धूर्तले बुनेको जाल एक दिन तोडिने छ
- आश्विन २८, २०८१
शासक नेताहरू बरोबर नयाँनयाँ शब्दजाल बुन्छन्; सर्वसाधारण जनतालाई फसाउँछन् । त्यहीँ शब्दजालले आफ्ना कमी—कमजोरी तथा अपराध ढाक्ने कोसिस तिनले गर्दै आएका छन् । एउटा शब्दजालले काम नगरेपछि या फिक्का साबित भएपछि अर्को नयाँ तयार पार्दछन् । त्यस काममा तिनीहरू खप्पिस भइसकेका छन् । विशेषगरी बहुदल पुनःस्थापनादेखि नै शासक दलहरू र तिनका नेताहरू त्यही कर्ममा तल्लीन छन् । सोझासिधा जनतालाई दिग्भ्रमित पार्ने र बेबकूफ बनाई राख्ने दुष्कर्मले कहिलेसम्म निरन्तरता पाउला ? आजको गम्भीर सवाल हो, यो !
सुरुमा तिनीहरूले ‘अब आर्थिक क्रान्ति’ अगाडि बढ्छ भने तर व्यवहारमा सारा सार्वजनिक कलकारखाना तथा सेवा निजीकरणको नाउँमा देशलाई कङ्गाल बनाए । ‘कृषि क्रान्ति’ को पनि लोभ देखाए तर कृषि अर्थतन्त्र ध्वस्त पारेर देशलाई कृषि उपजमा भारतनिर्भर बनाए । ‘पश्चिमबाट सूर्य उदाउने’ सपना बाँडेर देशलाई दैनिक १८ घण्टाको लोडसेडिङ्गमा फसाएको हिजै मात्र हो ! ‘नयाँ जनवादी क्रान्ति’ को सपना बाँडेर १७ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । तर, ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भएको घटना धेरै पुरानो होइन । ‘नयाँ जनवादी क्रान्ति’ को सपना ‘भारतीय ट्रोजन हर्स’ मा पुगेर अन्त्य भएको घामजतिकै छर्लङ्ग भइसकेको छ ।
शासक नेताहरूले ‘नयाँ नेपाल, नयाँ नेपाल’ भनी अनेक वाचा गरे तर नेपाललाई इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पु¥याएरै छोडे । भारतीय थिचोमिचो, दबाब तथा हस्तक्षेप आर्थिक, राजनीतिक क्षेत्रमा मात्र होइन कर्मचारीतन्त्रको तलदेखि माथिसम्म पैmलाए ! ‘अब पालो युवा पुस्ताको’ भनी जोडजोडले नारा लगाए तर व्यवहारमा गाउँगाउँका युवालाई खाडी पठाए र सहरका युवा जतिलाई युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानाडा पठाए । ‘लैङ्गिक समानता’ को आशा यति देखाए कि सोझासिधा जनताले नपत्याई बस्नै सकेनन् ! इतिहासमा सबैभन्दा बढी बलात्कार, हत्या—हिंसा, बेचबिखनका घटना अहिले नै हुँदै छन् । ‘गाउँ—गाउँमा सिंहदरबार’ पु¥याउने वाचा गरे तर त्यसको ठीकविपरीत गाउँगाउँमा भ्रष्टाचार, लुटपाट, अत्याचार पु¥याए ! घोक्रो सुक्ने गरी सुशासनको भाषण फलाके तर देशलाई अनेकौँ काण्डको जञ्जालमा फसाए । यी कुनै पनि कुरा न त काल्पनिक हुन् न त ‘फेक न्यूज’ या अफवाह नै ! यी सबै जगमा जाहेर भइसकेका कथा र व्यथा हुन् । समकालीन नेपाली समाजको यो लुकाउन नसकिने यथार्थ हो ।
शासक नेताले बोलेका र दिएका आश्वासन एक—एक झूटा साबित भइसकेका छन् । परिणामले त्यही देखाउँछ । तिनको फट्याइँ, धूत्र्याइँले सीमा नाघिसकेको छ । यद्यपि, तिनमा लज्जा छैन न त अपराधबोधको मनोभाव नै ! यसबाट तिनको नियतमाथि नै प्रश्न चिह्न खडा हुनु स्वाभाविक छ । देश बर्बाद भइसक्दा र जनता बेहाल अवस्थामा पुगिसक्दा समेत तिनमा कुनै गम्भीरता नदेखिनु र उही खराब कर्ममा मग्न हुनु भनेको दुष्ट्याइँको पराकाष्ठा हो । तिनको उद्देश्य नै त्यही थियो भन्नु गलत हुनेछैन ।
बहुदल पुनःस्थापनापश्चात्को ३३—३४ वर्षमा काङ्ग्रेस, एमाले, माओवादी पालैपालो सरकारमा पुगे, मिलेर सत्ता सञ्चालन गरे, सत्ता भागबन्डामा सहभागी बने । देउवा, कोइराला, ओली, दाहाल, खनाल, भट्टराई, नेपाल पटक—पटक प्रधानमन्त्री बने । बेलामौकामा राप्रपा, मधेसकेन्द्रित दलहरू पनि सत्ताको स्वाद चाख्न गए ।
यतिखेर फेरि शासक नेताहरूले अर्को शब्दजाल फ्याँकेका छन् : ‘मिसन ८४ !’ जता भाषण गरे पनि ती त्यही विषयमा केन्द्रित भइरहेका छन् । तिनीहरूका पत्रपत्रिका, रेडियो, टेलिभिजन सबैतिर त्यही विषयमा होहल्ला गर्दै छन् । ‘मिसन’ अङ्ग्रेजी शब्द हो जसको नेपालीमा अर्थ हुन्छ, लक्ष्य । भाषिकरूपमा नारा यसरी मिसावटयुक्त राख्नुको पछाडि के रहस्य होला ? निश्चय पनि सर्वसाधारणलाई अल्मल्याउने या छक्याउने र नयाँ पिँढीलाई लोभ्याउने तिनीहरूको अर्को चालबाजी हो । तिनीहरूलाई राम्रो हेक्का छ कि सबैले बुझ्ने गरी भन्दा तिनलाई किमार्थ फाइदा हुन्न ! तसर्थ, ती यस्ता छ्यासमिसे भाषा बोल्छन् । शब्दको छनोट गर्दादेखि ती जनताको मनोविज्ञानसँग खेल्ने मनसाय राख्दछन् । कुनै व्यापारिक वस्तुको विज्ञापन र तिनको नारामा खासै भिन्नता पाइन्न । अझ तिनीहरूकै भाषामा भन्ने हो भने ‘स्वार्थी तथा लोभी समाजमा बजारमा बिक्ने नारा’ दिएर मानिसलाई सम्मोहित पार्दछन् । तिनका दलमा नेता—कार्यकर्ताभन्दा पनि साहुकारहरू, तस्करहरू, दलालहरूको हालीमुहाली चल्न थाल्दाको यो परिणाम हो । वास्तविकता योभन्दा भिन्न हुनेछैन ।
समसामयिक नेपाली राजनीतिमा अमेरिकी लेखक जेम्स फ्रिम्यान क्लार्कको भनाइ सान्दर्भिक छ : “राजनीतिज्ञले अर्को चुनावसम्म देख्छ भने राजनेताले अर्को पुस्ताबारे चिन्तन गर्दछ ।” देशका शासक नेताहरू एउटा चुनावदेखि अर्को चुनावसम्म मात्र देख्छन् । तिनको राजनीति भनेको कुर्सीदेखि कुर्सीसम्म हो । त्यसभन्दा दूर ती देख्न—सोच्न—पुग्न सक्दैनन् या चाहँदैनन् । ‘जोगी बन्नलाई राजनीति नगरेको’ भनी तिनले बारबार बकेकै हुन् । यथार्थमा यी राजनीतिक उचाइ पटक्कै नभएका केवल बुँख्याचाहरू हुन् । देशकै विडम्बना मान्नुपर्छ कि नेपाली शासक नेताहरू लघुमानवबाट माथि उठ्नै सकेनन् । वैचारिक दरिद्रता भनेको यही नै हो । धनदौलतले दरिद्र हुनु गरिबी होइन, वास्तविक गरिबी त चिन्तनमा साह्रै कमजोर हुनु हो । नेपाली राजनीतिक वृत्तमा सांस्कृतिक टाटपल्टाइ एउटा ठूलो समस्या हो जुनबाट पार लाग्न निकै कठिन हुन्छ । आज शासक नेताहरू त्यही दलदलमा फसेका छन् । त्यसैले त नेपाल मजदुर किसान पार्र्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) बारम्बार दोहो¥याउनु हुन्छ— ‘नेपाली समाजको समस्या मूलतः सांस्कृतिक समस्या हो । सांस्कृतिक स्तरको विकास नै मुख्य चुनौती हो । युरोपजस्तो आधुनिक समाजमा विकास भएको माक्र्सवाद नेपालजस्तो अविकसित देशका जनताले बुझ्न गा¥हो हुनु र समय लाग्नु स्वाभाविक छ ।’
‘मिसन ८४’ को नारा लगाउनेहरू विचारशून्य, सिद्धान्तच्युत तथा अनैतिक हुन् । यो जगजाहेर भइसकेको छ । विचार, सिद्धान्त, नैतिकता, काम र परिणाममा कमजोर हुन थालेपछि मान्छे होहल्लातिर लाग्छ, छलछामतिर भुल्छ र झिलीमिली गर्न थाल्छ । अराजनीतिक क्रियाकलाप सुरु गरिन्छ । जति सामान नक्कली भयो खोल त्यति नै लोभलाग्दो र विज्ञापन धमाकादार भनेको यही हो ! पुँजीवादी राजनीतिको यो कुरूप पक्ष हो । जनताको विश्वास प्राप्त गर्न बारबार असफल भएपछि ती चोर बाटो अपनाउनतिर लाग्दछन् । चटक—सटक देखाउनतिर लाग्दछन् । त्यसबाट पनि भएन भने साम—दाम—दण्ड—भेदको नीति अपनाउँदछन् । तर, सधैँ एउटै ओखतीले काम गर्दैन ! त्यस हिसाबले बरु ‘मिसन—८४’ भन्नुको सट्टा ‘मिसन सिंहदरबार’, ‘मिसन बालुवाटार’ या ‘मिसन पीएम’ भनेको भए टन्टै साफ ! मही माग्ने ढुङ्ग्रो चाहिँ लुकाउने किन ?
शासक दलहरूको कुनै ‘मिसन’ छ भने त्यो मत बटुल्ने नै मात्र हो भन्ने यथार्थ बुझ्न गा¥हो छैन । जसरी भए पनि र जुनसुकै हालतमा पनि जित्ने र सत्ता हासिल गर्नेबाहेक तिनको कुनै अर्को मति छैन । तिनको ‘मिसन’ भित्र कहीँ कतै पनि देश भेटिन्न र जनता छैनन् । तिनको ‘मिसन’ मा कहीँ कतै परिवर्तन, बृहत्तर हित, आत्मनिर्भरता छँदै छैन । तिनको ‘मिसन’ मा केही छ त शक्ति, सत्ता, स्वार्थ छ । विगत र वर्तमानले प्रस्तुत गरेको यो यथार्थ हो ।
शासक दलहरूले चुनाव जितेको १ वर्ष पनि भएको छैन । चुनाव आउन अभैm ४ वर्ष बाँकी छ । अभैm ती चुनावबाहेक अरू कुरै गर्दैनन्, अरू देख्दै देख्दैनन् ! भएको यो ४ वर्षमा के गर्ने, देशलाई कहाँ पु¥याउने, जनतालाई के दिने भन्नेतिर होइन फेरि त्यही चुनावतिर जनताको ध्यान मोडेर के गर्न खोजेका हुन्, अनुमान लगाउन गा¥हो नहोला ! चील आयो, चील आयो भनी चल्ला चोर्ने स्याल र यी शासक नेतामा के भिन्नता ? तिनले कहिले चुनाव जितेका थिएनन् र ? तिनले बहुमत कहिल्यै नपाएका हुन् र ? जनताले बारबार लिएका परीक्षामा असफल साबित भइसकेका नेता, पार्टीले फेरि कुन नैतिकताले बहुमतको माग गर्दै छन् ? यस विषयमा जनता सचेत हुन आवश्यक छ ।
आज देश वैदेशिक ऋणमा डुबिसकेको रिपोर्ट भर्खरै सार्वजनिक भइसकेको छ । वैदेशिक ऋण २३ खर्ब नाघिसकेको छ । प्रत्येक नेपालीको टाउकोमा ७९—८० हजार ऋणको भार परिसकेको छ । अरू धेरै उदाहरण दिइरहन आवश्यक नहोला ! चालु आर्थिक वर्षको साउन र भदौ महिनामा नौ अर्ब रुपियाँ बराबरको खाद्यान्न आयात भएको छ । (गोरखापत्र, १३ असोज) स्वदेशमा काम नपाएर दैनिक हजारौँ पराइ भूमिमा रगत—पसिना बगाउन जान बाध्य छन् । देशको भूमि बाँझो छोडेर, मरुभूमितुल्य बनाएर कसैलाई विदेशीको भूमि हराभरा पार्ने इच्छा हुने कुरै छैन ! देशको साँचो दिल्ली दरबारमा पुगिसकेको छ ।
निश्चय पनि देशको यो कहालीलाग्दो स्थिति एकाएक तयार भएको होइन । यसका निम्ति आजसम्म सरकारमा गएका दलहरू, मन्त्री—प्रधानमन्त्री बनेका नेताहरू र उच्चपदस्थ अधिकारीहरू जिम्मेवार छन् ।
देशको यस्तो दारुण स्थितिमा समेत शासक नेताहरूको झिल्के स्वभाव कायम हुनु र ‘मिसन ८४’ जस्तो उडन्ते नारामै रम्नु ठूलो दुर्भाग्य हो । त्यस्तो जरो न फलका भाषण र आश्वासनमा जनताले थारैमात्र पनि विश्वास गर्न नछोडेसम्म शासक नेताहरूको घैँटोमा घाम नलाग्ने नै देखिन्छ । नेपाली जनताले शासक दलहरूका मौसमी नारा र पिपलपाते नीतिलाई साथ समर्थन दिन छोडेको दिन मात्र वास्तविक परिवर्तनको सम्भावनाले चियाउने छ । ‘मिसन ८४’ होइन अब शासक दलका ‘८४ अपराध’ तयार पारेर तिनलाई डाँडा कटाउने तयारी गर्नुपर्छ । जनता सचेत भए त्यो दिन सन्निकट छ । अस्तु !
असोज १८, २०८०
Leave a Reply