भर्खरै :

इजरायलले जमिनी युद्धको लागि तयारी गर्दा गाजामा मानवीय सङ्कट बढेको छ

इजरायलले जमिनी युद्धको लागि तयारी गर्दा गाजामा मानवीय सङ्कट बढेको छ

गाजापट्टीमा हताहत हुनेको सङ्ख्या बढ्दै जाँदा चिनियाँ पर्यवेक्षकहरूले यदि हमास र इजरायलबिचको लडाई रोकिएन भने यस क्षेत्रमा मानवीय सङ्कट निम्तिने चेतावनी दिएका छन् । पर्यवेक्षकहरूले यस्तो सङ्कट र अत्याचारको कारणले गर्दा जनमत विस्फोट गराउन सक्छ र निश्चित बिन्दुमा राजनीतिक स्थितिलाई उल्टो पार्न सक्छ । यस अवस्थामा इजरायलमाथि वास्तविक प्रभाव रहेको देश संरा अमेरिकाले मध्यपूर्वमा थप तनाव बढाउनुको सट्टा इजरायललाई गाजामा आफ्नो आक्रमणलाई स्थगित गर्न दबाब दिन आवश्यक छ ।
पश्चिमी मिडियाले हमासको निन्दा गर्न चीनलाई दबाब दिइरहेको छ । चिनियाँ पर्यवेक्षकहरूले भनेका छन् कि पश्चिमी उपनिवेशको कारणले गर्दा र संरा अमेरिकाको पूर्वाग्रही मध्यपूर्व नीतिहरूले बढाएको द्वन्द्वमा चीनलाई पक्ष छान्न भन्नु अतार्किक छ । यस सङ्कटको समाधान गर्न चीनको निष्पक्षता निरन्तर रहेको विज्ञहरूले बताए । आवश्यक परे प्यालेस्टाइन र इजरायलबिच वार्ताका लागि पनि चीनले सहजीकरण गर्न इच्छुक रहेको विज्ञहरूले बताएका छन् ।
इजरायली सेनाले बिहीबार भन्यो कि यो गाजामा सम्भावित जमिनी कारबाही (युद्ध) को लागि तयारी गरिरहेको छ तर राजनीतिक नेतृत्वले अझै निर्णय गरेको छैन । इजरायली लेफ्टिनेन्ट कर्नेल रिचर्ड हेचले बिहीबार भनेका थिए कि सेनाले “यदि निर्णय गरेमा जमीनी युद्धको तयारी गरिरहेको छ ।”
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार इजरायलले हमास लडाकु समूहलाई ‘कुल्चने र नष्ट’ गर्ने वाचा गरेका छन् । एपीका अनुसार हमासको अचानकको आक्रमणपछि छैटौँ दिनमा इजरायली बमबारीमा वृद्धि भएपछि द्वन्द्वले दुबै पक्षमा कम्तीमा २,३०० जनाको ज्यान लिइसकेको छ । संयुक्त राष्ट सङ्घले भन्यो, खाद्यान्न, इन्धन र चिकित्सा आपूर्तिहरू घट्दा गाजामा ३३८००० भन्दा बढी मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन् ।
द्वन्द्वमा तीनजना चिनियाँ नागरिकको मृत्यु भएको छ र दुई जना बेपत्ता छन्, चिनियाँ विदेश मन्त्रालयले बिहीबार पुष्टि ग¥यो र अरू धेरै घाइते भएको उल्लेख गरेको छ । विदेशमा रहेका सम्बन्धित चिनियाँ कूटनीतिक नियोगले घाइतेको उपचार र मृतकको उपचारको लागि पूर्ण समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ ।
गाजापट्टीमा मानवीय प्रकोपको जोखिम बढ्दै गएको छ र इजरायली सेनाले जमिनी कारबाही सुरु गरेमा अझ बढी हताहती बढ्ने सम्भावना हुनेछ । किनभने गाजापट्टी विश्वकै सबैभन्दा सघन जनसङ्ख्या भएको क्षेत्रमध्ये पर्छ र हमास लडाकूहरू नागरिकहरूसँग सजिलैसँग घुलमिल हुनसक्छ, जसले सेनालाई पहिचान गर्न गा¥ह्रो बनाउने चाइना इन्स्टिच्युट अफ कन्टेम्परेरी इन्टरनेसनल रिलेसन्सका एक रिसर्च फेलो टियानले ग्लोबल टाइम्ससित भन्नुभयो ।
बढ्दो मृत्युको सङ्ख्या र गाजामा बढेको कष्टले प्यालेस्टाइनका मानिसहरूप्रति विश्वभरमै अत्यधिक सहानुभूतिको लहर ल्याउन सक्छ, जसको सैन्यशक्ति इजरायलको तुलनामा कमजोर छ । त्यो परिदृश्य (प्यालेस्टिनीहरूप्रति सहानुभूतिपूर्ण जनमत) पनि हमासले चाहेको पनि हो, साङ्घाई इन्टरनेसनल स्टडीज युनिभर्सिटीको मध्यपूर्व अध्ययन संस्थानका निर्देशक झु वेइलीले भन्नुभयो ।
इजरायलका प्रधानमन्त्री नेतान्याहु र अर्का मध्यपन्थी विपक्षी नेता तथा पूर्व रक्षामन्त्री बेन्नी गान्ट्ज आपत्कालीन एकता सरकार गठन गर्न सहमत भएका छन्, गान्ट्जको राष्ट्रिय एकता पार्टीले बुधबार भने । चिनियाँ पर्यवेक्षकहरूले यो एकतालाई इजरायलले हमासविरुद्ध कडा कारबाही गर्ने सङ्केतको रूपमा हेरेका छन् ।
प्यालेस्टिनी चिकित्सा स्रोतहरूले भर्खरै भनेका छन् कि इजरायलले बुधबार गाजाको पश्चिमी बन्दरगाह क्षेत्रमा धेरै सेतो फस्फोरस बमहरूका साथ निशाना बनाएको थियो । त्यसको परिणामस्वरूप सयौंको निसासिएर मृत्यु भएको थियो । जवाफमा, संयुक्त राष्ट्र सङ्घका प्रवक्ताले बुधबार भने कि संयुक्त राष्ट्र सङ्घले यस सम्बन्धमा कुनै प्रतिवेदन देखेको छैन ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुधबार इजरायल र गाजाको बढ्दो द्वन्द्वप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । “म सबै पक्षहरूलाई र ती दलहरूमा प्रभाव राख्नेहरूलाई कुनै पनि थप वृद्धि र फैलावटबाट बच्न अपिल गर्दछु ।” उहाँले न्युयोर्कमा संयुक्त राष्ट्र मुख्यालयमा पत्रकारहरूसित भन्नुभयो ।
टियानले गाजा पट्टीमा इजरायलको लगातारको अपराधलाई शान्त पार्न अमेरिकाले इजरायलमा प्रभाव पार्न सक्ने उल्लेख गर्नुभयो । टियानका अनुसार वासिङ्टनले युद्धपोतहरू पठाउनु र हमासलाई एकपक्षीयरूपमा निन्दा गर्नु इजरायललाई गाजा पट्टीमा बमबारी गर्न उक्साउनु र पहिले नै तनावपूर्ण अवस्थालाई थप उकास्नु हो ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन हमासको अचानक आक्रमणपछि इजरायललाई समर्थन जनाउन बिहीबार इजरायल पुगेका छन् । अमेरिकाले तत्कालै भूमध्यसागरको पूर्वी भागमा दुईवटा विमानवाहक वाहकहरू पठाउने अमेरिकी मिडिया पोलिटिकोले रक्षा विभागका अधिकारीहरूलाई उद्धृत गर्दै समाचार सार्वजनिक गरेको छ ।
यदि वासिङ्टन साँच्चै सङ्कटको मध्यस्थता गर्न चाहन्छ भने इजरायलको मनोबल बढाउन मध्यपूर्वमा युद्धपोतहरू पठाउनुको सट्टा वार्ताको लागि दुवै पक्षसित बस्नुपर्छ, झुले ग्लोबल टाइम्ससित भन्नुभयो  । उहाँले अमेरिकाले जसरी तनाव फैलाइरहेको छ त्यसले द्वन्द्वलाई लम्ब्याउने र यसले धेरै नागरिकको मृत्यु हुनुका साथै ठूलो मानवीय सङ्कट निम्त्याउने बताउनुभयो ।
बिहीबार प्रकाशित फिनिक्ससँगको अन्तर्वार्तामा चीनका लागि प्यालेस्टाइनका राजदूत फारिज मेहदावीले मध्यपूर्वमा जारी द्वन्द्व समाधानका लागि चीनले सामूहिक प्रयासका लागि आग्रह गरिरहेको बताउनुभयो, “तर दुर्भाग्यवश संरा अमेरिकाले चीनलाई कहिल्यै स्वीकार गरेको छैन, किनभने उनीहरूले चीनको अस्तित्व नै नभएको जस्तो गरी चीनलाई सधैँ बाहिरै राखेका थिए । अमेरिकीहरू मध्यपूर्वलाई आफ्नो बगैँचा ठान्छन्, उनीहरूका लागि सबै कुरा नियन्त्रणमा राख्नुपर्छ … र हामीले यो अमेरिकी एकाधिकारको मूल्य तिरिरहेका छौँ । छोटकरीमा भन्नुपर्दा, यो स्वार्थी विदेश नीति हो जुन मेरो विचारमा गैरजिम्मेवार छ ।”

पश्चिमले दोषारोपणमात्र गर्छ
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बिहीबार आयोजित ब्रीफिङमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले प्यालेस्टाइनमा धेरै निर्दोष नागरिकको ज्यान जाने गरेको र सुरक्षा र मानवीय अवस्थाको गम्भीररूपमा बिग्रिएको अवस्थाप्रति चीनले गहिरो चिन्ता व्यक्त गरेको बताउनुभयो । युद्धविराम प्रवद्र्धन गर्न र खुला मानवीय सङ्कटलाई कम गर्न मद्दत गर्न सम्बन्धित पक्षहरूसँग सञ्चार कायम गर्नेछ ।
मध्यपूर्व मुद्दाका लागि चिनियाँ सरकारका विशेषदूत झाइ जुनले बिहीबार इजरायलको विदेश मन्त्रालयका एसिया–प्रशान्त मामिलाका उपमहानिर्देशक रफी हार्पजसँग टेलिफोन वार्ता गर्नुभयो । झाइले बढ्दो तनाव र हिंसाप्रति चीन गहिरो चिन्तित रहेको र नागरिकको हताहतिबाट दुःखी भएको उल्लेख गर्नुभयो । चीनले निर्दोष नागरिकलाई हानि पु¥याउने कार्यको निन्दा गरेको छ र तत्काल युद्धविराम र हिंसा अन्त्य गर्न आह्वान गरेको छ ।
प्यालेस्टिनी प्रश्नमा चीनको कुनै स्वार्थ छैन र सधैँ शान्ति र न्यायको पक्षमा उभिएको छ । चीनले इजरायल र प्यालेस्टाइनबिच शान्तिपूर्ण सहअस्तित्वको आशा राखेको छ र शान्तिको प्रवद्र्धन गर्न र त्यसलाई साकार पार्नको लागि वातावरण सिर्जना गर्न अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न चीन इच्छुक रहेको छ ।
झाइले प्यालेस्टाइनका विदेश मामिलाका प्रथम उपमन्त्री अमल जादुउ र इजिप्टको विदेश मन्त्रालयमा प्यालेस्टाइन विभागका सहायकमन्त्री ओसामा खेदरसँग हालैका दिनहरूमा अलग–अलग फोनवार्ता गर्नुभएको थियो ।
यद्यपि, केही पश्चिमी मिडियाले द्वन्द्वप्रति चीनको प्रतिक्रियालाई बङ्ग्याउन थालेका छन् र चीनले हमासको निन्दा नगरेको मात्र प्रचार गरिरहेका छन् । बुधबार द डिप्लोम्याटमा प्रकाशित एउटा लेखमा भनिएको छ, “इजरायल–हमास द्वन्द्वप्रति चीनको प्रतिक्रियाले प्यालेस्टाइनलाई दिँदै आएको समर्थन झल्काउँछ ।” अमेरिकी मिडिया पोलिटिकोले हमासको आक्रमणप्रति चीनको प्रतिक्रियालाई ‘नरम सन्देश’ भन्दै अर्को लेख प्रकाशित ग¥यो ।
यसबारे टियानले भन्नुभयो कि पश्चिमी मिडियाले आधारहीन दोष चीनतिर सार्दै छ । “द्वन्द्वको जरा आंशिकरूपमा ब्रिटिश उपनिवेशको परिणाम हो र प्यालेस्टाइनीहरूको अनुरोधहरूलाई संरा अमेरिकाले लामो समयसम्म बेवास्ता गरेको छ । अब जब पश्चिमी देशहरूले लामो समय पहिले रोपेको बम फालेर विस्फोट भएको छ, तिनीहरूले हमासको निन्दा नगरेकोमा चीनलाई दोष दिइरहेका छन् । के यो पनि कुनै तर्क हो ?” टियानले भन्नुभयो ।
वास्तवमा, वर्तमान प्यालेस्टाइन–इजरायल द्वन्द्वको विस्फोटले दुई राज्य समाधानको चीनको प्रस्ताव सही बाटो हो भन्ने प्रमाण हो, सांघाई अन्तर्राष्ट्रिय अध्ययन विश्वविद्यालयको मध्यपूर्व अध्ययन संस्थानका प्राध्यापक लिउ झोङिमनले ग्लोबल टाइम्ससित भन्नुभयो । प्यालेस्टाइन–इजरायल द्वन्द्वमा चीनको निष्पक्षता निरन्तर रहेको झूले बताउनुभयो । प्यालेस्टाइन र इजरायलबिच वार्ताका लागि सुविधा उपलब्ध गराउन चीनले धेरैपटक प्रस्ताव गरेको छ र आवश्यक परे चीनले त्यसलाई निरन्तरता दिनेछ ।
–ग्लोबल टाइम्सबाट
अनुवाद : आरोही

Leave a Reply

Your email address will not be published. Required fields are marked *