भर्खरै :

महँगीले उपभोक्ताहरू मारमा

महँगीले उपभोक्ताहरू मारमा

किराना पसलको एक व्यापारी भन्दै थिए, “खानेकुराको भाउ त बढ्न नहुने हो । दैनिक उपभोग्य सामानहरूको मूल्य बढेर बेच्नै गा¥हो छ । किनेर खानेलाई झन् गा¥हो छ ।”
नेपाली समाजको बजार भाउ कतिबेला घटबढ हुने हो भन्नै सकिन्न । अहिले दैनिक उपभोग्य सामानको मूल्यमा वृद्धि भएको छ । ठूला चाडपर्वहरू दसैँ, तिहार, छठ पर्व नजिकिँदै गर्दा बजारमा वस्तुको भाउ बढ्ने पुरानै चलन हो । यो वर्ष पनि उपभोक्ताहरू त्यसको मारमा परेका छन् । चिनी, प्याज, चामल, तेल, कपडा धुने सर्फ, साबुन, दाललगायत वस्तुहरूमा भाउ बढ्दा दैनिक ज्याला गरेर खाने मानिसहरू थप मर्कामा परेका छन् । सामानको भाउ बढेको तुलनामा नगण्य मात्रामा श्रमिकहरूको ज्यालामा वृद्धि हुन्छ । तर, तीव्रगतिमा बढेको वस्तुको मूल्यलाई उपभोक्ताको आम्दानीले थेग्न सकिरहेको हुँदैन । तसर्थ, अहिलेको बजार मूल्यले उपभोक्ताको दैनिकी जीवन यापनमा नै समस्या सिर्जना गराएको छ । नागरिकको यस्तो समस्यामा राज्य मूकदर्शक बन्नु विडम्बना हो ।
स्वदेशमा उत्पादन कम हुँदा प्याज, लसुन, दाल, चामललगायत सामानहरू भारत, चीनबाट पनि आयात हुन्छन् । बाहिरबाट किनेर खानु पर्दा स्वाभाविकरूपमा महँगो हुन जान्छ । तर, उपभोक्ताको क्रय शक्ति, अवस्थालाई पनि सरकारले ध्यान दिनुपर्दछ । राज्य स्वदेशमा नै आवश्यक वस्तु उत्पादन गर्न लाग्नुपर्दछ । हाम्रो सरकार यतातर्फ ध्यान दिँदैन । राज्य अर्थतन्त्रमा परनिर्भर बन्न लालायित देखिन्छ । बजार सरकारको नियन्त्रणभन्दा पनि ठूल्ठूला व्यापारी र पुँजीपतिहरूको हातमा छ । शोषक, पुँजीपतिहरूको हातमा अर्थतन्त्र भएपछि जनता शोषितपीडित हुने नै भयो । एउटा सानो किराना पसल व्यापारीले भनेजस्तै सामान बेच्न पनि गा¥हो छ, किनेर खाने उपभोक्तालाई त झन् गा¥हो हुने नै भयो । जनताको सरकार हो भने राज्यमा कर्तव्यबोध र जवाफदेहिता हुनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *