भर्खरै :

साहित्य र राजनीतिमा वर्गभेद स्वाभाविक

साहित्य र राजनीतिमा वर्गभेद स्वाभाविक

भक्तपुर, ८ कार्तिक । समाज वर्गमा विभाजित भएझैँ साहित्य पनि विभाजित हुन्छ । कुनै पनि साहित्य कुनै न कुनै वर्गको पक्ष या विपक्षमा लेखिएको हुन्छ । साहित्यले श्रमजीवीवर्गको हित गर्दैन भने त्यसले पुँजीपति, सामन्त, जालीफटाहा या शोषकहरूको सेवा गरेको हुन्छ । यसकारण, साहित्य राजनीतिबाट अलग हुँदैन । तर, प्रतिक्रियावादी, पुँजीवादी साहित्यकारहरू साहित्य राजनीतिबाट अलग्ग हुन्छन् भनी फलाको गर्छन् । प्रगतिशील या समाजवादी पक्षधर साहित्यकारलाई साहित्य नलेखाउन र त्यस्तो साहित्य जनताले नपढाउन प्रतिक्रियावादी साहित्यकारहरू यस्ता अनेक षड्यन्त्र बुन्छन् र आफँै राजनीति गर्छन् । यो उनीहरूको कामदार वर्गको साहित्य लेख्न र पढाउनबाट वञ्चित गर्ने जालसाजी हो । यसकारण, समाज वर्गमा बाँडिएको हुँदा राजनीति र साहित्यमा पनि वर्गभेद हुनु स्वाभाविक हो । आज भइरहेको नेपालभाषा साहित्य तःमुंज्या कामदारवर्गको पक्षमा साहित्य वाचन गर्ने श्रमजीवीवर्गको मञ्च हो । यस मञ्चमा प्रगतिशील या माक्र्सवादी साहित्य वाचन हुन्छ ।
कामदारवर्गको प्रतिनिधित्व गर्ने साहित्यकारहरूले कामदारवर्गका जनतालाई बिउँझाउने काम गरेका हुन्छन् । वर्गीय चेतना बढाउने र प्रगतिशील साहित्यको फाँटलाई चौडा बनाउने काम तःमुंज्याले गरिरहेको छ । कामदार वर्गको साहित्यले पुँजीवादी साहित्यलाई चकनाचुर पार्नुपर्छ भन्ने माक्र्सवादी साहित्यकार हरिबहादुर श्रेष्ठको बुझाइ छ । यसले साहित्य राजनीतिको हतियार हो भन्ने कुरा पुष्टि गर्छ ।
हुन त नेपाली समाजमा यौनवादी, निराशावादी र व्यक्तिवादी साहित्यले पनि ठाउँ नपाएको होइन । यस्ता साहित्यहरू अन्ततः प्रतिक्रियावादी साहित्यकै हाँगाबिँगा हुन् । यस्तो साहित्यले बहुमत जनताको सेवा गर्दैन । यसकारण, गरिब र कामदार जनताको भावना र विचारको प्रतिनिधित्व गर्ने माक्र्सवादी या प्रगतिशील साहित्यकारहरूको खाँचो छ । माक्र्सवादी साहित्यकारहरूले अन्याय, अत्याचार, शोषण, आक्रमण, दमन, थिचोमिचो, विदेशी हस्तक्षेप, असमान सन्धि र सम्झौताको विरोधमा कथा, कविता, निबन्ध लेखेका हुन्छन् । यस्तो साहित्य नै प्रगतिशील साहित्य हो अर्थात् जनताको पक्षमा लेखिएको साहित्य प्रगतिशील साहित्य हुन्छ । सङ्घर्षशील देशभक्त जनताको पक्षमा कविता, कथा, निबन्ध, गीत, नाटक लेख्नुपर्छ । शोषक, अन्यायी, अत्याचारीहरूको विरोधमा लेख, व्यङ्ग्य र कविता लेखेर जनताको मनोबल उठाउन लेखक, कवि र कलाकारहरू जुट्नुपर्छ । तःमुंज्याको मञ्चले यस्तै लेखक, कवि, कलाकारहरू जन्माउँछ ।
प्रगतिशील साहित्य यथार्थवादी हुन्छ तर सबै यथार्थवादी साहित्य प्रगतिशील हुँदैनन् । सबै माक्र्सवादी साहित्य प्रगतिशील हुन्छन् तर सबै प्रगतशील साहित्य माक्र्सवादी हुँदैनन् । सामन्तवाद र साम्राज्यवादविरोधी लेखक, कथाकार, कवि र निबन्धकारहरूको साहित्य न प्रगतिशील हुन्छ न माक्र्सवादी हुन्छ । सच्चा कम्युनिस्ट र माक्र्सवादीहरूको साहित्य बहुमत जनताको पक्षमा हुने हुँदा उनीहरूको साहित्य प्रगतिशील हुन्छ । कुनै साहित्य यथार्थ हुनसक्छ तर यथार्थ हुँदैमा प्रगतिशील हुने होइन । तःमुंज्यामा वाचन हुने साहित्य माक्र्सवादी हुन्छन्, प्रगतिशील हुन्छन् । यसैले नेपालभाषा साहित्य तःमुंज्याको छुट्टै पहिचान छ, यसको छुट्टै महत्व छ । यो नेपाली साहित्यकार र कामदार जनतामाझ स्थापित मञ्च भइसकेको छ । यो तःमुंज्या जनतामाझ भिजेको मञ्च हो । यसलाई अझ व्यवस्थित गर्ने, स्तरीय साहित्यकार र कलाकारहरू तयार गर्ने काम मञ्चले गर्दै जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *