भर्खरै :

सहकारी संस्थाहरूले जनताको सेवा गर्न विभिन्न सामाजिक कार्यहरू गर्नुपर्छ : अध्यक्ष बिजुक्छेँ

सहकारी संस्थाहरूले जनताको सेवा गर्न विभिन्न सामाजिक कार्यहरू गर्नुपर्छ : अध्यक्ष बिजुक्छेँ

भक्तपुर, २८ असोज । भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको २६ औँ वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (राहित) ले आइतबार उद्घाटन गर्नुभएको छ । नवप्रशिक्षित २६ जना छात्राहरूको धिमाय् बाजाको पृष्ठभूमिमा कलात्मक पानसमा दीप प्रज्ज्वलनका साथ उद्घाटन गर्दै प्रमुख अतिथि बिजुक्छेँले सहकारीको काम जनताको रकम सङ्कलन गरेर ठूलठूला बैङ्कमा जम्मा गर्नुमात्र नभई जनताको सेवा गर्न विभिन्न सामाजिक कामहरू गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर साकोसले आदर निकेतन सञ्चालन गरेकोमा प्रशंसा गर्दै उहाँले यस्तो काम गर्नलाई कानुन नभएको भन्नेहरूलाई कानुन बनाउन आवाज उठाउनुपर्छ, सङ्घर्षविना केही उपलब्धि हासिल नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “यदि रकमको लेनदेनमा मात्र सीमित भई सङ्कलित रकम ठूला बैङ्कमा जम्मा गर्दै जाने हो भने त्यो गरिब जनतामाथि शोषण भएको ठहरिने छ ।”
राजनीतिक सचेतनाको अभावमा प्रतिरोध क्षमता नभएपछि धेरैले धेरै दुःख पाएको चर्चा गर्दै उहाँले अहिले बिस्तारै त्यो चेतना छात्राहरूमा पनि देखिन थालेकोमा सन्तोष व्यक्त गर्नुभयो ।
भाषिक कुशलताको अभावले इतिहासमा युद्ध नै हारेको दृष्टान्त दिँदै उहाँले विगतमा जिल्ला शिक्षा अधिकारीहरूलाई भक्तपुर नगरका स्कूलहरूमा नेपाली भाषी निपुण शिक्षक पठाइदिन पटक–पटक आफूले आग्रह गरेको स्मरण गर्नुभयो । शुद्ध उच्चारण गर्न नजान्दा निर्दाेष व्यक्तिले पनि गौहत्याको मुद्दा खेपेर जेल बस्नुपरेको उदाहरण दिँदै उहाँले भाषिक कुशलताको लागि सहकारीले पहल गर्नुपर्ने सुझाव दिनुभयो ।
सहकारी गरिब किसानको हितको निम्ति सुरु भएको चर्चा गर्दै उहाँले मत्स्यपालन, खेतीपाती आदि क्षेत्रमा सहकारीले ध्यान दिई गरिबको सेवा गर्ने ध्येयबाट विचलित हुन नहुनेमा जोड दिनुभयो ।
कुनै पनि मान्छे वा संस्थाको मूल्याङ्कन उसको बोलीबाट भन्दा पनि व्यवहारबाट गर्नुपर्छ भन्दै उहाँले २०४५ सालमा राजनीतिक सचेतना नभएका र स्वार्थीहरू डराए पनि वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीजस्ता व्यक्तिहरू निर्भिक भएर सरकारविरुद्ध उभिएको स्मरण गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र पत्रकार लक्ष्मण जोशीलाई सम्मान गरिएको थियो । सम्मानित वरिष्ठ अधिवक्ता भण्डारीले भन्नुभयो, “तपाईँहरूबाट प्राप्त रकम इतिहासमा लेख्न लायक काममा खर्च गरिने छ ।” कार्यक्रममा सम्मानित व्यक्तित्वद्वयलाई नगदसहित सम्मान पत्रबाट सम्मान गरिएको थियो ।
उहाँले अमेरिकामा अपराधीहरूलाई जनसेवा कि जेल भनी रोज्न लगाइन्थ्यो भन्दै अपराधीहरूलाई काममा लगाएर सुध्रिने मौका दिने बताउनुभयो । यसरी अपराधीलाई कारागारमा मात्र नथुनी विकास निर्माणमा पनि लगाउन सकिने दृष्टान्त दिँदै उहाँले कुनै बेला ‘विद्या नपाए काशी जानु’ र ‘न्याय नपाए गोर्खा जानु’ भन्ने उखान त्यसै बनेको हैन† राजा राम शाहले जनताको साथमा रहेर न्याय दिन्थे भन्नुभयो । नयाँ पुस्ताका कानुन व्यवसायीहरूलाई उहाँले भन्नुभयो, “अदालतमा बहस गर्दा बकवास गर्न पाइँदैन ।”
एक अर्काे प्रसङ्गमा ९६ वर्षीय श्री भण्डारीले ज्येष्ठ नागरिकहरू पनि चुप लागेर बस्न नहुने सल्लाह दिँदै भन्नुभयो, “आरामले हराम हुन्छ । सक्दो केही न केही गरिरहनुपर्छ । गरे नहुने यहाँ केही छैन । काम गरे दाम पनि पाइन्छ नाम पनि पाइन्छ ।”
उहाँले कार्यक्रममा आफ्नो बारेमा लेखिएका ३ वटा पुस्तकहरू प्रमुख अतिथि बिजुक्छेँलाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा अर्का सम्मानित व्यक्तित्व पत्रकार लक्ष्मण जोशीले पत्रकार पनि राजनीतिक प्राणी भएकाले
राजनीतिबाट अछुटो नरहने बताउँदै पत्रकारलाई राजनीति गर्न हुँदैन भनेर कसैले भन्छ भने त्यो आफैँ एक प्रतिक्रियावादी राजनीति हो भन्नुभयो । शिक्षित वर्गले राजनीति नगरे के राजनीति गुण्डा डनहरूले गर्ने हो भनी प्रश्न गर्दै उहाँले आजका शासकहरू विगतमा शिक्षक, पत्रकार, विद्यार्थी भएरै राजनीति गर्दै आएका हुन् तर आज ती नै शासकहरूले किसान, मजदुर, शिक्षक, कर्मचारी, विद्यार्थी, पत्रकार कसैलाई राजनीति गर्नुहुँदैन भन्नु पाखण्डीबाहेक केही नभएको बताउनुभयो ।
भनपा ९ नं वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वले केन्या, फिलिपिन्स, युगान्डा र पाराग्वेका सहकारीहरूले कोरोनाको सङ्कट कालमा जनताको सेवामा पु¥याएको योगदानको चर्चा गर्दै सहकारीलाई रकमको लेनदेनमा मात्र सीमित नराखी सामाजिक, सांस्कृतिक, आर्थिक, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा सहकारीले योगदान पु¥याउन सकिने विचार व्यक्त गर्नुभयो ।
नेप्स्कुनका अध्यक्ष पारितोष पौडेलले भक्तपुर साकोस उत्कृष्टताको नमुना भन्दै सहकारीमा वित्तीय अनुशासन हुनु अनिवार्य छ भन्नुभयो । राष्ट्रिय सहकारी बैङ्कका सञ्चालक धु्रवराज विष्टले नेपालभाषामा बोल्दै भन्नुभयो, “काठमाडौँ उपत्यकामा ५२ प्रतिशत जनता नेवार भएकाले यहाँका हरेक सरकारी अधिकारीहरूले नेपालभाषा जान्न आवश्यक छ ।”
भक्तपुर जिल्ला बचत सहकारी सङ्घका कान्छाभक्त घजुले खराब सहकारीका कुलक्षणहरूको जानकारी दिँदै सहकारी नियममा नबसेका अनुशासनहीन संस्थाहरू डुबेको बताउनुभायो ।
अतिथि ई. सुजिता बाटीले भ्रष्ट ठेकेदारहरूसँग आफूले सामना गरेको कठिन अनुभव सुनाउँदै देश यस्तै भ्रष्टहरूले गर्दा बिग्रिरहेको बताउनुभयो ।
भक्तपुर साकोसका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष निर्मल प्रजापतिले स्वागत मन्तव्य दिनुभएको थियो भने कानुनी सल्लाहकार रामप्रसाद प्रजापतिले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाका सचिव लक्ष्मीप्रसाद कुसीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन कोषाध्यक्ष रामप्रसाद प्रजापति र लेखा प्रतिवेदन कृष्णसुन्दर प्रजापतिले प्रस्तुत गर्नुभएको थियो ।
सोही दिन बसेको बन्द सत्रले निर्मल प्रजापतिको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
त्यस्तै जितेन्द्र ज्याख्वको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति गठन गरिएको छ । सो भेलाले विभिन्न प्रस्तावहरू पारित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *