भर्खरै :

‘लुना’ मासिक सरसरती पढ्दा

‘लुना’ मासिक सरसरती पढ्दा

राजनीतिलाई पेसा बनाएर जीवनभर राज्यको स्रोत साधनमाथि हालीमुहाली गर्ने नेताहरूको सिन्डिकेट र कार्टेलिङ नै भ्रष्टाचारको मूल जरो रहेको कुरा ‘लुना’ मासिकको सम्पादकीयमा उल्लेख गरिएको छ । सामान्य बयानको आधारमा ठूला माछा भनाउँदाहरू उम्काउने हालको गठबन्धन सरकारको रवैया पनि विगतमा भएका धेरै ‘काण्ड’ हरू जस्तै नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा ‘हात्ती आयो हात्ती आयो फुस्सा’ हुने आशङ्का गरिएको छ ।
आफ्नै देशका नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेजस्ता मानव तस्करी गर्ने कार्यमा पूर्वप्रधानमन्त्री केपी ओलीका पूर्वप्रमुख स्वकीय सचिव, पूर्वगृहमन्त्री, उपप्रधानमन्त्री, गृहसचिव र गृह मन्त्रालयका सुरक्षा सल्लाहकारसमेतको संलग्नता र मिलेमतो रहेको प्रस्ट पार्न चिल्ला आकर्षक पेपरको अघिल्लो कभर पृष्ठमा तिनीहरूको तस्बिरै छापेर राष्ट्रिय मासिक पत्रिका ‘लुना’ बजारमा निस्केको छ । वर्ष १३ पूर्णाङ्क ३३ को उक्त मासिक पत्रिकाले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रकै बेइज्जती रहेको त्यसभित्रका विभिन्न आलेखमा स्पष्ट पारिएको छ ।
‘देश छाड्ने अनेकौँ बाटाहरू’ शीर्षक दिएर शेखर खरेल लेख्नुहुन्छ, “नेपाली श्रमको गन्तव्य खाडीमात्र रहेन, सात समुद्र पारको अमेरिका जान नागरिकहरू अनागरिक बन्नसम्म तयार हुने रहेछन् भन्ने कुरा अहिले बहुचर्चित भुटानी शरणार्थी प्रकरणबाट छताछुल्ल भएको छ । राजनीति, बेथिति र भ्रष्टाचारले थिलथिलिएको आजको नेपालको सबैभन्दा ठूलो विडम्बना नै यही हो । सर्वसाधारणहरू कोही पनि स्वदेशमा भविष्य देख्दैनन् । नेपालीलाई विभिन्न बहानामा हिजो सीमित दलाल, बिचौलिया र मानव तस्करले सात समुद्रपारि पु¥याउँदै आएकोमा यो काम अब सिंहदरबारबाटै हुने गरेको तथ्य बाहिर आएपछि नेपालीहरू झनै तिर्मिराएका छन् ।”
त्यस्तै, लेखक खिमलाल देवकोटाले उक्त प्रकरणलाई राज्य संयन्त्रको नग्न चित्रको रूपमा प्रस्तुत गरेका छन् । ३० वर्षदेखि दुहुनो गाई बनाएको यो मामला सल्टाउने होइन बरु आरम्भमा गृह मन्त्रालय सम्हालेका, पछिल्लो चरण प्रधानमन्त्री भएका बखत केपी ओलीले नै गठन गरेको आयोगमार्फत क्याम्पमा भएका भुटानी शरणार्थीको सट्टा नेपाली नागरिकलाई थपेर नक्कली भुटानी बनाएर अमेरिका पठाउने र हरेकबाट रकम असुल गर्ने काम गर्न थालेको विवरण दिइएको छ ।
राज्य सञ्चालकहरू अपराध अनुसन्धानलाई प्रोत्साहित होइन, निरुत्साहित गर्छन् । अपराध कर्मको नेतृत्व गर्छन्, आपराधिक गिरोहको परिचालनमा आफूलाई होम्छन् । सत्य निष्ठाको शपथ खाएका मानिसहरू त्यो शपथको ठाडै उल्लङ्घन गर्छन् । राज्यका निकायसँगको मिलेमतोमा राज्य दोहन गर्दै धन आर्जन गर्ने तरिकालाई दलाल तथा नोकरशाही पुँजीवाद भन्ने गरिन्थ्यो । यही नोकरशाही पुँजीवाद भन्ने गरिन्थ्यो । यही नोकरशाही पुँजीवादको चरित्रको चित्रण लेखमा उल्लेख गरिएको छ । नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरण सामान्य फौजदारी अपराधका मामलामात्रै होइनन् । यी मामलाहरू सङ्गठित अपराधका मामला भएको हुनाले राज्यविरुद्धका मामला पनि हुन् ।
सोही प्रकरणमा सुरेश आचार्य लेख्छन्, “विश्वमै प्रसिद्धि कमाएको आम नेपाली जातिले आज लज्जाबोधले शिर निहुराउनुपरेको छ । राजनीतिक अस्थिरता सिर्जना हुने नाममा राजनीतिक दलहरूबिच एनसेल प्रकरणमा झैँ शरणार्थी काण्डमा पनि शासक दलहरूबिच लेनदेन भई अभियुक्तहरूलाई अन्ततः न्यूनतम सजाय तोकेर उन्मुक्ति दिने चालबाजी पनि हुनसक्छ । यसमा नेपालका हाईप्रोफाइल राजनीतिज्ञहरूको संलग्नताबाटै सबै नालीबेली प्रस्ट हुन्छ ।” यसको नियन्त्रणको लागि राज्य वा दलको नेतृत्वदायी पदमा अथवा कार्यकारिणी पदमा जो कोही पुग्नै नसक्ने निर्वाचन पद्धतिको विकास गर्नुपर्छ, त्यसको लागि सङ्घीय वा प्रदेशसभाका विधेयकहरूलाई प्रत्याव्हान गर्ने संवैधानिक प्रबन्ध गर्नुपर्ने उहाँको जिकिर रह्यो ।
यसै सिलसिलालाई नाटकीय पाराले ‘राष्ट्रवादीको हरिबिजोक’ शीर्षकको आफ्नो व्यङ्ग्यात्मक लेखमा लक्ष्मण गाम्नागेले व्यङ्गय गर्दै एउटा रेस्टुरेन्टको क्याबिनमा आफूलाई राष्ट्रियताप्रति समर्पित देशभक्त भनी टोपल्ने चैते राजनीतिज्ञहरूबिच भएको कुराकानी प्रस्तुत गर्छन् । राष्ट्रवादी मान्छेलाई साम्राज्यवादी, विस्तारवादी अमेरिका जानेबारे उक्त भेटमा एक राजनीतिज्ञले प्रस्ताव राख्दछ । उक्त प्रस्तावको राष्ट्रवादी इन्कार गरिरहँदा सम्झाइबुझाइको सिलसिलामा उसलाई बरु अमेरिका जाँदा राष्ट्रवादी भइने उल्टो शिक्षा दिन खोज्छ । ब्ल्याक लेभलको सुर चढेका राजनीतिज्ञले भन्छ, विदेश जान नसक्नेहरूलाई, पुँजी नभएकाहरूलाई, भिसा लगाउन नसक्नेहरूलाई, सोझासाझा, बुढाखाडा, काम गर्न नसक्नेहरूको लागि देशको माटो छाडेर बलियो बाङ्गाले विदेशको बाटो लिनुपर्छ । नसाकै सुरमा कुराकानी गर्दै ‘तपाईँ’बाट तिमी, तँ र गधा’ सम्मको सम्बोधनको शब्दमा झर्दै दुवैले एक आपसको आत्मीयता बढाउँछ । आत्मीयता बढेसँगै राष्ट्रवादी र देशभक्त भनिने त्यो व्यक्ति नेपाली नागरिकता त्यागेर नक्कली भुटानी नागरिकता प्राप्त गर्न आतुर हुन्छ । यो फर्जी काम हो कि भनी गरेको आशङ्कालाई मेटाउन ढुक्क भएर लगानी गरे हुन्छ भन्दै त्यो काम फर्जी हुँदै होइन, यो त सरकारले नै व्यवस्था गर्न लागेको वैधानिक काम हो भन्छ । आफूले आफैँलाई व्यङ्ग्य गर्दै त्यो राजनीतिज्ञ नसाको सुरमा भन्दै जान्छ, “हामी केही किच्चकहरू, सरमछाडाहरू, भ्रष्टाचारका पिण्डहरू, ठगहरू, पाखण्डीहरू, नैतिकहरामहरू, लोभका भकारीहरू, सर्वाङ्ग नाङ्गाहरू एक ठाउँमा जुटेर यो काम गर्न लागेका हौँ ।” त्यस्ता आपराधिक व्यक्तिहरूसँग हिमचिम भएको अनेक तस्बिरहरू देखाइसकेपछि ऊप्रति विश्वास जागेर आउँछ । आफूलाई बेच्न लगिने हो कि भनी शङ्का गर्दा बेचिने भन्दैमा युगको जस्तो फलामको साङ्लोमा बाँधेर लाने होइन जहाजमा चढाएर लाने हो । खाडीमा बेचिने होइन अमेरिकामा बेचिने हो । कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका सबै मिलेर बेच्न लागेको हो । त्यसको निम्ति गर्व गर्नुपर्ने बताउँछ । सरकार, प्रतिपक्ष, प्रहरी प्रशासन सबै हाम्रो डराउनुपर्ने कुनै कारण नभएको भनी आश्वस्त पार्छ । एक करोड भनिएकोमा ५० प्रतिशत छुट दिलाई ५० लाखको हिसाबकिताब हुन्छ । घडेरी बेचेर जम्मा पारेको ५० लाखको चेक काटी त्यो चैते राजनीतिज्ञलाई जिम्मा लगाउँछ । सुखद् भविष्यको कल्पना गर्न थाल्छ ।
पछि नक्कली भुटानी शरणार्थी काण्डको हबिगत सुरु हुन्छ । त्यो बी ग्रेडको दलाल ‘ए’ ग्रेडका दलालहरू सबै पक्राउ परेर थुनामा गएपछि आफू पनि समातिने डरले एक अज्ञात होटलको गोप्य कोठामा लुकेर बस्नुपर्ने बाध्यता उक्त व्यङ्ग्यात्मक लेखले दर्शाएको छ ।
प्रा.डा. विद्यानाथ कोइरालाको लेख ‘पहिचान, विलय र घामछायाका शरणार्थी’ मा भुटानी शरणार्थीको जनजीवन, लवाइखवाइ पढाइ, उनीहरूको भावना र त्यहाँको वस्तुस्थितिबारे एउटा छोटो अध्ययन प्रस्तुत गरिएको छ । कुनै न कुनै बाध्यताबिना मान्छेले आफ्नो थातथलो छोड्ने इच्छा गर्दैन । आफ्नो हित चाहनु संसारका सबै जीवहरूको नैसर्गिक गुण हुने बताउँदै ‘धूलो टक्टक्याएर उठ्नेहरू’ शीर्षक दिएर अमेरिका बस्दै आएको एक भुटानी शरणार्थी भक्त घिमिरे विश्वमा विभिन्न समुदाय प्रसङ्ग कोट्याउँदै भन्छन्, “अमेरिकामा हरेक नागरिकलाई खल्तीमा बन्दुक बोक्ने अनुमति प्राप्त छ । कुन सनकी व्यक्तिले सनक चढेको बेला बाटोमै गोली ठोकिदिने हो पत्तै हुँदैन । बन्दुक छुटकै कारण अस्पताल, विद्यालय, बजारलगायतका सार्वजनिक स्थलहरूमा दर्जनौँ मानिसहरूको संहार गरिन्छ । अतः लेखक घिमिरेलाई भुटानी शरणार्थी फेरि पनि आफ्नै देशमा स्थापित हुने विश्वास रहेको कुरा आफ्नो लेखमार्फत स्पष्ट पारिएको छ ।
‘सङ्घीयता र धर्मनिरपेक्षता’ शीर्षक रहेको आफ्नो लेखमा डा. प्रभा देवकोटा (कैनी) ले धर्मको परिभाषा दिँदै लेख्नुहुन्छ, “समाज व्यवस्थापनका लागि आफ्नो आवश्यकताअनुसार मानिसले बनाएका मूल्य, मान्यता, आदर्श र नीतिनियमको एक समष्टि रूप हो धर्म, समाजमा बस्न, बाँच्न, जीवन चलाउनको लागि मानवले आफ्नै वाध्यतावश सृजना गरेको व्यवस्था । तर, समय बित्दै जाँदा सबैलाई एकै ठाउँमा बाँध्नका लागि देवीदेवता, ईश्वरजस्ता अलौकिक शक्तिको निर्माण पनि गरियो जसले गर्दा धर्मको आधारभूत उद्देश्यमा ¥हास आउन थाल्यो । धर्म आ–आफ्ना उद्देश्यप्रति गर्ने स्वार्थ साधनको लागि प्रयोग हुन थाले । हुँदा हुँदा सहिष्णु र परोपकारको उद्देश्य बोक्ने धर्म त एक अर्काप्रति शत्रुता साध्ने माध्यम र अहम् तुष्टिको विषय बन्न पुगे । परोपकार र आस्थाको आशामा निमुखा र निर्दोषीहरू ठगिने र समाजका केही सीमित भुइँफुट्टाले लाभ लिन थाले । यसैमा विभिन्न उदाहरणहरू दिँदै आफ्नो भनाइलाई लेखकले प्रस्ट्याउन खोजेको देखिन्छ । धर्मको नाउँमा जातिभेद, वर्गभेद बढाएर एक आपसमा घृणा गर्न सिकाएर छुवाछुतको भावना बढाएर त्यसैबाट एक थरीले अर्को थरी मानवको शोषण गर्ने काम भएको उल्लेख गरिएको छ ।
धर्मको नाउँमा भएको युद्धले संसारमा जति मानिसको बलिदान भयो त्यति अरु कुनै रोग र दुर्घटनाले सायदै भएको कुरा जनाउँदै राज्यले कुनै पनि धर्मप्रति संलग्नता देखाउन उपयुक्त नहुने बताएको छ ।
सरकारका जिम्मेवार व्यक्तिहरूले देखाएका गुरुवस्त्र ओढेर रुद्राक्ष अर्पण गर्ने कुरा, राम मन्दिरको गर्भकथाको सृजना, ‘देवशिला’ भन्दै कालीगण्डकीबाट ढुङ्गा अयोध्या पु¥याइएका जस्ता प्रसङ्गहरू धर्मनिरपेक्षताका पक्षधरहरूलाई बिझ्ने कुरा भएको हुनाले सर्वस्वीकार्य क्रियाकलापमात्रै सार्वजनिक स्थलमा देखाउन उपयुक्त हुने सुझाव लेखले प्रस्तुत गरेको छ ।
‘नेपाली सेनाको विकासक्रम’ मा प्रेमसिंह बस्न्यात भन्नुहुन्छ, “‘सेनालाई जनता त¥साउने खालको काममा लगाई हाउगुजी’ को रूपमा प्रयोग नगरिएको पनि होइन । यद्यपि, संस्थागत रूपबाट सैनिक नेतृत्वले कहिले पनि नेपालको राजनीतिमा कू गरेको छैन । इतिहास बङ्ग्याएर कुनै संस्थाप्रति हिलो छ्यापेमा अवश्य पनि अन्याय हुनेछ ।”
‘लुना’ ले पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी र चाँगुनारायण नपाका प्रमुख जीवन खत्रीसँग भएको वार्तालाप पनि समेटेको छ ।
मासिकको अन्तिम लेख ‘च्याट जीपीटी र मान्छे’ मा वसन्त महर्जनले अहिले च्याट जीपीटीलगायत थुप्रै आर्टिफिसियल इन्टेलिजेन्सीको चर्चा भएको जनाउँदै मान्छेले अब केही गर्नुपर्दैन, सबै कम्प्युटरले नै गरिदिने हो भने मान्छेको सिर्जनालाई यसले चुनौती दिई आतङ्क नै मच्चाइरहेको उल्लेख गरेको छ ।
निकै थोरैमात्र मेमोरी पावर हुने हिजोको कम्प्युटरको बखान हुँदाको बेलामै केही कसैसँग सोध्नुहुँदैन, गुगलमा पाइन्छ, याहुमा पाइन्छ वा त्यस्तै रेफरेन्स दिएर मान्छेहरू आफ्नो बौद्धिकताको प्रदर्शन गर्दथे । तर, यी सर्च इन्जिनहरूले इन्टरनेटमा पहिल्यै राखिएका सामग्रीहरू खोजेर देखाइदिने मात्रै हो । त्यहाँ भएन भने उसले देखाउन सक्दैन । यसैकारण, मान्छेले कम्प्युटरसँग सीमित क्षमतामात्रै रहेछ भन्ने कुरा जब थाहा पाए, ऊ हिस्स प¥यो । च्याट जीपीटी पनि त्यस्तै गरी सीमित क्षमताको एउटा प्रोग्रामिङ हो । मान्छेले जति माग्यो त्यति जानकारी च्याट जीपीटीले दिन त दिन्छ तर त्यतिमात्रै दिन्छ जति ऊसँग छ । ऊ आफैँ मान्छे होइन, ऊ आफैँले सिर्जना गर्न सक्दैन । उसलाई मान्छेले नै जानकारी उपलब्ध गराइदिने हो, ऊ आफूले हेरेर, खोजेर उपलब्ध गराउन सक्दैन । अर्थात्, ऊ सीमित क्षमताका मानव निर्मित मेसिन हो भने मान्छे असीमित क्षमताका धनी र सिर्जनशील मनमस्तिष्क भएको प्राणी हो । गौतम बुद्ध र बौद्ध, साधनाको प्रसङ्ग उदाहरणको लागि प्रस्तुत गर्दै उहाँ अगाडि भन्नुहुन्छ, “ग्रन्थ अध्ययन वा जानकारी पाएकै आधारमा मान्छेले बुद्धको उपदेशलाई आत्मसात गर्न सक्ने त होइन । यसका लागि श्रद्धा, विश्वास तथा साधना गर्नुपर्दछ । श्रद्धा, विश्वास र साधना च्याट जीपीटीजस्ता मेसिनहरूसँग हुँदैन । यिनीहरूले गर्ने काम भनेको कुनै दक्ष कर्मचारीले आवश्यक जानकारीहरू तुरुन्त उपलब्ध गराइदिएको जस्तै मात्र हो ।”
जानकारी हुनु नै विद्वान् हुनु होइन । जानकारीहरू त पार्टपुर्जाजस्तै हुन्, त्यसैको आधारमा विचार निर्माण गर्ने हो । विचार निर्माणको काम मानिसले गर्ने हो, ‘च्याट जीपीटी’ जस्ता आर्टिफिसियल इन्टिलिजेन्सीले होइन । यस्ता प्रविधि मानव जातिकै लागि चुनौती भनेर तर्सनु स्वयम् मानव जातिलाई नचिन्नु हो । मौजुदा उपलब्धि माथि टेकेर अर्काे उपलब्धि खोज्दै गर्ने मानव जातिका लागि ‘च्याट जीपीटी’ चुनौती होइन, अवसरमात्रै हो । मानव जातिको इतिहासले यही कुरा बताउने निक्र्याेल गर्नुहुन्छ लेखक महर्जन ।
पृष्ठको ठाउँ–ठाउँमा छापिएका रङ्गीन विज्ञापन र सान्दर्भिक चिल्ला स्पष्ट तस्बिरले मासिकलाई आकर्षक बनाएको छ । ३६ पृष्ठको उक्त राष्ट्रिय मासिक पत्रिका पठनीय र सङ्ग्रहणीय छ । सम्पादक एवम् प्रकाशकलाई साधुवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *