भर्खरै :

संयुक्त राज्य अमेरिका नाजी अपराधीका संरक्षक

संयुक्त राज्य अमेरिका नाजी अपराधीका संरक्षक
(इराक–इरानको युद्धको बेला संरा अमेरिका इराकको पक्षमा रही हतियार उपलब्ध गराएको थियो । उसले त्यही बेला इरानलाई पनि हतियार दिएको थियो । त्यस्तै, हिटलरले यहुदीहरूको जाति नै समाप्त पार्न खोजेको सत्य हो । आज यहुदीहरूको इजरायल स्वयम् जातीय राज्य बनेको छ र प्यालेस्टिनीहरूलाई सखाप पार्न उद्यत छ । जातिवादी इजरायललाई काँधमा बोक्ने साम्राज्यवादी अमेरिका एकातिर यहुदीहरूलाई साथ दिन्छ भने अर्काेतिर यहुदी जाति विनाश गर्न खोज्ने अपराधी काजीहरूको पनि संरक्षण गर्छ । यस लेखमा त्यसबारे चर्चा गरिएको छ । –सं)
संयुक्त राज्य अमेरिका फिलिपिन्समा भूपू तानाशाह फर्डिनान्ड मार्काेसलाई संरक्षण दिइराखेको छ । भोलि दक्षिण अफ्रिकाका तानाशाह पीटर डब्ल्यूबोथा र चिलीका पिनोशे आ–आफ्नो देशबाट भाग्नुप¥यो भने सोझै अमेरिका पुग्नेछ र स्वागत एवम् संरक्षण पाउनेछ । अझ सके मानव अधिकारका योद्धाजस्ता बिल्ला पनि लगाइदिन बेर छैन । तर, संसारमा ४० हजार त्यस्ता व्यक्तिहरू छन् जसलाई अमेरिकामा प्रवेश गर्न निषेध गरिएको छ ।
संरा अमेरिकामा प्रवेश नपाउने व्यक्ति ३३ थरीका छन् । त्यसमध्ये एकथरी हिटलरको नाजी सङ्गठनको सदस्य हो । अर्काे शब्दमा नाजी अपराधमा संलग्न भएको व्यक्ति हो । यसै सन्दर्भमा गत अप्रिल २७ (०४४ वैशाख १४) मा अमेरिकाको कानुन मन्त्रालयले कुर्त वाल्डहाइमलाई अमेरिकामा प्रवेश गर्न निषेध गरेको छ । कुर्त वाल्डहाइममाथि नाजी अपराधमा संलग्न भएको आरोप लगाइएको छ । आरोपलाई पुष्टि गर्ने प्रमाणहरू पनि फेला परेको जानकारी प्रकाशमा आएको छ ।
कुर्त वाल्डहाइमको जन्म सन् १९१८ मा अस्ट्रियामा भएको हो । सन् १९७२ देखि ८२ सम्म उनी संयुक्त राष्ट्र सङ्घका महासचिव थिए । त्यसैले विश्वको निम्ति कुर्त वाल्डहाइम अपरिचित व्यक्तित्व होइन ।
कुर्त वाल्डहाइममाथि नाजी अपराधमा संलग्न भएको आरोप सन् १९८६ मार्च महिनामा विश्व यहुदी काङ्ग्रेसले लगाएको हो । त्यसबेला अस्ट्रियामा राष्ट्रपति चुनावको चहलपहल थियो । कुर्त वाल्डहाइम पनि राष्ट्रपतिका उम्मेदवार थिए । त्यसैले, पनि यसको चर्चा विश्वव्यापी भएको हो ।

नाजी सेनामा अफिसरको रूपमा काम गर्दै कुर्त वाल्डहाइम (बायाँबाट दोस्रो)

कुर्त वाल्डहाइम स्वयम्ले नाजी सेनामा काम गरेको कुरा स्वीकारेका छन् । यद्यपि, उनीमाथि ८६ को मार्च अगाडि कसैले आरोप लगाएको थिएन र वाल्डहाइमको प्रकाशित आत्मजीवनी (सन् १९८५) मा पनि यसबारे उल्लेख भएको थिएन । तर, उनको भनाइअनुसार नाजी सेनामा उनी इटाली भाषाबाट जर्मन भाषामा उल्था गर्ने द्वेभाषे मात्र थिए । किन्तु उनी माथि लगाइएका आरोपहरू गम्भीर छन् ।
फेलापरेका कागजातअनुसार कुर्त वाल्डहाइम हिटलरले अस्ट्रिया कब्जा गरेको तीन हप्ताभित्र १ अप्रिल १९३८ मा नाजीहरूको विद्यार्थी सङ्घ (ब्राउन सर्ट) को सदस्य बने, १९३८ मै अर्धसैनिक सङ्गठनमा र १९३९ अगस्ट १५ पछि नाजी सेनामा प्रवेश गरेका थिए । पछि उनलाई एक फौजी डफ्फाको अधिकृत बनाई प्रोस (युनान) पठाए । त्यहाँ ४२ हजार ८३० यहुदीहरूलाई विषालु ग्यासको कोठा (ग्यास च्याम्बर) भित्र हुलेर हत्या गराउनमा वाल्डहाइम संलग्न थियो भन्ने आरोप लगाइएको छ ।
त्यस्तै, सन् १९४२ मा उनलाई वरिष्ठ जासुस बनाई युगोस्लाभिया पठाइयो । त्यहाँ उनले पक्राउ परेका युगोस्लाभिया मुक्ति सेनाका जवानहरूसँग सोधपुछ गर्थे र त्यसको प्रतिवेदन अधिकारीहरूलाई दिन्थे । सोधपुछको बेला मुक्ति सेनाका जवानहरूलाई अमानवीय यातना दिइन्थ्यो । यातनाका कारण थुप्रै ‘कैदी’ हरूको मृत्यु हुन्थ्यो । त्यसबेला वाल्डहाइम पनि त्यही कोठामा हुन्थे । त्यस्तै, ४८४ जना युगोस्लाभियाका नागरिकहरूलाई श्रम शिविरमा पठाउनमा उनको भूमिका थियो भन्ने आरोप लगाइएको छ ।
युगोस्लाभियामा वाल्डहाइम जनरल अलेक्जेन्डर लोरको मातहत काम गरेका थिए । लोरलाई सन् १९४७ मा युगोस्लाभिया सरकारले मृत्युदण्ड दिएको थियो । तर, लोरको मातहतमा काम गर्ने वाल्डहाइम गत जून (१९८६) देखि अस्ट्रियाका राष्ट्रपति छन् । अझ विडम्बनाको कुरा त ‘नाजी अपराधी’ १० वर्षसम्म संयुक्त राष्ट्र सङ्घको महासचिव थिए ।
सन् १९४८ मा तयार पारिएको नाजी अपराधीहरूको एक सूचीमा वाल्डहाइमको नाम पनि समावेश थियो भनिन्छ । त्यस्तै, कुर्त वाल्डहाइमलाई संरा सङ्घको महासचिव बनाउन चीन चाहँदैनथ्यो भन्ने कुरा पनि प्रकाशमा आएको छ ।

कोन्स्टान्टिन भारभारिभ

हिटलरप्रति सम्मान ?
हिटलर जन्मेको देश अस्ट्रिया हो । अस्ट्रियाको भाषा जर्मन हो । अस्ट्रियाका मानिसहरूमा हिटलरप्रति अझै सम्मानको भावना छ । गत अप्रिल महिनामा भियतनाममा प्रकाशित एक सर्वेक्षणअनुसार सात प्रतिशत अस्ट्रियावासीहरू आफू यहुदीविरोधी भएको हाकाहाकी स्वीकार्छन् । त्यस्तै, प्रत्येक चारमध्ये एकजनामा धेरै–थोरै यहुदीविरोधी धारणा पाइन्छ । कुर्त वाल्डहाइमको विजयले यस कुराले पुष्टि गर्दछ । विश्वको पत्रपत्रिकामा नाजी अपराधमा वाल्डहाइमको संलग्नता रहेको प्रचार हुँदाहुँदै पनि ५३ दशमलब ९ प्रतिशत मत पाएर उनी विजयी भएका थिए ।
चाहे राष्ट्रपति होस् या अन्य, नाजी अपराधीमाथि कारबाही हुनु सर्वसम्मत चाहना हो । तर, यहाँनिर एउटा उदेकलाग्दो कुरा भएको छ । एक अपराधीले अर्काे अपराधीलाई ‘तँ अपराधी’ भन्नु उदेकलाग्दो छैन त ?
उदेकलाग्दो कुरा
अमेरिकी प्रशासनले मात्र विश्वमा उदेकलाग्दो काम कुरो गर्दै छ । हिरोसिमा र नागाशाकीमा नरसंहार गर्ने, लाखौँ भियतनामीको निर्मम हत्या गर्ने, दक्षिण अफ्रिकी जातिवादी सरकारलाई काला जातिमाथि दमन गर्न सघाउने, इजरायली यहुदीवादीलाई बचाउने अमेरिकी साम्राज्यवाद हो । अमेरिकी साम्राज्यवादको अपराध त्यतिमै टुङ्गिदैन । नाजी अपराधीहरूलाई संरक्षण गर्ने पनि अमेरिकी साम्राज्यवाद नै हो । यस परिप्रेक्ष्यमा वाल्डहाइमलाई अमेरिका प्रवेश गर्न निषेध गर्ने कुरा वास्तवमा आफ्नो अपराध छोप्न गरिएको प्रयासमात्र हो । यसको अर्थ नाजी अपराधीलाई मात्र होइन ती अपराधीका संरक्षकमाथि पनि घृणा गरिनुपर्छ भन्ने हो ।

एलिना कोजार भारभारिभ

अमेरिकी साम्राज्यवादलाई किन घृणा गर्ने ?
युरोपका विभिन्न मुलुकहरूमा आज पनि नाजी अपराधी र तिनका नाइकेहरू जिउँदै छन् । त्यसमध्ये रुडोल्फ हेस (९२ वर्ष) पश्चिम बर्लिनको र अन्य दुईवटा बेल्जियमको जेलमा छन् ।
इटालीको संसद्मा नवफासीवादी पार्टीका प्रतिनिधिहरू छन् ।
बेलायतको खेल (?) मा ६ जना नाजी अपराधी छन् । तिनीहरूलाई सोभियत सङ्घ वा इजरायल पठाउन बेलायतका गृहमन्त्रीले हालै (१९८६ तिर) अस्वीकार गरेका छन् । यदि पठाइएको भए नाजी अपराधीले उचित दण्ड पाउँथे ।
त्यस्तै, पश्चिम जर्मनीमा नवनाजी गुटहरूको गतिविधि चलेकै छ । यसबाहेक आज पनि त्यस्ता ‘प्रोफेसर’, ‘इतिहासविद्’ र ‘विद्वान्’ हरू छन् जो नाजी अपराधलाई अपराध मान्दैनन् ।
माथि उल्लेखित देशहरूसँग अमेरिकाको ‘सुमधुर’ सम्बन्ध छ । यसैक्रममा नाजी अपराधीहरूप्रति अमेरिकाको व्यवहारबारे एक दृष्टि दिऔँ ।
दुई वर्षअगाडि अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन जर्मन चान्सलर हेल्मुटकोलको निमन्त्रणामा पश्चिम जर्मनी गएका थिए । ती दुवै नेताले बिटबर्ग (Bitburg) पुगेर नाजी अपराधीहरू गाडिएको चिहानमाथि फूलमाला अर्पण गरे अर्थात् नाजी अपराधीप्रति सम्मान दर्शाए । नाजी अपराधीलाई सम्मान गर्ने राष्ट्रपति रेगनको त्यसबेला खुब विरोध भएको थियो ।
अहिले फ्रान्समा एक नाजी अपराधी क्लाउस बार्बी (Klaus Barbie) माथि मुद्दा चलिरहेको छ । बार्बी ‘लियोनका कसाइ’ (The Butcher of Lyons) को नामले कुख्यात छ ।
सन् १९४२ देखि ४४ सम्म लियोन सहरको गेस्टापो (नाजी जर्मनीको गुप्तचर संस्था) को नाइके बार्बी थियो । त्यहाँ उनले हजारौँ मानिसहरूलाई यातना दिए र हत्या गरे । बार्बी स्वयम्ले यातना दिएकाहरूमध्ये ८६ वर्षीया श्रीमती लिज लर्सभ (Lise Leserve) ले अदालतमा बयान दिँदै हुनुहुन्छ । उहाँ विश्वले थाहा पाउनुपर्ने र आफूले भोगेका भएभरका कुरा बताउने तरखरमा हुनुहुन्छ । त्यसो त बार्बीको अनुपस्थितिमा सन् १९५२ र १९५४ मा उनलाई मृत्युदण्ड दिई सकिएको हो ।
युद्धपश्चात् बार्बी केही समय भाग्दै हिँडे । पछि ‘स्वतन्त्र विश्व’ का ठेकेदार संयुक्त राज्य अमेरिकाको संरक्षण पायो । उनलाई संयुक्त राज्य अमेरिकाको जासुसी संस्थामा काम दिइयो । भूतपूर्व अमेरिकी जासुस अधिकृत अरहार्ड डार्बिङ्सका अनुसार विश्व युद्धपश्चात् साम्यवादविरुद्ध उनी काम लाग्ने मान्छे थिए । त्यसबेला बार्बीले जर्मनीस्थित अमेरिकी जासुसहरूलाई सोभियत सङ्घबारे महत्वपूर्ण सूचना दिएका थिए । त्यसपछि सन् १९५१ मा उनी बोलिभिया गएर बसे अर्थात्, अमेरिकी जासुसहरूले पु¥याए । त्यसबेला बोलिभियामा जर्मनहरू विशेषगरी नाजी अपराधीहरूको हाँकधाक वा चकचकी थियो । सन् १८५७ मा उनलाई बोलिभियाको नागरिकता दिइयो । चारवर्ष अघि मात्र बार्बीलाई बोलिभियाबाट फ्रान्स ल्याएर मुद्दा चलाइएको हो ।
कोन्स्टान्टिन भारभारिभ (Konstantin Varvariv) को जन्म सन् १९२४ मा युक्रेनमा भएको हो । सन् १९४१–४३ मा आफ्ना परिवारसहित उनी रोभ्नो सहरमा बसेका थिए । त्यो सहर त्यसबेला नाजीहरूको कब्जामा थियो । उनी नाजीहरूको गुप्तचर संस्था (SD) मा काम गर्थे ।
दोस्रो विश्वयुद्धमा रोभ्नोले आफ्ना ८० हजार नागरिक गुमाएका थिए । सन् १९४१ नोभेम्बर ७ का दिन नाजीहरूले १७ हजार रोभ्नोवासीको हत्या गरेका थिए । त्यो हत्या डा. वियरको आदेशले गरिएको थियो । यिनै बियरले १९४३ मा भारभारिभलाई पदोन्नति गराउन सिफारिस गरेका थिए ।
सन् १९४४ मा हिटलरको सेना रोभ्नोबाट भाग्नुप¥यो । नाजी सेना चेकोस्लोभाकिया हुँदै जर्मनी पुगे । भारभारिभ र उनका परिवार पनि सँगसँगै जर्मनी पुगे ।
सोभियत सेनाले रोभ्नो सहर मुक्त गरेपछि लामो समयदेखि भारभारिभ नाजीहरूसँग काम गर्दै आएको तथ्य फेला प¥यो । सुरुमा मासिक ७५० मार्क तलब पाउने भारभारिभ १९४४ मा पदोन्नति भई १९१२ मार्क पाउन थाले, पदोन्नतिपछि उनी रोभ्नोस्थित नाजी न्याय विभागका प्रमुख व्यक्तिहरूमध्ये तेस्रो थिए ।
युद्धपश्चात् भारभारिभ जर्मनीमा लुकिछिपी हिँड्न थाले । अमेरिकी फौज जर्मनी पुगेपछि भारभारिभ पनि ‘नाजीवादबाट पीडित’ भनेर मुक्त गरियो । तर, अमेरिकाको केन्द्रीय गुप्तचर संस्था (CIA) ले भारभारिभको अतीतबारे छिट्टै जानकारी हासिल ग¥यो । सीआईएले भारभारिभको अतीत थाहा पाएपछि अमेरिकी प्रशासनको निम्ति ‘ढुङ्गो खोज्दा देउता मिले’ जस्तो भयो । अमेरिका र बेलायतको गुप्तचर संस्थाको निम्ति उनी ज्यादै काम लाग्ने मान्छे साबित भए । ती संस्थाहरूमा कार्यरत छँदा उनले सोभियत सङ्घमा जासुसी गर्न पठाउने मानिसहरू छनोट गर्थे । अमेरिकी प्रशासनले नाजी अपराधी भारभारिभलाई ‘मानव अधिकारको विशेषज्ञ’ भनी सम्मान ग¥यो । राज्य विभागमा महत्वपूर्ण पद दिइयो । युनेस्कोमा अमेरिकी सरकारको प्रतिनिधि बनाएर राखियो । अमेरिकी प्रशासनको यो कर्तुत सन् १९७७ मा उदाङ्गियो ।
सन् १९७७ को अक्टोबर १४–१५ मा सोभियत सङ्घको टिबिलिसिमा युनेस्कोको तत्वावधानमा अन्तरसरकारी सम्मेलन भएको थियो । त्यस सम्मेलनमा अमेरिकी प्रतिनिधिमण्डलका एक सदस्य भारभारिभ थिए । त्यसबेला उनी संरा अमेरिकाको राज्य विभागका उच्चस्तरका पदाधिकारी थिए ।
तर, टिबिलिसिमा भारभारिभको पोल खुल्यो र सोभियत सङ्घले मस्कोस्थित अमेरिकी दूतावासलाई आधिकारिक जानकारी दिएको थियो । अमेरिकी प्रशासनलाई काम लाग्ने भारभारिभलाई अमेरिका प्रवेश गर्नु निषेध थिएन । त्यसबेला उनी संरा अमेरिकाको भर्जिनियामा बस्थे ।
एलिना कोजार (Elena Kozar) भारभारिभसँग बिहे भएपछि एलिना भारभारिभ बनिन् । यिनी नाजीहरूसँग काम गरेको अभिलेख तिनको दस्तखत र तस्बिरहरूबाट प्रमाणित हुन्छ । तर, यिनीमाथि पनि कुनै कारबाही भएन । उल्टो अमेरिकी रेडियोमा काम पाए र उनी अमेरिकामा बसिन् ।
उक्त तथ्यहरूबाट के स्पष्ट हुन्छ भने नाजी अपराधीप्रति अमेरिकी प्रशासनको दृष्टिकोण सुमधुर र रचनात्मक छ । तब उसले वाल्डहाइममाथि किन अर्कै दृष्टिकोण लियो त ?
यस ‘नयाँ’ दृष्टिकोण सन् १९८८ मा हुने अमेरिकी राष्ट्रपति चुनावसँग पो सम्बन्ध छ कि ? वाल्डहाइमलाई राष्ट्रपतिको रूपमा रेगनले निमन्त्रणा नगर्ने र व्यक्तिगतरूपमा प्रवेश निषेध गरिएबाट २० वर्ष अमेरिका बसिसकेका वाल्डहाइमले अमेरिकी भूमिमा टेक्न पाउने छैन । यसबाट अमेरिकाका यहुदी मतदाताहरूमा रिपब्लिकन पार्टीको अनुकूल प्रभाव पर्दैन भन्न सकिन्न ।
अथवा, शस्त्रास्त्र नियन्त्रणमा अमेरिकाको ‘युद्धप्रेमी’ छवि र ‘इरानगेट’ काण्डबाट उदाङ्गिरहेको रेगनको ‘कुनियत’ ढाकछोप गर्न पो हो कि ? वाल्डहाइमको चर्चाले विश्वको ध्यान अन्यत्र मोड्न सघाएकै हुनुपर्छ ।
यसबाहेक संरा सङ्घका महासचिव बनाइनुअघि वाल्डहाइमको अतीतलाई खोतलेकै हुनुपर्छ । नाजी र विश्व युद्धसम्बन्धी दस्तवेजहरू अध्ययन गरिँदै छ, कतै पनि केही नपाइएकै हो त ? सन् १९४८ मा तयार पारिएको नाजी अपराधीहरूको सूची आजसम्म कहाँ थियो ? यो केही अनुत्तरित प्रश्न हुन् ।
सहायक सामग्री
– न्युजविक (’८७ अप्रिल, २०, मे ११
– नवभारत टाइम्स (’८६ जून १६; ’८७ अपिल, २९, मे ३)
– द टाइम्स अफ इन्डिया (’८७ मे ७)
– द ह्वाइट बुक–प्रगति प्रकाशन मस्को (१९८१)
स्रोत : ‘पञ्चायत’ मासिक, वर्ष ५, अङ्क ७, २०४४

Leave a Reply

Your email address will not be published. Required fields are marked *