संस्कृति र सम्पदा जोगाऔँ !/थँबही (ठमेल) को सार्वजनिक कमलपोखरी मासेर बनाइएको छायादेवी कम्प्लेक्स तत्काल भत्काऊ !
- मंसिर २५, २०८१
त्रिचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या उद्घाटन
भक्तपुर, ९ कार्तिक । त्रिचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या (दुईदिने सम्मेलन) बिहीबार स्थानीय ज्येष्ठ नागरिक एवं सांस्कृतिक गुरु राम घेमोसुबाट मालश्री धुनको पाश्र्वमा कलात्मक पानसमा दीप प्रज्ज्वलन गरी सुमद्घाटन भएको छ । ऐतिहासिक तथा धार्मिक स्थल ल्योसिं ख्यमा भएको उक्त तःमुंज्यामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले लिम्पियाधुरा, कालापानी नेपालको भूमिसित जग्गा साटफेर गर्ने विचारप्रति असहमति जनाउँदै त्यो क्षेत्र सामरिक महत्वको क्षेत्र भएकोले कुनै हालतमा नेपालले छोड्न नहुने विचार व्यक्त गर्नुभयो ।
पुर्खाको रगतले कोरिएको हाम्रो सार्वभौम भूमि कहीँको जग्गासित पनि साटिन नहुने स्पष्ट पार्दै उहाँले चीनले नेपालको सीमा कहीँ नमिचेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “कुनै व्यक्ति कुनै पदमा बस्नुभन्दा पनि पदअनुसारको काम उसले गरे नगरेको मुख्य हुन्छ । शिक्षक हुनु ठूलो कुरा होइन बरु पदअनुसारको पठनपाठन गर्नु ठूलो हो । भक्तपुरको शैक्षिक स्तर उठ्नुमा यहाँका शिक्षकहरूको परिश्रमको सकारात्मक परिणाम हो ।”
उहाँले भन्नुभयो, “हामी जो जहाँ जेसुकै पेशा व्यवसायमा रहे पनि इमानपूर्वक देश र जनताको सेवा गर्न समर्पित हुनुपर्छ ।” उहाँले, “बिरामीसित नर्स, डाक्टर झर्कने हो भने त्यो पेशा नै छोड्नुपर्छ । पढाउन झर्को मान्ने व्यक्ति शिक्षक हुनुहुँदैन ।”
शिष्ट भाषा आजको आवश्यकता रहेको चर्चा गर्दै उहाँले यस्ता सभा गोष्ठी सम्मेलन आफै पनि एउटा कक्षा हो भन्नुभयो ।
उहाँले सो अवसरमा जनगायक चन्द्रबहादुर श्रेष्ठ, वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठ, वरिष्ठ कार्टुनिस्ट मोहनश्याम खोकना र शिक्षाकर्मी अम्बिकामान मानन्धरलाई दोसल्ला ओढाई नगद रु. पच्चीस हजारसहित सम्मानपत्रद्वारा सम्मान गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले देश आर्थिक मन्दीतिर गइरहेकोमा चिन्ता व्यक्त गर्दै सरकारले जनता परिचालन गरेर देशलाई जोगाउन आग्रह गर्नुभयो ।
उहाँले चीनमा माओ त्सेतुङले रुसले दिएको दान सहयोग पनि नलिई जनपरिचालन गरी विकास निर्माणमा जोड दिएको दृष्टान्त दिनुभयो ।
देशले सही नेतृत्व नपाइकन देशमा सुशासन नहुने र सुशासनविना देश नबन्नेमा जोड दिँदै उहाँले रुस, मलेसिया, कतारलगायतका शासकले जनता परिचालन गरेरै देश बनाएका उदाहरणहरू दिनुभयो ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले सहकारी क्षेत्रमा व्याप्त विकृति, विसङ्गतिको चर्चा गर्दै विश्वास नभएको सहकारीमा रकम जम्मा नगर्न सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “सरकार कुहिराको काग बनेको छ । जनताको रकम कुम्ल्याएर सञ्चालकहरू विदेश भागेका छन् । जनता माइतीघर मण्डलामा धर्ना बस्नुपरेको छ । नौ अर्ब रकम डुबाउने सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई १–२ करोड धरौटीमा छोडिन्छ । उही व्यक्ति संसद् सदस्य हुन्छ; सहकारीसम्बन्धी समितिको सभापति बन्छ । अनि देश कसरी बन्छ ?”
ज्योतिषशास्त्री वीरेन्द्रप्रसाद कायष्ठले ज्योतिषीय दृष्टिमा बिस्केट जात्राबारे बोल्नुभयो भने प्रा.डा. सिद्धिवीर कर्माचार्यले समाजमा चलेका उखान टुक्काको व्यावहारिक महत्वमाथि प्रकाश पार्दै अल्छी मान्छेले प्रगति गर्न नसक्ने बताउनुभयो ।
सभामा सम्मानित कार्टुनिष्ट मोहनश्याम खोकनाले २०२८ सालदेखि आफूले कार्टुन लेखेको चर्चा गर्दै पञ्चायतकालमा आफ्नो कार्टुनका कारण पत्रिकाका सम्पादक पक्रिएको अनुभव सुनाउनुभयो भने शिक्षाकर्मी अम्बिकामान मानन्धरले सेवा निवृत्त भए पनि सेवा निवृत्त शिक्षक समाजमा रहेर शैक्षिक गतिविधिमा लागिरहेको बताउनुभयो ।
त्यस्तै अर्का दुई सम्मानित इन्जिनियर राजदास श्रेष्ठले समाजवादी शासन व्यवस्था भएको रुसमा आफूले अध्ययन गरेको र त्यहाँ मान्छेको जन्मदेखि मरणसम्म सबै सरकारले जिम्मा लिएको हुँदा जनतालाई कुनै दुःख नभएको विचार सुनाउनुभयो भने जनगायक चन्द्रबहादुर श्रेष्ठले नेपालभाषाका महाकवि गिरिजाप्रसाद जोशीको चेतनामूलक गीत सुनाउनुभयो ।
कार्यक्रममा गीतकार आनन्द अधिकारीले हजार न्युक्लियर बमभन्दा एउटा सांस्कृतिक बम शक्तिशाली हुने धारणा राख्दै सबै नेपालीमा ‘राष्ट्र देव भवः’ भन्ने भावना हुनुपर्ने सुझावका साथ ‘धुलो’ शीर्षकको कविता सुनाउनुभयो ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालको चुच्चे र बुच्चे नक्सा निर्माणको चर्चा गर्दै त्यसबेला दरबारले नै नेपालको नक्सा बुच्चे बनाएको प्रस्ट पार्नुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कूटनीतिक आचरणविपरीत विवादित क्षेत्रमा भ्रमण गरेको चर्चा गर्दै उक्त क्षेत्र भारतकै हो भन्ने देखाउन मोदीले त्यस क्षेत्रका ३२ जना प्रतिनिधिहरूलाई भेटेर छलफल गरेको उहाँले बताउनुभयो ।
विवाद सदाका लागि अन्त्य गर्न उक्त जग्गा भारतले नै लिने भए त्यसको सट्टामा बङ्गलादेशसम्म पुग्ने जग्गा नेपाललाई दिनुपर्ने धारणा राख्दै उहाँले जग्गा साटफेरका अनेक उदाहरण र विकल्पहरू छलफलका लागि प्रस्तुत गर्नुभयो ।
यसअघि एक वक्ताले उहाँको आलोचना गरेको सम्बन्धमा ‘अधकल्चो अध्येता’ भनी टिप्पणी गर्दै उहाँले पूर्ववक्ताको खण्डन गर्नुभयो ।
संसद्मा प्रेम सुवालले चुच्चे नक्सा जारी भपछि नेपालको क्षेत्रफल कति भयो भन्ने प्रश्नको अहिलेसम्म जवाफ नमिलेको चर्चा गर्दै उहाँले आफ्नो अध्ययनअनुसार अब नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग किमिमा ३७२ वर्ग किमि थपिएको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।
वरिष्ठ मनोरोग चिकित्सक डा. धनरत्न शाक्यले मानसिक रोगीहरू समाजमा आवाजविहीन हुन्छन्; आवाजविहीनहरूको आवाजलाई पनि सम्बोधन गर्न सके समाज थप सभ्य हुने बताउनुभयो ।
जलस्रोत अध्येता रत्नसंसार श्रेष्ठले संसद्मा प्रस्तुत विद्युतीय विधेयकबारे देशमा खासै चर्चा नभएकोमा आश्चर्य व्यक्त गर्दै विधेयक नेपाली भाषामा नभई अङ्ग्रेजी भाषामा किन प्रस्तुत गरियो भनी प्रश्न गर्नुभयो ।
संरा अमेरिकी राष्ट्रपतिको गलत नाम उल्लेख भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “अमेरिकाको इतिहासमा त्यो नामको व्यक्ति राष्ट्रपति बनेका छैनन् ।”
देशका हरेक नदीमा बिजुली देख्ने शासकहरूले देशको बिजुली देशमै खपत कसरी गर्ने भन्ने किन देखेनन् भनी उहाँले प्रश्न गर्नुभयो ।
नेपालमा प्रतिव्यक्ति सात हजार घनमिटर पानी छ तर पनि यहाँ पानीको सर्वत्र हाहाकार छ – न खान, न सिंच्न पाइएको छ भन्दै उहाँले लेसोथो भन्ने देशले दक्षिण अफ्रिकालाई पानी बेचेर देशको विकास गरेको उदाहरण दिनुभयो ।
“डा. के.आई सिंले भारतलाई पानीको मूल्य लिएरमात्र भारतलाई दिने शर्त राखेको र त्यो शर्तअनुसार अहिले रकम हिसाव गर्ने हो भने वार्षिक ५७ लाख डलर देशले पानीबाटमात्र कमाइ हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिलेको गणतान्त्रिक सरकार त केआई सिं जतिको पनि भएन, पानी सित्तैमा दिएर भारतमा सस्तोमा बिजुली बेच्ने सरकारी नीति गलत छ ।”
भक्तपुर क्यान्सर अस्पतालका वरिष्ठ चिकित्सक प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठले भक्तपुर नगरपालिका क्षेत्रफलको दृष्टिले देशकै सानो पालिका भए पनि शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा अरूको लागि नमुनालायक भएको चर्चा गर्दै कुनै पनि क्यान्सर उपचारको लागि अब विदेशिनुनपर्ने बताउनुभयो ।
सीमा अध्येता रतन भण्डारीले नेपाललाई धोका दिएर भारतमा सम्पत्ति जोड्ने ‘गजराज’ प्रवृत्ति बढिरहेकोमा चिन्ता व्यक्त गर्दै गणतन्त्रपछिका शासकहरूमा पनि भारतभक्ति रहेको आक्रोश व्यक्त गर्नुभयो ।
‘जनमत’ साहित्यिक पत्रिकाका सम्पादक मोहन दुवालले साहित्यिक पत्रकारिताको इतिहास सुनाउँदै साहित्यिक पत्रकारिताको १२५ वर्षमा पनि स्थिति अझै दयनीय रहेको बताउनुभयो ।
वाग्लुङका नेवारहरूले नेवार संस्कृति जोगाउँदै आएको चर्चा उक्त क्षेत्रका रामविन्दु श्रेष्ठले गर्नुभयो भने वन विज्ञान तथा वातावरण विज्ञानका अध्येता रोशन शेरचनले भक्तपुरको सांस्कृतिक निधिको प्रशंसा गर्दै देशलाई उपभोक्तावादबाट जोगाउन जनता चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।
लेखक एवं भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँको सभापपित्वमा भएको उक्त कार्यक्रममा नेपालभाषा साहित्य तःमुंज्या काठमाडौँ महानगरकी रत्ना डंगोल, नेपालभाषा साहित्य तःमुंज्या ललितपुरका महन्त महर्जनले पनि शुभकामना मन्तव्य दिनुभएको थियो भने सुरूमा आयोजक समितिका अध्यक्ष बलराम सिबन्जारले स्वागत मन्तव्य दिनुभएको थियो ।
पहिलो चरणको साहित्यिक कार्यक्रममा नवोदित तथा स्थापित साहित्यकारहरूबाट कथा, कविता, निबन्ध र गीतहरू प्रस्तुत गरेका थिए । दोस्रो चरणमा एकाङ्की, नाटक, प्रहसन, नृत्यलगायत प्रतिस्पर्धात्मक सांस्कृतिक विधाहरू प्रस्तुत गरिएको थियो ।
भाषा, साहित्य, कला र सँस्कृतिको उत्कृष्ट महाकुम्भ मेलामा समाहित हुन पाउनु मेरो लागी सबैभन्दा गौरव को विषय बन्यो ।
धन्यवाद, आयोजक ४३औं नेपाल भाषा साहित्य तः मुंज्या