भर्खरै :

कम्युनिस्टहरू दूरदर्शी हुनुपर्छ

कम्युनिस्टहरू दूरदर्शी हुनुपर्छ

कम्युनिस्टहरू सबभन्दा बढी दूरदर्शी हुनुपर्छ, सबभन्दा बढी दृढ हुनुपर्छ । उनीहरू बहुमत जनताको पक्षमा लाग्छन् र समर्थन गर्छन् । कम्युनिस्टहरू हरेक समय सत्यताको पक्षपोषण गर्छन्, पक्षपोषण गर्न तयार हुनुपर्दछ । कम्युनिस्टहरू हरेक समय आफ्ना गल्तीहरू सुधार गर्न तयार हुनुपर्दछ । कम्युनिस्टहरू जहाँ गए पनि जहाँ बसे पनि जनतासँग भिज्नुपर्छ, जनतामाझ पुग्नुपर्छ, जनताको दुःख सुख बुझ्नुपर्छ । कम्युनिस्टहरूले देशी विदेशी शत्रुहरूसँग सामना गर्नुपर्छ । उनीहरूले जनतासित एकता कायम गर्नुपर्छ, जरा फैलाउनुपर्छ र जनताकै बिचमा फुल्नुपर्छ । कम्युनिस्टहरू क्रान्तिकारी छन् या छैनन् भन्ने जाँच्ने एउटा कसी उनीहरू व्यापक मजदुर, किसान जनतासित एकाकार हुन चाहन्छन् कि चाहँदैनन् भन्ने हो । उनीहरू बहुमत जनताको पक्षमा बोल्छन् कि बोल्दैनन् ? त्यसलाई व्यवहारमा लागु गर्छ कि गर्दैन हेर्नुपर्छ । बहुमत मजदुर, किसानसँग एकाकार नगर्ने, त्यसलाई व्यवहारमा लागु नगर्ने सच्चा कम्युनिस्ट हुनेछैन, क्रान्तिकारी हुनेछैन । आफूलाई माक्र्सवादी र लेनिनवादी भन्ने शासक दलका नेताहरूले सरकारमा हुँदा र नहुँदा बहुमत मजदुर र किसानहरूको हितमा के ऐन बनाएका छन् र उनीहरूको पक्षमा के आन्दोलन गरेका छन् ?
सिद्धान्त र विचारको ख्याल नगर्ने, सिद्धान्त र विचार छोडेर पद, पैसा र सत्ताको निम्ति ज्यानतोड गर्ने दलको उद्देश्य स्पष्ट हुँदैन । उनीहरू बहुमत जनताको कुरा उठाउँदैनन् । उनीहरू प्रजातन्त्र, स्वतन्त्रता र जनताको हितको कुरा गरे पनि स्वेच्छाचारी हुन्छन् । उनीहरू जनताको हित हुने नीति ल्याउँदैनन् । आफू नै प्रजातन्त्रवादी, मानवतावादी, स्वतन्त्रतावादी भएको डङ्का पिट्छन् । उनीहरू समान व्यवहार गर्दैनन् । उनीहरूमा पुँजीवादी धारणा मात्र होइन सामन्ती चरित्र नै रहेको हुन्छ । पुँजीवादी र सामन्ती स्वभावका नेताहरूले आफ्नो कामको जिम्मेवारी बोध गर्दैनन् । उनीहरू ढुलमुले हुन्छन्, निरर्थक कुरा फुक्छन् । आफूले गल्ती या नराम्रो काम गरे पनि उनीहरू मतलब राख्दैनन् । उनीहरू आफूखुसी काम गर्छन्, मोजमज्जामा देशको ढुकुटी उडाउँछन् । आफ्ना त्रुटि छोप्न अर्को गल्ती गर्न उनीहरू पछि पर्दैनन् । उनीहरू अहङ्कारवादी हुन्छन् । देशको सम्पत्ति सकाउन फजुल गर्न पनि पछि पर्दैनन् । अनि देश सङ्कटमा पर्दैन ?
हरेक नेता तथा कार्यकर्ताहरू सुझबुझका साथ जनतामाझ पुग्नुपर्छ तर कम्युनिस्ट भनिने शासकहरूले सतही राजनीति गरिरहेका छन् । प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्रताको बखान गरेर प्रजातन्त्रविरोधी र मानव अधिकारविरोधी काममा लागिरहेका छन् । उनीहरू एकथोक बोल्छन् र अर्कोथोक काम गर्छन् । उनीहरू माक्र्सवाद र लेनिनवादको नाउँमा त्यही वादविपरीत पुँजीवादको पक्षमा लागिरहेका छन् । पुँजीवादी व्यवस्थामा रहेर, पुँजीवादी व्यवस्थाको पक्षपोषण गरेर कम्युनिस्टको लक्ष्य पूरा गर्ने सपना बोकेका संशोधनवादी र अवसरवादीहरू कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनलाई पछिल्तिर धकेल्दै छन् । देशमा आफूलाई कम्युनिस्ट भनिने दलहरू साँच्चै कम्युनिस्ट भएका भए, कम्युनिस्टको सिद्धान्त र विचारअनुसार लागेका भए, आमूल परिवर्तनको निम्ति जनतालाई सुसूचित पार्दै अघि बढेको भए देशमा पुँजीवादी व्यवस्था कमजोर हुँदै जाने र कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलन अघि बढ्ने थियो । सत्ता स्वार्थमा भुलेको कारण कम्युनिस्टहरू टुक्रिए, कम्युनिस्टहरू कमजोर भए । कम्युनिस्ट पार्टीले गर्दा कम्युनिस्ट पार्टी कमजोर हुनु भनेको देशका सामन्त पुँजीपतिहरूको निम्ति फाइदा हुनु हो । कम्युनिस्टहरू विदेशी दलालहरूको सेवा गर्दैनन् । उनीहरू विदेशी दलालहरूलाई पोस्दैनन् । उनीहरू कम्युनिस्टहरूको विरोधमा पुँजीपतिवर्गको स्वार्थ पूरा गर्न लाग्दैनन् । मित्रको विरोधमा शत्रुसँग मिल्ने दलको बुझाइ कसरी सही हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *