प्यालेस्टिनी जनता र यहुदी सर्वसाधारण – २
- मंसिर २०, २०८०
स्वदेशमै रहेको स्रोत र साधन उपयोग गरी उत्पादिन सामान स्वदेशमै बिक्री वितरण हुनुपर्छ र बढी भएको सामान विदेशमा निर्यात गर्नुपर्छ । नत्र देश विकास सम्भव छैन; श्रमजीवी जनताको जीवनस्तर माथि उठ्ने छैन । स्वदेशी सामान कुहाएर विदेशी सामान भित्याएर यहाँका जनताको जीवन कसरी चल्छ ? स्वदेशी सामान कुहाएर विदेशी सामान भित्याएपछि यहाँका पेसाकर्मीहरू पनि निरास हुन्छन् र विस्तार गर्नुपर्ने पेसा हटाउन बेर लाग्दैन । यस वर्षको तिहारमा आफ्नै देशमा पुष्प खेती गरेर फुलाएको सयपत्री फूल विदेशी या भारतको फूल भित्रिएको कारण लाखौँ रकम बराबरको सयपत्री फूल बेच्न पाइएन या खेर गयो । यसले पुष्प व्यवसायीहरू निरास भए । जीवन जोहो गर्न गरिएको पुष्प खेती घाटामा गएपछि या फूलको माला बिक्री नभएपछि कसरी पुष्प खेती विकास हुन्छ ? आफ्नो माटोमा फुलेको फूललाई ध्यान नदिँदा या विदेशी फूल भित्याउँदा यो समस्या देखिएको हो ।
बिक्री नभएर ट्रकका ट्रक गोलभेँडा सडकमा फालेको हामीले देखेकै हौँ । सडकमा बन्डा फालेको पनि हामीले देखेका छौँ । आफ्नै देशमा उत्पादन भएको तरकारी बिक्री नहुँदा या तरकारीको मूल्य नपाउँदा तरकारी खेती कृषकहरूको जीवन जोहो गर्न कठिन हुन्छ । सरकारले आ–आफ्नो क्षेत्रमा विशेषज्ञता हासिल गर्ने वातावरण तयार गर्नुपर्छ । देशको लागि आवश्यक दक्ष जनशक्ति तयार गर्नुपर्छ । हरेक क्षेत्रमा विशेषज्ञ तयार गर्ने पूर्वाधार सरकारले तयार गर्नुपर्छ । देशको लागि आवश्यक आधारभूत वस्तु स्वदेशमै उत्पादन नभएसम्म देश आत्मनिर्भर हुनेछैन । भारतले बेलाबखत खाद्यान्न, पेट्रोलियम पदार्थ नपठाउँदा नेपालमा बरोबर समस्या देखिएकै हो । एक समय भारतले चामल र गहुँ निर्यात नगर्ने निर्णय गर्दा नेपालको मैदा मिल बन्द भएको थियो र चामलको समस्या भएको थियो । यसरी नै चीनले पनि आवश्यक सामान नेपालमा पठाएन भने नेपालको जनजीवन के होला ? के यसतर्फ सरकारले सोच्नुपरेन ? सरकारले नेपाललाई आत्मनिर्भर बनाउने पूर्वाधार तयार गर्नुपर्दैन ? सरकारको नेतृत्व पटक–पटक गर्दैमा, पटक–पटक सरकारमा सहभागी हुँदैमा देश आत्मनिर्भर हुने होइन । सरकार र पार्टीको अनुभव लामो हुँदैमा देश समृद्ध बन्ने होइन ।
सरकारले देशमा भइरहेको अपराध नियन्त्रण नगर्ने, अनियमितता नरोक्ने, भ्रष्टाचार नियन्त्रण नगर्ने, अन्धविश्वास, कुरीति, विकृति नरोक्ने, कलकारखाना खोलेर रोजगारी दिनुको सट्टा उद्योग, कलकारखाना डुबाउने, दक्ष जनशक्ति विदेश पठाउने आदि काम गरेर देश कसरी समृद्ध बन्छ ? नेपालमा ६ महिना कुनै देशले कुनै सामान पठाएन भने नेपाल सङ्कटको देश बन्छ, नेपालमा हाहाकार हुन्छ । तर, क्युवामा लामो दशकदेखि अमेरिकाले नाकाबन्दी गरे पनि त्यहाँको जनताको जीवन चलिरहेको छ । प्रजग कोरियामा नाकाबन्दी भए पनि हाहाकार भएको छैन । नाकाबन्दी गरेपछि देशको विकास र प्रगतिमा बाधा पर्छ र नोक्सान हुन्छ† यो स्वाभाविक हो ।
सरसफाइ र शिक्षामा प्रजातान्त्रिक जन–गणतन्त्र कोरिया विश्वकै नमुना देश मान्नुपर्छ । प्रजग कोरियाली सरकार सिङ्गो देशलाई बुद्धिजीवीकरण गर्ने अभियानमा छ । क्युवा स्वास्थ्योपचार या सेवा उपलब्ध गराउने काममा विश्वकै नमुना देश मान्नुपर्छ । हरेक क्षेत्र र समुदायमा त्यहाँको महिला सहभागिता राम्रो छ । तर, नेपाल अहिलेसम्म साक्षर देश बनेको छैन । साक्षर देश बनाउने सपना पूरा भएको छैन । संसारकै सबभन्दा बढी जनसङ्ख्या भएको देश चीन गरिबमुक्त भएको छ । आवश्यक जनशक्ति तयार गर्दै प्राविधिक तथा आर्थिक क्षेत्रमा चीन अगाडि बढ्दै छ । चीन कुनै दिन विश्वकै एक शक्तिशाली र समृद्ध देश बन्ने छ । चीन त्यस मार्गमा हिँडिरहेको छ । यसको सफलता त्यहाँको सरकार, दल, जनता, सेना र कर्मचारीको व्यापक दृष्टिकोण हो । तर, नेपालमा भागबन्डाको राजनीति हुन्छ । सरकारमा जान पाए, मन्त्री हुन पाए नेताहरू सिद्धान्त र विचारलाई लात मार्छन् । अनि नेपाल कसरी विकास हुन्छ ?
Leave a Reply