भर्खरै :

गाउँ र देश राम्रो भए को जान्थ्यो सहर र विदेश !

  • कार्तिक २९, २०८०
  • कुमार श्रेष्ठ
  • Uncategorized
गाउँ र देश राम्रो भए को जान्थ्यो सहर र विदेश !

गाउँ, कृषिमा रमाउन चाहने जाँगरिला मानिसको लागि हो । यो, सहरको अत्याधुनिकताजन्य वातावरणीय र मानवीय प्रदूषणबाट विरक्तिएकाका लागि सन्तोषको सास फेर्ने ठाउँ हो । तर, हामी अल्छि हुन थालेका छौँ । हामीलाई सहरको अत्याधुनिकताले विरक्त बनाउन पनि बाँकी नै छ । त्यसैले सहरिया जीवनप्रति हाम्रो आकर्षण उत्तरोत्तर बढेको छ । शिक्षित भएका कारण हामी अफिसमा बसेर काम गर्ने खालको (भर्सक कामै गर्नुनपर्ने) जागिर खोज्छौँ । माटोमा टेकेर/छोएर गर्ने काम हामीलाई मनै पर्दैन । आधुनिक प्रविधिले हामीलाई, प्रकृतिबाट अलग्याएर एकलकाटे प्राणी बनाउँदै छ ।
गाउँको महत्व अपार छ । त्यो ठाउँ आध्यात्मिक आनन्दप्राप्तिका लागि हो । प्राचीन ऋषिमुनिहरू हिमाल, पहाड, जङ्गल र त्यतातिरका गुफामा ध्यानस्थ भएर आनन्द प्राप्त गर्थे । ज्ञान प्राप्त गर्थे । सिद्धार्थ गौतमले पीपलको रुखमुनि बसेर ध्यान गर्दा ज्ञान प्राप्त गरेको सर्वाविदित्तै छ । तर, आजकल हामी भौतिकवादी बन्दै छौँ । प्राकृतिक आनन्द दिने गाउँमा होइन, सहरमा बसेर विज्ञानको सुुविधा उपभोग गर्न पाउँदा रमाउँदै छौँ । झन्झन् उन्नतिशील हुँदै आएको युगले मानिसलाई झन्झन् साँघुरो घेरामा कैद गर्दो रहेछ !
यति भएर पनि गाउँको धेरै महत्व छ । गाउँ हाम्रो अस्तित्वको उद्गमस्थल र जीवनदाता हो । हामीलाई सभ्यता सिकाउने माता हो । औषधिसरिका अग्र्यानिक अन्नबाली तथा फलफुल गाउँमै उब्जाइन्छन् । श्रम र सहयोगी भावना त्यतै सिकिन्छ । सुन्दरता र स्वच्छतासहितको प्राकृतिक अस्पताल लाग्ने स्वस्थकर हावापानी त्यतै अनुभव गर्न सकिन्छ । अमृतमय खानेपानीका मुहानहरू त्यतै छन् । अनेकौँ प्रकारका मृतसञ्जीवनी औषधि बनाउन सकिने जङ्गल/जडीबुटीका भण्डार त्यतै छन् । सर्वेक्षण, खोज, पहिचान गरी खन्न बाँकी रहेका खनिज पदार्थका खानी त्यतै छन् । जीवन्त अनुभव र ज्ञान दिने परिवेश गाउँमै पाइन्छ । झर्रा नेपाली शब्दसहित नेपाली भाषाको प्रयोग पनि गाउँमै हुन्छ । त्यसैले, गाउँलाई आदरणीय गुरुका पनि गुरु मान्नुपर्छ । अविस्मरणीय तीर्थस्थल ठान्नुपर्छ ।
नेपाल गाउँ नै गाउँले भरिएको देश हो । भौतक विज्ञानले बिटुलो नबनाएका गाउँहरू अझै पनि हामीकहाँ छन् । तिनलाई त्यहाँको मौलिकता नबिगारिकन विकास गर्ने काम बाँकी नै छ । संरक्षण गर्ने काम त्यसै छ । यीभन्दा पनि ती स्थलहरूसम्म पर्यटक पु¥याउने काम बाँकी नै छ ।
नेपालको वास्तविक विकास भन्नु नै हाम्रा गाउँको विकास हो । तर, शिक्षा र चेतनाको स्तर बढेको आजको पुँजीवादी अत्याधुनिक युगमा विकास भनेको गाउँ रित्तिँदै जानु र सहर भरिँदै जानु अनि गाउँ मेटिँदै जानु र नयाँ सहर बन्दै जानुलाई मानिँदो रहेछ ! सहरलाई सभ्यताको विकसित रूप र गाउँलाई पिछडिएको स्वरूप ठानिँदो रहेछ !
अहिले सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादीले पोहोर सम्पन्न आठौँ अधिवेशनमा गाउँलक्षित ‘कृषि क्रान्ति’ लाई पार्टीको दस्तावेजमा समावेश गरेको थियो । यसअनुसार प्रत्येक नेता वर्षमा १५ दिन गाउँ फर्कनुपर्ने, हरेक पालिकामा अनिवार्यरूपमा कम्तीमा ५० जना संलग्न गरी एक कृषि उद्यम ६ महिनाभित्र स्थापना गर्ने, हरेक पार्टी कार्यकर्ताले वर्षमा १५ दिन ती स्थापित कृषि फार्म या उद्योगमा श्रम गर्नुपर्नेजस्ता कुराहरू आए । वास्तवमा आफूलाई गरिब–दुःखी, शोषित–पीडित, ज्यामी–मजदुर र श्रमजीवीको पार्टी बताउने माओवादीले गर्नुपर्ने त्यस्तै काम हो । बनाउनुपर्ने त्यस्तै नीति हो । तर कामभन्दा पनि जनतामाझ भ्रम छर्न सिपालु माओवादीका उल्लिखित कुराहरू पत्याइएन । पदधारी ठूलासाना नेतालाई पद र पेटले नै श्रमका काम गर्न देलाजस्तो लाग्दैन । भनिन्छ, अघि बैङ्क लुट्न अगाडि सर्ने अधिकांश माओवादी कार्यकर्ताहरू आजकल जग्गा दलाली, ठेक्कापट्टा र शेयर कारोबारमा रमाएका छन् । टाठाबाठाका लागि सजिलो र नाफामुखी कामै यस्तै रहेछ ! यो अवस्थामा घोषित ‘कृषि ‘क्रान्ति’ सम्पन्न होला भनेर के पत्याउनु ! नभन्दै त्यस सम्बन्धमा अहिलेसम्म पनि काम सुरु नभएपछि, ‘माओवादी भ्रामक प्रवृत्ति’ को असली परिचय फेरि उजागर भएको छ ।
पशुले त सफा ठाउँ, सहज बसाइँ र मिठो खानेकुरा खोज्छ भने मानिसजस्तो चेतनशील पं्राणीले कठिनाइको विकल्प खोज्नु स्वाभाविकै हो । समस्याको समाधान रोज्नु उसको सक्रियता हो र असुविधाबाट सुविधामुखी हुन चाहनु उसमा भएको प्रगतिशील क्रियाकलाप नै हो । यस अर्थमा, कठिनाइ, समस्या र असुविधाका कारण कोही व्यक्ति बसाइँ सर्छ भने त्यसलाई अस्वाभाविक भन्न मिल्दैन । सङ्घीयतापछि देशमा तीन तीन तहका अधिकारसम्पन्न सरकार छन् । गाउँबाट बसाइँसराइलाई निरुत्साहित गर्नका लागि गाउँमा नै बसौँ बसौँ लाग्ने खालको वातावरण किन बनाइँदैन ? गाउँको त के कुरा ! हुँदा हुँदा अब त देशमै बस्न नसकिने वातावरण बनाइसकियो ! गाउँको वातावरण सहज र राम्रो भएको भए को सहर आउँथ्यो ! देशको वातावरण सहज र राम्रो भएको भए को विदेश जान्थ्यो ! कतिपय अपवाद होला । नत्र, आफ्नो जन्मथलो गाउँबाट सहर र स्वदेशबाट विदेश पलायन हुनुको कारण, रहर नभएर वाध्यता हो भन्ने कुरा भनिरहनु नपर्ला ।
गाउँबाट बसाइँसराइ र विदेश पलायन कम गर्नका लागि गर्नुपर्ने कामहरू यी हुनसक्छन् :
(क) स्वदेशमै उद्योगधन्दा खोलेर रोजगारी सिर्जना गर्ने,
(ख) गाउँमा एकीकृत बसोबासको योजना तत्काल बनाएर कार्यान्वयन गरी, त्यहाँ बसोबासरत जनताको दैनिक जीवनलाई सहज बनाउने कुराको बन्दोबस्त गर्ने,
(ग) कृषिलाई यान्त्रिकीकरण गरी शिक्षित जनशक्तिलाई त्यसमा लाग्न आकर्षक सुविधासहित प्रोत्साहन गर्ने,
(घ) कुनै पनि खाद्यान्न, तरकारी, फलफुल, मसला भारतलगायत अन्य देशबाट आयात नगर्ने । यहाँ उत्पादन भएका पनि निर्यात गरी यहीँ सर्वसुलभ हुने व्यवस्था मिलाउने,
(ङ) प्रत्येक गाउँलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न ठोस योजना बनाएर काम गर्ने,
(च) हाम्रो शिक्षालाई श्रमसँग जोड्ने नीति बनाउने । यसअन्तर्गत कक्षा ५ देखि माथि पढ्ने सबै विद्यार्थीलाई खेतबारीमा काम गर्न लगाएर शिक्षालाई प्रयोगात्मक र परियोजनामुखी बनाउने ।
यस्ता कुरातर्फ हाम्रो सरकार कहिले कठोर भएर लाग्ला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *