भर्खरै :

समाजवाद र नवमानवको सिर्जना – १

समाजवाद र नवमानवको सिर्जना – १
प्रिय साथी,
हुन त टिप्पणी लेख्न अलि ढिलो भइसकेको छ, तापनि आफ्नो वाचा पूरा गर्ने इच्छासहित मैले अफ्रिकाको यात्राको क्रममा यो टिप्पणी लेखिरहेको छु । माथि उल्लेखित शीर्षकअनुरूप टिप्पणीहरू लेख्ने प्रयत्न गर्नेछु । मलाई आशा छ, पाठकहरूका लागि यो रूचिकर हुनेछ ।
हामी समाजवादको निर्माणमा उद्यत छौँ । समाजवादको विरूद्ध पुँजीवादी प्रवक्ताहरू पनि विचारधारात्मक सङ्घर्षमा लीन छन् । यस्तो सङ्घर्षको क्रममा उनीहरू धेरैजसो के तर्क दिन्छन् भने समाजवाद वा समाजवादको निर्माणकालमा राज्यको हितका लागि व्यक्तिलाई बलि दिइन्छ । म सिद्धान्तको आधारमा मात्रै यस तर्कको प्रतिवाद गर्दिनँ, बरू यसको प्रतिवादमा क्युवाली अनुभवजन्य तथ्यहरूसमेत प्रस्तुत गर्नेछु र त्यसमा केही सामान्य खालका टिप्पणीहरू जोड्नेछु ।
सबैभन्दा पहिले मोटामोटीरूपमा म सत्तामाथि अधिकार जमाउनुभन्दा अगाडि र पछाडिको आफ्नो क्रान्तिकारी सङ्घर्षको इतिहासको रूपरेखा प्रस्तुत गर्नेछु ।
हामी सबैलाई थाहा छ – क्युवामा क्रान्तिकारी सङ्घर्षको सुरुआत २६ जुलाई, १९५३ मा भएको थियो, जुन सङ्घर्ष पहिलो जनवरी १९५९ मा चरम उत्कर्षमा पुगेको थियो । २६ जुलाईको दिन बिहान सबेरै ओरियन्टे प्रान्तको मोन्काडो सैनिक छाउनीमाथि फिडेल क्यास्त्रोको नेतृत्वमा रहेको एउटा समूहले आक्रमण गरेको थियो । त्यो आक्रमण असफल भएको थियो । यो असफलता ठूलो विपत्ति साबित भयो । जीवित भएकाहरूलाई बन्दी बनाइयो । आममाफीको क्रममा मुक्त भएपछि उहाँहरूले फेरि सुरुदेखि नयाँ ढङ्गले क्रान्तिकारी सङ्घर्षको सूत्रपात गर्नुभयो ।
यही प्रक्रियाको क्रममा व्यक्ति नै आधारभूत तत्वको रूपमा रहेको थियो, जुन प्रक्रियामा समाजवादको बीउमात्रै रहेको थियो । व्यक्तिकै रूपमा देखापर्नु भएका यही विशिष्ट र एक्लो खास नामधारी व्यक्ति नै हाम्रो विश्वसनीय मानव बन्नुभयो । उहाँलाई सुम्पिएको जिम्मेवारीको सफलता वा असफलता उहाँकै कार्य क्षमतामाथि निर्भर थियो ।
त्यसपछि छापामार युद्धको चरण आयो । यस युद्धलाई दुई भिन्नाभिन्नै वातावरणअन्तर्गत विकसित गरियो । ती दुई भिन्नाभिन्नै वातावरणमा एकातिर जनता थिए, अर्कोतिर छापामारहरू ! त्यसबेलासम्म जनता अचेतन भिडको रूपमा थियो, जसलाई एकजुट पारी परिचालन गर्नु जरूरी थियो । अर्कोतिर छापामारहरू क्रियाशील थिए जनताका अगुवाका रूपमा जनपरिचालनको प्रक्रियालाई अगाडि बढाउने इन्जिनको रूपमा, क्रान्तिकारी चेतना र जुझारू उत्साहका जनकका रूपमा विजयका लागि आवश्यक आत्मगत स्थिति सिर्जना गर्ने उत्प्रेरक शक्ति पनि यही अगुवा दस्ता थियो ।
म यहाँ फेरि पनि जोड दिएर भन्छु, हाम्रो विचार–शक्तिलाई सर्वहाराकृत रूप दिने कार्यमा हाम्रा बानी व्यहोराहरू र हाम्रा मन–मस्तिष्कहरूमा भइरहेको क्रान्तिमा यही व्यक्ति नै आधारभूत तत्वको रूपमा रहेको थियो ।
क्रान्तिकारी सशस्त्र सैन्य शक्तिअन्तर्गतका माथिल्ला पदहरू पाउने सियरा माइस्त्राका प्रत्येक योद्धाहरूले विशिष्ट काम गर्नुभएको थियो । हो, यस्तै विशिष्ट र स्मरणीय कामहरूकै आधारमा उहाँहरूले ती पदहरू पाउनुभएको थियो । पहिलो वीरतापूर्ण कालमा यिनै व्यक्तिहरूले महानतम् जिम्मेवारी र विशाल जोखिमहरूले भरिएका कर्तव्यहरू आफ्नो काँधमा लिई फत्ते गर्नुभयो । आफ्ना कर्तव्यहरू पालना गर्नुलाई नै उहाँहरूले परम सन्तोष प्राप्तिको बाटोको रूपमा लिनुभयो, अन्य केही पुरस्कारको आशा गर्नुभएन ।
हाम्रो क्रान्तिकारी शैक्षिक कार्यमा हामी सधैँ नै यही शिक्षाप्रद विषयबारे बारम्बार चर्चा परिचर्चा गर्ने गर्छौँ । हाम्रा योद्धाहरूको मनोवृत्ति र आचरणमा हामी भविष्यको नवमानवको झलक देख्नथालेका छौँ ।
हाम्रो इतिहासको अन्य कालखण्डमा क्रान्तिकारी उद्देश्यप्रतिको सम्पूर्ण लगनशीलताले भरिपूर्ण कार्यहरूलाई दोहो¥याइएको छ । ‘अक्टोबर सङ्कट’ र ‘फ्लोराको तूफान’ को समयमा हामीले सम्पूर्ण जनसमुदायद्वारा गरिएका अनौठो वीरतापूर्ण र उत्तम बलिदानीपूर्ण कार्यहरू देखेका छौँ । विचारधारात्मक दृष्टिकोणले हेर्ने हो भने दैनिक जीवनका यस्ता वीरतापूर्ण कार्य एवं मनोवृत्तिहरूलाई श्रृङ्खलाबद्ध र स्थायी बनाउने बाटोको खोजी गर्नु नै हाम्रा आधारभूत काम कर्तव्यहरूमध्ये एक हो ।
सन् १९५९ मा क्रान्तिकारी सरकारको स्थापना भयो, त्यसमा पुँजीपतिवर्गका अनेक प्रतिनिधिहरू पनि सहभागी भए । शक्तिको आधारभूत तत्वको रूपमा रहेको विद्रोही सेनाको उपस्थितिले क्रान्तिकारी सत्ताको दिगोपनाको प्रत्याभूति दिएको थियो ।
पछि गएर गम्भीर अन्तरविरोधहरू विकसित भए । ती अन्तरविरोधहरूको हल गर्ने प्रक्रिया सर्वप्रथम तब सुरु गरियो, जब ७ फेब्रुअरी १९५९ मा फिडेल क्यास्त्रोले प्रधानमन्त्रीको पद ग्रहण गरी सरकारको नेतृत्व सम्हाल्नुभयो । यस प्रक्रियाको अन्त्य तब भयो, जब त्यसै वर्षको जुलाई महिनामा जनताको ठूलो दबाबवश राष्ट्रपति उरुतियाले राजीनामा दिनुभयो ।
जनइच्छाको सम्पूर्ण र स्पष्ट रूपरेखा
अब क्युवाको क्रान्तिको इतिहासमा स्पष्टरूपले परिभाषित नख–शिख र रूपरेखासहित एउटा नयाँ बहुमुखी पात्र चरित्रको उदय भयो । त्यो पात्र र चरित्र हो;जनता ! हो, जनता जो इतिहासको मञ्चमा सुव्यवस्थितरूपले बारम्बार उदाइरहन्छन् ।
के दाबी गरिन्छ भने यो बहुमुखी चरित्र भएको जनता भनेको समान श्रेणीका तत्वहरूको कुलजोडमात्रै हो, यिनीहरूले पाल्तु भेडा बाख्राहरूले जस्तै व्यवहार गर्छन् । तर, यथार्थ के हो भने जनता भनेका समान श्रेणीका तत्वहरू होइनन्, न त भेँडा–बाख्राहरू नै हुन् । बरू उनीहरूमाथि प्रभुत्व जमाइरहेको राज्य–व्यवस्थाले उनीहरूलाई एउटै श्रेणीमा भेँडा बाख्रालाई जस्तै कोचेर राखेको कारणले मात्र त्यसो देखिएको हो ।
के कुरा चाहिँ सत्य हो भने जनताले विना कुनै दुविधा, विना कुनै हिच्किचाहट आफ्ना नेताहरूको अनुसरण गर्दछन्, विशेषगरी फिडेल क्यास्त्रोको । तर, जुन विशाल परिमाणमा उहाँले यसरी जनविश्वास आर्जन गर्नुभएको छ त्यो निश्चितरूपमा जनताका इच्छा र आकाङ्क्षाहरूको सही अभिव्यक्तिको कारणले सम्भव भएको हो । सार्वजनिकरूपमा घोषित वाचाहरू पूरा गर्नको लागि उहाँले गर्नुभएको इमानदारीपूर्ण सङ्घर्षको कारणले उहाँ त्यसरी जनविश्वास प्राप्त गर्न सफल हुनुभएको हो ।
जनताले कृषि–सुधारको अभियानका कामहरूदेखि लिएर राज्यका उद्योग– प्रतिष्ठानहरूको प्रबन्धसम्बन्धी कठिन जिम्मेवारीहरूमा समेत भाग लिए । उनीहरू वे अफ पिग्सका वीरतापूर्ण अनुभवहरूबाट अगाडि बढे, उनीहरू सी.आई.ए. द्वारा सशस्त्र पारिएका डाँका डफ्फाविरूद्ध चलाइएको सङ्घर्षमा इस्पातजस्तै मजबुत बने; अक्टोबर सङ्कटको बेलामा उनीहरूले आधुनिक युगका सबैभन्दा महत्वपूर्ण परिभाषाअनुरूप बाँचे† अनि आज उनीहरू समाजवादको निर्माणको कामलाई निरन्तररूपमा अगाडि बढाउन व्यस्त छन् ।
वस्तुलाई सतही ढङ्गले हेर्ने दृष्टिकोणबाट हेर्दा मनमा लाग्नसक्छ; व्यक्तिलाई राज्यको अधीन मान्ने मानिसहरू नै सही हुन् कि के हो । हो, निश्चितरूपमा जनताले अतुलनीय उत्साह र अनुशासनका साथ सरकारद्वारा निर्धारित कामहरूलाई पूरा गर्दछन्, ती कामहरूका स्वरूपहरू चाहे जस्तोसुकै किन नआऊन्, चाहे ती कामहरू आर्थिक, सांस्कृतिक, सुरक्षात्मक र खेलकुदसम्बन्धी नै किन नआऊन् ।
हो, निश्चितरूपमा यस्ता कामहरूको पहलकदमी साधारणतया फिडेल क्यास्त्रोबाट वा क्रान्तिको उच्च कमान्डबाटै सुरु हुन्छ र ती कामहरूको बारेमा जनतालाई व्याख्या गरेर बुझाइन्छ अनि त्यसपछि जनताले त्यसलाई आफ्नै बोधको रूपमा लिन्छन् र पहलकदमी लिन्छन् । कहिलेकाहीँ पार्टी र सरकारद्वारा विशिष्ट स्थानीय अनुभवहरूलाई लिइन्छन् र त्यही प्रक्रियाद्वारा ती अनुभवहरूलाई सामान्यीकरण गर्ने र कार्यरूप दिने काम गरिन्छन् ।
त्यसो हुँदाहुँदै पनि राज्यबाट कहिलेकाहीँ गल्तीहरू हुन जान्छन् । जब त्यस्ता गल्तीहरू हुन्छन्, तब जनताबिच विद्यमान प्रत्येक तत्व र समूहहरूमा परिमाणात्मक कमी आउँछ । त्यसैको परिणामस्वरूप जनताको सामूहिक उत्साह ओरालो लाग्छ र कामहरू ठप्प हुन थाल्छन् । अनि अन्ततः निरर्थकताको सीमासम्म ती कामहरू सङ्कुचित हुन थाल्छन् । हो, गल्तीहरू सुधार्ने समय भनेको यही नै बेला हो । अनिवाल एसकालान्तेद्वारा पार्टीमाथि थोपरिएको सङ्कीर्णतावादी नीतिको परिणामस्वरूप सन् १९६२ को मार्च महिनामा यस्तै गल्ती हुन गएको थियो ।
नेतृत्व र जनसमूहबिच द्वन्द्वात्मक एकता
यसबाट स्पष्ट हुन्छ– संवेदनशील उपाय र समझदारीपूर्ण कदमहरूको कडी बनाइराख्नको लागि यस प्रकारका संयन्त्र र कार्यविधिहरू मात्रै काफी छैनन् । यसका लागि जनतासँग अझ बेसी संरचनात्मक सम्बन्धको विकास गर्नु जरूरी छ । आगामी वर्षहरूमा हामीले यस सम्बन्धलाई अझ घनीभूत र विस्तृत पार्नु आवश्यक छ । तर, अहिलेलाई भने सरकारका उच्च क्षेत्रहरूबाट पहलकदमीको सवालमा हामीले तत्काल आउने ठूल्ठूला समस्याहरूमाथि हुने प्रतिक्रियाहरूप्रति दुवै कान खोलेर सुन्ने अनुभूतिमूलक उपाय (Intuitive method) नै प्रयोग गरिरहेका छौँ ।
फिडेल क्यास्त्रो यस्तो उपाय प्रयोग गर्ने मामिलामा कुशल हुनुहुन्छ । जनतासँग एकाकार (Fusing) हुने उहाँको विशिष्ट तरिका छ जुन तरिका कुशलतापूर्वक प्रयोग गरेर उहाँ क्रियाशील रहनुभएको देख्दा उहाँको प्रशंसा नगरीरहन सकिन्न । ठूल्ठूला जनसभाहरूमा उहाँ भाषण होइन, जनतासँग संवाद गर्नुहुन्छ, संवाद पनि त्यस्तो खालको संवाद, जुन दुईवटा सुमधुर स्वरहरूको झङ्कारको रूपमा सुनिन्छ । मानौँ यस्तो लाग्छ – उहाँको र जनसमूहको प्रगाढ अन्तरक्रियाको कम्पनबाट अर्को नयाँ झङ्कारको सिर्जना भइरहेको छ । फिडेल र जनसमूहबिच हुने झन्झन् गहिरो र अर्थपूर्ण खालको संवाद यति मज्जासँग झङ्कृत हुनथाल्छ कि त्यो संवाद हाम्रो विजयघोष र सङ्घर्षका नाराहरूको हुँकारका रूपमा चरमबिन्दुमा पुग्दछ ।
जुन जुन व्यक्ति क्रान्तिकारी अनुभवको बिच बाटोबाट अगाडि बढेका छैनन्, उनीहरूका लागि व्यक्ति र जनसमूहबिचको घनिष्ठ द्वन्द्वात्मक एकताले भरिएको त्यस स्थिति राम्ररी बुझ्न कठिन हुनेछ । त्यस्तो द्वन्द्वात्मक स्थितिमा व्यक्ति र जनसमूह दुवै अन्तरसम्बन्धित हुन्छन् अनि समग्ररूपमा व्यक्ति–व्यक्तिहरू मिलेर बनेको जनसमूह पनि नेताहरूसँग अन्तरसम्बन्धित हुन्छ ।
पुँजीवादअन्तर्गत पनि यस प्रकारको एकताको झलक कहिलेकाहीँ देख्न पाइन्छ, विशेषगरी जनमत परिचालन गर्ने क्षमता भएका राजनीतिज्ञहरू मञ्चमा देखा पर्दा यस्तो हुन्छ । तर, त्यो परिचालन धेरैजसो साँच्चैको सामाजिक आन्दोलनसँग सम्बन्धित क्रियाकलाप हुँदैन । यदि त्यो सामाजिक आन्दोलनअन्तर्गतको क्रियाकलाप भए त्यसलाई पुँजीवादअन्तर्गतको क्रियाकलाप भन्नु उपयुक्त हुँदैन । त्यो परिचालन साँच्चैको सामाजिक आन्दोलन नहुने हुनाले परिचालनकर्ताको जीवनकालसम्म मात्रै त्यो अगाडि बढ्छ, त्यो पनि पुँजीवादी समाजका क्रूरताहरूको बारेमा जनताबिच भ्रान्ति रहेसम्म मात्रै !
पुँजीवादअन्तर्गत व्यक्तिको जीवन एउटा त्यस्तो निर्मम र कठोर विधानले बाँधिएको हुन्छ, जुन सामान्यतया व्यक्तिको बोध क्षमताभन्दा अलि टाढै हुन्छ । घना एक्लोपनाको भारी बोक्दै त्यो व्यक्ति समग्ररूपमा एउटा त्यस्तो अदृश्य धागोद्वारा समाजसँग बाँधिएको हुन्छ, जसलाई मूल्यको विधान (The law of value) भनिन्छ । यही अदृश्य मूल्य–विधानले व्यक्तिको जीवनका सबै पक्षहरूमाथि प्रभाव पार्छ, त्यसैले उसको जीवनको बाटो तय गर्छ र उसको भाग्यको निर्माण गर्छ ।
पुँजीवादका विधानहरू अन्धा हुन्छन् र अधिकांश मानिसहरूका लागि अदृश्य हुन्छन् । तर, तिनै विधानहरू व्यक्तिको मन–मस्तिष्कभित्र पसेर, त्यस विषयसम्बन्धी उसको चेतनाविना नै क्रियाशील रहन्छन् । व्यक्तिले त पुँजीवादी क्षितिजको विशालता मात्रै देख्न पाउँछ, जुन हेर्दाखेरि अनन्तजस्तो देखिन्छ । पुँजीवादी प्रचार माध्यमहरूले बिलकुल यसरी नै सफलताको कथा प्रस्तुत गर्छन्, सफलताका सम्भावनाहरूलाई व्यक्त गर्नको लागि तिनीहरूले रकफेलरको कथालाई सिक्नुपर्ने पाठको रूपमा प्रयोग गर्छन्, चाहे त्यो सफलता झूटो होस् कि साँचो । एक रकफेलरको कथा सिर्जना हुन कति अभावहरू, कति गरीबीहरू र कति पीडाहरूको सञ्चयको आवश्यकता हुन्छ भन्ने कुरा त्यस सफलताको प्रस्तुतिमा छोएको पनि हुँदैन । एक रकफेलरको अपार धन–सम्पत्तिको निर्माणको लागि कति धेरै नीचता र उत्पीडनहरूको विशाल योगदान जरूरी हुन्छ भन्ने वास्तविकता पनि त्यस सफलताको कथाबाट गायब गरिएको हुन्छ । जनताबिच क्रियाशील शक्तिहरूसँग यस्ता झूटा कथा र धारणाहरूलाई चिरेर वास्तविकता प्रस्ट्याउन सक्ने क्षमता सधैँ हुन्छ भन्ने कुरा पनि भएन नि ।
(यसै सन्दर्भमा यहाँ दुई तीनवटा पक्षहरूलाई अध्ययनको विषय बनाउनु जरूरी हुनसक्छ, जस्तो पराधीन देशहरूका जनतामाथिको शोषणप्रति अलिकति सम्मति हुने भएकोले साम्राज्यवादी देशहरूका मजदुरहरूले कसरी अन्तर्राष्ट्रिय वर्गीय भावना बिस्तारै–बिस्तारै त्यागिरहेका छन् ? त्यसैको परिणामस्वरूप आफ्नै राष्ट्रिय पृष्ठभूमिमा ती देशका जनताको जुझारू भावना कसरी कमजोर र नष्ट हुँदै गइरहेको छ ? तर, यी विषयहरू वर्तमान टिप्पणीको सीमाभन्दा बाहिर भएकाले यसलाई यही रोक्छु ।)
पुँजीवादमा जुनसुकै मामिलामा पनि हामीले सफलताको लक्ष्यसँग जोडिएको एउटा अवरूद्ध बाटो देख्छौँ, जुन बाधा व्यवधानले भरिपूर्ण हुन्छ । त्यो बाटोबाट लक्ष्यसम्म पुगी सफल हुनका लागि आवश्यक पृष्ठभूमि, ल्याकत र गुणहरूले सम्पन्न व्यक्तिले मात्रै हिँड्न सक्छ । त्यसमा इनामको झलक निकै टाढा–टाढामात्र देखिन्छ र बाटो एकलास र निर्जन देखिन्छ । त्यसमाथि यो बाटोमा अगाडि बढ्नु भनेको ब्वाँसोको दौडजस्तै हो, अरूको असफलताको मूल्यमा मात्रै आफू लक्ष्यसम्म पुग्न सकिने दौड हो यो ।
अब म समाजवादको निर्माणसँग सम्बन्धित घटनाक्रमका नायकलाई यसका अद्भूत र मार्मिक नाटकका अभिनेताको रूपमा रहेको व्यक्तिलाई परिभाषित गर्ने प्रयत्न गर्नेछु, जसको दोहोरो अस्तित्व समाजका सदस्यका र अर्को बेजोड व्यक्तिका रूपमा ।
मलाई लाग्छ, त्यस व्यक्तिको अनिर्मित गुणको पहिचान गर्नु र त्यसलाई मान्यता प्रदान गर्नु नै सबैभन्दा धेरै सजिलो र सोझो तरिका हुनसक्छ । हो, त्यो व्यक्ति अहिलेसम्म पनि अधुरो र अपरिष्कृत सिर्जना हो । वैयक्तिक चेतनाभित्र विगतकालका कमी–कमजोरीहरू वर्तमानमा विद्यमान रहिरहेका हुन्छन् । तिनलाई उन्मूलन गर्नको लागि अविराम प्रयासको आवश्यकता छ । यो प्रक्रियाअन्तर्गत दुईवटा पाटाहरू हुन्छन् । एकातिर परोक्ष र प्रत्यक्ष शिक्षाद्वारा समाज व्यक्तिमाथि क्रियाशील हुन्छ भने अर्कोतिर व्यक्ति स्वयं पनि आत्म–शिक्षाको सचेत प्रक्रियाद्वारा अगाडि बढ्छ ।

क्युवाली क्रान्तिका नायकहरू चे गुएभारा र फिडेल क्यास्ट्रो 

अतीतसँग भयानक प्रतियोगिता
नयाँ समाजको निर्माणको प्रक्रियामा त्यस नयाँ समाजले अतीतसँग निकै ठूलो र कठिन प्रतियोगिता गर्नुपर्ने हुन्छ । यो प्रतियोगिता वैयक्तिक चेतनामा परिलक्षित हुन्छ, जुन चेतना भनेको व्यक्तिलाई एकलकाँटे बनाउने दिशातिर केन्द्रित शिक्षा र लालन–पालनको पद्धतिद्वारा घेरिएको हुन्छ । यसका साथै यो प्रतियोगिता मालको सम्बन्ध (अयmmयमष्तथ चभबितष्यलक) यथावत् रहिरहने सङ्क्रमणकालको प्रकृतिअनुरूप पनि स्पष्टरूपमा देखापर्दछ । माल (अयmmयमष्तथ) भनेको पुँजीवादी समाजको आर्थिक एकाइ हो, रक्तकोशिकाजस्तै । जबसम्म मालको अस्तित्व कायम रहिरहन्छ, तबसम्म त्यसको असर उत्पादनका सङ्गठनहरूमा परिरहन्छ । अतः व्यक्तिको चेतनामा पनि त्यसको प्रभाव देखा परिरहन्छ नै ।
माक्र्सले खिच्नुभएको रूपरेखाअनुसार सङ्क्रमणकाल भनेको त्यस्तो विस्फोटक परिवर्तनको नतिजा हो, जुन विस्फोटक परिवर्तन आफूभित्रै रहेका अन्तरविरोधहरूको कारणले पुँजीवादी व्यवस्था विघटित हुँदा पैदा हुन्छ । ऐतिहासिक वास्तविकताले के देखाइरहेको छ भने कमजोर हाँगाका रूपमा रहेका केही देशहरूले विशाल साम्राज्यवादी रूखबाट आफूलाई अलग्ग पार्छन् । लेनिनले पहिले नै यसरी अलग्याउने प्रक्रियाको अनुमान लगाइसक्नुभएको थियो ।
ती देशहरूमा पुँजीवाद निकै धेरै विकसित भइसकेको हुन्छ, त्यसले कुनै न कुनै रूपमा जनतामाथि आफ्नो प्रभाव देखाइरहन्छ । आफ्ना सम्पूर्ण सम्भावनाहरूको मूल्य चुकाएर भए पनि त्यसले आफ्ना पुँजीवादका अन्तरविरोधहरू भए तापनि व्यवस्थालाई विस्फोटनबाट बचाउँछ ।
तर, अर्कोतिर विदेशी उत्पीडकहरूविरूद्ध मुक्ति सङ्ग्रामहरू पनि चलिरहेका हुन्छन् । मुक्ति सङ्ग्रामको क्रममा युद्धजस्ता बाहिरी कारणहरूले जन्माउने दुर्गति र यन्त्रणाका बाबजुद सुविधाभोगी वर्ग शोषितहरूमाथि परनिर्भर भइरहन्छ । नवउपनिवेशी शासनहरूलाई उखेलेर फ्याँक्ने उद्देश्यसहित मुक्ति सङ्ग्रामहरू चलिरहन्छन् । यस्ता परम्परागत सङ्घर्षहरूले पुँजीवादको विस्फोटन प्रक्रियालाई टेवा दिइरहेका हुन्छन्, यसबाहेक सचेत कारबाहीहरू त भइरहेकै हुन्छन् ।
ती देशहरूमा सामाजिक श्रमका लागि अहिले पनि सम्पूर्ण शिक्षाको व्यवस्था गरिएको छैन । फेरि, विनियोजनको सामान्य प्रक्रियाको फलस्वरूप जनता धनी हुने त कुरै भएन । ती देशहरूमा एकातिर पछौटेपना छ भने अर्कोतिर ती देशको पुँजी ठूला पुँजीवादी देशहरूतिर पलायन भइरहेको छ । यस्तो स्थितिमा बलिदानविना द्रुतगतिमा आमूल परिवर्तन सम्भव नै हुँदैन । आर्थिक आधारको निर्माणको लागि अहिले पनि एउटा लामो बाटो हिँड्न बाँकी छ र द्रुत विकासको कुञ्जीको रूपमा रहेको मानिने भौतिक हितको थोत्रो थोत्रो पुरानो बाटोमै हिँड्ने मोह पनि धेरैमा अति अधिक छ ।
रुख हेर्दा जङ्गल नदेख्ने सम्भावना रहेजस्तै, तत्कालीन काममा मात्रै ध्यानकेन्द्रित गर्दा सम्पूर्ण परिस्थितिको स्पष्ट बोध नहुने खतरा छ । माल उत्पादनजस्तो पुँजीवादको आर्थिक एकाइलाई यथावत् राखिछाड्नु, उत्प्रेरणाका लागि नाफा र व्यक्तिगत भौतिक हितहरूको प्रयोग गरिराख्नु भनेको पुँजीवादी उपायहरूकै उपयोग गर्नु हो । पुँजीवादी व्यवस्थाको विरासतको रूपमा पाइने यस्ता भुत्ते र हानिकारक हतियारहरू प्रयोग गरेर समाजवादको सुन्दर सपना साकार पार्न दौडिँदा अँध्यारो अन्धो गल्लीमा पुग्ने कुरा सुनिश्चित छ । यस्तो अँध्यारो अन्धो गल्लीमा अनेकौँ दोबाटा र चौबाटाहरू नाघ्दै एउटा लामो बाटो दौडिसकेपछि ‘हामीले कहिले गलत मोडमा पाइला टेक्यौँ’ भन्ने कुरा ठम्याउन नै गा¥हो हुन्छ । यसैबिच जुन पुँजीवादी आर्थिक आधारलाई समाजवादी बाटोको रूपमा अपनाइएको हुन्छ, त्यसले चेतनाको विकासलाई पनि विखण्डित पारिसकेको हुन्छ । त्यसैले साम्यवादको निर्माणका लागि नयाँ भौतिक आधारको निर्माणका साथसाथै नवमानवको सिर्जना गर्नु जरूरी छ ।
त्यसैले जनतालाई गतिशील पार्नका लागि सही माध्यम, सही प्रक्रिया र ठीक उपायको छनोट अति महत्वपूर्ण हुन्छ । भौतिक प्रोत्साहनको सही उपयोगलाई नबिर्सिकन, विशेषगरी सामाजिक प्रकृतिको भौतिक प्रोत्साहनको सही उपयोगलाई नबिर्सिकन भन्ने हो भने स्पष्ट शब्दमा भन्न सकिन्छ, त्यो सही माध्यम भनेको आधारभूतरूपमा नैतिक उत्प्रेरणामात्रै हुनसक्छ ।
मैले पहिले पनि भनिसकेको छु : अति जोखिमका क्षणहरूमा नैतिक उत्प्रेरणालाई सक्रिय गर्न सजिलो हुन्छ । तर, यसको प्रभावकारितालाई सधैँ बचाई राख्नको लागि त्यस्तो चेतनाको विकास गर्नु आवश्यक छ, जसमा नैतिक मूल्यहरू नयाँ आर्थिक आधारमाथि फल्ने– फुल्ने प्रक्रिया होस् ! हो, यसको लागि सिङ्गो समाजलाई नै एउटा विराट स्कूलको रूपमा फेर्नुपर्छ ।
यसको लागि आवश्यक प्रक्रियाको मोटामोटी विशिष्टता भनेको पुँजीवादी व्यवस्थाको निर्माणको पहिलो चरणको क्रममा पुँजीवादी चेतनाको निर्माण प्रक्रियाजस्तै हो । त्यसबेला पुँजीवादले शक्ति प्रयोग गर्छ, यसका साथसाथै जनमानसलाई व्यवस्था अनुकूल शिक्षित पनि गर्छ । पुँजीवादका प्रचारकहरूले प्रत्यक्षरूपमा प्रचारबाजी पनि गर्छन् । यो उनीहरूकै जिम्मामा हुन्छ– जनमानसलाई वर्गीय समाजका अनिवार्यताहरूको बारेमा सम्झाउने बुझाउने कर्तव्य । यसको लागि प्राकृतिक नियमसम्बन्धी यान्त्रिक सिद्धान्त वा दैवीय उत्पत्तिको सिद्धान्तको प्रचार गर्नु परे पनि गर्ने उपाय अपनाइन्छ । यसै प्रकारको प्रभावस्वरूप जनमानस पुँजीवादी व्यवस्थाअनुकूल ढालिन्छ र जनताले बुझ्न थाल्छन् : हामीले त्यस्तो दैवी र प्राकृतिक प्रकोपको उत्पीडन सहनुपर्छ, जोसँग सङ्घर्ष गरेर पार लगाउन सकिन्न ।
त्यसपछि आउँछ यहीँ र अहिले नै उन्नति गर्न पाउने सुनौलो आशा, पहिलेका गतिहीन वर्गीय व्यवस्था र जातीय शासनहरूभन्दा पुँजीवादी व्यवस्थामा उन्नतिको आशा अत्यधिक छ भन्ने भरोसा । अरू वर्गीय व्यवस्थाहरूभन्दा पुँजीवादी व्यवस्थालाई भिन्न पार्ने मुख्य तत्व नै यही उन्नतिको आशा र भरोसा त हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *