नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
नेपाल क्रान्तिकारी युवा सङ्घले सन् १८२५ डिसेम्बर २६ मा रुसमा कुलीन खानदानी परिवारका युवा सैन्यहरूद्वारा गरिएको एउटा सैनिक विद्रोहको वास्तविकता उजागर गर्ने ‘रुसको डिसेम्बर विद्रोह (जारविरुद्ध षड्यन्त्र)’ नामक पुस्तक यसै वर्ष प्रकाशित ग¥यो । सो पुस्तक कार्तिक ३ गते शुक्रबार नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले एक कार्यक्रमबिच सार्वजनिक गर्नुभयो । नेपाल क्रान्तिकारी युवा सङ्घले झन्डै २ सय वर्ष अगाडि रुसका २० देखि ३० वर्षभित्रका प्रगतिशील युवा सैनिकहरूको निःस्वार्थ उद्देश्य र प्रतिबद्धतालाई पाठक र नेपाली युवाहरूमाझ पु¥याउने प्रयास ग¥यो । यसले नेपालका युवा पुस्तामा सकारात्मक सन्देश जाने आशा गर्न सकिन्छ ।
सन् १८१२ मा फ्रान्सका तानाशाही शासक नेपोलियनले रुसमाथि हमला गरेर मस्को कब्जा ग¥यो । तर, चर्को हिउँँपरेको अत्यन्त चिसो मौसममा नेपोलियन सेना रुसमा धेरै समय टिक्न सकेन । रुसी सेनाले नेपोलियनको सेनालाई गाउँ गाउँमा युद्धमा फसाएर हारको स्वाद चाख्न बाध्य बनायो । नेपोलियनको सेनालाई लखेट्दै रुसी सेना फ्रान्सको पेरिससम्म पुगे । युद्धकै सिलसिलामा रुसी सेना युरोपका विभिन्न देशमा पनि पुगे ।
रुसका केही खानदानीवर्गका छोराछोरीहरू युरोपका विभिन्न देशका विद्यालय र कलेजमा पनि पढ्थे । युरोप बसाइबाट उनीहरूले उदार राजनीतिक व्यवस्थाका कारण युरोपेली जनता राजनीतिक र सामाजिकरूपले स्वतन्त्र र शिक्षित रहेको देखे । बेलायत, फ्रान्स, अमेरिकी स्वतन्त्रता आन्दोलनका अध्ययनहरूबाट पनि उनीहरू प्रभावित भए । युरोपको प्रजातन्त्र र विकास देखेपछि उनीहरूले आफ्नो देश रुस निरङ्कुश तानाशाही राजतन्त्रको कारण अगाडि बढ्न नसकेको निष्कर्ष निकाले । उनीहरू रुसलाई जारको तानाशाहीबाट मुक्त गरी युरोपको जस्तै उदार शासन व्यवस्था ल्याएर आधुनिक र खुला देश बनाउन चाहन्थे । रुसमा संवैधानिक व्यवस्था लागू गरेर विकासको गतिमा रुसलाई अगाडि बढाउने आकाङ्क्षा उनीहरूले राख्न थाले ।
विदेशी भूमिको अनुभवले सचेत बनेका युवाहरू स्वदेश फर्किएर सन् १८१६ को फेब्रअरीमा मुक्ति सङ्घ र यसैको जगमा सन् १८१८ मा समृद्ध सङ्घजस्ता गुप्त सङ्गठनहरू स्थापना गरेर निरङ्कुश जार शासनको अन्त्य गर्ने प्रयास गरे । हुन त त्यसभन्दा अगाडि सन् १८०५ तिरै पनि युरोपको शक्ति सन्तुलन र जनताको अधिकारबारे रुसका कुलीन युवाहरूले चर्चा चलाइसकेका थिए । “रसियाजस्तो शक्तिशाली तर बर्बर राष्ट्रले युरोपमा शक्ति सन्तुलनको लक्ष्य लिएका राष्ट्रहरूको नेतृत्व गरोस् । यस्तो राष्ट्रले नै संसारलाई विनाश हुनबाट बचाउन सक्छ ।” भन्ने धारणाहरू कुलीन परिवारका युवाहरूमा उठ्न थालिसकेको थियो ।
निरङ्कुश तानाशाही जारकालीन रुसमा करिब ८० प्रतिशतभन्दा बढी जनता भूदासको रूपमा रहेका किसानहरू थिए । भूदासहरूलाई सामन्तहरूले जमिनको सानो टुक्रामा बस्न दिएर बिना ज्याला आफ्नो सबै काम गर्न लगाउँथे । यसले गर्दा किसानहरूको अवस्था अत्यन्त दयनीय थियो । भूदास प्रथाको कारण रुसको खाद्यान्न उत्पादन ओरालो लागेको थियो । भूदासहरूलाई जारले आफ्नो स्वार्थको निम्ति शान्तिको समयमा खेतमा काम लगाउने र युद्धको समयमा सेना बनाएर लड्न पठाउँथ्यो । नेपोलियनको सेनाविरुद्ध रुसका भूदासहरू सम्मिलित रुसी सेनाले बहादुरीपूर्वक लडे । यसकारण, खानदानी युवा सिपाहीँ र जर्नेलहरूमा भूदासलाई मुक्त गरी उनीहरूको आर्थिक जीवनमा परिवर्तन ल्याउन विद्यमान ऐन कानुनलाई फेरबदल गर्नुपर्छ भन्ने भावना जागृत भयो । उनीहरूले भूदासहरूको मुक्तिको निम्ति सङ्घर्षलाई अगाडि बढाए । शोषणको जाँतोमा पिसिएका भूदासहरूलाई मुक्त गर्न विद्रोह गरे । तर, विद्रोह विफल भयो । विद्रोह असफल भएपछि रुसका भूदासहरूले मुक्तिको निम्ति अर्को ३५ वर्ष कुर्नु प¥यो । सन् १८६१ मा मात्रै भूदासहरूको मुक्तिको घोषणा भयो । मुक्तिको घोषणाबाट किसानले आफुले जोती आएको जग्गाको केही भाग किन्न पाउने भयो । राज्यले जग्गाको मूल्य किसानलाई ऋणको रूपमा ४९ वर्षको किस्ताबन्दीमा फिर्ता गर्नुपर्ने व्यवस्था ग¥यो । कुलीनवर्गलाई यसबाट केही घाटा भएन तर किसान भने अनावश्यक ऋणको भारी बोक्न बाध्य भए । यो केवल छलछाम थियो । यसले किसानहरूमा असन्तोष फैलियो । यही असन्तोष नै जारविरोधी सङ्घर्षको बीउ बन्यो ।
डिसेम्बर विद्रोहको नेतृत्व कुलीन परिवारका सैनिक अफिसरहरूले गरेका थिए । रूसको डिसेम्बरवादीहरूमा परिवर्तनप्रति समर्पणको भावना भरपुर थियो । प्रेम, भाइचारा, मित्रताजस्ता मानवीय मूल्यमा उनीहरूको आस्था असीम थियो । जार शासनलाई फालेर प्रजातन्त्रको स्थापना गर्ने र सामन्तीको थिचोमिचोबाट भूदासहरूलाई मुक्त गराउने तीव्र आकाङ्क्षाका साथ विद्रोहलाई अगाडि बढाइएको थियो । तर, उनीहरूमा आन्दोलन र विद्रोहको अनुभव थिएन । उनीहरूले कामदार वर्गलाई पनि विद्रोहमा सम्मिलित गराउन सकेनन् । सिनेट चोकमा युवा सैनिकहरूले विद्रोह गरिरहँदा कामदार जनता वरपर बसेर तमासा हेरिरहेका थिए । जसको लागि सङ्घर्ष गरियो । उनीहरूलाई नै विद्रोहमा सामेल गराउनु नसक्नु डिसेम्बरवादीहरूको ठूलो सैद्धान्तिक कमजोरी साबित भयो । यसकारण, विद्रोह सफल भएन । सेन्ट पिटसबर्गको सिनेट चोकमा सामेल ३ हजार विद्रोही सेनालाई जारका ९ हजार सेनाले घेरा दिए । विद्रोही सेनाले आत्मसमर्पण नगरेपछि जारको सेनाले निर्ममतापूर्वक विद्रोही सेनालाई दबायो । त्यस लडाइँमा एक जर्नेल, १८ अफिसर र २८२ जना सिपाही मारिए भने ७९ महिला र १५० बालबालिका र ११७० जना सर्वसाधारण जनताले पनि ज्यान गुमाए । राज्यले गुप्त समाजसँग सम्बन्धित १६५ जनाविरुद्ध मुद्दा चलायो । १२१ जनामाथि जारको हत्या गर्ने षड्यन्त्रको अभियोगमा मुद्दा चलाइयो । विद्रोहको ६ महिनापछि पाँचजना विद्रोही युवालाई फाँसी दिइयो भने बाँकी विद्रोहीलाई सर्वश्वहरणसहित सदाको लागि साइबेरियामा कैद र निर्वासनको सजाय सुनाइयो । यस्तो कठोर दमन र सजायका बाबजुद रुसमा जारविरोधी विद्रोहको आगो भित्रभित्रै सल्कँदै गयो । अन्ततः सन् १९१७ को रुसी अक्टोबर क्रान्तिले कामदारवर्गको पक्षमा राज्यसत्ता कायम गरेर शोषण र दमनविरुद्ध बज्रमुक्का प्रहार ग¥यो । डिसेम्बरवादीहरूको दुःख खेर गएन । डिसेम्बरवादीहरूको विद्रोहको अनुभव नै रुसी अक्टोबर क्रान्तिको सफलता थियो । यो सत्य उजागर गर्ने पुस्तक सार्थक र पठनीय छ ।
Leave a Reply