भर्खरै :

टोल्सटोयको ‘अन्ना क्यारिनिना’ सरसरती पढ्दा

टोल्सटोयको ‘अन्ना क्यारिनिना’ सरसरती पढ्दा

सन् १८७५ देखि १८७७ सम्म, लगभग तीन वर्षको समय लगाएर लेखिएको उपन्यास ‘अन्ना क्यारिनिना’ (Anna Karenina) प्रख्यात रुसी साहित्यकार लियो टोल्सटाय (Leo Tolstoy) को चर्चित कृति हो । यस उपन्यासमा क्रान्तिपूर्वको रुसको सामाजिक अवस्थाको चित्रण सँगसँगै एक कुलीन रुसी महिला अन्ना क्यारिनिनाको जीवनको उत्तारचढाव चित्रित छ । आठ सय पृष्ठको यो उपन्यासमा १५० जना जति पात्रहरू छन् । १९ औँ शताब्दीको अन्ततिरको रुसको समाज, विशेषगरी कुलीन रुसी समाजलाई यस उपन्यासले प्रतिबिम्बित गरेको छ । उपन्यास निकै लामो भए पनि यसको कथानक छोटो छ । कथामा उल्लेख विभिन्न दृश्यको वर्णन, पात्रहरूबिचको वार्तालाप र पात्रहरूको मनोभावलाई बढी महत्वका साथ प्रस्तुत गरिएको छ ।
कथा मुख्यरूपमा दुईजना पात्रको वरिपरि घुम्छ – अन्ना क्यारिनिना र उनका दाजुका साथी लेभिन (Levin) । सानै उमेरमा एकजना ठूलो ओहदाका सरकारी कर्मचारी क्यारिनिन (Karenin) सँग विवाह गरेकी अन्ना अत्यन्त राम्री केटी हुन् । उपन्यासभरि उनकै सौन्दर्यको चर्चा हुन्छ । पढेलेखेकी, सुशील अन्नाको एक छोरा हुन्छ र उनको जीवन सुखसँगै बितिरहेको हुन्छ । तर, एकजना रसिक सैनिक जवान भ्रोन्स्की (Vronsky) को प्रवेशले अन्नाको त्यो जीवन बिथोलिदिन्छ । अन्नाका पति बाहिरीरूपमा निकै कठोर देखिन्थे, भावशून्य देखिन्थे । उनको र अन्नाको उमेर धेरै फरक भएकोले पनि उनीहरूको जीवन बाहिरबाट निकै सुखी देखिए पनि अन्ना स्वयम् त्यो जीवनबाट खुसी थिइनन् । उनका पति आफ्नो कामप्रति यति समर्पित थिए कि उनी घरमा त्यति ध्यान दिँदैनथे ।
यस्तो अवस्थामा भ्रोन्स्कीको आगमनले अन्नाको जीवनले अर्कै मोड लिन्छ । अन्ना र भ्रोन्स्की एक अर्काप्रति आकर्षित हुन्छन् । विवाहित महिला र अर्काे पुरुषबिचको आकर्षणलाई त्यतिबेलाको कुलीन समाजमा सामान्य मानिए पनि अन्ना र भ्रोन्स्कीको सम्बन्ध निकै बढ्छ र उनीहरू एक अर्काबिना बाँच्न नसक्ने हुन्छन् । अन्नाले भ्रोन्स्कीको तर्फबाट एक छोरीलाई जन्म दिन्छिन् । अन्ना र भ्रोन्स्कीको यो अनैतिक कार्यको निन्दा र चर्चा सबैतिर हुन्छ । अन्नाका पति यो कुरा थाहा पाएर पनि अन्नालाई छोडपत्र दिन सक्दैनन् । अन्ना आफूबाट गल्ती भएको महसुस गरी बिरामी पर्छिन् । क्यारिनिन अन्नालाई भ्रोन्स्कीसँगै स्थान परिवर्तन गर्न विदेश जाने अनुमति दिन्छन् । रुसको राजधानी पिटसवर्ग (Petersberg) र मस्को (Moscow) को कुलीन वृत्तिमा यसलाई क्यारिनिनको महानताको रूपमा लिइन्छ ।
अन्नाको लागि भ्रोन्स्कीले सैनिक सेवा छोड्छन् र उनीसँगै विदेश जान्छन् । विदेशबाट फर्केपछि उनीहरूबिच पनि फाटो आउन थाल्दछ । अर्काको लागि आफूले आफ्नो इज्जत, काम र जीवन बर्बाद गरेको अहम्ले दुवैलाई छोप्छ । अन्नाको अनैतिक व्यवहारबाट उनी सबैतिर निन्दित हुन्छिन् । पहिले महिला वृत्तभित्र पर्न उनी सक्दिनन् र दिनभरि घरमा कुँजिएर रहनुको मानसिक पीडा उनी भ्रोन्स्कीसँग झगडा गरेर शान्त गर्न खोज्छिन् । क्यारिनिनले छोडपत्र दिन अस्वीकार गरेकाले उनीहरूबिच विवाह हुनसक्दैन र अन्त्यमा मानसिकरूपमा विचलित हुन लागेको आभाष पाएर अन्ना रेलको लीकमा हामफालेर आत्महत्या गर्दछिन् । आफ्नो मृत्युले भ्रोन्स्कीलाई दुःख पुग्ने र त्यो पीडा नै आफ्नो जीत हुने ठानी उनी आत्महत्या गर्दछिन् । यता भ्रोन्स्की उनको वियोगमा तड्पेर स्वयम्सेवक बनेर सर्वियाको लडाइँमा जान्छन् ।
गाउँका जमिनदार ‘लेभिन’ सहरको रङ्गीन समाजमा रम्न सक्दैनन् । गाउँको खेतीपाती र पशुपालनमै उनी रमाउँछन् । ईश्वरको अस्तित्वप्रति यिनी दुविधामा हुन्छन् । आफ्नो मातहतमा काम गर्ने किसान र मजदुरहरूको जीवनस्तर उकास्न नौलो प्रयोग गर्छन् । आफ्नो जमिनलाई सहकारीको रूपमा खेती गर्न दिन्छन् । तर, वर्षाैँ पुरानो चलनमा रमेका किसानहरूलाई यो नयाँ कदम पच्दैन र त्यो असफल हुन्छ । त्यस्तै, उनी आफ्नो सोच र समय कृषिको विकासमा लगाउँछन् । तर, उनी सधैँ अन्योलमै रहन्छन् । आफूले गरेका प्रत्येक काम केका लागि वा कसका लागि हो ? यी र यस्तै प्रश्नहरूले उनको हृदय सधैँ भरिएको हुन्छ । ‘आफूले गर्ने कर्म वा काम कसको लागि र कसको भलाइका लागि गरिँदै छ ?’ भन्ने प्रश्न उनी सधैँ गर्दछन् । कथाको अन्त्यमा, आफ्नो कार्यप्रति समर्पित हुनु नै ईश्वर प्राप्त गर्नु हो र आत्माको लागि काम गर्नु नै वा कर्म गर्नु नै आफ्ना सारा प्रश्नहरूको समाधान भएको पत्ता लगाउँछन् र कथाको अन्त्य हुन्छ ।
समग्रमा, कथानक सरल र छोटो लाग्छ । तर, उपन्यासमा प्रत्येक पात्रको बाहिरी वर्णन सँगसँगै उसको मानसिक स्थितिको विस्तृत वर्णन गरिएको हुन्छ । उपन्यासमा पात्रहरूबिचको वार्तालाप, कुनै विषयमा गरिएको उनीहरूका तर्कहरूलाई बढी महत्व दिइएको हुन्छ । यस उपन्यासमा कुलीन विद्वान्हरू विभिन्न विषयमा तर्क गरिरहेका भेटिन्छन् । राजनैतिक, विदेश मामिला, पत्रिकाको लेख र किताबसम्बन्धी र कहीँकतै दर्शनसम्बन्धी छलफल र तर्क उपन्यासभरि पाइन्छ ।
यो कथामा सङ्क्रमणकालीन रुसी समाजको हुनाले कहीँकतै कुनै पात्रबाट समाजवाद र आमूल परिवर्तनको विचार पोखिएको छ ।
मस्को र पिटसवर्गका कुलीन सामन्ती वृत्तमा व्याप्त विसङ्गतिहरू यसमा दर्शाइएको छ । पुस्तैनी सम्पत्ति मोजमस्तीमा खर्चेको र त्यो कुलीन सम्पत्ति पुँजीवादीहरूको हातमा गइरहेको प्रति लेभिन चिन्तित भएको देखाइएको छ ।
सामन्ती ठाँटबाट बचाउन दस ठाउँमा ऋण काढेर पनि विलासी जीवन बिताउने प्रत्येक साँझ भोज गर्ने र अनावश्यक खर्च गर्ने प्रवृत्ति पनि देखाइएको छ । अन्नाका दाजु ओब्लन्स्की (Oblonsky) को आर्थिक अवस्था कमजोर हुन्छ । तर, पनि आफ्नो सामन्ती धाकका लागि पुख्र्याैली सम्पत्ति बेचेर पनि नपुगी धेरै ठाउँमा उनले नै ऋण लिएका हुन्छन् ।
यी सामन्तहरू धेरै समय मोजमस्तीमै बिताउँछन् । भोजमा जानु, नाच्न जानु र साँझमा नाटक हेर्न जानु उनीहरूको दैनिकी हुन्छ ।
त्यतिबेलाको रुसी समाजमा महिलाहरूप्रतिको व्यवहार कस्तो थियो भन्ने अन्ना पात्रद्वारा प्रस्ट्याउन खोजिएको छ । कथाको सुरुवातमै अन्नाको दाइ ओब्लन्स्कीको परस्त्रीसँग सम्बन्ध भएको कुरा घरमा अन्नाकी भाउजू डल्ली (Dolly) लाई थाहा हुन्छ । यस घटनापश्चात् पति–पत्नीबिच सम्बन्ध सुमधुर नभए पनि डल्ली ओब्लन्स्कीसँगै बसेको देखाइन्छ । ओब्लन्स्कीको अनैतिक क्रियाकलापको बारेमा बाहिर चर्चा हुँदैन र त्यो सामान्य मानिन्छ । तर, अन्नाको स्थितिमा भने ठीकविपरीत त्यो कुरा सारा सहरलाई थाहा हुन्छ । अन्नाको माइती सहर मस्को र उनको घर पिटसवर्गको सामन्ती समाजबाट उनी पूर्णतया बहिष्कृत हुन्छिन् तर सो कार्यमा उत्तिकै दोषी भ्रोन्स्कीको समाजमा उही स्थान रहन्छ, अझ गरिबहरूको सेवा गर्ने भनी अस्पताल खोल्ने सामाजिक कार्य र क्षेत्रीय निर्वाचनहरूमा भाग लिइरहन्छन् ।
त्यो समयको पुरुष–प्रधान समाजको बिम्ब कथामा प्रस्टसित झल्किन्छ ।
रुसी संस्कृतिमा पाहुना सत्कार, घरको बनावट, विवाह, मरणजस्ता कर्महरूको व्याख्या गरिएको छ । रुसको मौसम, मौसमअनुसार लगाइने लुगा, सवारी साधनहरू र खेती गरिने अन्न आदिको बारेमा पनि सविस्तार वर्णन उपन्यासमा पाइन्छ ।
यसरी साधारण कथालाई विभिन्न उपकथाहरूसँग जोड्दै टोल्सटोयले पाठकहरूलाई तत्कालीन रुसी समाजको व्याख्या र सजीव चित्र प्रस्तुत गरेका छन् । उपन्यास पढ्दै जाँदा पाठकका आँखासामु रुसी सहर, गाउँ र पात्रहरू आउन थाल्छन् । रुसी संस्कृति, रहनसहन र मानिसहरूको बौद्धिक चेतना आदिको पाठकलाई जानकारी दिन उपन्यासकार चुकेका छैनन् ।
रुसी भाषाबाट अङ्ग्रेजीमा अनुदित भएको हुँदा साहित्यको जुन मिठास रुसी भाषामा हुने हो त्यो अनुदित उपन्यासमा नपाइने भए पनि ‘अन्ना क्यारिनिना’ उपन्यास विश्व साहित्यका अमर कृतिहरूमध्ये एक हो भन्नु अतिरञ्जना नहोला । हुन त साहित्यको मूल्याङ्कन अनुवादमा होइन, मौलिक भाषाको रचनामा गरिन्छ । यसकारण, टोलस्टोयको ‘अन्ना क्यारिनिना’ त्यसबेलाको समाजको सुन्दर दर्पण र माझिएको रुसी भाषाको सशक्त अभिव्यक्तिको नमुना हुनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *