जम्मु–कस्मिरमा विधानसभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान सुरु
- आश्विन ३, २०८१
संसारको समकालीन कूटनीतिक वृत्तमा हेनरी किसिंजर आजका मेकियावली भनी पनि चिनिन्छन् । मेकियावली अन्तर्राष्ट्रिय कूटनीतिमा यथार्थवादी (रियालिस्ट) चिन्तक थिए । मुख्य लक्ष्य प्राप्तिको लागि प्रयोग हुने तरिकामा आदर्श वा सिद्धान्तको जामा लगाउन नहुने यथार्थवादीको विचार हो । राजनीति र कूटनीतिलाई परम्परागत आदर्शवादी चिन्तनबाट मुक्त गर्न पश्चिमा विश्वमा मेकियावलीको भूमिका थियो भने भारतीय उपमहाद्विपमा चाणक्यको चिन्तनलाई मेकियावलीका विचारसँग तुलना गरिन्छ । समकालीन विश्वमा अमेरिकी विदेश नीतिलाई आदर्शवाद वा सिद्धान्तबाट मुक्त गरी यथार्थको भुइँमा उभ्याएको भन्दै किसिंजरलाई मेकियावलीसँग तुलना गरिएको हुनुपर्छ ।
संरा अमेरिकाको समकालीन कूटनीतिक क्षेत्रको चर्चा किसिंजरको चर्चाबिना पूरा हुनसक्दैन । उनले संरा अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार र विदेश सचिवको भूमिकामा गरेका केही ऐतिहासिक निर्णयले संसारको राजनीतिक नक्सामा ठूलोे परिवर्तन ल्याएकोले पनि उनको चर्चाले निरन्तरता पाएको हुनुपर्छ । दोस्रो विश्वयुद्धपछि सुरु भएको तत्कालीन सोभियत सङ्घ र संरा अमेरिकी नेतृत्वको पुँजीवादी पश्चिमा मोर्चाबिच भएको शीतयुद्ध छिमल्न किसिंजरको भूमिका महत्वपूर्ण मानिन्छ । चीन र सोभियत सङ्घबिच सुरु भएको सैद्धान्तिक सङ्घर्षको मेसोमा सोभियत सङ्घलाई एक्ल्याउने र चीनसँग सम्बन्ध विस्तार गर्ने संरा अमेरिकी नीतिले उसलाई भियतनाम युद्धबाट भाग्ने बाटो मात्र खोलिदिएन, बरु शीतयुद्धको शत्रुलाई पराजित गर्न पनि मद्दत ग¥यो । त्यसो त सोभियत सङ्घ संरा अमेरिकाको कारणबाट मात्र विघटन भएको थिएन , सोभियत सङ्घका आफ्नै कारण नै विघटनको मूल कारण थियो । तर, शिथिल बनिसकेको सोभियत संशोधनवादलाई अन्तिम धक्का दिने काम भने निक्सन र किसिंजरको नीतिले ग¥यो ।
कूटनीतिक क्षेत्रमा प्रवेश गर्नु अघि नै किसिंजर प्राज्ञिक व्यक्तित्व थिए । संरा अमेरिकाबाट प्रकाशित हुने विदेशी नीति नामको पत्रिकामा चीनसँग सम्बन्ध विस्तार गर्नुपर्ने तर्कसहित उनले लेखेको लेख नै निक्सन सरकारको राष्ट्रिय सुरक्षा सल्लाहकार बन्ने बाटो खुल्यो । सुरक्षा सल्लाहकारको रूपमा उनले गरेका केही निर्णय संसारको राजनीतिक नक्सा बदल्न मद्दत ग¥यो भने ल्याटिन अमेरिकी देशहरू जस्तै चिलीमा जनताबाट निर्वाचित वामपन्थी राष्ट्रपतिलाई सैनिक विद्रोहबाट फाल्न उनले खेलेको भूमिका उत्तिकै बदनाम पनि छ । तर, किसिंजरले गरेका ती सबै निर्णय उनको आफ्नो देशको राष्ट्रिय हितमा आधारित थियो । राष्ट्रिय सुरक्षा सल्लाहकार र विदेश मन्त्रीको हैसियतमा उनले गरेका निर्णयको मूल आधार संरा अमेरिकी राष्ट्रिय स्वार्थ थियो । आफ्नो देशको हित हुने अवस्थामा उनले कुनै पनि निर्णय गर्न सिद्धान्त वा आदर्शमा बाँधिएर बसेनन् । त्यसैकारण अध्येताहरूले उनलाई यथार्थवादी (रियालिस्ट) कूटनीतिज्ञ भनेका हुन् ।
कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा विश्व व्यवस्था (वल्र्ड अर्डर) को छलफल नयाँ होइन । विश्व व्यवस्था भनेको चिज खासमा हुन्छ वा हुँदैन ? हुनुपर्छ वा पर्दैन ? विश्व व्यवस्था एउटा मात्र हुन्छ वा धेरै वटा हुन सक्छ ? यस्ता धेरे प्रश्नमाथिको बहस विश्वविद्यालयका कक्षाकोठादेखि अखबारका पानासम्म चल्दै आएको छ र यो चल्दै जानेछ । संसारमा कुनैबेला शक्तिशाली मानिएको शक्ति कमजोर बन्दै गएको अथवा कुनै अर्को शक्ति बलियो बन्दै गएको परिस्थितिमा विश्व व्यवस्थाको बहस अझ व्यापक हुने गर्छ ।
सन् २०१४ मा प्रकाशित हेनरी किसिंजरको पुस्तक विश्व व्यवस्था र मूलतः विश्व शक्तिको रूपमा संरा अमेरिकाको ठाउँको बौद्धिक वृत्तमा प्रतिरक्षा गर्न लेखिएको पुस्तक हो । निःसन्देह पुस्तकमा उनले संसारमा सन् १६४८ मा भएको वेस्टफालिया सन्धिपछि पश्चिमा विश्वमा स्थापित विश्व व्यवस्था र संसारका विभिन्न सभ्यताले अभ्यास गर्ने आफ्ना दर्शन र राजनीतिक व्यवस्थाअनुसारको विश्व व्यवस्थाको गहिरो चर्चा गरेका छन् । त्यस अर्थमा किसिंजरको पुस्तक अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिमा चासो राख्ने पाठकले पढ्न सक्ने पुस्तक हो । उनले चिनियाँ, इस्लामिक, एसियाली विश्व व्यवस्थाका विभिन्न चरित्र र व्यवस्थाको अलग अलग खण्डमा परिचर्चा गरेका छन् । तर, उनको अन्तिम जोड भने फेरि पनि वेस्टफालिया सन्धिमा आधारित पश्चिमा विश्व व्यवस्था र त्यसमा पनि संरा अमेरिकी नेतृत्वको विश्व व्यवस्थामा जोड देखिन्छ ।
संसारमा विश्व व्यवस्था र त्यसको नेतृत्व गर्ने कुनै शक्ति नहुँदा अराजकता फैलिने मतमा किसिंजर सहमति जनाउँछन् । तर, सँगै उनी संसारका विभिन्न सभ्यता र देशले अभ्यास गरेका विश्व व्यवस्थाका कमजोरीसहितका उदाहरण प्रस्तुत गर्दै पश्चिमा विश्व व्यवस्थालाई नै बलियो बनाउन जोड दिन्छन् । वेस्टफालिया सन्धिको उत्तराधिकार बोक्ने विरासत भएको संसारमा कुनै देश नभए पनि संरा अमेरिकाले मात्र त्यसको भावना अङ्गीकार गरिरहेको किसिंजरको तर्क देखिन्छ ।
उनले आफू बाँचेको समयका सबैजसो संरा अमेरिकी राष्ट्रपतिका विदेश नीतिको व्याख्या गर्दे कतिपय अवस्थामा तिनलाई जायज ठह¥याउने प्रयास पनि गरेका छन् । उनले विवादास्पद संरा अमेरिकी राष्ट्रपति र तिनका निर्णयलाई समेत समयको आवश्यकताको रूपमा चर्चा गरी संरा अमेरिकी साम्राज्यवादी नीतिलाई तेल लगाउने प्रयास गरेका छन् ।
संरा अमेरिका संसारमा धेरै द्वन्द्वको मूलकारण हो । विशेषतः दोस्रो विश्वयुद्धपश्चात् संसारमा भएका जति पनि द्वन्द्वमा संरा अमेरिकाको कुनै न कुनै मात्रामा संलग्नता देखिन्छ । अझ अधिकांश द्वन्द्व अमेरिकी योजनाअनुसार नै भएको देखिन्छ । अन्य देशका राजनीतिक व्यवस्थालाई उपेक्षा गर्ने र सबै देशले उसले लगाएकै खालको लुगा लगाउनुपर्ने अमेरिकी सोचका कारण संसारका धेरै देशका असङ्ख्य जनता गरिबी, अभाव, भोकमरी र अराजकताको शिकार भएका छन् । संरा अमेरिकी राष्ट्रपतिहरूले भाषणमा जतिसुकै मानवअधिकार र शान्तिको कुरा गरे पनि संरा अमेरिकाका उदारवादी वा अनुदारवादी जुनसुकै ढर्राका राष्ट्रपतिले पनि संसारमा आफ्नो प्रभुत्व जमाउन हिंस्रक हमला गरेका छन् । तुलना गर्दा कोही राष्ट्रपतिले कम र कसैले बढी गरेको हुन सक्ला । तर, सारमा संरा अमेरिकी विदेश नीति आफ्नो तखतमा बस्न नचाहनेलाई दबाउने नै हो । किसिंजरले भने यो कूरूप सत्यलाई सिद्धान्तको जामा लगाइदिने प्रयास गरेका छन् । उनले वेस्टफालिया सन्धिमा आधारित विश्व व्यवस्था, मानवअधिकार, सार्वभौमिकता रक्षाजस्ता विषय पसारेर अमेरिकी राष्ट्रपतिहरूका अपराध पखाल्ने प्रयास यो पुस्तकले गरेका छन् । संरा अमेरिकाको नेतृत्व भएमात्र संसार अघि बढ्न सक्ने अथवा अन्तर्राष्ट्रिय व्यवस्था अराजकताबाट जोगिन सकिने किसिंजरको तर्क हो । त्यो भूमिकामा अरु कोही हुन नसक्ने उनको तर्क थियो र त्यसको निम्ति उनले पुस्तकमा संसारका विभिन्न देशका राजनीतिक अवस्थाको विन्हंगम चर्चा गरेका छन् ।
किसिंजर आज अमेरिकी संस्थापनसँग प्रत्यक्ष सम्बन्धि व्यक्ति होइनन् । उनी एक जना अध्येता र विद्वान्को नाताले आफ्ना धारणा स्वतन्त्ररूपमा राख्न सक्छन् । उनले पछिल्लोपटक गरेको चीन भ्रमणलाई लिएर केही अमेरिकी नेताहरूले विरोध गरेका थिए । अमेरिकी सरकार किसिंजरको भ्रमण आफ्नो जानकारीमा नभएको भन्दै पन्छियो । तर, चीनमा उनको भव्य स्वागत भयो र किसिंजरको स्वागत गरेर चीनले फेरि पनि संरा अमेरिकासँग किसिंजरको पालामा जस्तै सम्बन्ध विस्तार गर्न चाहेको अभिमत व्यक्त गर्यो । स्वतन्त्र चिन्तकको रूपमा वल्र्ड अर्डर पुस्तकमा किसिंजरले आफ्ना केही पछिल्ला राष्ट्रपतिका केही निर्णयप्रति विरोध जनाएका छन् । तर, फेरि पनि उनको प्रयास विश्व व्यवस्थाको भलो गर्ने नीति भन्दै संरा अमेरिकी नीतिलाई नै बलियो बनाउने देखिन्छ । उनका कतिपय असहमति भने आफ्नो सरकारलाई सल्लाहजस्तै सुनिन्छ ।
किसिंजरले अमेरिकी विचारधाराको प्रतिनिधित्व गर्नु स्वाभाविक हो । खासमा किसिंजरजस्ता विद्वान्हरूकै जगमा अमेरिकी विचारधारा अडेको छ । अमेरिकाको आगामी बाटो कस्तो हुनेछ भन्ने कुराको तस्बिर हेर्न संसारले किसिंजरजस्ता लेखक र चिन्तकहरूका विचारमा घोत्लिन जरुरी हुनेछ । अमेरिका मात्र होइन, खासमा किसिंजरका लेखनबाट संसारले भविष्यको अन्तर्राष्ट्रिय व्यवस्थाबारे विश्लेषण गर्न मद्दत गर्नेछ ।
तर, किसिंजरका विचार सत्य नै भने कदापि होइन । बरु उनले आफ्नो पुस्तकमार्फत विगतमा अमेरिकाले गरेका गलत नीतिको लागि आलोचना गर्नुको सट्टा तिनलाई सही ठह¥याउन आफ्नो बौद्धिकता पुस्तकमा पोखेका छन् । इतिहासलाई बुझ्ने किसिंजरको कोणले इतिहासले समेत अर्को बाटो लिन सक्छ । संसारमा अमेरिकी हिंसा र हमलालाई जायज आवश्यकताको अर्थमा अथ्र्यान सक्ने खतरा बढ्नेछ जसले संसारलाई अझ बढी क्रुर र हिंस्रक बनाउनेछ । त्यसकारण, संसारभर फैलाएको साम्राज्यवादी हमला र हस्तक्षेपलाई सही ठह¥याउने किसिंजरको सोचको खण्डन गर्न जरुरी छ । संरा अमेरिकाले संसारभर आफूले अङ्गालेकै जस्तो राजनीतिक प्रणाली, दर्शन र राजनीतिक व्यवस्था अरु देशले पनि अङ्गाल्नुपर्ने र अरु देशसँग भएका सबै स्रोतसाधनबाट अमेरिकाकै सेवा हुनुपर्ने चिन्तनबाट मुक्त भएको र अर्को सभ्य बाटो अङ्गालेको भए पृथ्वी आजभन्दा निकै सुन्दर र सभ्य रहने थियो । तर, आफ्नो भलाइ र आफ्नो व्याख्याअनुसारको संसार बनाउने धुनमा अमेरिकाले संसारलाई सधैँभरि लडाइँ, द्वन्द्वको थलो बनाएको छ । किसिंजरहरू यस्ता कदमलाई सही बनाउने प्रयासमा लागेका छन् । विश्व नीति पुस्तक किसिंजरको यही उद्देश्यको शिलशिला हो ।
किसिंजरले यो पुस्तकमा आफ्ना पुराना अध्ययन क्षेत्रको परिधि नाघेर आजको विश्वको उदाउँदा केही जल्दाबल्दा मुद्दाबारे पनि आफ्ना विचारमा प्रकाश पारेका छन् । उनले अत्याधुनिक प्रविधिलाई अन्तर्राष्ट्रिय सम्बन्धको कोणबाट विश्लेषण गर्दै हिजो निश्चित सीमामा बाँधिएका देश देशबिच लडाइँको परिस्थितिबाट आज कुनै सीमा नभएको अन्तर्राष्ट्रिय शक्ति अथवा एकै जना वा केही मानिसको प्रविधि दक्षतासँग संसारले लडाइँ लड्नुपर्ने अवस्था आउन सक्नेप्रति चिन्ता व्यक्त गर्छन् । तर, उनी फेरि पनि त्यसकौ निम्ति अमेरिकालाई नै बलियो बनाउनुपर्ने तर्क गर्छन् ।
सामाजिक विज्ञान र प्राविधि क्षेत्रका विद्यार्थी र अध्यताले यो पुस्तकको आलोचनात्मक अध्ययन गरी गलत तर्क र विचारको खण्डन गर्न सके विद्वान्ले लेखेका सबै कुरा सही कुनै सोचमाथि प्रश्न उठाउन सकिन्छ ।
Leave a Reply