भर्खरै :

युद्धभूमि इजरायलमा नेपाली विद्यार्थीहरूलाई रोजगारीमा पठाउनु नै सरकारको गलत नीति

युद्धभूमि इजरायलमा नेपाली विद्यार्थीहरूलाई रोजगारीमा पठाउनु नै सरकारको गलत नीति

भक्तपुर, ३० असोज । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा ‘भूकम्प इन्जिनियरिङ तथा विपद्पछिको पुनःनिर्माण’ विषयक तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले उक्त अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै विदेशी मित्रहरूको महत्वपूर्ण प्रस्तुति र सुझावबाट मानव जातिको साझा भविष्य निर्माणमा उपयुक्त हुने निष्कर्षसहित सम्मेलन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीले संविधान निर्माणको समयमा संविधानमा मावि शिक्षा निःशुल्क र अनिवार्य, विश्वविद्यालय शिक्षा निःशुल्क, स्वदेशमा रोजगारी, स्वास्थ्य उपचार निःशुल्क, नेपालीको सम्पत्तिको सीमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न संशोधनको माग राखेको बताउनुभयो ।
वैदेशिक रोजगारीका कारण नेपाल र नेपाली जनताले दुःख पाइरहेको बताउँदै उहाँले युवालाई वैदेशिक रोजगारीमा पठाएर नेपालको विकास सम्भव नभएको बताउनुभयो ।
ख्वप माविको जगमा २० वर्षअगाडि भक्तपुर नपाले ख्वप इन्जिनियरिङ कलेज सञ्चालन गरेको बताउँदै उहाँले कलेज सञ्चालनबाट देशभरिकै जनताका छोराछोरीहरूले सस्तोमा गुणस्तरीय उच्च शिक्षाको अवसर पाएको बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “हामी ख्वप विश्वविद्यालय स्थापनाको तयारीमा छौँ । ख्वप विश्वविद्यालयको विधेयक संसद्मा पेस भएको ७ वर्ष भयो । सर्वसाधारण जनताका छोराछोरीहरूलाई उच्च शिक्षा प्रदान गर्न भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय स्थापना गर्ने तयारी सरकारमा गएका दलहरूलाई चित्त बुझेन र संसद्बाट पारित भएको छैन । सरकारमा गएका दलहरूले शिक्षाविरोधी नीति त्यागे छिट्टै ख्वप विश्वविद्यालयको विधेयक पारित हुनेछ ।”
उहाँले नेपाली विद्यार्थीहरू कक्षा १२ उत्तीर्ण भएलगत्तै अभिभावकलाई घर खेत बेच्न लगाएर विदेशमा अध्ययनको लागि बाहिरिने क्रम बढिरहेको उल्लेख गर्दै सांसद सुवालले विद्यार्थी अभावमा नेपालका ५ सय ओटा कलेजहरू बन्द हुने स्थितिमा रहेको बताउनुभयो ।
सांसद सुवालले सरकारले सिक्ने र कमाउने भनी इजरायलमा पठाएका कृषिमा स्नातक पढेका विद्यार्थीहरूमध्ये १० जनाको मृत्यु र केही हराइरहेको घटनाप्रति दुःख व्यक्त गर्दै सांसद सुवालले नेपालका सरकारहरूले युद्धभूमि इजरायलमा नेपाली विद्यार्थीहरूलाई रोजगारीमा पठाउनु नै सरकारको गलत नीति भएको धारणा राख्नुभयो ।
एमसीसी सम्झौतामा नेपालको बुटवलदेखि भारतको गोरखपुरसम्म विद्युत् प्रसारण लाइन निर्माण गर्ने प्रावधान राखिएको पुष्टि भएको उल्लेख गर्दै उहाँले नेमकिपाले एमसीसी सम्झौता खारेज गर्नुपर्ने आवाज निरन्तर उठाउँदै आइरहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले यहाँका सम्पदाहरू पुनःनिर्माणको निम्ति कहिल्यै विदेशीको मुख नताकेको बताउँदै स्थानीय जनताको साथ र सहयोगमा पहिलो कार्यकालमा १२४ वटा र हालसम्ममा १३५ वटा सम्पदाहरू पुनःनिर्माण र जीर्णोद्वार सम्पन्न भइसकेको बताउनुभयो ।
उहाँले स्थानीय जनशक्ति, मौलिक प्रविधि, स्रोत र साधनको प्रयोग गरी प्राचीन शैलीमै निजी घर र सम्पदाहरू पुनःनिर्माण गर्न पाउँदा निकै गौरवान्वित महसुस भएको बताउनुभयो ।
सम्पदा पुनःनिर्माण सरकारको प्राथमिकतामा नपर्नु, सरकारले सहज काठ उपलब्ध नगराउनु र सम्पदा पुनःनिर्माण ठेक्कामा गराउनुपर्ने व्यवस्था भक्तपुरका केही महत्वपूर्ण सम्पदाहरू पुनःनिर्माणका लागि बाधक बनिरहेको स्पष्ट पार्दै उहाँले भक्तपुर नपाको निरन्तरको प्रयासबिच पनि कानुनी, प्राविधिक र आर्थिक कारण भक्तपुर दरबार क्षेत्रस्थित कला सङ्ग्रहालय रहेको न्हेयकं झ्यो दरबार पुनःनिर्माण हुन नसकिरहेको विचार व्यक्त गर्नुभयो ।
चीनको सिचुवान प्रान्तको पुनःनिर्माण कार्यबाट नेपालले पनि सिक्न जरुरी रहेको बताउँदै प्रमुख प्रजापतिले भूकम्पले भन्दा पनि मानव निर्मित संरचनाहरूको कारण जनधनको क्षति हुने हुँदा कुनै पनि भौतिक संरचनाहरू निर्माण गर्दा सचेत र संवेदनशील हुनु आवश्यक रहेको बताउनुभयो ।
वाग्मती प्रदेशका सांसद सृजना सैंजुले नेपाल संसारकै भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्ने देश भएको बताउँदै नेपालको लागि भूकम्पीय इन्जिनियरिङ र भूकम्पपछिको प्रभावकारी पुनःनिर्माण विधि अति आवश्यक विषय भएको बताउनुभयो ।
भूकम्प इन्जिनियरिङ विषयलाई राष्ट्रिय आवश्यकताको पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उहाँले भूकम्पसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले बौद्धिक छलफलको लागि उपयुक्त मञ्च तयार गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले ख्वप इन्जिनियरिङ कलेजले विभिन्न समयमा यस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयहरूमा सम्मेलनहरू आयोजना गर्दै आइरहेको बताउँदै समाजलाई बुद्धिजीवीकरण गर्ने नपाको उद्देश्य पूरा गर्न यसले मद्दत पु¥याउने बताउनुभयो ।
अझ बलियो र भूकम्पप्रतिरोधी संरचना निर्माणमा सबैलाई सचेत र अभिप्रेरित गराएको उहाँले सोही अवसरमा बताउनुभयो ।
कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ सङ्कायका डीन देवीप्रसाद भट्टराईले सम्मेलन पूर्ण सफलताको कामना गर्दै भूकम्प इन्जिनियरिङसम्बन्धी तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनले भूकम्पबाट हुने क्षति न्यूनीकरणमा नयाँ शिक्षा र ज्ञान प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । भूकम्प इन्जिनियरिङ अध्ययनमा विद्यार्थीहरूको आकर्षण बढ्दै गइरहेको स्पष्ट गर्दै उहाँले यस सँगसँगै यो विषयले महत्व पनि पाउँदै गएको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिक्षिकाहरू नवराज बुढाथोकी र मन्दिरा भण्डारीले पनि बोल्नुभएको थियो ।
भूकम्प इन्जिनियरिङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका मुख्य वक्ताको रूपमा नेपालका प्रा.डा. सुदर्शनराज तिवारी, भारतका प्रा.डा. टी.के. दत्त, प्रा.डा. ए.के. जैन, प्रा.डा. के.एन. झा, प्रा.डा. एस.डी. भारती, नेपालका प्रा.डा. राजेश ढकाल, जापानका प्रा.डा. सुसुमो कोनो, बेलायतका प्रा.डा. हम्र्बटो बरुण र इटालीका प्रा. जोर्जिया ग्यार्डिना रहेका छन् ।
सम्मेलनमा चीन, जापान, बेलायत, इटाली, भारत र नेपाललगायतका देशका सहभागी र प्रस्तुतकर्ताहरू रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *