भर्खरै :

अमेरिकाको लागि युद्ध र सैन्यवाद लाभको सुनिश्चितता हो

अमेरिकाको लागि युद्ध र सैन्यवाद लाभको सुनिश्चितता हो

ग्लोबल टाइम्स : के अमेरिकामा युद्धविरोधी भावना बढ्दै छ ? के रिपब्लिकनहरूले यो भावना प्रयोग गरेर बाइडेन प्रशासनलाई आक्रमण गर्ने प्रवृत्ति राख्छन् ? हालैका युद्धविरोधी गतिविधिहरू के कस्ता छन् ?
फ्लाउन्डर्स : युक्रेनमा संरा अमेरिका/नाटो युद्धमा अक्टोबरको पहिलो हप्ताको लागि योजनाबद्धरूपमा स्थानीयरूपमा समन्वय गरिएका कार्यहरू छन् । कम्तीमा ५० अमेरिकी सहरहरूमा कार्य व्यवस्थित गर्ने र अन्य नाटो देशहरूमा युद्धविरोधी कार्यकर्ताहरूलाई उठाउने लक्ष्य हो । धेरै कार्यहरू अझै साना वा प्रतीकात्मक छन् । तर, त्यसमा सामुदायिक सङ्घसंस्था, सङ्घसङ्गठनका कार्यकर्ता र विद्यार्थी समूहहरूको सहभागिता रहनेछ । सबैभन्दा ठूलो समस्या यो हो कि त्यस्ता कार्यक्रमहरू जहाँ राखिए पनि उनीहरूले मिडिया कभरेज पाउँदैनन् ।
रिपब्लिकनहरूले अब रूसविरोधी या कथित युद्धविरोधी आवाज उठाएका छन् किनकि डेमोक्र्याट बाइडेन ह्वाइट हाउसमा छन्, तर उनीहरूको सन्देशमा रिपब्लिकनहरू डेमोक्र्याटहरूभन्दा बढी चीनविरोधी छन् ।
दुवै पार्टीले सैन्य बजेटको विस्तार र नयाँ चरणको प्रतिबन्धका लागि मतदान गर्छन् । युद्धको धम्की र आक्रमणमा कसले अर्कोलाई जित्न सक्छ भन्ने कुरामा तिनीहरू एक–अर्कालाई चुनौती दिन्छन् । ह्वाइट हाउसमा दुई राजनीतिक दलहरूमध्ये कुन रहेको छ भन्ने कुराले केबल सन्देशको शैलीमा फरक पार्दछ ।
ताङ : युद्धको अन्त्य नभएको बेला युक्रेनमा पठाइएको अर्बौँ डलरबाट अमेरिकीहरू थकित भएका छन् । उनीहरू चाहन्छन् कि राजनीतिज्ञहरूले आफ्नो चिन्तालाई देशको घरेलु मुद्दाहरूमा फर्काओस् ।
हालको श्रम बजारका अनुसार १ लाख ८७ हजार रोजगारी थपिएको छ तर बेरोजगारी सङ्ख्या ३.५ प्रतिशतबाट बढेर ३.८ प्रतिशत पुगेको छ । यसको अर्थ यहाँ रोजगारीभन्दा धेरै बेरोजगार छन् ।
मुद्रास्फीति, क्रेडिट कार्ड ऋणमा बढ्दो पूर्वनिर्धारित दर, बढ्दो ब्याज दर, राष्ट्रिय घाटा ३२.८ ट्रिलियन डलर पुग्नु र कम व्यक्तिगत बचतले अमेरिकी कामदारहरूमा चिन्ता पैदा गरिरहेको छ । उनीहरू युक्रेनलाई समर्थन गर्ने वा ताइवान जलडमरूमा युद्धमा संलग्न हुनुभन्दा आफ्नै जीविकोपार्जन र असफल अमेरिकी वित्तीय नीतिहरूको बारेमा धेरै चिन्तित छन् । अमेरिकीहरू आफ्नै जीविकोपार्जनको चिन्ता गर्न थप भित्री रूपमा फर्किएपछि युद्ध समर्थक जोश कम हुँदै छ ।
रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवारहरू युक्रेनबाट बाहिर निस्कने मञ्चमा कसरी दौडिरहेका छन् भनेर हेर्नु रोचक छ । तर, तिनीहरूका केही कारणहरू भ्रमपूर्ण छन् र शान्ति प्रवद्र्धन गर्न केही गर्नेखाले छैनन् । उनीहरूले रुसबाट चीनसँगको युद्धमा ध्यान केन्द्रित गर्नेबारे खुलेर छलफल गरे । मेरो लागि, यो युद्धविरोधी होइन, बरु एक युद्धबाट अर्को युद्धमा उफ्रिने चालबाजी हो । वास्तविक शान्तिको लागि कुनै प्रतिबद्धता छैन र यस देशमा युद्ध अन्त्य गर्ने उपाय र विश्वव्यापी शान्ति खोज्नुभन्दा भोट कमाउनको लागि अधिक बयानबाजी भइरहेको हो ।

सारा फ्लाउन्डर्स

हाइफोङ : इराक र अफगानिस्तानमा अमेरिकी आक्रमणपछि युद्धको थकान बढ्दै गएको छ, फुलाइएको सैन्य बजेट र आर्थिक अस्थिरताले घरेलु असहजता निम्त्याउँछ । यद्यपि, मुख्यधाराका अमेरिकी मिडियामा व्यापक गलत जानकारीको अर्थ यो हो कि मानिसहरूलाई युद्धको विरोध गर्न गा¥हो छ ।
यसको अर्थ हो पक्षपातले वास्तवमा युद्धको थकानको मुद्दामा हस्तक्षेप गर्दछ । प्रत्येक निर्वाचन चक्रमा, दुईदलीय प्रणालीको एक दलले अर्कोलाई युद्ध समर्थक भएको आरोप लगाउँछ । ट्रम्पको नेतृत्वमा रहेको रिपब्लिकनले बढ्दो सैन्य बजेट, प्रतिबन्ध र अन्य प्रकारको आक्रामकतालाई समर्थन गरे पनि हस्तक्षेपविरोधी भनाइ सार्वजनिक गरेको छ । अमेरिकी विपक्षी राजनीति अवसरवादमा आधारित छ, किनकि ओबामाको नेतृत्वमा डेमोक्र्याटहरूले अफिसमा आउनुअघि ‘बहिरा युद्धहरू’ को खिल्ली उडाएका थिए र आफू ह्वाइट हाउसको कार्यालयमा आइसकेपछि अमेरिका युद्धमा सामेल रहेको युद्धको सङ्ख्या दुईबाट सातमा विस्तार गरेका थिए ।
ग्लोबल टाइम्स : रुस–युक्रेन द्वन्द्व भर्खरै सुरु भएको एक वर्ष अघिको तुलनामा आजको अवस्थामा के अमेरिकी जनतामा युद्धविरोधी भावनामा कुनै परिवर्तन आएको छ ?
फ्लाउन्डर्स : समर्थन एक वर्ष पहिलेदेखि नाटकीय रूपमा घटिरहेको छ । युद्धको लागि समर्थन घट्दै जानेछ । सडकमा खुलेर विरोधमा झल्किए पनि त्यो त होला नै । प्रतिज्ञा गरिएका कुनै पनि सामाजिक कार्यक्रमहरू वा पूर्वाधार आवश्यकताहरूको लागि पैसा छैन । युद्ध र सैन्यवाद लाभको सुनिश्चितता हो ।
ताङ : निश्चितरूपमा युक्रेनको सैन्य असक्षमता र रुसविरुद्ध अमेरिकी प्रतिबन्धको असफलता देख्दा युद्धविरोधी भावना धेरै बलियो भएको छ । केही अमेरिकी नेताहरूले युक्रेन युद्ध हारेको स्वीकार गर्न अस्वीकार गरिरहेका छन् । प्रेसले युक्रेनको पक्षमा समाचारलाई बङ्ग्याउँदै आएको छ र युक्रेनले वास्तवमा राम्रो गरिरहेको छ भन्ने गलत छाप सिर्जना गरिरहेको छ । त्यसकारण, धेरैजसो अमेरिकीहरूले अहिले युद्ध जितेको छैन भन्ने विश्वास गर्छन् । तर, सत्य यो हो कि युक्रेन ध्वस्त भएको छ, ध्वस्त भएको युक्रेन र रूसका भूभाग फेरि कहिल्यै उस्तै हुनेछैन ।

जुली ताङ

ग्लोबल टाइम्स : के लामो युक्रेन सङ्कट र युक्रेनमा अमेरिकी सरकारको दीर्घकालीन संलग्नताको कारणले बढेको युद्धविरोधी भावनाले अमेरिकामा घरेलु द्वन्द्वलाई तीव्र बनाउँछ ? र यसले अर्को वर्षको अमेरिकी चुनावमा कस्तो प्रभाव पार्छ ?
फ्लाउन्डर्स : अमेरिकी चुनावमा प्रभाव अझै थाहा छैन । अमेरिकी चुनावी राजनीतिमा समस्या यो हो कि अमेरिकाका दुबै प्रमुख राजनीतिक दलहरूले प्रमुख सैन्य कर्पोरेसनहरू र रक्षा ठेकेदारहरूबाट करोडौंँ डलर चन्दा प्राप्त गर्छन् । यसले यो सुनिश्चित गर्छ कि ह्वाइट हाउसमा जो कोही आए पनि र अमेरिकी कङ्ग्रेस (संसद) मा जो कोही निर्वाचित भए पनि त्यहाँ अमेरिकी युद्धहरूको लागि दृढ समर्थन रहने गर्छ ।
ताङ : मलाई लाग्छ, रुस–युक्रेन युद्धले सम्भावितरूपमा अमेरिकामा घरेलु कलहलाई केही हदसम्म बढाउन सक्छ । रिपब्लिकन उम्मेदवारहरूले प्रयोग गरेको बयानबाजी स्पष्टरूपमा युद्धलाई आक्रमण गर्न हो किनकि यो बाइडेनको युद्ध हो । उनीहरूले बाइडेनलाई युद्धलाई यहाँसम्म लैजान गलत छ भनेर औँल्याउन समय खेर फाल्दैनन् । तसर्थ, शान्ति अभियानकर्मीहरूको लागि यो आफैँमा राम्रो कुरा हो । यदि युक्रेन युद्ध राष्ट्रपतिको दौडमा विवादको मुद्दा बनेको छ भने यो अमेरिकी राष्ट्रपतिमा कसले जित्छ भन्ने निर्णायक कारक हुनसक्छ, किनभने युद्धविरोधी आन्दोलन भोटहरूको ठोस गुट हो र यसले अभियानलाई युद्धविरोधी दिशामा अघि बढाउन सक्छ ।
हाइफोङ : अहिले युद्धविरोधी शक्तिहरू संस्थापन राजनीतिमा ठूलो प्रभाव पार्न सक्नेगरी बलियो भएका छैनन् । यद्यपि, युक्रेन सङ्कटले आर्थिक र राजनीतिक अस्थिरता निम्त्याउँदै छ जसले अमेरिकाको राजनीतिलाई राम्रोसँग प्रभाव पार्न सक्छ किनभने जीवनस्तर घट्दै गएको बेला युक्रेनमा अरबौँ डलरको अन्तहीन खर्चबाट धेरैभन्दा धेरै असन्तुष्ट हुन्छन् ।
यसले अमेरिकाको राजनीतिलाई कसरी बदल्छ त्यो भने हेर्नै बाँकी छ । यदि ट्रम्पलाई दौड्न अनुमति दिइयो भने युक्रेनमा बाइडेनको आत्म–प्रशंसित दलदलको फाइदा उठाउन सक्षम हुनसक्छ र आर्थिक आधारमा एक पृथकतावादी स्थितिलाई बढावा दिन सक्छ जुन २०२० मा ट्रम्पले सङ्कुचित अमेरिकी अर्थव्यवस्था लागु गर्दा भन्दा बढी समर्थन पाउन सक्छ । छोटो अवधिमा धेरै परिवर्तन हुनसक्छ, तर तथ्य यो हो कि युक्रेन सङ्कट अमेरिकाको पक्षमा गइरहेको छैन र बाइडेनको यस्तो मामिलामा लगातार असफलताको ट्रयाक रेकर्ड (अभिलेख) छ । साथै अन्य धेरै मुद्दाहरू जसले उनलाई २०२४ को चुनाव जित्न गाह्रो बनाउन सक्छ ।
ग्लोबल टाइम्स : शान्ति वार्ता प्रवद्र्धन र युक्रेन सङ्कट समाधान गर्न चीनको प्रयासलाई कसरी हेर्नुहुन्छ ?
फ्लाउन्डर्स : शान्ति र युद्धविरामको लागि वार्ता गर्न चीनको १२ बुँदे योजना र अमेरिकी कर्पोरेट मिडियामा कुनै गम्भीर मिडिया कभरेज वा छलफल भएको छैन । यस समयमा चीनका प्रस्तावहरू, प्रमुख कर्पोरेट मिडियामा, प्रस्तावहरूबाट ‘मूर्ख’ नबनाउन र तिनीहरूलाई गम्भीर नभएको रूपमा ‘खारेज’ गर्ने चेतावनीमात्र प्राप्त भएको छ ।
प्रमुख कर्पोरेट मिडियाले सैन्य कर्पोरेसनहरूको जनसम्पर्क शाखाको रूपमा कार्य गर्छन् र हातमा हात मिलाएर काम गर्छन् । तिनीहरू अन्तरसम्बन्धित छन्, बोर्ड सदस्यहरू पनि उहीउही छन् । मिडियालाई सैन्यवाद र युद्धलाई एकमात्र विकल्पको रूपमा बढावा दिन प्रयोग गरिन्छ । यो एक अथक सन्देश हो ।

ड्यानी हाइफोङ

ताङ : रुस र युक्रेनबिच शान्ति प्रवद्र्धन गर्ने चीनको प्रयासले शान्तिको आशा ल्याएको छ । दुवै देशको मित्रको रूपमा, चीन दुवै देशको लागि शान्ति सम्झौताहरू बनाउन मद्दत गर्न अद्वितीय स्थानमा छ । तर वर्तमान अमेरिकी प्रशासनको प्रतिक्रिया नकारात्मक थियो । यसले चीनले अन्तर्राष्ट्रिय मुद्दाहरूमा बढी अङ्क हासिल गरोस् वा थप शक्ति प्रयोग गर्न चाहेको थिएन ।
चीनले इरान र साउदी अरेबियालाई सँगै ल्याएर आफ्नो कूटनीतिक क्षमता पनि देखाएको छ । भियतनाम र भारतसँग भएका केही झडपहरूबाहेक चीनले विगत ५० वर्षदेखि आफ्ना छिमेकीहरूसँग शान्ति कायम गर्न सफल भएको छ । चीनले भियतनाम, फिलिपिन्स र दक्षिण चीन सागरका अन्य छिमेकी टापुहरूसँग सयौँ कूटनीतिक सम्झौताहरू गरेको छ । चीन शान्तिपूर्ण र समृद्ध बहुपक्षीय विश्व निर्माण गर्न मद्दत गर्न अद्वितीयरूपमा अवस्थित छ ।
हाइफोङ : चीनले हाल बढ्दो बहुध्रुवीय संसारमा आफ्नो अद्वितीय स्थानलाई ध्यानमा राख्दै गरेको प्रयासको लागि प्रशंसा गर्नुपर्छ । चीनसित संयुक्त राष्ट्रसङ्घको बडापत्रलाई कायम राख्ने जिम्मेवारी छ, तर त्यससँग सार्वभौम विकास र विश्व मामिलाहरूमा स्वतन्त्र अडान राख्ने अधिकार पनि छ । चीनले शान्तिपूर्ण समाधान नै अगाडि बढ्ने एकमात्र बाटो हो र युक्रेन विवादमा तटस्थता कायम राखेको छ ।
यद्यपि, यसले द्वन्द्वलाई उक्साउन र लम्ब्याउन नाटोको भूमिकालाई औँल्याएको छ र एकै समयमा सबै पक्षहरूसँग आफ्नो सम्बन्धलाई बलियो बनाएको छ । चीनले पनि वार्ता सहज बनाउन वास्तविक प्रयास गरेको छ । चीनले विश्वव्यापी स्थिरताको मामिलामा सार्वभौमसत्ता र स्वतन्त्रताको त्याग गर्नु आवश्यक छैन भनी देखाएको छ । वास्तवमा, तिनीहरू हात मिलाएर जानुपर्छ र यस समयमा यो उदाहरण स्थापित गर्नको लागि चीन विश्वको एक मात्र ठूलो शक्ति हो । यो ठूलो जिम्मेवारी हो र यसलाई पूरा गर्न आफू तयार रहेको चीनले बारम्बार देखाएको छ ।
ग्लोबल टाइम्स : रुस–युक्रेन द्वन्द्व समाप्त हुने अनुमान कसरी गर्नुहुन्छ ?
फ्लाउन्डर्स : यो युद्ध तीन पुस्तामा प्रत्येक अमेरिकी युद्ध समाप्त भएको रूपमा समाप्त हुनेछ – कोरिया, भियतनाम, इराक, अफगानिस्तान र आदि महान् योजना र साम्राज्यवादी प्रतिज्ञाहरूको लागि एक झटकामा, ट्रिलियन खर्चमा, सैन्य निगमहरूको लागि ठूलो सुपर नाफामा, ठूलो विनाश, लाखौँको मृत्यु, त्यसपछि अर्को शत्रुतामा, अर्को युद्धमा । जसको कुनै जवाफदेहिता छैन र मूल्याङ्कन पनि छैन ।
तर यो युद्धको अर्को अन्त्य छ । बढ्दो सङ्ख्यामा देशहरूले अमेरिकामाथिको सबै विश्वास गुमाएका छन् र अब द्वन्द्वको सट्टा सहयोगको बाटो खोजिरहेका छन् । यो नयाँ मोड हो ।
ग्लोबल टाइम्सबाट
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *