भर्खरै :

भक्तपुरका मूर्त र अमूर्त सम्पदाहरू पर्यटकको मुख्य आकर्षण

भक्तपुरका मूर्त र अमूर्त सम्पदाहरू पर्यटकको मुख्य आकर्षण

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा भूकम्प इन्जिनियरिङ तथा विपद्पछिको पुनःनिर्माण विषयक तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ ।
विज्ञहरूको भनाइअनुसार नेपाल भूकम्पीय दृष्टिले अत्यन्त जोखिम भएको मुलुक हो । भूकम्पलाई नियन्त्रण गर्ने आजसम्म प्रविधिको विकास नभए पनि भूकम्प आउनु अघि सूचना दिने प्रविधिको कारण धेरैले जीवन सुरक्षित भएको महसुस गरेका छन् । भूकम्पले भन्दा पनि मानवनिर्मित संरचनाहरूको कारण धनजनको क्षति हुने कुरालाई ध्यानमा राखी कुनै पनि भौतिक संरचनाहरू निर्माण गर्दा हामी अत्यन्त सचेत हुनु आवश्यक छ । ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले भूकम्पसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू नियमितरूपमा गर्दै आएका छन् ।
६ फेब्रुअरी सन् २०२३ मा टर्कीमा ठूलो भूकम्प गयो । त्यहाँ सडक, यातायात, सञ्चार सबै क्षतिविक्षत भए । सरकारी अधिकारीहरूले भूकम्पमा ढलेका ठूलो भवनहरूको डिजाइन गर्ने १०० भन्दा बढी कम्पनीहरूलाई वारेन्ट जारी गरे† दर्जनौँ निर्माण कम्पनीहरूलाई तत्काल गिरफ्तार गरे र ६.८ र ७.६ रेक्टर स्केलमा प्रभावित सबै भवनहरूको छानबिन गरे । सरकारले कैयौँ निर्माण कम्पनीलाई कारबाही ग¥यो ।
त्यहाँ विज्ञहरूले नयाँ निर्माण गरेका भवनहरू भवनसंहिताअनुसार नभएको भनी आलोचना गर्दै आएका थिए । भ्रष्टाचारको कारण ती कुरालाई त्यहाँका सरकारले बेवास्ता ग¥यो । त्यसैको परिणाम धेरै धनजनको क्षति भएको अनुमान गरिएको छ ।
सन् २००८ मा चीनको सिचुवान प्रान्तमा गएको ८ रेक्टर स्केलको भूकम्पले ८० हजारभन्दा बढी मानिसको ज्यान लिनुका साथै लाखौँ घरहरू भत्के र करोडौँ मानिसहरू घरबारविहीन भए । चिनियाँ सरकारले ३ वर्षभित्र लाखौँ घरहरू, सयौँ विद्यालयहरू र आवश्यक अस्पतालहरूको पुनःनिर्माण सम्पन्न गरेर सबैलाई बसोबासको व्यवस्था मिलाइदियो । भूकम्प पछिको पुनःनिर्माण कसरी गर्नुपर्छ भन्ने उदाहरण चीनको सिचुवान प्रान्तको पुनःनिर्माण कार्यबाट हामीले सिक्नुपर्छ ।
नेपालमा हाम्रै पालामा पनि २०४५ भदौ ५ गते र २०७२ साल वैशाख १२ गते गरी दुई पटक ठूल्ठूला भूकम्पहरू गए । भूकम्पपछिको पीडा कस्तो हुन्छ ? हामी सबै जानकार छौँ । २०४५ सालको भन्दा २०७२ सालको भूकम्प तुलनात्मकरूपमा शक्तिशाली थियो । २०७२ सालको भूकम्पबाट देशभर लाखौँ घरहरू भत्के, हजारौँ मानिसहरूको ज्यान गयो र लाखौँ मानिसहरू घरबारविहीन भएर सडकमा पुगे । त्यो पीडादायी क्षण हामीले कहिल्यै बिर्सने छैनौँ । त्यत्रो ठूलो क्षति हुँदा समेत न कुनै निर्माण कम्पनीमाथि छानबिन भयो न कुनै किसिमको कारबाही नै । सबै कुरा स्वाभाविकजस्तै भयो । भवन निर्माण संहितालाई ध्यान नदिई जथाभावी कमजोर भवन निर्माण गर्ने भ्रष्ट निर्माण कम्पनीहरूमाथि के कारबाही हुनुपर्ने होइन र ? भूकम्प गएको ८ वर्ष बितिसक्दा पनि देशभर अझै लाखौँको सङ्ख्यामा निजी घर र सयौँको सङ्ख्यामा सम्पदा पुनःनिर्माण गर्न बाँकी छन् ।
भक्तपुर नगरभित्र मात्रै करिब ८ हजार घर र १३० भन्दा बढी सम्पदामा क्षति पुगेको थियो । त्यतिबेला स्थानीय तह जनप्रतिनिधिविहीन थियो । पुनःनिर्माणको काम सहज थिएन । २०७४ सालमा भएको स्थानीय निर्वाचनबाट हामी निर्वाचित भएपछि भूकम्पबाट क्षतिग्रस्त घर र सम्पदाहरूको पुनःनिर्माणलाई हामीले पहिलो प्राथमिकतामा राखेर काम सुरु गर्याैँ । ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङका प्राविधिकहरूले त्यतिबेला निकै ठूलो सहयोग गर्नुभयो ।
हाम्रो सम्पदाहरू पुनःनिर्माणको लागि हामीले कहिल्यै विदेशीको मुख ताकेनौँ । स्थानीय जनताको साथ र सहयोगमा पहिलो कार्यकालमा १२४ वटा र हालसम्ममा १३५ वटा सम्पदाहरू पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गर्यौँ । अझै दर्जनौँ सम्पदाहरू निर्माणाधीन अवस्थामा छन् । स्थानीय जनशक्ति, मौलिक प्रविधि, स्रोत र साधनको प्रयोग गरी प्राचीन शैलीमै निजी घर र सम्पदाहरू पुनःनिर्माण गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।
सम्पदा पुनःनिर्माण सरकारको प्राथमिकतामा नपर्नु, सरकारले सहज काठ उपलब्ध नगराउनु र सम्पदा पुनःनिर्माण ठेक्कामा गराउनुपर्ने व्यवस्था भक्तपुरका केही महत्वपूर्ण सम्पदाहरू पुनःनिर्माणका लागि बाधक बनेका छन् । हाम्रो निरन्तरको प्रयासबिच पनि भक्तपुर दरबार क्षेत्रस्थित कला सङ्ग्रहालय रहेको न्हेयकं झ्यो दरबार पुनःनिर्माण हुन सकेको छैन । कानुनी, प्राविधिक र आर्थिक कारण त्यो दरबारको पुनःनिर्माण हुन नसकेको हो । यही वर्षदेखि दरबार क्षेत्रमा अवस्थित थन्थु दरबारको पुनःनिर्माण कार्य सुरु गरेका छौँ । हामीले मौलिक शैलीलाई बचाइराख्ने प्रयत्न गर्दैै छौँ । त्यसका लागि मौलिक शैलीमा घर बनाउने घर धनीहरूलाई घरको मोहडाको लागि हुने खर्चको ३५ प्रतिशत नगरपालिकाले अनुदानको नीति बनाएर लागू गर्दै आएका छौँ ।
हाम्रा मूर्त र अमूर्त सम्पदाहरू आज पर्यटकहरूका लागि आकर्षण बन्दै छन् । हामीले हाम्रो र भावी पुस्ताका लागि सम्पदाहरूको संरक्षण ग¥यौँ तर त्यो विदेशीहरूका लागि पनि भएको छ । भक्तपुर भ्रमणमा आउने विदेशीहरूसँग केही पर्यटन शुल्क उठाएर मूर्त र अमूर्त सम्पदाहरूको संरक्षण, शिक्षा, स्वास्थ्य, सरसफाइ, विकास निर्माणलगायतका जनताको हितमा खर्च गर्दै आएका छौँ ।
भवन संहिताअनुसार निर्माण गरेका घरहरू र सम्पदाहरू तथा समय समयमा मर्मत गरिएका संरचनाहरूमा भूकम्पबाट कममात्र क्षति भएको नेपालीहरूको अनुभव छ ।
यसर्थ, प्राविधिक मित्रहरूले आगामी दिनमा भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि भवन संहिताअनुसार मात्रै भवनहरू निर्माण गर्न र त्यसको लागि जनचेतना जगाउन आवश्यक कार्यक्रमहरू गर्नेतर्फ ध्यान दिने आशा गर्छौँ ।
स्वदेश र विदेशका विभिन्न विश्वविद्यालयहरूबाट पाल्नुभएका प्रतिनिधिहरूले यस सम्मेलनबाट नयाँ निष्कर्ष निकाल्न सफल हुने विश्वास गर्छौँ । धन्यवाद !
(भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा असोज ३० गते, मङ्गलबार सम्पन्न ‘भूकम्प इन्जिनियरिङ तथा विपद्पछिको पुनःनिर्माण’ विषयक तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *