भर्खरै :

प्राध्यापक बन्न कठोर सङ्घर्ष

प्राध्यापक बन्न कठोर सङ्घर्ष

सरकारी कर्मचारीले प्राप्त गर्ने सबैभन्दा उच्च विशिष्ट श्रेणी भएझैँ प्राध्यापन क्षेत्रको सबैभन्दा उच्च पद प्राध्यापक हो । अतः यस पेसामा लागेका हरेक व्यक्तिको प्राध्यापक भएर अवकाश पाउने धोको हुन्छ । यो स्वाभाविक पनि हो । बोलीचालीको भाषामा कलेजमा/ पढाउने जो कोहीलाई प्रोफेसर भनिन्छ तर वास्तवमा विश्वविद्यालयमा पढाउँदैमा प्राध्यापक होइन्न पहिले सहायक प्राध्यापक (असिस्टेन्ट लेक्चरर), उपप्राध्यापक (लेक्चरर), सहप्राध्यापक (रिडर) हुँदै प्राध्यापक (प्रोफेसर) हुने प्रावधान छ ।
सन् १९५९ मा स्थापित नेपालको सबैभन्दा पुरानो सर्वोच्च शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय त्यसबेला देशभरबाट विद्यालय शिक्षा समाप्त गरेर उच्च शिक्षा अध्ययन गर्न आउनेको एकमात्र गन्तव्य थियो । शिक्षाको गुणस्तर र नैतिकता पालनमा त्रिवि कठोर थियो । लामो समयसम्म पठनपाठनको दृष्टिले सर्वोच्च स्थानमा रहेकै कारण त्रि.वि.को विश्वसनीयता हिङ नभए पनि हिङ बाँधेको टालो अहिले पनि कायम छ । आजको अवस्था जे भए पनि त्रिवि नेपालको शैक्षिक विकासमा लामो इतिहास बनाएको सम्मानित संस्था हो जहाँ काम गर्ने अवसर प्राप्त गर्नुलाई गौरवको विषय मानिन्थ्यो ।
यही सम्मानित संस्थामा मलाई लामो समय सेवा गर्ने अवसर प्राप्त भयो । वि.सं. २०२० सालमा विद्यालय शिक्षकबाट सेवा आरम्भ गरेर वि.सं. २०२४ सालमा कलेज अफ एजुकेसनको शिक्षक प्रशिक्षण सेवामा सिनियर इन्स्ट्रक्टर हुँदै उच्च शिक्षा अध्यापन गर्ने यो विश्वविद्यालयको सेवामा पुगेकी थिएँ । सेवा प्रवेशको तीन दशकमा सहप्राध्यापक (रिडर) भएपछि मेरो इच्छा पनि प्राध्यापन पेसाको माथिल्लो तह प्राध्यापक भएर विश्वविद्यालय सेवाबाट अवकाश पाउनु रहेको थियो । हाम्रो देशमा प्रायः गा¥हो काम, चुनौतीको सामना गर्नुपर्ने जिम्मेवारी अरूलाई भिराइदिने अनि अवसरको उपयोग गर्ने बेलामा आफ्ना नातागोता वा कृपापात्रलाई पुरस्कृत गर्ने चलन उहिलेदेखि अहिलेसम्म छँदै छ । यस्तो टर्राे अनुभव मैले धेरै पटक गरेँ । प्राध्यापक बन्ने बेलामा पनि मैले यस्तै परिस्थितिबाट गुज्रन प¥यो ।
मलाई आफ्नो योग्यता, क्षमतामा पूरा विश्वास र गौरव थियो । कलेज अफ एजुकेसनकी उत्पादन थिएँ, कक्षा लिन जानुअघि के पढाउने ? कसरी पढाउने ? पाठको उद्देश्य के हो ? शिक्षण प्रक्रिया कस्तो हुनुपर्छ ? शिक्षण सामग्री के के हुनेछन् आदिबारे पूरा तयारी गरेरमात्र कक्षा कोठामा प्रवेश गर्थे । कुनै विद्यार्थीले बुझ्न सकेन÷सिकाइमा समस्या प¥यो भने त्यसको कारण पत्ता लगाई नवीन प्रविधि प्रयोग गरी शिक्षण प्रक्रियामा सुधार गर्नुपर्छ भन्ने सिकेकोले त्यही विधि प्रयोग गर्थेँ । शिक्षण पद्धतिका यी सम्पूर्ण अवधारणा विद्यालय शिक्षादेखि विश्वविद्यालयसम्म अभ्यास गर्दै शिक्षण सेवामा निरन्तर लागेकी फलस्वरूप सहप्राध्यापक पदमा पुगेकी थिएँ । प्राध्यापक बन्नको लागि आवश्यक दक्षता, योग्यता र अनुभव पनि सँगालिसकेकी थिएँ । दुर्गम क्षेत्रमा पुगेर देशको विकटताबिच शिक्षण कार्य गरेकी थिएँ । शिक्षा, शिक्षण विधिसम्बन्धी लेखहरू लेखेर प्रकाशित गरेकी थिएँ । पाठ्यपुस्तक लेखनका साथै अनुसन्धात्मक प्रतिवेदन तयार गरी विभिन्न सभा, बैठकहरूमा पेस गरेकी थिएँ । शिक्षा शास्त्र सङ्कायको मूल विषयहरू अध्यापन गर्ने फाउन्डेसनस् अफ एजुकेसनको प्रमुख भएर अध्यापन गर्दै थिएँ ।
यही बेला त्रिवि शिक्षा शास्त्र सङ्कायले फाउन्डेसनस् अफ एजुकेसन्स् विभागका लागि पाँच सङ्ख्यामा प्राध्यापकका लागि दर्खास्त आह्वान ग¥यो । मैले समयमै शैक्षिक योग्यता, काम गरेको अवधि, काठमाडौँबाहिर काम गरेको, दर्खास्त आह्वान गरेको विषयवस्तुमा अध्यापन अनुभव, प्रकाशन, शोध कार्य, अध्यापन गरेको तह सबै खुलस्त पारेर फारम बुझाएँ । सेवा आयोगको बढुवा छनौट समितिमा शिक्षा सङ्कायमा आजीवन सेवा गरी निवृत्त भएका तीन जना प्राध्यापक र सङ्कायमै कार्यरत तीन जना प्राध्यापक भएको बढुवा छनौट समितिले मसँग लिएको अन्तर्वार्ता पनि राम्रो भएको थियो । अतः प्राध्यापक हुने सबै योग्यता भएकोले म प्राध्यापक बन्छु भन्नेमा एक किसिमले निश्चिन्तजस्तै थिएँ ।
बढुवाको नतिजा प्रकाशित भयो जहाँ मेरो नाम थिएन । यस्तो अप्रत्याशित नतिजा देखेर म स्तब्ध भएँ । मेरो नाम नभए पनि मभन्दा योग्य, क्षमतावान व्यक्तिको नाम निस्केको भए चित्त पनि बुझ्थ्यो तर मेरो योग्यतासँग दाज्नै नमिल्नेहरूको नाम निस्केको थियो । पेसागत जीवनको अन्तिम छेउमा मैले केही विचार गरेकी थिएँ, केही सपना देखेकी थिएँ, सबै चकनाचुर भए । मेरो नाम ननिस्केको भन्दा पनि जसको नाम निस्कियो त्यो मैले पचाउनै सकिनँ । म हदैसम्म प्रभावित भएँ । विश्वविद्यालयजस्तो उच्चस्तरीय शैक्षिक संस्था निश्चित पद्धतिमा चल्छ । ममाथि भएको अन्याय म एक व्यक्तिमाथि मात्र नभएर पद्धति, व्यवस्थामाथिको आघात थियो, खेलबाड थियो । विश्वविद्यालय सेवामाथि नै अविश्वास थियो । आज एउटा योग्य व्यक्तिले न्याय पाएन भन्नुको अर्थ अन्यायको बीजारोपण भएको थियो । भोलि यो समस्या जसलाई पनि पर्नसक्थ्यो ।
ममाथि भएको अन्याय, षड्यन्त्र, धाँधली न पहिलो थियो न नौलो । म अन्याय सहन नसक्ने खालकी थिएँ तर सबै कुराको एउटा सीमा हुन्छ, सहने उमेर हुन्छ । म यस्ता झन्झटबाट मुक्त भएर सरल, शान्त जीवन व्यतीत गर्न चाहन्थेँ । मनमा ज्वालामुखी उठिरहेको थियो र त्यो पोखिन नपाए आफैँलाई भष्म पार्न सक्थ्यो । तर, कहाँ लगेर पोख्ने ? सोच्न सकिनँ । राति घरको तेस्रो तलाको कौसीमा जान्थँे र चारैतिर हेर्थेँ । चूक घोप्ट्याएजस्तो अन्धकारमा कौसीको पर्खालबाट निहुरिएर तल चोकतिर नियाल्थेँ । यहाँबाट खसिन्छ कि भन्ने डर पनि लाग्न छाडेको थियो । छोरी सानी छँदा उनलाई सुनाएको चुलीमैको कथा, जसमा सौतेनी आमाले दिएको दुःखका कारण सुनसान रातमा जङ्गलमा गई ठूलो रूख चढेर हामफालेर संसारबाट सधैँको लागि बिदा भएको, आकाशमा तारा बनेर छोराछोरीलाई हेरिरहेको वर्णन थियो । म पनि त्यसै गरी आकाशमा तारा भएर बस्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो अनि झसङ्ग भएर सोच्थेँ के आत्महत्या मेरो समस्याको समाधान हो ? म रहिनँ भने मेरा छोराछोरीको भविष्य के होला । श्रीमान्को अवस्था के होला ? यस्तै तरङ्गमा दिन बित्दै थिए ।
लगभग अवसादको अवस्थामा पुगेकी बेला एउटा घटनाले मलाई नराम्ररी झस्कायो । कुपण्डोलको हाम्रो घरको ढोकामा लगातार साइकलको घण्टी बजेको सुनेर श्रीमान्ले ढोकाको चेपबाट नियालेर हेर्दा श्री ५ को सरकारको प्रथम श्रेणीबाट सेवा निवृत्त भएका परिचित व्यक्तिलाई देख्नुभयो । मेरो मानसिक अवस्था सम्झेर श्रीमान्ले उनलाई ढोकाबाटै बिदा गर्ने विचारले उनी पूजामा छिन् । केही काम भए मलाई भन्नुस् ?” भन्दै टार्ने प्रयास गर्दा पनि उनी मलाई भेटेरै जाने ढिपी गर्दै भित्रै आए र दुःखी स्वरमा भन्न थाले, “मल्लजी ¤ मेरी श्रीमतीको देहान्त भएको तपाईँलाई थाहै छ । घर सम्हालदिने कोही छैन । तपाईंकी श्रीमतीका अविवाहिता साथी छन् कि ? यही कुरा गरौँ भनेर तपाईंहरूको घर खोज्दै आएँ ।”
उनको कुरा सुनेर म झस्केँ र अर्कै किसिमले सोच्न बाध्य भएँ । अधबैँसे उमेरका तीन छोराछोरीका बाबु उनकी श्रीमतीको केही दिनअघि देहान्त भएको थियो र अहिले १३ दिनको काजक्रियामा खौरेको ठुटो कपाल लिएरै दुलही खोज्दै हिँडेका थिए । लोग्नेमानिसको यस्तो स्वभावबारे धेरै कुरा नसुनिएको होइन तर, प्रत्यक्ष देख्दा मलाई आश्चर्य लाग्यो । मेरो मनमा त्यो बेला आत्महत्यासम्मको विचार आएको सत्य हो तर तिनको कुराले मेरा आँखा खोलिदिए । मेरा श्रीमान्को त तिनको जति पनि उमेर पुगेको थिएन । साँच्चै मैले केही गरेँ भने घरव्यवहार चलाउने बाध्यताले भए पनि उहाँलाई अर्को विवाह गर्नुपर्ने हुन्छ । मेरा छोराछोरी सौतेनी आमाको हातमा पर्छन् । मलाई सौतेनी आमाको व्यवहारको स्मरण भयो । टाढा जानै पर्दैनथ्यो, मेरै बुबाको उदाहरण पर्याप्त थियो ।
दुःखको क्षणमा मैले अन्य विषय सोच्न थालेँ । द्रौपदीलाई दुर्योधन, दुशासनहरूले राजसभामा गरेको अमर्यादित व्यवहार, चीरहरणको समयमा आँखाबाट आँसु झारेर रोइरहेकी उनको इज्जत बचाउन आएका श्रीकृष्ण वासुदेवले उनलाई सम्झाएको वाक्य “जीवनमा आएका पीडालाई जसले अँगालेर बस्छ, त्यो स्वयं निर्बल बन्दै जान्छ । जीवन नर्कमा परिणत हुन्छ । तिमी किन नर्क भोग्दै समय बिताउँछ्यौ ? यी पीडा सबै परमात्मालाई अर्पण गरिदेऊ, आफ्नो पीडालाई सङ्घर्षमा बदल । जो व्यक्ति पीडालाई लिएरै अगाडि बढ्छ त्यो व्यक्ति बलवान् हुन्छ । उसैको विजय हुन्छ,” सम्झेँ ।
मभित्र शक्ति सञ्चार हुन थाल्यो । अन्यायको उपचार निराशा होइन, त्यसको विरूद्ध उठ्नु हो भन्ने विचार दृढ भयो । मनदेखि द¥हो विश्वास जाग्यो । आफ्नै जन्मथलोका एक प्राध्यापक भाइले भनेको सम्झँे, “कोमल दिदी ¤ तपाईंको ठाउँमा अरू कोही भए आत्महत्या गर्थे होलान् । तपाईंको आत्मबल सा¥है बलियो रहेछ । यत्रो अत्याचारको पर्वाह नगरी हँसिलो अनुहार लिएर हिँड्नुभएको देख्दा मलाई गर्व लाग्यो, बधाई छ ।” मैले उनलाई सामान्य भएर जवाफ दिएकी थिएँ ममाथि बजेको अप्रत्याशित दुःखले संसारै छाडेर जानेसम्मको कल्पना गरेकै हो तर जीवनदेखि भाग्नु समस्याको समाधान नभएको ठहर गर्दै सङ्घर्ष गर्ने निर्णय गरेकी छु । केही प्राध्यापक मित्रहरूले हौसला दिए । विद्यार्थीहरूले पनि म्याडमको लागि हामी जहाँ जान, जे गर्न पनि तयार छौँ भनेर उत्साह प्रदान गरे ।
सबैभन्दा पहिले प्राध्यापकको छनोटमा किन म परिनँ ? भन्ने कारण खोजेँ । उम्मेदवारहरू आपसमा परिचित भएकाले सबैको योग्यता, कमजोरी सबै थाहा थियो । मैले ती सबैमाथि विश्लेषण गरेँ । प्राध्यापक भएकामध्ये एक शिक्षा सङ्कायबाट बेतलबी बिदा लिएर १२ वर्षसम्म अर्कै विदेशी प्रोजेक्टमा काम गर्न गएका थिए । ‘बेतलबी बिदा बसेको अवधि बढुवाको मूल्याङ्कनमा गणना नहुने’ नियम हुँदाहुँदै उनलाई ‘अविछिन्न कार्य गरेको’ भनेर कार्य सम्पादन मूल्याङ्कनमा पूरा अङ्ग दिइएको थियो । अर्का कहिल्यै शिक्षा विषय अध्यापन नगरेका विज्ञान विषयका सहप्राध्यापक थिए । विज्ञान पढाउने व्यक्तिलाई शिक्षा सङ्कायको प्राध्यापक कसरी बनाइयो ? छात्रावासका बार्डेनलाई पनि प्राध्यापक बनाइएको थियो । सबैको योग्यता मेरो भन्दा न्यून भइकन पनि केबल राजनीतिक आडमा प्राध्यापक भएका थिए । शान्त भएर अनियमितता भएको प्रस्ट हुने तथ्यहरू सङ्कलन गरेँ र लामै सूची बनाएँ । सेवा आयोगका हाकिम र प्रशासकलाई बैङ्कक घुम्न जाने हवाई टिकटको व्यवस्था गरिएको, नेताका घरमा तरकारीको झोला बोकेर सेवा गर्न पुगेको खबर पनि पाइएको हो तर त्यसको ठोस प्रमाण भने जुटाउन सकिनँ ।
भविष्यका कर्णधार निर्माण गर्नुपर्ने बौद्धिक थलोमा पदको अवमूल्यन भएको देखेर प्राध्यापक बन्ने आकाङ्कक्षा पनि के गर्नु ? म किन विभागीय प्रमुख भई मरिमेटी काम गरूँ ? किन घाँटी सुकाउँदै दिनको तीन पिरिएड पढाऊँ ? प्राध्यापक हुन त राजनीतिक पार्टीको झन्डाझोला बोक्नै पर्दो रहेछ । नेताको चाकडी गरे पदोन्नति भइने रहेछ भने प्रमाणपत्रको के काम ? देश विदेशमा पढेर प्राप्त गरेका प्रमाणपत्र जलाइदिए भएन र ? भन्ने विचार पनि आयो । अर्कोतिर त्रिविका शिक्षकहरूको चरित्र पतनको प्रत्यक्ष प्रमाणले चरम वितृष्णा उत्पन्न हुँदा पनि आफू उत्कृष्ट उम्मेदवार रहेछु भन्ने प्रमाणित भएर स्वाभिमानले शिर ठाडो भयो । मलाई त त्यो सत्यको जानकारी भयो तर बाहिरी व्यक्ति त त्यो जान्दैनथे । अरूले हेर्दा म अयोग्य भएर प्राध्यापक हुन नसकेको’ भन्ने पर्न जान्थ्यो । अतः भित्रदेखि आफूलाई बलियो बनाएँ । “अब लड्नुपर्छ । जीवनभर लडेर नै यहाँसम्म आइपुगेँ भने यो पटक किन हार खाऊँ ?” भन्ने लाग्यो अनि मैले विद्रोह गर्ने निर्णय गरेँ ।
विद्रोहको आरम्भ त्रि.वि.सेवा आयोगका अध्यक्षसामु आफूमाथि भएको अन्यायको गुनासो लिई भेट्न गएर गरेँ । उनले तपाईं योग्य भएर पनि अयोग्यको सूचीमा पर्नुभएकोमा दुःख लाग्यो । यसको उपचार सेवा आयोगले निकालेको शिक्षा शास्त्र सङ्कायको प्राध्यापक पदको प्रतियोगिताको परीक्षाफलविरूद्ध त्रि.वि.कै पुनरावेदन आयोगमा विरोधपत्र दाखिल गर्नु हो” भनेर बाटो देखाए । उनकै सल्लाहमा राम्रो वकिल खोज्न थालेँ । साथीहरूले महिला अधिकारकर्मी सपना मल्लको नाम सिफारिस गरेकाले उनलाई भेट्न अफिसमा गएँ । मैले आफ्नो समस्या सुनाएपछि उनले “मेरा सहायक पनि अधिवक्ता हुन्, तपाईंका सबै काम उनैले गरिदिन्छन् । यहाँ अफिसको प्रशासनिक प्रक्रिया पूरा गरेर जानुस्,” भनेर बाहिरिइन् । उनले भनेजस्तै गरेर, दर्ता दस्तुर सात हजारसहित मागेका सबै कागज पत्र बुझाएर आएँ ।
“मल्लले नभ्याउने हो भने त्यहीँबाट किन अभियोग पत्र तयार गर्न लगाउने ? भन्ने पनि लाग्यो । मेरा लागि जीवनमरणको प्रश्न भएको विषयमा मल्ल आफूले बहस गर्नसम्म आवश्यक नदेखेर भरखरका केटा, ६ महिनादेखि मात्र प्राक्टिस थालेका सहायकलाई मेरो मुद्दा जिम्मा दिएको मलाई पटक्कै चित्त बुझेन । टाढाको नातासमेत पर्ने भनेर म बडो आश लिएर गएकी थिएँ तर उनको व्यवहारले म निराश भएँ । चित्त नबुझे पनि अभियोगपत्र तयार गर्न लगाएर अभियोग दर्ता गराएँ किनभने समयमै अभियोग दर्ता नगरेर अर्को अधिवक्ता खोज्नतिर लाग्दा म्याद गुज्रन सक्थ्यो । पुनरावेदन आयोगले पनि मेरो मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने निर्णय गरेर सोहीअनुसार कार्यक्रम बनाएछ ।
अभियोग दर्ता गराएँ तर मलाई यहाँबाट केही होला जस्तो लागेन । त्यसैले अर्को अधिवक्ताको खोजीमा लागेँ । संयोगले डिल्लीबजारमा अफिस भएका सापकोटा थरका व्यक्ति भेटेँ । ठुल्ठुला मुद्दामा बहस गरेर किनारा लगाइसकेका उनको व्यवहारले मलाई विश्वास दिलायो । उनैलाई मुद्दाको जिम्मा दिएँ तर यो कुरा सपना मल्ललाई जानकारी गराएकी थिइनँ । एक दिन उनको कार्यालयमा कागजपत्र लिन गएको बेलामा मेरो मुद्दा हेर्न खटाइएका सहायकलाई टाइफाइड भएको थाहा पाएँ । उनी बहसमा आउन सक्दैनन् भन्ने पक्का भयो । म कसरी पन्छिऊँ ? भन्दै थिएँ, मैले केही गर्नै परेन, आफैँ पन्छियो ।
अर्को समस्या के भयो भने मैले मुद्दा जिम्मा दिन खोजेको व्यक्तिले हेरेको एउटा मुद्दा पुनरावेदन अदालतले हराइदिएछ । मलाई उनीमाथि पनि शङ्का भयो । पेशीको एक दिनअघि उनलाई भेट्न गएँ । मैले बडो कष्टसँग जुटाएका सबै प्रमाणहरूको व्याख्या गरेर उनलाई दिँदै भनेँ, “यी सबै प्रमाणहरू केही नछुटाई एक एक गरी प्रस्तुत गर्नुहोला । तपाईंबाट केही छुट्यो भने न्यायाधीशको अनुमति लिएर म आफैँ बोल्नेछु ।” “तपाईंले बोल्न पाउनुहुन्छ, त्यो अधिकार तपाईंलाई छ” भन्दै उनले आश्वस्त पारे ।
बहसको दिन हामी समयमै अदालत पुग्यौं किनभने मेरो लागि त्यो घोर अन्याय, अपमानविरूद्धको लडाइँ थियो । त्रि.वि. पुनरावेदन अदालतमा मैले मुद्दा दर्ता गरेको थाहा पाएर साथीहरूले “जित्ने सम्भावना कम छ । उनीहरू कुनै न कुनै राजनीतिक आड पाएर नै बढुवा भएका हुन्, तिनले पुनरावेदनमा पनि प्रभाव पार्ने हदैसम्मको प्रयास छाड्ने छैनन् भनेका थिए र पनि मैले न्याय पाउने कुरामा विश्वास गुमाएकी थिइनँ । राम्रो अधिवक्ता पनि फेला पारेकी थिएँ भने मेरो ठाउँमा बढुवा हुनेहरूको एक एक कमजोरी र बढुवा हुनका लागि पेस गरेका झूटा र गलत विवरणहरू पत्ता लगाएर लामो सूची तयार पारी अधिवक्तालाई दिएर भनेकी थिएँ, “तपाईंले केही भन्न छुटाउनुभयो भने म आफैँ बोल्नेछु ।”
नभन्दै अधिवक्ताले बहसमा मेरो मुद्दालाई बलियो बनाउने केही महत्वपूर्ण कुराहरू भन्न छुटाए । मैले न्यायमूर्तिसमक्ष बोल्ने अनुमति मागेँ र निर्भीक भएर मेरा प्रतिवादीहरूले के कस्ता झूटा विवरण पेस गरेका छन् प्रमाणसहित एक एक कुरा भनेँ । यसो गर्दा न्यायमूर्तिले फाइलमा हेरेको पनि देखिरहेकी थिएँ । चेक गरेका होलान् तर मैले प्रमाणसहित पेश गरेको हुँदा मेरो बहसलाई काट्ने कुरै थिएन ।
त्यो दिनको पेशी सकियो । बहस सकेर हामी बाहिरियाँै । अधिवक्तासँग मुद्दाबारे कुराकानी गर्दै गर्दा पुनरावेदन अदालतका एक कर्मचारी आएर, न्यायाधीशहरू फैसला लेख्दै हुनुहुन्छ, निर्णय हेरेरमात्र जानुहोला भने । अधिवक्ताले “हाम्रो पक्षमा फैसला भएछ, त्यसैले ‘हेरेर जानुहोला भनेको हो’ भनेर ठोकुवा गरे । केही बेरमा फैसला सुनाइयो । फैसला पत्रमा लेखिएको थियो, “शिक्षा शास्त्र सङ्काय, फाउन्डेसन्स अफ एजुकेसन विभागकी प्रमुख श्रीमती कोमलवदन मल्ललाई श्री भरतविलास पन्तको स्थानमा प्राध्यापक पदमा मनोनयन गरिएको सूचना प्रकाशित गरिएको छ ।” त्रि.वि. पुनरावेदन अदालत, कीतिपुर । मैले इष्टदेव श्रीकृष्णसँग गुनासो गरेँ, “हे भगवान, म किन सङ्घर्ष नगरी, तनाव नबेहोरी केही पाउन्न ? अन्त्यमा त मैले जितेकै हुन्छु । बिचमा किन अल्मल्याउँछौ प्रभु मलाई ?”
मुद्दा जितेर म जति खुसी भएँ, मेरा सहकर्मी र अन्य पदाधिकारी उति नै खुसी देखिए । यस प्रकारको अन्याय धेरैलाई भए पनि उनीहरूले प्रतिकार गरेनन् । सबैलाई लाग्थ्यो राजनीतिक पहुँचको आधारमा बढुवा हुनेले त्यसविरुद्ध गरिएको प्रतिरोधलाई पनि प्रभावित पार्न सकिहाल्छन् नि । बेकारमा समय र श्रम दुवैको बर्बादी किन गर्नू ? मैले अदालतबाट न्याय पाएपछि सबैलाई न्याय प्रणालीमाथि भरोसा जाग्यो । यसलाई त्रि.वि.ले पनि नजिरको रूपमा लियो । मलाई हौसला दिने, प्रेरणा दिने सबैलाई धन्यवाद दिएँ । अहिले पनि म उहाँहरूप्रति आभारी छु । फैसला आएपछि सबैभन्दा पहिले म त्रि.वि.सेवा आयोगका अध्यक्षलाई भेट्न गएँ र धन्यवाद भनेँ । आफ्नो सीटबाट उठेर हात मिलाउँदै मलाई ‘बधाई’ भन्दा उनी कति खुसी थिए भन्ने उनको हाउभाउबाटै प्रस्ट हुन्थ्यो ।
यस घटनाले त्रिविमा ठुलै हलचल मच्चियो । त्रिविको इतिहासमा पुनरावेदन अदालतबाट मुद्दा जित्ने म नै पहिलो व्यक्ति थिएँ । यो फैसलापछि त्रिवि सेवा आयोग बढुवासम्बन्धी केही नियम परिवर्तन गर्न बाध्य भएको थियो भने यही विषयलाई लिएर सेवा आयोगका केही पदाधिकारी निलम्बितसमेत भएका थिए ।
यसरी पेसागत जीवनको आखिरी दिनमा समेत आफूमाथि भएका अन्यायको विरूद्ध लडेर न्याय पाएरै छाडेँ । प्राध्यापक बन्ने धोको पूरा भयो । अन्ततः चालीस वर्ष सेवामा समर्पित भएर प्राध्यापक भएको ६ महिनामा विसं. २०६१ साल चैतमा मैले त्रि.वि. सेवाबाट अनिवार्य अवकाश प्राप्त गरेँ ।
स्रोतः जीवन एक : सङ्घर्ष अनेक

Leave a Reply

Your email address will not be published. Required fields are marked *