भर्खरै :

नेपालमा समाजवादी शिक्षा आजको आवश्यकता

नेपालमा समाजवादी शिक्षा आजको आवश्यकता

शिक्षा त्यो औजार हो जसले हरेक व्यक्तिभित्र रहेको क्षमता प्रस्फुटन गराई उसको बौद्धिक, शारीरिक, नैतिक, सामाजिक आदि समग्र पक्षको विकास गर्दछ । शिक्षाले ज्ञान, सीप र अभिवृत्ति प्रदान गर्दछ ।
नेपालको संविधान २०७२ ले समाजवादउन्मुख राज्यको कल्पना गरेकोले नेपाल समाजवादतर्फ अगाडि बढ्नुपर्ने हो । शिक्षालाई किसान, मजदुर, आर्थिक एवम् भौगोलिकरूपमा पछाडि परेको सबैको पहुँच पुग्ने गरी व्यवस्था गर्नुपर्ने हुन्छ । राज्यले धनी र गरिब, गाउँ र सहर, दुर्गम र सुगम सबैलाई न्याय सङ्गतरूपमा समान शिक्षा पाउने व्यवस्था मिलाउनुपर्छ । नेपालमा जतिसुकै समान शिक्षाको नारा दिए पनि व्यवहारमा त्यस्तो छैन । राज्य शैक्षिक क्षेत्रको जिम्मेवारी लिने काममा अग्रसर हुनुपर्नेमा झन् गैरजिम्मेवार बन्दै गएको छ । कामदार मजदुर, किसान, गरिब र पिछडिएका सबैलाई समान शिक्षा दिन र देशको बृहत्तर हितको लागि समाजवादी शिक्षा आवश्यक छ । समाजवादी शिक्षा व्यवस्था लागु गर्न समाजवादी राज्य व्यवस्था चाहिन्छ । समाजवादी शिक्षामा व्यक्तिगत स्वार्थ होइन सामूहिक हित गर्ने शिक्षा दिइन्छ । यसमा सबै बालबालिकालाई सार्वजनिक र निःशुल्क शिक्षाको व्यवस्था गरिन्छ । श्रम वा उत्पादनसँग जोडिने व्यक्तिभित्र सामूहिकतावादी चरित्र निर्माण गर्ने र श्रमजीवीवर्गको हितको निम्ति दिइने शिक्षा नै समाजवादी शिक्षा हो ।
समाजवादी शिक्षाका लागि छिमेकी मित्र राष्ट्र चीनमा भएका केही प्रयोगलाई हेर्नुपर्ने हुन्छ । चीनमा समाजवादी राज्य व्यवस्था निर्माण गर्ने प्रक्रियामा सबै प्रयोगमध्ये शिक्षालाई पनि समाजवादी बनाउने प्रयोग सबैभन्दा बढी महत्वपूर्ण प्रयोग हो । समाजवादी व्यवस्था र स्थापनापछि चीनमा यो प्रयोगले समाजवादी सत्ता र मजदुर किसानवर्गको हितलाई रक्षा गर्ने शिक्षा व्यवस्थालाई जन्म दिइएको पाइन्छ । चीनको समाजवादी शिक्षा व्यवस्थाको गहन अध्ययन गरी शिक्षामा ठोस परिवर्तन ल्याउन क्रान्तिकारी शिक्षाको व्यवस्था गर्नु आजको आवश्यकता हो । चीनमा क्रान्ति सुरु भएपछि त्यहाँका कुलीनवर्गका मानिसहरूले ‘शिक्षाको कुनै वर्ग हुँदैन, शिक्षावर्ग र वर्गसङ्घर्षभन्दा टाढाको विषय हो’ भन्दै हल्ला फैलाएका थिए । तर, त्यहाँका क्रान्तिकारी शिक्षा व्यवस्थापकहरूले त्यस्तो हल्लाको सशक्त विरोध गरी बुर्जुवा विचारधाराविरुद्ध तीव्र सङ्घर्ष गर्दै क्रान्तिकारी समाजवादी शिक्षा लागु गरे ।
चीनमा प्रवेश परीक्षा लिने र त्यो परीक्षाबाट उच्च घरानियाँ, कुलीनवर्ग र पुँजीपतिवर्गका विद्यार्थीले मात्र पढ्न पाउने व्यवस्था थियो । त्यो व्यवस्थाको अन्त्य गरी नयाँ प्रणालीअनुसार सहिद, गरिब किसान र मजदुरका छोरा छोरीहरूलाई प्राथमिकता दिई शिक्षामा समान पहुँचको व्यवस्था गरियो । त्यसपछि पढाइ लेखाइका साथै श्रम र उत्पादनमा जोड दिन थालियो । यसरी चीनमा बुर्जुवा शिक्षाको अन्त्य भयो, विज्ञान प्रविधि र अनुसन्धानको क्षेत्रमा चीनले फड्को मा¥यो । धेरै वैज्ञानिक र अनुसन्धानकर्ताको जन्म भयो । शारीरिक श्रम र मानसिक श्रमबिचको अन्तर मेटाउने क्रममा बुद्धिजीवी, वैज्ञानिक र अनुसन्धानकर्ताले सहयोग गरे । शिक्षा उत्पादनसँग जोडियो । फलस्वरूप आज चीन महाशक्ति राष्ट्रको दौडमा छ ।
हाम्रो देश नेपालमा शिक्षा आम जनताको समान पहुँचमा छैन । समाजवादी शिक्षाको व्यवस्था भएको देशमा द्वैध शिक्षा नीति हुँदैन । पुँजीवादी देशहरूमा द्वैध शिक्षा नीति हुने भएकोले फरक फरक क्षमताका जनशक्ति उत्पादन हुन्छन् ।
नेपालमा आज दूरदराज गाउँ बस्तीमा भत्केको भवनमा अध्ययन गर्नुपर्ने दुरवस्था छ भने सहरमा भर्ना शुल्क लाखौँ र मासिक शुल्क हजारौँ असुल्ने निजी विद्यालयहरू छन् । यी दुई विद्यालयबिचको शैक्षिक दुरी कति फरक होला त्यो सजिलै पत्ता लगाउन सकिन्छ । धनीका छोरा छोरीहरू महँगा निजी विद्यालयमा पढ्ने तर पछाडि परेका गाउँबस्तीका गरिब किसान मजदुरका छोरा छोरीहरू सामुदायिक विद्यालयमा समयमा पाठ्यपुस्तक नपाएर रित्तो झोला बोक्न बाध्य छन् । सरकारी तथ्याङ्कअनुसार वि.सं. २०७८ मा कक्षा एकमा भर्ना भएका एघार लाख एकहत्तर हजार नौ सय सो¥ह (११,७१,९१६) जना विद्यार्थी वि.सं. २०७९ मा एस.ई.ई. परीक्षामा पाँच लाख सो¥ह हजार पाँच सय सतहत्तर (५,१६,५७७) जना सामेल भए । यसले शैक्षिक अवस्था कस्तो छ भन्ने देखाउँछ ।
पछिल्लो दिनमा नेपाली विद्यार्थीको विदेश मोह अत्यधिक बढ्दै गएको छ । यसले नेपालका कलेजहरू रित्तिँदै जाने र नेपालको पुँजी विदेश पलायन भइरहेको अवस्था छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार विगत दस वर्ष (आ.व. ७०/७१ देखि आ.व. ८०/८१ को वैशाख महिनासम्ममा) ३ खर्ब ६५ अर्ब रकम उच्च शिक्षा अध्ययनको लागि बाहिरिएको छ ।
यो कहालीलाग्दो शैक्षिक अवस्था रोक्न सामूहिकता, सामुदायिक र समभावको आधारमा व्यक्तिको व्यक्तित्व विकास गर्ने समाजवादी शिक्षा आवश्यक छ । शिक्षाको प्रमुख दर्शन समाजवाद नै बन्नुपर्छ ।
(लेखक बस्नेत श्रीधारापानी मावि खोटाङका निवृत्त शिक्षक हुनुहुन्छ ।)

स्रोत : शैक्षिक अनुभव, पूर्णाङ्क १३, कार्तिक २०८०

Leave a Reply

Your email address will not be published. Required fields are marked *