भर्खरै :

कस्ता–कस्ता हुन्छन् मानसिक रोग, कसरी चिन्ने ?

कस्ता–कस्ता हुन्छन् मानसिक रोग, कसरी चिन्ने ?

विश्वमा मानसिक रोगीहरूको सङ्ख्या बढ्दो छ । विश्व स्वास्थ्य सङ्गठनले दिएको जानकारीअनुसार हरेक ८ जना मानिसमध्ये १ जनामा मानसिक रोग भएको पाइएको छ । यस वर्षको नारा मानसिक स्वास्थ्य हाम्रो अधिकार रहेको छ । विश्वमा ३० करोड मानिस एन्जाईटी डिसअर्डरबाट पीडित छन् । त्यस्तै, डिप्रेसनबाट २८ करोड, बाईपोलर डिसअर्डरबाट ४ करोड, सिजोफेनियाबाट २ करोड ४० लाख पीडित छन् । विश्वमा मेन्टल हेल्थ ग्याप भएका मानिस छन् । विकासोन्मुख देशमा बिरामी ६० देखि ७० प्रतिशत छन् । मानसिक रोगलाई हाल मनोरोग भनिन्छ । मनोरोगअन्तर्गत अति सामान्य समस्या टेन्सन हेड्याकदेखि अति कडा रोग सिजोफोर्नियासम्म पर्दछ । विश्वमा करीब ५० करोड मानिस कुनै न कुनै प्रकारको मनोरोगबाट पिडीत छन् ।
विश्वका १० खतरनाक रोग जसले मानिसको दैनिक क्रियाकलापमा असर गर्छ । जसमध्ये ५ वटा मानसिक रोगका विभिन्न कारणले गर्दा हुन्छ । तिनीहरू डिप्रेसन, मेनिया, सिजोफोर्निया, दूव्र्यसनी र डिमेन्सिया पर्दछन् । नेपालमा मनोरोगका बिरामीलाई उपचार गर्ने जनशक्तिको कमी छ । साइक्याट्रिक मनोरोग विशेषज्ञ, साइक्याट्रिक नर्स, साइकोलोजिष्ट र सामाजिक कार्यकर्ता मनोरोगका बिरामीको उपचारमा संलग्न रहन्छन् । नेपालमा मनोरोगीका बिरामी मेन्टल अस्पताल, मेडिकल कलेज, सरकारी अस्पताल र प्रात्ेट नर्सिङहोममा उपचार हुने गरेको छ । केही गैरसरकारी संस्था पनि मानसिक रोगको उपचार गर्न सहयोग गर्दै आएका छन् । खासगरी मानिसमा परेको समस्यासँग जुध्न नसक्दा मानसिक रोग लाग्न पुग्छ । तर, वंशानुगतरूपमा पनि मानसिक रोग लाग्ने सम्भावना देखिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा प्रत्येक ४० सेकेन्डमा १ जना मानिसको ज्यान आत्महत्याबाट जान्छ । त्यसैले यसको रोकथाम अति आवश्यक छ । मानसिको रोगबारे जनचेतना फैलाई मानसिक स्वास्थ्य राम्रो बनाउनुपर्ने हुन्छ । जसबाट अत्महत्या घटाउन सकिन्छ । हामीले जहिलेपनि सकारात्मक सोच लिनुपर्छ । मानसिक रोगका बिरामी पनि आफ्नो दैनिक काम गर्न सक्छन् । उपचार गरे मानसिक रोग निको हुन्छ । सामान्य मनोरोगका बिरामीलाई मेरो दिमाग बिग्रन्छ कि भन्ने लाग्छ तर त्यस्तो हुँदैन । कडा मानसिक रोगमा मात्र यस्तो हुन्छ । रोग लाग्यो भनेर लुकाउनु हुँदैन । आफूलाई कमजोर ठान्नु हुँदैन बरु उपचार गराउनुपर्छ ।

मानसिक रोग कस्ता कस्ता हुन्छन् ?
क) सामान्य खालका मानसिक रोग
डिप्रेसन : यो रोगका बिरामीहरू निराश हुने, दिक्क हुने, नराम्रो हसने, बारम्बार रुने, हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, बाँच्नभन्दा मर्न बेस भन्ने र कतिपय बिरामीले आत्महत्या गरेको पनि पाइएको छ । डिप्रेसन नेपालमा पाइने एउटा मुख्य मानसिक रोग हो । जीवनभरमा २०–२५ प्रतिशत मानिसमा डिप्रेशन हुन्छ ।
डर लाग्ने समस्या : मानिसमा डर लागिरहने, मुटु ढुकढुक गर्ने, हात हल्लने, टाउको दुख्ने, अचानक डराउने समस्या हुन्छ ।
कनभर्सन डिसोसिएटिभ डिसअर्डर : अचानक हात खुट्टानचल्ने, छातीमा स्वास फेर्न गा¥हो हुने, उल्टो कुरा गर्ने, बोली रोकिने, बक्ने (एयटा अर्का भई बोल्ने), काम्ने, बिर्सने आदि लक्षण लिई यस्ता बिरामी अस्पताल आउँछन् ।
बालबालिकामा देखिने मनोवैज्ञानिक समस्या : बालबालिकामा चकचक गर्ने, रिसाउने, चोर्ने, झगडा गर्ने, स्कूल जान नमान्ने, स्कूलबाट भाग्ने, एक्लै बस्ने आदि समस्या पाइन्छ । साथै बच्चामा डिप्रेसन वयस्कमा भन्दा फरक लक्षण लिई देखापर्छ ।
सोमाटोर्फम डिसअर्डर : यो यस्तो रोग हो, जसमा शरीरका विभिन्न अङ्गका लक्षण लिएर बिरामी आउँछन्, जस्तै टाउको दुख्ने, पेट दुख्ने, हात खुट्टा हल्लिने आदि । मानिसहरू विभिन्न डाक्टरकहाँ उपचारार्थ पुग्दछन् । तैपनि, आफ्नो समस्या निको भएको महसुुस गर्दैनन् । विभिन्न ल्याब परीक्षण गराउँदा पनि कुनै खराबी देखिँदैन, जुन साइकोलोजिकल कारणले भएको उनीहरूलाई थाहा नै हुँदैन । कहिलेकाहीँ बिरामीहरू आफूलाई क्यान्सर भएको, एड्स भएको शङ्का गरी अस्पताल आउँछन् ।
अब्जेसिभ कम्पल्सिभ डिसअर्डर : यो यस्तो रोग हो, जहाँ मन अत्यन्त कमजोर हुन्छ । मनमा विभिन्न सोचाइ र दृश्यहरू आइरहन्छन् । मनमा लिन्न भने पनि त्यस्ता सोचाइ आउनाले बिरामी आत्तिन्छ । उसलाई ती सोचाइ आउनाले उसमा छटपटी भइरहन्छ । साथै चुकुल लगाई सकेपछि पटक–पटक हेर्नुपर्न, हात बारम्बार धोइरहनुपर्ने आदि समस्या रहन्छ ।
ख) कडा मानसिक रोग
मेनिया : यो रोग डिप्रेसनको उल्टो खालको रोग हो । बिरामी म ठूलो मान्छे बन्छु, म प्रसिद्ध व्यक्ति हुँ भन्छ र घमण्ड गर्ने हुन्छ । बिरामीले भनेको नमाने पिट्ने गर्छ । राम्रो लुगा लगाउनु पर्ने, मीठो खाना माग्ने तथा पैसा माग्ने र झगडा गर्ने गर्दछ । कहिले मेनिया हुने र कहिले डिप्रेसन देखिने रोगलाई बाइपोलललर एफेक्टिभ डिसअर्डर भनिन्छ ।
सिजोफेर्निया : यो यस्तो रोग हो, जसमा बिरामीलाई आफू बिरामी भएको थाहा हुँदैन । बिरामी एक्लै बस्दा कानमा आवाज आउँछ । बिरामी अरूसँग शङ्का गर्ने, सर सङ्गत छाड्ने र एक्लै बस्ने, दैनिक काममा ध्यान नदिने, सफा सुग्घर गर्न छाड्ने, घरबाट भाग्ने हुन्छ ।
ग) अन्य
लागु औषध र रक्सीको समस्या : खासगरी स्कूल जाने, हाई स्कूल तथा कलेज जाने विद्यार्थी लागु औषध सेवन गर्नै कुलतमा फसेको देखिन्छ । विभिन्न प्रकारका खोकीको औषधि, गाँजा टिजोजेसिक र हिरोइनजस्ता औषधि लिँदा मस्तिष्कमा असर पर्दछ । उनीहरू एकपटक लिएपछि छोड्न सक्दैनन् । कतिपय अवस्थामा चोर्ने आदि अपराधमा उनीहरू संलग्न भएको पाइएको छ । अर्को समस्या रक्सी सेवन गर्ने हो । जब मानिसले रक्सी लिन थाल्छ, दिनदिन उसको मात्रा बढ्न थाल्छ । पछि ऊ बिहान पनि रक्सी नलिई बस्न सक्दैन । उसमा छारेरोग देखिने, होस हराउने, पेट पोल्ने, मुटुको रोग, कलेजोको रोग, डिमेन्सिया (Demetia) तथा डर लाग्ने र डिप्रेसनजस्ता रोग लाग्ने सम्भावना बढी रहन्छ । जुन उपचार गरे निको पार्न सकिन्छ ।
छारे रोग : अचानक शरीर कडा हुने, काम्ने, र बेहोस हुने, आँखा हल्लिने, जिब्रोमा चोट लाग्ने आदि समस्या लिएर धरै बिरामी आउँछन् । कतिपय बच्चामा एकदेखि दुई मिनेट टोलाइ मात्र रहने पनि एक प्रकारको छारे रोग हो । यो उपचार गरे निको हुन्छ । यो रोगमा औषधि ४ वर्षसम्म सेवन गर्नुपर्छ ।
सुस्त मनस्थिति : यस्ता बिरामीमा बौद्धिक क्षमता कम हुन्छ । दैनिक जीवनमा यस्ता बिरामी सिक्ने, काम गर्ने, पढ्ने कुरामा निकै पछि पर्छन् । उपचार गरे बिरामी राम्रो हुन्छन्, तर उनीहरूलाई सीप सिकाइ बुद्वि अनुसारको काम लगाउनुपर्दछ ।
डिमेन्सिया : यो बुढेसकालमा लाग्ने रोग हो । यो रोगमा ब्रेनको आकार पनि सानो हुन जान्छ र ६५ वर्षपछि यो रोग देखा परेर बिरामीले बिस्तारै बिस्तारै दैनिक क्रियाकलापमा सम्झने शक्ति घट्छ । बिरामी रिसाउने, बिर्सने, दिसा, पिसाब कन्ट्रोल गर्न सक्दैन । बिरामी एक्लै बस्ने, सोच्ने शक्ति कम हुने र व्यक्तित्वमा परिर्वतन हुने हुन्छ ।

मानिसक रोगका कारणहरू
– वंशानुगतरूपमा सर्ने,
– न्यूरो ट्रान्समिटरको गडबडी,
– आमा बाबुबाट बाल्यवस्थामा टाढा रहनाले,
– हर्मोनको गडबडीजस्तै थाइराइड, एड्रिनल, ग्रोथ हर्मोनको गडबडी भएमा,
– शारीरिक रोग लामो समय समयमा लाग्छ । जस्तै चिनीको रोग, मिर्गौलाको रोग आदि,
– बिरामी हुनु अघिको व्यक्तित्व,
– तत्कालीन घटनाक्रम,
– पारिवारिक अस्वस्थ्य सम्बन्ध,
– लागु पदार्थ सेवन गर्नाले,
– गर्भावस्थामा सङ्क्रमण, मस्तिष्कको वृद्धिमा रोक आदि,
– समाजबाट टाढा रहनाले, बसाइ सर्नाले,
– टाउकोको चोटपटक ।

कसरी मानसिकरूपमा स्वस्थ बन्ने ?
– अनावश्यक कुरामा बारम्बार एकोहोरो गहिरो सोचाइ नगर्ने,
– अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुसी हुने,
– पुराना रुढीवादीका कुरा जुन वर्तमानमा झूटा साबित भएका छन् तिनमा विश्वास नगर्ने,
– हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्ने,
– जे छ त्यसमा सन्तुष्ट हुने, तर मिहेनत गर्न नछाड्ने,
– लागू पदार्थ, रक्सी, ड्रग्स सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना धेरै रहने भएकोले, यी वस्तुबाट टाढा रहने,
– दैनिक जीवनमा स्वास्थ्य प्रतिस्पर्धा गर्ने,
– समाजमा, घर परिवारमा दुष्टताको वातावरणको अन्त्य गर्ने,
– अति नैतिकवान नबन्ने र अरूबाट पनि त्यस्तो बढी आशा नगर्ने,
– आफ्ना समस्या आफ्नो परिवार, साथीभाइलाई भन्ने बानी गर्ने जसबाट मनको उत्तेजना (चिन्ता) कम गर्न सहयोग मिल्छ,
– मनलाई सधँै शान्त राख्ने ।

मानसिक रोग लागेको कसरी चिन्ने ?
– मानिसमा धेरै अङ्गका जटिल लक्षण एकैचोटी देखिएमा,
– अनौठो व्यवहार देखापरेमा,
– एक्लै बोल्ने, एक्लै हाँस्ने गरेको देखेमा,
– शङ्का गर्ने देखिएमा,
– आत्तिने, डराउने, चिन्ता गर्ने, घरबाट भाग्ने गरेमा ।

मानसिक रोगबारे जान्नैपर्ने कुरा
– मानसिक रोग अति सामान्य (जस्तै टाउको दुख्ने मात्र) देखि कडा खालका (एक्लै बोल्ने, एक्लै हाँस्ने पागलपन) सम्मका हुन्छन् । सामान्य खालको मानसिक समस्या हुँदा आत्तिनु हुँदैन र उपचार गर्न पनि हिच्किचाउनु हुँदैन ।
– कडा मानसिक रोगका बिरामीलाई परिवारका सदस्यको सहयोग अति आवश्यक छ ।
– मानसिक रोग लाग्नु पापको फल होइन ।
– उपचार गरे मानसिक रोग निको हुन्छ
– मानसिक रोगका बिरामीलाई सबैले सहयोग गर्नुपर्छ
– उपचार गरिरहेका मानसिक रोगका बिरामीले डाक्टरको सल्लाहविना आपैm औषधि छाड्नु हुँदैन ।
– उपचारको क्रममा विभिन्न ल्याव परिक्षण गर्दा पनि कुनै रोग नदेखिएमा त्यो मानसिक रोग हुने सम्भावना धेरै रहन्छ ।
– मानसिक रोगको उपचारमा काउन्सिलिङ (साइकोथेरापी) र इ.सि.टि. (विद्युतीय उपचार) को पनि ठुलो भूमिका रहन्छ ।
– मानसिक रोगका बिरामीहरू घरपरिवार, समाज तथा द्वन्द्वको कारण शोषणमा पर्न सक्छन् ।
– मानिस काम्ने र बक्ने वनको भूतले होइन मनको आन्तरिक पीडाले गर्दा हुन्छ ।

मानसिक रोगको उपचार विधि
१) साइकोथेरापी
२) औषधि प्रयोग
३) विद्युतीय उपचार
धेरैजसो बिरामीहरू साइकोथेरापी तथा औषधिको प्रयोगबाट निको हुन्छन् तर कसैलाई इसिटी पनि गर्नुपर्ने हुन्छ ।

औषधि सेवन गर्दा विचार पु¥याउनुपर्ने कुराहरू :
– औषधि जहिले पनि बिरामीलाई अर्कै मानिसको रेखदेखमा खुवाउनुपर्छ ।
– तोकेको अवधिसम्म औषधि सेवन गर्नुपर्छ । आफ्नो मनखुसीले औषधि छाड्दा निको हुँदैन वा चारदेखि पाँच महिनापछि रोग पुनः बल्झिन सक्छ ।
– औषधिलाई सुरक्षित ठाउँमा राख्नुपर्छ, जसबाट अधिक मात्राबाट बचाउन सकिन्छ ।

मानसिक रोगको उपचारमा परिवारका सदस्यको भूमिका
मानसिक रोगको एउटा प्रमुख कारण पारिवारिक झगडा, बेरोजारी, प्राकृतिक प्रकोप भएको हुनाले बिरामी हुन नदिन र बिरामी भएकालाई छिटो निको पार्न परिवारका सदस्यको भूमिका ठूलो हुन्छ । परिवारसामु देखिने जटिल समस्या एक आपसमा मिलेर समाधान गर्न सकिने हुनाले उक्त बोझ एउटामा मात्र पर्न दिनुहुँदैन । बिरामीलाई डाक्टरको सल्लाहबमोजिम नियमित औषधि सेवन गराउनुपर्छ । बिरामी रिसाउने, झर्किने तथा अन्य झगडालु स्वभाव देखाउन थालेमा आफू उत्तेजित हुनुहुँदैन । बिरामीले रोगको कारणले त्यस्तो व्यवहार देखाएको हो भन्ने बुझ्नुपर्छ । औषधिले काम गर्न कम्तिमा एक हप्ता लाग्छ, त्यसैले तत्काल औषधिको असर खोज्नुहुँदैन । नेपालमा रक्सी र लागूऔषधको समस्या बढ्दै गएको छ । यसका लागि पारिवारिक सदस्यको रेखदेख र नियन्त्रण अति आवश्यक छ । साथै समुदायमा बस्ने मानिस एकजुट भई काम गरे यो नियन्त्रण गर्न सकिन्छ ।
(लेखक मनोरोग विशेषज्ञ तथा नेपाल मनोचिकित्सक सङ्घका अध्यक्ष हुन् ।)
– ‘स्वास्थ्य खबर पत्रिका’ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *