भर्खरै :

आफैँ ढुङ्गा हान्ने गृहमन्त्री श्रेष्ठले शान्तिपूर्ण धर्नाविरुद्ध प्रहरी परिचालन गर्न सुहाउँछ ?

  • आश्विन १५, २०८०
  • प्रकाशकाजी प्रधान, काठमाडौँ
  • पाठक विचार
आफैँ ढुङ्गा हान्ने गृहमन्त्री श्रेष्ठले शान्तिपूर्ण धर्नाविरुद्ध प्रहरी परिचालन गर्न सुहाउँछ ?

हाल काठमाडौँ महानगरपालिका वडा नं. २६ मा ठमेल भन्ने स्थानको नाम ऐतिहासिक थँबही (माथिल्लो विहार) बाट अपभ्रंश भई बनेको हो । थँबही अद्यापि छँदै छ । इतिहास पढ्ने सबैलाई थाहा छ – थँबही लिच्छविकालीन सेनापति तथा व्यापारी नाइके सिंहल सार्थ वाहले निर्माण गर्न लगाई सञ्चालनको व्यवस्था गरेका थिए । थँबहीसँगै विशाल कमलपोखरी रहेको थियो र त्यस पोखरीमा फुलेका कमलका फूल थँबही र अन्य मन्दिरमा समेत उपयोग हुन्थ्यो । यो क्रिया लिच्छवि शासनपछि सयौँ वर्ष लामो मल्ल शासन काल र नेपाल एकीकरणपछि शाह शासनकालमा पनि चलिरहेको थियो ।
राणा प्रधानमन्त्री चन्द्र शमशेरका माहिला छोरा तथा राणा प्रधानमन्त्रीको रोलक्रममा आफ्ना दाजु मोहन शमशेरपछिका हैकमवाला थिए । उनले राणा शासन कालमा कमलपोखरीलाई केशर महलको पर्खालभित्र पारेका थिए । यसरी लिच्छविकालीन ऐतिहासिक थँबहीभित्र रहेको कमलपोखरीलाई राणा प्रधानमन्त्री चन्द्र शमशेरका छोरा केशर शमशेरले जबरजस्ती कब्जा गरेका थिए भने केशर शमशेरका छोरा केयुर शमशेरले २०३३ देखि २०४५ सालको बिचमा पोखरी पुरेर किर्ते तथा दुषित लिखतका आधारमा आफन्तबिच नै बेचबिखन गरेका थिए । पोखरी पुरेकै स्थानमा छायादेवी कम्प्लेक्स नामको व्यापारिक भवन खडा गरिएको छ ।
ऐतिहासिक कमलपोखरी पुरेर बनाएको छायादेवी कम्प्लेक्स हटाउनुपर्ने र ऐतिहासिक कमलपोखरी कायम गर्नुपर्ने माग राखी शनिबार शान्तिपूर्वक धर्ना दिएका प्रदर्शनकारीहरूमध्ये २५ जनालाई संविधानविपरीत नेपाल प्रहरीले पक्राउ ग¥यो । शान्तिपूर्णरूपमा धर्ना प्रदर्शन गरिरहेका आन्दोलनकारीहरूलाई पक्राउ गर्नु संविधान प्रदत्त वाक तथा अभिव्यक्ति स्वतन्त्रताजस्ता मौलिक हकको हनन र प्रजातन्त्रको मूल्य मान्यताविपरीत हो । देशको सम्पदा संरक्षण र संवद्र्धन गर्न शान्तिपूर्ण विरोध कार्यक्रममाथि प्रहरी हस्तक्षेपले कतै गृहमन्त्री नारायणकाजी श्रेष्ठ सम्पदा म्हासेका भू–माफियाहरूसित त मिलेका होइनन् ? भन्ने प्रश्न तड्कारो उठेको छ ।
जनआन्दोलन २०६२/०६३ को क्रममा तत्कालीन नेकपा एकता केन्द्रका महासचिव रहेका वर्तमान गृहमन्त्री श्रेष्ठले लुकी लुकी प्रहरीमाथि ढुङ्गा हानेका थिए । उनी ढुङ्गा हानी एउटा घरभित्र पसेर सुरक्षित हुन्थे भने अन्य आन्दोलनकारीहरू प्रहरीको लाठी, बुटको सिकार भएका थिए । आन्दोलनकै क्रममा एकपटक पक्राउ पर्दा उनी बेस्सरी रिसाएर आफूलाई पक्राउ गर्न नपाइने तर्क गरेका थिए । त्यतिबेला त प्रतिगमनकाल थियो, शाही शासनकाल थियो । आज देशमा लोकतान्त्रिक गणतन्त्र छ । सहिदको बलिदान र लाखौँ जनताको सङ्घर्षबाट आएको लोकतन्त्रमा हिजो प्रहरीमाथि आफैँ ढुङ्गा हान्ने गृहमन्त्री श्रेष्ठले शान्तिपूर्ण धर्नाविरुद्ध प्रहरी परिचालन गर्न सुहाउँछ ? खोइ लोकतन्त्र र गणतन्त्रले दिएको राजनीतिक स्वतन्त्रता ? खोइ संविधानले प्रदान गरेको मौलिक हकको सुनिश्चितता ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *