भेगका बिरामीहरूमा यसबारेमा राम्रो ज्ञान भएको मैले थाहा पाएँ । मेरो जीवनकालमा सामान्य तथा जटिल खालको अल्जाइमर्सको समस्या भएका बिरामीहरूको उपचार गर्ने मौका पाएको छु । जसमा सम्झन लायक दुईवटा केशलाई म यहाँ उल्लेख गर्न चाहन्छु ।
मसँग अल्जाइमर्सको उपचारका लागि ८० वर्षीया आमा आइपुग्नुभएको थियो । जो आफूले खाए या नखाएको समेत याद गर्न सक्नुहुन्नथ्यो । दिनभरि बुहारीले उहाँको खानपानमा विशेष ख्याल गर्दै बुहारीले खाना खाजा खुवाउने गर्थिन् । आमाले भने बुहारीले दिउँसोभरि केही खान दिइन भन्दै साँझ छोरालाई कुरा लगाउने गर्थिन् । यसले पारिवारिक जीवनमा कलह पैदा गरायो ।
उनीहरूले आकस्मिकरूपमा आमामा आएको परिवर्तनपश्चात् स्वास्थ्य परीक्षणको लागि अस्पताल ल्याएका थिए । यो अल्जाइमर्सको सामान्य अवस्थाको बिरामीको उदाहरण हो । त्यस्तै, धेरै जटिल अवस्थाका बिरामीहरू मकहाँ आइपुग्नुभएको छ । हाल म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छु । त्यहाँ दुर्गम क्षेत्रबाट जटिल अवस्थामा मात्रै बिरामीहरू उपचारको लागि आइपुग्ने गर्छन् । बढ्दो उमेरमा बिर्सनु भनेका सामान्य नै हो भन्ने त्यहाँका मानिसहरूलाई लाग्ने गर्छ । अल्जाइमर्सका कारण जटिल अवस्थामा पुगी घर परिवारले सम्हाल्नै नसक्ने अवस्थामा बिरामीहरू अस्पताल आइपुग्छन् ।
रोल्पाका एक ज्येष्ठ नागरिक पूजा कोठामा गएर दिसा पिसाब गरेर त्यसले नै लिपपोत गर्ने अवस्थामा पुगेका थिए, तबमात्रै परिवारले उनलाई उपचारको लागि अस्पताल ल्याएका थिए । रोग निदानको क्रममा उहाँलाई अल्जाइमर्स भएको मैले पत्ता लगाएँ ।
अल्जाइमर्स एक प्रकारको दीर्घकालीन रोग हो । सुरुवाती अवस्थामा यसका लक्षणहरू सामान्य हुन्छन् । सामान्यदेखि जटिल अवस्थासम्मका बिरामीहरूको उपचार गरेको अनुभव मसँग छ ।
अल्जाइमर्स एक पटक लागेपछि पूर्णरूपमा निको बनाउन सकिने रोग होइन । यसलाई नियन्त्रण गरिए पनि पूर्णरूपमा निको भने बनाउन सकिँदैन । उपचारको लागि आएका बिरामीहरूलाई अझै उक्त रोग बढ्न नदिनका लागि औषधि दिने गरिन्छ ।
अल्जाइमर्स रोग जटिल बन्दै जाँदा बिरामीमा मानसिक समस्या देखिने गर्छ । जटिल अवस्थाका बिरामीहरू कराउने, चिच्याउने तथा निर्वस्त्र भएर हिँड्ने गर्छन् । अल्जाइमर्स रोगले ग्रसित हुँदा बिरामीले देखाउने आपत्तिजनक व्यवहारका कारण परिवारलाई ठूलो आघात पुगेको हुन्छ । अल्जाइमर्सको उपचारपश्चात् बिरामी शान्त हुन्छन् भने परिवारले भिन्नै प्रकारको आनन्दको महसुस गर्छन् । अल्जाइमर्स हुँदा बिरामीले जीवनपर्यन्त औषधिको सेवन गर्नुपर्ने हुन्छ ।
अल्जाइमर्स सानादेखि ठूलो जोसुकैलाई पनि लाग्ने रोग हो । मेरो उपचार अनुभवमा दूर दराज समाजबाट अपहेलित भएका तथा सम्पन्न सहरी क्षेत्रका बिरामी आइपुग्ने गर्नुभएको छ । सर्वाेच्च अदालतका न्यायाधीशसमेत अल्जाइमर्स रोगको उपचारका लागि मकहाँ आइपुग्नु भएको छ ।
अल्जाइर्सको उपचारका लागि कस्तो व्यवस्था आवश्यक
यो शल्यक्रिया गरेर उपचार गरिने रोग होइन । अल्जाइमर्स भइसकेपछि करिब १ लाख बराबरको उपचार सरकारले निःशुल्करूपमा गर्ने व्यवस्था रहेको छ । अल्जाइमर्सको रोकथामका लागि नेपाल सरकारले तदारुकता देखाएको छ भन्ने उदाहरण पनि हो यो ।
यसको औषधि विकास तथा प्रयोग अनुसन्धानकै चरणमा छन् । अल्जाइमर्स लागिसकेपछि निगरानीको आवश्यकता पर्ने भएकोले बिरामीको स्याहारका लागि परिवारलाई पनि दबाब पर्ने गर्छ । अल्जाइमर्स रोग लागिसकेपछि पक्षघात, हृदयघातलगायत अन्य रोगले चाँडै नै आक्रमण गर्न सक्ने भएकोले सरकारले स्वास्थ्य बीमाको दायरालाई बढाई ५ लाख बराबरको उपचार सेवा निःशुल्क बनाउन आवश्यक छ । एक लाख बराबरको निःशुल्क स्वास्थ्य उपचार सेवा लिने प्रक्रिया निकै नै झन्झटिलो भएकोले यसलाई सरल बनाउँदै लैजान आवश्यक छ ।
रोगको समयमै पहिचान तथा उपचारका लागि जनचेतना बढाउन सकेको अवस्थामा सुरुवाती अवस्थामा नै उपचार हुँदा निको हुने दर राम्रो हुन्छ ।
अल्जाइमर्स के हो ?
यो ज्येष्ठ नागरिकमा देखापर्ने मस्तिष्कसम्बन्धी एक समस्या हो । जसको मुख्य लक्षण भनेका बिर्सँदै जानु हो । त्यसकारण, बिर्सने समस्यालाई नै अल्जाइमर्स रोग भनिन्छ । उमेर जति ढल्किँदै जान्छ यो रोग लाग्ने सम्भावना बढ्दै जाने गर्छ । सङ्ख्याको हिसाबले भन्ने हो भने कुल जनसङ्ख्याको ४ प्रतिशतमा अल्जाइमर्सको समस्या देखापर्ने गर्छ ।
तर, ८५ वर्षभन्दा माथिका मानिसहरूमा भने करिब ४० देखि ५० प्रतिशत यो रोग हुने सम्भावना हुन्छ । त्यसैले जति उमेर ढल्दै जान्छ अल्जाइमर्सको सम्भावना पनि बढ्दै जान्छ ।
लक्षणहरू
यसका लक्षणहरूलाई सुरुवाती अवस्था, कम कडा र अत्यन्तै कडा गरी विभाजन गरिएको छ । सुरुवाती अवस्थामा बिरामीहरूले भर्खर भर्खरका कुराहरू बिर्सेने गर्छन् । जस्तै खाएका कुराहरू बिर्सिने, सामान राखेको स्थान बिर्सिने, हराउनेजस्ता समस्याहरू सुरुवाती अवस्थामा देखिने गर्छन् ।
कम कडा अवस्थामा बिरामीहरूले एउटै कुरा पटक–पटक भन्ने, घरको बाटो बिर्सनेजस्ता लक्षणहरू देखापर्ने गर्छ ।
बिस्तारै यो रोग बल्झिँदै जाँदा घरपरिवारका सदस्यहरू नै नचिन्ने अवस्था आउने, पूर्व जानकारी भएका स्थानहरू बिर्सने, अति शङ्का गर्नेजस्ता लक्षणहरू देखापर्ने गर्छन् ।
शाकाहारी ज्येष्ठ नागरिकमा अल्जाइमर्सको जोखिम बढी ?
लामो समयदेखि शाकाहारी जीवनशैली अपनाउने ज्येष्ठ नागरिकहरूमा अल्जाइमर्सको जोखिम अन्यमा भन्दा बढी हुने गर्छ । उनीहरूमा भिटामिन बी १२ को कमी हुने भएकोले अल्जाइमर्सको जोखिम बढी हुने गरेको हो । चिकित्सककहाँ आइपुगेका बिरामीहरूलाई अवस्थाअनुसार औषधि दिने गरिन्छ ।
अल्जाइर्सको रोकथाम कसरी गर्ने ?
जुन कारणले अल्जाइमर्स हुने जोखिमलाई बढाउने गर्छ, त्यसलाई सुरुवाती अवस्थामा पहिचान गरी नियन्त्रण गर्न सकेको अवस्थामा अल्जाइमर्सको जोखिमलाई कम गर्न सकिन्छ । उच्च रक्तचापले अल्जाइमर्सको जोखिमलाई बढाउने गर्छ । त्यसकारण, सकेसम्म रक्तचापलाई सन्तुलनमा राख्न सक्नुपर्छ । त्यस्तै मधुमेह, अत्यधिक मोटोपना, टाउकोमा लाग्ने चोटपटक, सामाजिकरूपमा निष्क्रिय जीवनशैलीलगायतका कारण अल्जाइमर्सको जोखिम बढ्ने गर्छ ।
अल्माइमर्स ज्येष्ठ नागरिकहरूलाई लाग्ने रोग हो । समाजले ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न नसकेको अवस्थामा ज्येष्ठ नागरिकको स्वास्थ्यको ख्याल गर्न तथा समयमा नै उपचार प्रक्रियामा लान सकिँदैन । समाजमा बालबालिकालाई गर्ने खर्चलाई लगानी भनी बुझ्ने तथा ज्येष्ठ नागरिकमा हुने खर्चलाई अनावश्यक खर्चको रूपमा हेर्ने प्रचलन रहेको छ । उनीहरूको स्वास्थ्यलाई व्यक्ति परिवार, समाज र राज्यले नै प्राथमिकताको सूचीमा राख्नु आवश्यक देखिएको छ । ज्येष्ठ नागरिकको उपचारका लागि सरकारले प्रत्येक स्वास्थ्य संस्थाहरूमा ज्येष्ठ नागरिक उपचार विभागको व्यवस्था गर्न आवश्यक छ ।
(राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कँडेलसँग स्वास्थ्यकर्मी लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित)
स्वास्थ्य खबर डटकमबाट
अल्जाइमर रोगका लक्षण :
१) स्मरण शक्ति गुम्नु
यो अल्जाइमर्स भएका व्यक्तिमा देखिने मुख्य लक्षण हो । बिर्सनु आफैँमा रोग होइन । तर, अल्जाइमर्सका बिरामीले बारम्बार अर्थात् भर्खर भनेका कुरा पनि बिर्सन्छन् । बिरामीले आफ्नै घरको बाथरुमदेखि भर्खरै बोलेको मानिस चिन्दैनन् ।
२) मूल्याङ्कन कठिनाइ
सामान्य अन्दाज गर्न नसक्नु अल्जाइमर्स रोगको अर्को लक्षण हो ।
३) डिप्रेसन र मन परिवर्तन
कुनै व्यक्तिको मुड परिवर्तन भइरहन्छ र प्रायः निराश देखिन्छ भने उसलाई भित्रभित्रै अल्जाइमर्सले गाँजेको हुनुपर्छ । डिप्रेसन अल्जाइमर्स रोगको पूर्वलक्षण हो ।
४) निर्णय क्षमतामा ¥हास
कसैले निर्णय गर्न सक्दैन वा मनमा दुविधा मात्र राख्छ भने पनि अल्जाइमर्सको लक्षण हो ।
५) ध्यान नहुनु
अल्जाइमर्सका बिरामीमा नियमित काममा कत्ति पनि ध्यान हुँदैन । उसले यसअघि गरेका काम सबै बिर्सन्छ । उसको सबै दिनचर्या नै खलबलिन्छ ।
६) बोल्न कठिनाइ
अल्जाइमर्सका बिरामीले राम्रोसँग बोल्नै सक्दैनन् । तसर्थ, कसैसँग बोल्दा राम्रोसँग वाक्य बनाउन सकिँदैन वा बोल्दा धक लाग्छ भने त्यो पनि अल्जाइमर्सको अर्को लक्षण हो ।
७) मनमा छटपटी
मन स्थिर नहुनु, छटपटी बढ्नु, एउटै स्थानमा केहीबेर पनि बस्नु नसक्नु अल्जाइमर्सका लक्षण हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *