भर्खरै :

सहकारी सङ्घ र संस्थामा साधारणसभा

सहकारी सङ्घ र संस्थामा साधारणसभा

सहकारी ऐन २०७४ को दफा ३६ ले प्रत्येक संस्था वा सङ्घको एक साधारणसभा हुने व्यवस्था गरेको छ । साधारणसभा प्रत्येक संस्था वा सङ्घको सर्वोच्च अङ्ग हो । संस्था वा सङ्घका सबै सदस्यहरू साधारणसभाका सदस्य हुने ऐनको दफा ३६ उपदफा २ ले गरेको छ । ऐनको दफा ३६ उपदफा ३ अनुसार साधारणसभा तीन प्रकारका छन् ।
१) प्रारम्भिक साधारणसभा
२) वार्षिक साधारणसभा
३) विशेष साधारणसभा

प्रारम्भिक साधारणसभा :
समितिले सहकारी संस्था दर्ता भएको मितिले तीन महिनाभित्र प्रारम्भिक साधारणसभा बोलाउनुपर्ने ऐनको दफा ३९ उपदफा १ ले व्यवस्था गरेको छ । ऐनको दफा ३७ ले प्रारम्भिक साधारणसभाको देहायबमोजिम काम, कर्तव्य र अधिकार व्यवस्था गरेको छ ।
क) प्रारम्भिक साधारणसभा हुनु अघिल्लो दिनसम्मको काम कारबाही र आर्थिक विवरणको जानकारी लिने ।
ख) चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम स्वीकृत गर्ने ।
ग) प्रतिवेदन तथा वित्तीय विवरणहरू अनुमोदन गर्ने ।
घ) विनियममा उल्लेख भएबमोजिम सञ्चालक समिति र लेखा सुवरिवेक्षण समिति गठन गर्ने ।
ङ) आन्तरिक कार्यविधि पारित गर्ने ।
च) लेखा परीक्षेकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने ।
छ) विनियममा उल्लेखित कार्यहरू गर्ने ।

वार्षिक साधारणसभा
सहकारी ऐन २०७४ को दफा ३९ उपदफा २ मा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र प्रत्येक सङ्घ/संस्थाले वार्षिक साधारणसभा बोलाउनुपर्ने प्रावधान रहेको छ । वार्षिक साधारणसभाको छलफल गरिने सबै विषयहरू प्रस्तावको रूपमा पेस गर्नुपर्ने ऐनको दफा ३८ मा काम, कर्तव्य र अधिकार उल्लेख गरिएको छ ।
क) बजेट तथा कार्यक्रम स्वीकृत गर्ने ।
ख) वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुमोदन गर्ने ।
ग) समिति वा लेखा सुपरिवेक्षण समितिको वार्षिक पारित गर्ने ।
घ) सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा विघटन गर्ने ।
ङ ) समिति वा लेखा सुवरिवेक्षण समितिको संयोजक वा सदस्यहरू पदबाट हटाउने ।
च) आन्तरिक कार्यविधि पारित गर्ने ।
छ) लेखा परीक्षेकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने ।
ज) संस्थाको एकीकरण वा विघटनसम्बन्धी निर्णय गर्ने ।
झ) पारिश्रमिकलगायतका सुविधा तोक्ने ।
ञ) बाह्य दायित्व स्वीकार गर्ने ।
ट) सदस्यको दायित्व मिनाहा गर्ने ।
ठ) समितिलाई आवश्यक निर्देशन दिने ।
ड) विनियममा उल्लेखित कार्यहरू गर्ने ।

विशेष साधारणसभा
सहकारी ऐन, २०७४ को दफा ३९ को उपदफा (३) बमोजिम देहाय अवस्थामा समितिले विशेष साधारणसभा बोलाउन सक्ने व्यवस्था गरिएको छ ।
(क) लेखा सुपरिवेक्षणको समितिको सिफारिसमा ।
(ख) कुनै सञ्चालकले विशेष साधारण सभा बोलाउन पेस गरेको प्रस्ताव सञ्चालकद्वारा पारित भएमा ।
(ग) समितिले कुनै खास कामको लागि विशेष साधारणसभा बोलाउने निर्णय गरेमा,
(घ) संस्थाको कुल सदस्यको १५ प्रतिशत सदस्यले सञ्चालक समितिसमक्ष निवेदन दिएमा ।
(ङ) दफा ४० को उपदफा १ बमोजिम कुनै संस्थाको निरीक्षण वा सुपरिवेक्षण गर्दा वा कसैको उजुरी परी छानबिन गर्दा रजिष्टार वा रजिष्टारको अधिकार प्राप्त अधिकारीले विशेष साधारणसभा बोलाउने निर्देशन दिएमा ।
माथि उल्लेखित अवस्थामा बोलाइएको विशेष साधारणसभामा पेस गरिने सबै विषयलाई प्रस्तावको रूपमा पेस गर्नुपर्छ । मौखिक कुराको आधारमा गरिएको छलफलले वैधानिकता प्राप्त गर्न सक्दैन । तसर्थ, लिखितरूपमै प्रस्तावउपर छलफल गरी निर्णय गर्नुपर्दछ । साधारणसभा सङ्घ/संस्थाको विभिन्न महत्वपूर्ण विषयमा छलफल गरी निर्णय लिने उपयुक्त स्थान भएकोले साधारणसभालाई महत्वपूर्ण अङ्गको रूपमा लिइन्छ । साधारणसभालाई सामान्यतया निम्न तीनवटा दृष्टिकोणले हेर्ने गरिन्छ –
क) सर्वोच्च अङ्ग (Supreme Body)
ख) निर्णय गर्ने मुख्य अङ्ग (Decision Making Main Body)
ग) सदस्यहरूको सामूहिक मञ्च (Platform)
सहकारी सङ्घ/संस्थामा साधारणसभाको आफ्नो छुट्टै पहिचान रहेको छ । सहकारी सङ्घ/संस्थाका सदस्यहरू वा प्रतिनिधिहरूले साधारणसभा हाम्रो कार्यक्रम हो । त्यसमा हाम्रो सक्रिय सहभागिता आवश्यक छ भन्ने स्वामित्वको भावना रहेको हुन्छ । जुन हामी अन्य निकायको साधारणसभामा त्यस्ता भावना पाउन सकिन्न । त्यसैले, सहकारीको साधारणसभामा सदस्यको सहभागिता/उपस्थिति बढी हुने गर्छ । सहभागितामूलक साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न र उपलब्धिमूलक भावनाले प्रेरित गर्दछ ।
तर, आजभोलि सहकारीको साधारणसभा सदस्यको सभाजस्तो लाग्दैन । साधारणसभा हुनु दुई तीन दिनअगाडि सदस्यको उपस्थिति खुला राख्ने गरेको छ । सदस्यहरू साधारणसभामा उपस्थिति गर्दै उपस्थित भएबापतको भत्ता बुझ्दै जाने गरेका छन् । साधारणसभाको उद्घाटन सत्रमा धेरै अतिथिहरू बोलाउने पाँच–६ घण्टा भाषण सुनाउने सभा भएको छ । साधारणसभा सदस्यको सभा नभई अतिथिको सभा भएको छ । सभामा सदस्यहरू बसून् भनेर नाच, गीत, सम्मान, चिट्ठाजस्ता कार्यक्रमहरू पनि समावेश गरिएको हुन्छ । तर पनि सभामा खासै सदस्यहरू बस्दैनन् । साधारणसभाका विषय सूचीमा खासै छलफल हुँदैन । उद्घाटन सत्र सकेपछि दिन बित्छ । साधारणसभा पनि प्रायः सकेको हुन्छ । आजकल साधारणसभा अतिथि सभा, भाषण सभा, नाचगान सभा, सम्मान सभा र चिट्ठा सभामा परिणत भएको छ । सहकारीको साधारण सभा कागजमात्र पु¥याउने काम भएको छ ।
सहकारी स्वनियममा सञ्चालित संस्था हो । सदस्यको नियन्त्रण सहकारी सञ्चालन भएको हुन्छ । सदस्यहरूको ठूलो बैठक भनेकै साधारणसभा हो । सभामा सदस्यहरूले संस्था सञ्चालनका लागि सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चुन्ने र चुन्न पाउने अधिकार राख्छन् । वर्षभरि भएको काम र हिसाबकिताबको केशरा केशरा केलाउने काम हुन्छ । आगामी वर्षमा के कस्ता कार्यक्रम गर्ने र के कति बजेट छुट्याउने विषयमा छलफल हुन्छ । हिसाब किताब जाँच कसलाई गराउने र कति पारिश्रमिक दिने, शेयर लाभांश कति दिने, संरक्षित पुँजी फिर्ता, विनियम संशोधनलगायतका महत्वपूर्ण विषयहरूमा छलफल गरी निर्णय लिन साधारणसभा बोलाएको हुन्छ ।
सदस्यबिनाको संस्था कल्पना गर्न सकिन्न । यस्तै गरी सदस्यविनाको साधारणसभा हुन सक्दैन । सहकारीमा सदस्य भएपछि साधारणसभामा अनिवार्य उपस्थित हुनुपर्दछ । लगातार तीन पटकसम्म उपस्थित नहुने सदस्य निष्कृय सदस्यमा राखिन्छ । सदस्यतासमेत खारेज गर्न सकिने व्यवस्था सहकारी ऐन २०७४ को दफा ३४ उपदफा (ख) ले गरेको छ । संस्थामा सदस्यको बचत रकम सुरक्षित छ/छैन सदस्यबाटै नियमन गर्ने साधारणसभा हो । सदस्यले आफ्नो अधिकार, दायित्व र कर्तव्य नबुझ्दा र नबुझाउँदाको परिणाम सहकारी बदनाम भइरहेको छ । सञ्चालकले सदस्यहरूलाई गुमराहमा राख्न सफल भएको छ । सदस्यहरू ठगिँदा राज्य मूकदर्शक बन्नुबाहेक केही गर्न सकेको अवस्था छैन ।
तसर्थ, साधारणसभाको काम, कर्तव्य र अधिकारअनुसार साधारणसभा सञ्चालन गर्नुपर्ने देखिन्छ । सहकारी संस्थाको साधारणसभा प्रभावकारी बनाउन सके सहकारीका विकृतिहरू सम्बोधन गरी समयमै समाधान गर्न सकिन्छ । साधारणसभालाई प्रभावकारी र व्यवस्थित गर्न सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारणसभा (कार्य व्यवस्था) निर्देशिका, २०७६ को परिपालना गर्नुपर्ने देखिन्छ । सहकारी सङ्घ महासङ्घले साधारणसभाको औपचारिक उद्घाटन कार्यक्रमलाई कम समयमा सम्पन्न गरी उदाहरणीय सभाको अभ्यास गर्नुपर्दछ । सदस्यको प्रतिभा प्रस्फुटन नाचगानजस्ता गतिविधिहरू संस्थाको वार्षिक स्थापना दिवस, सहकारी दिवस आदि कार्यक्रम गर्दा राम्रो हुन्छ । सदस्यको उपस्थितिलाई बढावा दिन सदस्यमैत्री वातावरणको लागि जोड दिनुपर्दछ । साधारणसभाको बैठकमा उपस्थित हुने र निर्णयमा सहभागिताको सुनिश्चित हुनुपर्दछ । सदस्यले सहकारी संस्थाको साधारणसभाबाट सस्थामा आफ्नो बचत सुरक्षित रहेको प्रत्याभूति हुनसक्ने सभा हुनुपर्दछ । यसको लागि सदस्यको सहकारी तथा वित्तीय शिक्षालाई व्यापक बनाउनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *