भर्खरै :

बैठक बस्ने तर सीमा सुरक्षा नहुने

बैठक बस्ने तर सीमा सुरक्षा नहुने

नेपाल–भारत सीमा खुला भएको कारण नेपाल–भारत सीमामा आपराधिक घटना हुनु स्वाभाविक हो । सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल–भारतको सीमा व्यवस्थापन हुनुपर्छ । भारतबाट नेपाल र नेपालबाट भारतमा जहिल्यै खुला ओहोरदोहर भइरहने भएकोले पनि आपराधिक घटनाहरू दोहोरिरहन्छन् । आपराधिक गतिविधि हुन नदिन कहिले नेपालमा त कहिले भारतमा नेपाल–भारत सीमा सुरक्षा बैठक प्रत्येक वर्ष हुन्छ । सीमा वारपार अपराध नियन्त्रणबारे बैठककेन्द्रित भए पनि अपराध नियन्त्रण भइरहको छैन । बैठक हरेक वर्ष हुने तर सीमा सुरक्षा कहिल्यै नहुने समस्या अद्यापि छ ।
पहिलो कुरा सीमा स्तम्भ नै सुरक्षित छैन । कति सीमा स्तम्भ हराइसकेको छ । हराइसकेको सीमा स्तम्भ सोही ठाउँमा राख्ने काम भइरहेको छैन । कति सीमा स्तम्भ जीर्ण भइसकेको छ, त्यो पनि मर्मत हुँदैन । सीमा स्तम्भ फाल्ने, फालेर अन्यत्र सार्ने काम भारतीय पक्षबाट भइरहेको छ, त्यसमा रोकथाम हुनुपर्छ । नेपाल–भारत सीमा छुट्याउने सीमा स्तम्भ नै बेपत्ता पार्ने, फाल्ने काम भयो भने सीमा सुरक्षा कसरी हुन्छ ? दोस्रो कुरा, नेपाल–भारत सीमा व्यवस्थापन हुनुपर्छ । नेपाल–भारतको सीमाङ्कन हुनुपर्छ । व्यवस्थित सीमाङ्कन नभएकै कारण नेपाल–भारत सीमा विवाद यथावत् छ । नेपाल–भारतको यो सीमा विवादले पनि नेपाल र भारतबिचको सम्बन्धमा असर परेको छ । त्यसकारण, दुई पक्ष बसेर सदाको लागि सीमा विवाद टुङ्ग्याउनुपर्छ ।
सीमा पार अपराधको रोकथाम गर्न नसक्नु र दशगजामा सुरक्षा व्यवस्था नहुनु पनि देशको अर्को समस्या हो । भारतीय पक्षले जे गरे पनि नेपाली पक्षले सहेर बस्नुपर्ने, अपमानित हुनुपर्ने आफ्नो भूमि नै छोड्नुपर्ने समस्या छ । लुटपाट हुने, नक्कली नोटको कारोबार हुने, लागूऔषधको कारोबार हुने, बेपत्ता पार्ने, बेचबिखन हुने काम भारतीय पक्षबाट भइरहेको छ । कति चेलीहरू बेश्यालयमा पु¥याइन्छ । मानव अङ्गको बेचबिखन हुन्छ । चोरी चकारी हुन्छ । महिला हिंसा हुन्छ । बलात्कार हुन्छ । यस्ता आपराधिक घटनाहरू नियन्त्रणमा भारतीय पक्षको कहिले ध्यान पुग्ने हो ? दशकौँ देखि हुँदै आएको यो समस्या समाधानको उपाय किन खोज्दैन र किन पहल गर्दैन ?
सीमा नाकामा विषादी तरकारी हो होइन हेर्नुपर्छ । पठाइने रासायनिक मल गुणस्तरयुक्त हो होइन, तौल पुग्छ पुग्दैन या म्याद नाघेको हो होइन सबै परीक्षण गर्नुपर्छ र परीक्षण गरेर गुणस्तरीय या उपयुक्त भएमात्र नेपालमा पठाउनुपर्छ । नेपाल–भारत सीमामा शक्तिको आडमा भारतीय पक्षले नेपालीलाई धम्काउने, तर्साउने, लखेट्ने काम गरिरहेको छ । बस्ती नै उठाएर सास्ती गर्ने, एसबीबीको बलमा नेपाली भूमिमा टहरा, भवन बनाउने, भत्काउन आग्रह गर्दा दबाउने काममा पनि नियन्त्रण हुनु आवश्यक छ । यस्ता सबै आपराधिक र हिंसात्मक घटना हुनुको कारण खुला सीमा हो । भारततर्फ भारतीय सशस्त्र सीमा बल र नेपालतर्फ सशस्त्र प्रहरी बल भए पनि बैठकमा भए गरेका समझदारी, सल्लाह र छलफलअनुसार व्यवहारमा लागु हुँदैन । सीमा क्षेत्रमा देखिएका नयाँ चुनौती र त्यसको निकासबारे बैठक केन्द्रित भए पनि त्यो व्यवहारमा आउँदैन । यस्ता बैठकहरू धेरै पटक भए । हरेक पटक बैठकमा निकासका उपायबारे कुरा भए । तर, लागु हुँदैन किन ? लागु गर्नेतर्फ भारतीय पक्षको ध्यान किन जाँदैन ? के यो भारतको बलमिचाइ होइन ? के यो शक्ति राष्ट्र भारतको अहङ्कार होइन ? भारतीय पक्षको यस्तो दादागिरी नेपाल र नेपाली जनताले कहिलेसम्म सहेर बस्ने ?
मित्र देश भारतले नेपाललाई शत्रुको व्यवहार गरिरहेको छ । मित्र देशको नाउँ जोडेर भारतले नेपाललाई आयस्रोतको देश बनाइरहेको छ । भारतीय एकाधिकार पुँजी र नेपाल–भारतबिचको असमान सन्धि यसका दृष्ष्टान्तहरू हुन् । छिमेकी मित्र र ठूलो देशको हैसियतले भारतले सानो देश नेपालमा विनास्वार्थ, बिनासर्त साथ र सहयोग गर्नुपर्ने हो† विकासमा टेवा पु¥याउनुपर्ने हो । तर, भारत सरकारले सानो विकास र आर्थिक सहयोगको लोभ देखाएर देशका ठूलठूला स्रोत र साधन कब्जामा लिने काम गरिरहेको छ, देशमा सीमा मिची अतिक्रमण गरिरहेको छ । यो मित्रघात हो, देशघात हो । छिमेकी देश भारतले नेपालमा भइरहेको मित्रघात, देशघात, अतिक्रमण र थिचोमिचो रोक्नुपर्छ । अनि मात्र भारत नेपाल–भारतको असल मित्र देश बन्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *