अन्तर्राष्ट्रिय विद्यार्थीहरूमाथि अस्ट्रेलियाको सीमा भनेको ‘गाई मारी गधा पोस्ने’ कार्य हो
- आश्विन १८, २०८१
दुई घण्टा जति रारा घुमेपछि हामी ताल्चातिरै फर्कियौँ – सुर्खेत झर्न टिकटको व्यवस्था मिलाउन । ताल्चा पुगेर एयरलाइन्सका एजेन्टहरूसँग भेट्न खोज्यौँ । उनीहरू बोल्यो भने पैसा पर्लाझैँ व्यवहार देखाउँथे । दसैँको मुखमा सुर्खेत नेपालगञ्ज झर्ने मानिसको चापले गर्दा टिकट पाउन उनीहरूलाई खुसामद गर्नुपर्ने अवस्था थियो । टिकट लिनको लागि आएका मानिसलाई अघिपछि लाएर हिँडेका ती एजेन्टहरूको फूर्ति फिल्मको हिरोको भन्दा कम थिएन । यो चापाचापको मौसममा उनीहरूलाई कसले भ्याउने ? ती एजेन्टहरू यात्रुहरूको सूची बनाउँदैनथे । पहिले आएका र पछि आएका यात्रुहरूको नाम सूचिबद्ध गरिदिए कुर्नै परे पनि जहाज आएपछि उड्ने त पक्का हुन्थ्यो । तर, उनीहरू मन लागेको समयमा एयरपोर्ट आउँथे, आफ्नो चिनजान र पैसा खाएर केही मानिसहरूलाई खुसुक्क टिकट बाँड्थे र फेरि विमानस्थलबाट निस्कन्थे । अघि आएका, पछि आएका भन्ने मतलब थिएन । जसले भनसुन गर्न सक्यो; उनीहरूलाई रिझाउन सक्यो त्यसले उड्न पायो, अरू ताल्चामै अलपत्र ।
हामीले एयर काष्ठमण्डपका एजेन्टसँग बल्लबल्ल भेट्यौँ, उसले भोलिपल्ट सबेरै आउन र यात्रुहरूको सूची तयार गर्न हामीलाई पो भन्यो । गोमा एयरले सबै उडानका लागि लेखिदेउन भन्दा पछिको लागि पछि नै कुरा हुन्छ, अहिले सूची बनाउने गरेको छैन भनी जवाफ दियो । चार्टर उडान भने आफूले मिलाइदिन सक्ने बतायो । नेपाल वायुसेवाका मान्छे त भेट्नै सकिएन । त्यसदिन साँझसम्म उडान भइरहे पनि हाम्रो उड्ने पालो आएन । आइतबार बिहानैदेखि मौसम त्यति खुलेको थिएन । सबेरै गएर एयर काष्ठमण्डपको बन्द कार्यालय बाहिर बसेर जम्मा भएका यात्रुहरूले लिस्ट तयार गरे तर एजेन्टको पत्तो थिएन । ऊ तल गमगढीमै थियो । बिहान नेपाल वायुसेवाले एउटा उडान ग¥यो । यात्रुहरू अरू उडानहरू कुर्दै थिए । तर एकाएक काठमाडौँमा बुद्ध एयरको विमान दुर्घटनामा परेको खबर आयो । उडानहरू सबै स्थगित भए । त्यसदिन कुनै उडान नहुने भन्ने समाचार आएपछि ताल्चा बसाइँ एक दिनलाई लम्बियो । हामीले विमानस्थल सुरक्षार्थ बसेका प्रहरी नायव निरीक्षक, उड्डयन प्राधिकरणका प्रमुखसँग यात्रुहरूको चाप र त्यसलाई व्यवस्थित गर्नेबारे कुरा ग¥यौँ । एकपटक सबै एयरलाइन्सका एजेन्टहरूलाई राखेर यात्रुहरूको सूची बनाउने र क्रमैसँग टिकट बाँड्ने सम्झौता गराएको तर अहिले आएर त्यसको पालना नभएको कुरा भयो । यस्तो लापरबाही र मनलाग्दो रोक्न प्रशासन र प्राधिकरण दुवै असफल थिए । एयरलाइन्सका स्थानीय एजेन्टहरूले प्रशासनको कुरा नटेरे पनि प्रशासन निरीह थियो वा केही कारबाही गर्न चाहिरहेको थिएन । त्यो उनीहरूलाई नै थाहा होला ! त्यो दिन गमगढीको रारा एफएममा गोमा एयरले मनलाग्दो भाडा उठाएर उडान गरायो, तीन हजार भाडामा बा¥ह हजारसम्म लियो भनेर समाचार आयो । जिल्ला प्रशासन अधिकारीले चासो दिएर फोन त गरेछन् तर उनको कुराले ती स्थानीय एजेन्टहरूलाई छुने कुरै भएन । त्यहाँ ताल्चामा नौला मानिस हामीमात्र थियौँ । हामीले नै त्यो कुरा एफएममा पु¥याएको भन्ने सायद ती एजेन्टहरूलाई लाग्यो होला । हामीले गोमा एयरको सुर्खेत कार्यालयलाई फोन गरेका थियौँ । त्यसैले होला, अब ती एजेन्टहरू झन् हामीसँग तर्किएर हिँड्न थाले । सोमबार उडान हुन थाल्यो । तर, एक दिनअघि हामीले दिएको नामको लिस्ट बेकामेय बन्यो । टिकट दिने भनी अर्कै सूची तयार भइसकेछ । त्यसै दिन मात्र ताल्चा चढेका केही यात्रुहरू त्यही दिनै उडे । तर, हप्ता दिनदेखि आएकाहरूले टिकट पाएनन् । त्यस दिन पनि हामीले टिकट पाएनौँ । बिचमा पैसा लिएर टिकट मिलाउनेहरूले सिधै हामीसँग पैसा माग्न सकेनन् र तपाईँहरूलाई टिकट मिलाइदिन्छु पनि भनेनन् । त्यो दिन पनि उड्न नपाउने भयो । छटपटी बढ्दो थियो । महिना दिन फिल्डमा खटिएको थकान बाँकी थियो । दुई–तीन दिन हिँडेर जुम्ला जानलाई थकान र सामानको भारीले रोकिरहेको थियो । कसरी हो कुन्नि ‘गोमा एयरको जहाज चार्टर गर्ने’ हल्ला चलेको थियो । अरू एयरलाइन्सका मान्छेहरू र स्थानीयहरू पनि हामीलाई त्यही सोध्थे । चार्टर गर्ने एउटा विकल्प भए पनि हामीले निर्णय भने गरेका थिएनौँ । यो हल्लाले गर्दा सायद अरू एयरलाइन्सले हामीलाई टिकट दिन पनि मानेनन् । अरू उपाय नलागेर जहाज चार्टर गर्ने कुरा ग¥यौँ । आफ्नो हातमाथि पार्न गोमाका एजेन्टहरूले निवेदन लेख्न भने । निवेदन लेखेर दिँदा पनि उड्ने पक्का जस्तो कुरा गरेनन् । चिउरा चपाएर बोल्थे ।
एक महिना गमगढी बसेर दसैँ–तिहारपछि मात्र काठमाडौँतिर लाग्ने विचार पनि नगरेका होइनौँ । तर, मिल्यो भने सकेसम्म चाँडो त्यहाँबाट जानु पनि त थियो । बिनाकाम चार दिनसम्म त्यतिकै बस्नुपर्दा छटपटी र दिक्दारी बढ्दै थियो । मङ्गलबार बिहान जहाज चार्टरका लागि रु. साठी हजार बुझायौँ । चार जना यात्रु र फिल्डका सामान गरी पूरै जहाज चार्टर गर्ने कुरा भयो । टिकट नदिई त्यहाँ सिधै बोर्डिङ पास दिइँदो रहेछ । पैसा तिरेपछि पनि उडान पक्का भने थिएन । कहिले जहाज आउँदैन भन्थे, कहिले सामान्य टिकटको उडान पहिले हुन्छ भन्थे । सुर्खेतको कार्यालयमा फोन गर्दा मुगुको उडान सिमिकोट र डोल्पापछि हुने जानकारी आयो । अब जसरी पनि जानुपर्छ भनेर झोला र सामान लिई सुरक्षा जाँच हुने ठाउँमा गएर बस्यौँ । त्यहाँ पुगेपछि हामीले बल्ल थाहा पायौँ – मुगुबाट उड्नको लागि त्यो स्थानमा ‘धर्ना’ दिनुपर्दाे रहेछ । एयर काष्ठमण्डपको जहाज आउँदा त्यहाँ यात्रुहरूबिच हानथाप थियो । त्यसबेला, त्यहाँ स्थानीय व्यक्तिसँग चिनजान भयो । उहाँले सबै कुरा बुझ्नु भएपछि म गोमाको केटासँग कुरा गर्छु भन्नुभयो । एकछिन पछि उहाँ आउनुभयो र अबको उडानमा तपाईँहरूलाई नै उडाउँछ मैले कुरा गरेँ भन्नुभयो । जहाज नेपालगञ्जबाट उडिसकेको थियो । हामीले सम्पर्क गर्दा गोमा एयरका एजेन्ट भने तपाईँहरूको लागि होइन, यो उडान भन्दै थिए । उनी दुईतिर दुईवटा कुरा गर्दै थिए । गोमाको सुर्खेत कार्यालयमा फोन गरेर भन्न लगाएपछि बल्ल उनले सुरक्षा जाँच गराएर आउनुस् भने । सुरक्षा जाँच सिध्याएर तल धावन मार्गमा जाँदा पनि मलाई भने उड्न पाउने कुरामा शङ्कै थियो । ती एजेन्टहरूको हरेक कुरा अब विश्वास लाग्न छोडेको थियो । नेपालगञ्जबाट उडेको जहाज पहिले सुर्खेत गएछ र पछि मुगु आयो । ती एजेन्टहरूले पैसा कमाउने अर्काे काइदा पनि सोचेका रहेछन् ।
हाम्रो टोलीले पूरै जहाज चार्टर गरे पनि त्यसमा सीट खाली हुन्थ्यो । पाँच हजार रुपियाँ दिएर एक अर्काे यात्रुलाई उनीहरूले त्यही जहाजमा चढाउने मनसाय राखेका रहेछन् । ताल्चामा अवतरण भएपछि जहाजका पाइलटहरूले ४ जना मानिस र सामान हुँदाहुँदै पाँचौँ व्यक्ति लिएर उड्न गा¥हो हुन्छ भन्दै मानेनन् । छोटो र कच्ची धावनमार्गका कारण ९ जनासम्म बोक्न सक्ने जहाजले पनि मुगु छोड्दा मुस्किलले ५ जनामात्र यात्रु बोक्ने गर्छ । जहाजमा बसेर त्यसले ताल्चा विमानस्थल छोड्दा बल्ल त्यो छटपट्टी कम भयो, कुनै अल्झन वा कैदबाट छुटेझैँ भयो ।
स्थानीय एजेन्टहरूको बदमासी, प्रशासन, उड्डयन प्राधिकरणको निरीहताका कारण कति यात्रुहरूले विनाकाम अल्झेर बस्नुपर्छ । यात्रुको चाप हुने समयमा डलर पाउनेतिर उडान भर्ने यात्रुवाहक एयरलाइन्सहरूलाई कारबाही गर्न पनि प्राधिकरण सक्दैन । पहिला खाद्यान्न ढुवानीका लागि सरकारले रुसी हेलिकप्टर भाडामा लिन्थ्यो रे । टनका टन चामल बोक्ने ती हेलिकप्टरले फर्कँदा ३५ जनाभन्दा बढी यात्रु बोकेर जान्थ्यो । दसैँको जस्तो चापको बेला ६० जनासम्म बोकेर लान सक्थ्यो रे । तर, पछि खाद्यान्न ढुवानीका लागि सरकारले एउटा इन्जिन भएका साना सेस्ना (Cessna) विमानहरूलाई जिम्मा दियो । १०/१५ क्विन्टलमात्र ढुवानी गर्नसक्ने यी साना जहाजहरूले यात्रुहरू बढीमा ६ देखि ८ जनासम्म बोक्छन् । यसरी यात्रुको चाप पर्ने बेलामा यी विमानहरूले त्यो चाप धान्न सक्दैनन् ।
मुगुको प्राकृतिक सुन्दरताको आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सके पनि त्यहाँ पुग्ने र फर्कने व्यवस्था राम्रो नभएसम्म पर्यटन राम्रोसँग फस्टाउन सक्दैन । रारा ताल, प्राकृतिक सुन्दरता, जैविक विविधता देखाएर पर्यटन क्षेत्रमा विकास गर्न सके त्यहाँ जनता लाभान्वित हुने थिए । गमगढीसम्म निकट भविष्यमा सडक पुग्दै छ तर बा¥हैमास चल्ने सडक तयार हुन अझै समय लाग्नेछ । पदयात्राको लागि जुम्लाबाट पैदल आउने एउटा विकल्पबाहेक ताल्चाको विमानस्थल नै एकमात्र विकल्प हो । त्यसलाई व्यवस्थित गर्न सकेमात्र हामीले सोचेको प्रतिफल पाउन सक्नेछौँ ।
मैले मुगुको यो भ्रमणताका खिचेका झरना, हिमाल, रारा तालजस्ता प्राकृतिक बरदानका तस्बिरहरू हेरेर केही विदेशी साथीहरूले मलाई सोधे, “यो भू–स्वर्गमा कसरी जाने, कति दिन लाग्छ ?” मैले भनेँ, “काठमाडौँबाट नेपालगञ्ज र नेपालगञ्जबाट जुम्ला उडान र त्यहाँबाट तीनदिनको पदयात्रा । होइन, तिमी पैदलयात्रा चाहन्नौ भने नेपालगञ्ज वा सुर्खेतबाट ताल्चासम्म उडान र त्यहाँबाट ३ घण्टा पैदल रारासम्म । झण्डै ५ देखि ७ दिन ।” तर, मैले उनीहरूलाई नभनेको कुरा थियो, “मुगु जान मैले सुर्खेतमा विनाकाम ५ दिन विमान कुरेँ र सुर्खेत फर्किन ताल्चामा ४ दिन । यदि अहिलेको जस्तै अव्यवस्था कायम रह्यो भने तिम्रो यात्रा अरू १० दिन जति लम्बिनेछ ।”
२०१२ अक्टोबर
समाप्त
Leave a Reply