वातावरण बचाउन नाफाखोर व्यवस्थालाई बदलौँ – १
- चैत्र ७, २०८१
चार्वाक दर्शन अध्ययनको लागि चार्वाकवादीहरूले लेखेका आधिकारिक साहित्य उपलब्ध छैन, अनि चार्वाकको आलोचना, खण्डन, विरोध र निन्दा गरिएका साहित्यहरूको आधारमा चार्वाकबारे अध्ययन गर्नुपर्ने बाध्यता रहेको अध्येताहरूको भनाइ छ । चार्वाकप्रति अनास्था फैलाउन, चार्वाक दर्शनलाई गुमनाम बनाउन वा विवादित बनाउन अनेक प्रपञ्च रचे पनि दर्शनको क्षेत्रमा चार्वाकको अध्ययन र महिमागान रोकिएको छैन । भौतिकवादी दर्शनबारे छलफल गर्न मात्र पनि तर्सिने गरेको आध्यात्मवादमा लिप्त पूर्वीय समाजभित्र चार्वाकबारे सोधखोज र चर्चा रोकिएको छैन ।
चार्वाक को हो ? चार्वाक के हो ? चार्वाक व्यक्ति हो या चार्वाक सिद्धान्त हो ? कसले चार्वाक दर्शन चलायो ? आदि सवालहरू छन् । चार्वाक दर्शनमाथि उठ्ने सबै प्रश्नबारे दार्शनिकहरूमाझ मतैक्यता पाइन्न । चार्वाकबारे फरक फरक स्रोतबाट फरक फरक दृष्टिकोण बुझ्न पाइन्छ । यसकारण, चार्वाक दर्शनलाई पूर्वीय दर्शनमा सबैभन्दा बढी विवादित दर्शनको रूपमा समेत चिनाउन खोजिन्छ ।
चार्वाक दर्शनले चार वाक (वाक्य) मा आफ्नो सम्पूर्ण दर्शन अभिव्यक्त गर्ने गरेको हुँदा यो दर्शनलाई चार्वाक दर्शन भनिएको हो ।
यावज्जीवेत् सुखं जीवेत्
ऋणम् कृत्वा घृत पिवेत्
भस्मिभुतस्य देहस्य
पुनार्गमनम कुतः
चार्वाकको पहिलो वाक्य हो – जबसम्म बाँचिन्छ, सुखसँग बाँच । सुख नै जीवनको सबैभन्दा ठूलो पुरूषार्थ हो । पशुपक्षीसमेत सुखसँग बाँच्न चाहन्छन् । हामी पनि यस्तो ठाउँमा बस्न चाहन्छौ, जहाँ सुख प्राप्त होस्, मन नै प्रफुल्ल होस्, रमाइलो होस् । मानिस मनोवैज्ञानिक रूपमा समेत सचेत प्राणी हो । मानिससँग बुद्धि र विवेक छ । तसर्थ, मानिसले सुख, आनन्द प्राप्तिको निम्ति अनेक उपाय लगाउँछ । सुखपूर्वक बाँच्नको लागि शरीर स्वस्थ पार्नुपर्छ । शरीर स्वस्थ पार्नको लागि घिउ, राम्रो खाना खानुपर्छ । यो शरीर सजिलो गरी पाइन्न । यो शरीर बहुमूल्य छ । यो शरीरको रक्षाको लागि स्वस्थबद्र्धक दूध, घिउ, दही, मक्खन धेरै खानुपर्छ । चार्वाकको दोस्रो वाक्य छ – ऋण गरेर भए पनि घिउ खाऊ । शरीर कमजोर भयो, नास भयो भने फेरि यो शरीर पाउन सकिन्न । मानिस मरेपछि शरीर त भस्म भएर जान्छ । चार्वाकको तेस्रो वाक्य छ – यो शरीर जो छ भस्म हुन्छ । भस्म भएर गएको शरीर कहिल्यै फर्केर आउँदैन । शरीरको पुनः आगमन कहिल्यै हुँदैन । पुनःजन्म कसैको हुँदैन । चार्वाकको चौथो वाक्यले भन्छ – पुनःआगमन कहिल्यै हुँदैन ।
चार्वाक वेद मान्दैन । वेदले भनेजस्तो आत्माको अस्तित्व स्वीकार गर्दैन । शरीर जीवन्त राख्नको लागि प्राण वायु चाहिन्छ, जीव चाहिन्छ, आत्मा हुन्छ भने यो शरीर एक हो कि अनेक भन्ने चार्वाकको प्रश्नले वेदवादीहरू नाजवाफ हुन्छन् । शंक्राचार्यले पनि मोक्ष प्राप्त गरेको आजसम्म कसले प्रमाणित गर्न सकेको छ ? वा शंक्राचार्य आज कुनै कुकुर वा सर्पको योनीमा अल्झिएर तड्पिरहेको छ त ? निःसन्देह यी सवालको उत्तर मिलेको छैन । तसर्थ, पुनः जन्मको कुनै सम्भावना छैन । यसरी चार्वाकले चार वाक्यमा सम्पूर्ण दर्शन पूरा गरेको पाइन्छ ।
चार्वाकबारे अर्को मत अनुसार चार्वाकको अर्थ चारू वाक हो । चारूको अर्थ मिठो । चार्वाकको पहिलो वाक्य नै कति मिठो छ ? – जबसम्म बाँचिन्छ सुखसँग बाँच । सुखसँग बाँच भन्ने सुन्दा पनि मानिस खुसी हुन्छन् । खुसीले आनन्द दिन्छ । यसरी चार्वाकवादीहरूको कुरा निकै मिठा भएकोले उक्त दर्शनको नाम नै चार्वाक रहन गयो ।
चार्वाकको विरोध गर्नेहरूले पनि चार्वाकको अर्थ लगाएका छन् । उनीहरूको मतअनुसार चार्वाकको अर्थ चढेको (चरन्वती) भनेका छन् । चार्वाकहरू यति माथि चढ्यो कि उनीहरूले पाप र धर्मको सीमा अन्त गरे । पाप र पुण्यको भेद मेटाइदियो । यसरी पाप र धर्म नमान्ने चढेका, मातेका अराजकहरूलाई चार्वाक भनेको बुझाइ चार्वाक विरोधीको मत छ ।
आध्यात्मवादी वा वेदका पक्षधरहरूको मूल मर्म भन्नु नै आत्मा, स्वर्ग र नर्क वा परलोकमाथि विश्वास हो । चार्वाकले ती आध्यात्मवादीहरूको भ्रमको पर्दा उघारिदिए । यसकारण, चार्वाकका ग्रन्थहरू सबै जलाएर नष्ट गरियो । चार्वाक पक्षधरहरूलाई निर्ममतापूर्वक दबाइयो । सम्पूर्ण पूर्वीय समाजमा आध्यात्मवादको राज भयो । भौतिकवादी दृष्टिकोण ओझेलमा पारियो । यद्यपि, रामायण र महाभारतजस्ता ग्रन्थहरूमा पनि चार्वाकवादी दृष्टिकोणले बहस गरेको पाइन्छ । रामायणमा वनवास गएका रामसँग जावाद ऋषिले गरेको संवादमा चार्वाक दृष्टिकोण देखापर्छ । राज्य सत्ता चलाउन राजा हुनुपर्छ । जङ्गलमा बसेर कसरी राज चलाउन सकिन्छ । राजपाठ त्यागी वनवास आउने रामको आदर्श पनि सही थिएन । जेठो राजा हुने त परम्परा नै थियो । कर्तव्य पूरा गर्नुपर्नेले अधिकारको लागि सङ्घर्ष नगरी पलायन भएमा दुराचार र विसङ्गति बढ्छ । अराजकता सिर्जना हुन्छ । साथसाथै रामले श्राद्ध गरेर मरेको बुबालाई अन्न खुवाउने भन्ने पनि बेकार भएको जावाद ऋषिले रामलाई सल्लाह दिन्छन् । आत्माले अन्न खान सक्दैन । अन्न खाने पिताको शरीर त छैन । स्वर्गमा अन्न खाएको कसले देखेको छ ? त्यसैले जबसम्म बाँचिन्छ त्यतिबेलासम्म सुखसँग बाँच्न सेवा गर्नु नै सबैको कर्तव्य हो ।
महाभारतमा बृहस्पति ऋषिले लौकिक दृष्टिकोण अगाडि सारेका छन् । त्यसैले चार्वाक दर्शनलाई बृहस्पति दर्शन पनि भन्ने गरिन्छ । पाणिनीको अर्थशास्त्रमा बृहस्पतिको अर्थशास्त्रकै अनुशरण गरिएको छ । चार्वाकको दर्शनले लोककै हितमा तर्कहरू प्रस्तुत गरेको हुँदा चार्वाक दर्शनलाई लोकायत दर्शन पनि भन्ने गरिन्छ । यही लोकमा मानिसलाई खुसी राख्नु नै लोकायत दर्शनको सार हो । चार्वाक दर्शनअनुसार अर्थ र काम दुई कुराबाटै संसार चल्दछ । महाभारतमा व्यासले नै धनलाई महत्व दिएका छन् । जसको धन छैन उसको सबै धर्म व्यर्थ हुन्छ । धर्मको आधार नै अर्थ हो । आमाबुबालाई सेवा गर्नु साधारण धर्म हो । पैसा छैन भने आमाबुबालाई कसरी रोटी खुवाउने ? आमाबुबालाई खुवाउने धर्म पालन गर्न पनि धन नै चाहिन्छ । अर्काको धन पैसा लुटेर सेवा गरेर त धर्म हुँदैन । सबैलाई जीवनमै खुसी बनाउनको लागि अर्थ र काम चाहिन्छ । यसकारण, लोकलाई सही बाटोमा लाने चार्वाक वा लोकायत दर्शनअनुसार अर्थ र कामबिना संसार चल्न सक्दैन ।
बृहस्पतिको अर्थशास्त्रअनुसार कामको अर्थ दण्ड र वार्ता हो । दण्डको लागि राज चाहिन्छ । चार्वाकले गणेशलाई पूजा गरेका छन् । तर, चार्वाकको गणेश टाउको काटेको गणेश होइन, जनताको अध्यक्ष अथवा गणको अध्यक्ष गणपति गणेश हो । गणपति बाह्य आक्रमण रोक्न सक्ने हुनुपर्छ । राजाको काम यही लोकको जनता– प्रजालाई सुखी बनाउनु हो । परलोक कुनै छैन, यही दुनियाँलाई स्वर्ग बनाउने हो । यदि स्वर्गको विश्वास गर्ने हो भने यही लोकलाई स्वर्ग बनाऊ । घरमै बनाऊ । घरलाई स्वर्ग बनाऊ अनि पृथ्वी–संसारलाई बनाऊ । यही लोकलाई स्वर्ग बनाउनु नै चार्वाक दर्शन वा लोकायत दर्शन मूल मर्म हो । गणपति वा राजाको हात मजबुत भयो भने पापीहरूले यही सजाय पाउँछन् । बृहस्पतिको दण्ड विधानको महत्वलाई दृष्टिकोण अनुशरण गर्दै चाणक्यले पनि राज्यलाई नमस्कार गरेका छन् । हरेक मानिस सुखले बाँचोस् भन्ने राज्यको पहिलो कर्तव्य हो । न्याय यस्तो गर्नुपर्छ जसमा कोही पनि दुःखी हुन नपरोस् । वार्ताको अर्थ खेती र वाणिज्य गर्नु हो । खेतीको नियमले धेरै धेरै उत्पादन बढाउने होस् । नदीको संरक्षण, फलफुलको वृक्षरोपण गरियो भने मरूभूमि हुँदैन । मानव कल्याण हुन्छ । वाणिज्यको नियम सही पालना गरेमा अरूले पनि दुःख पाउँदैन । आज अरूलाई दुःख दिएमा भोलि अरूले बदला लिन्छन्, दुःख दिन्छन् भन्ने बुझ्नुपर्छ । मानिसहरूको सुखको निम्ति काम गर्ने हो । विनिमयमा इमानदारिता चाहिन्छ ।
चार्वाकले कर्जा लिएर मासु खाऊ र रक्सी खाऊ भनेको छैन । यस्तो खाऊ जसले स्वास्थ्य राम्रो होस् । आजको भौतिकवादी युगमा पनि चार्वाकको अनुसरण गर्न सके सुख शान्ति प्राप्त हुनेछ । अभावमा झोक्रिएर बस्नुभन्दा कर्जा लिएर घिउ खाएर तन्दुरूस्त भएमा कर्जा तिर्न सकिन्छ र जीवनलाई थप सार्थक बनाउन सकिन्छ ।
चार्वाक दशले सारमा मानिसको लौकिक जीवनलाई सुखमय बनाउन प्रेरित गरेको छ । मानिसले आफ्नो कर्तव्य पालना नगरेमा आत्माले शान्ति पाउँदैन भन्ने भ्रमको त्रास देखाउनुभन्दा पनि आपूmले गलत गरेमा अरूले पनि दुःख दिन सक्ने हुँदा सबै इमानदार भएर मानव कल्याणमा लाग्नुपर्छ । प्रत्यक्ष लोक नै अन्तिम सत्य हो भन्ने बोध गरेर मै खाउँ मै लाउँको भावनाले होइन मानव जीवनलाई आनन्ददायी बनाउन कर्तव्यनिष्ठ हुनुपर्छ भन्ने दर्शन चार्वाक दर्शनले प्रदान गरेको छ । चार्वाकको भौतिकवादी दर्शनबारे गहिरो अध्ययन र प्रचार गर्न सकेमा आलोचनात्मक चेतनाको विस्तार र समाजको आमूल परिवर्तनलाई दरिलो बनाउन मद्दत पुग्नेछ ।
Leave a Reply