भर्खरै :

मधुमेह/‘सुगर’ के हो र यो रोगबाट जोगिन के गर्नुपर्छ ?

मधुमेह/‘सुगर’ के हो र यो रोगबाट जोगिन के गर्नुपर्छ ?

मधुमेह एउटा गम्भीर स्वास्थ्य समस्या हो जसका कारण प्रत्येक वर्ष १० लाखभन्दा बढी मानिसको ज्यान जाने गर्छ । जोसुकैलाई पनि यो रोग लाग्न सक्छ । यसलाई चिकित्सकीय भाषामा ‘डाइअबीटीज’ भनिन्छ ।
रगतमा चिनीको मात्रा बढी हुने भएकोले यसलाई ‘सुगर’ वा ‘चिनी रोग’ पनि भन्ने गरिएको छ ।
शरीरले रगतमा भएको सबै चिनी (ग्लुकोज) प्रशोधन गर्न नसक्दा मानिसमा हृदयाघात, मस्तिष्काघात र अन्धोपन हुनसक्छ अनि मिर्गौलाले काम गर्न छाड्ने अवस्था पनि निम्तिन सक्छ ।
मधुमेहको समस्या विश्वभरि निरन्तर बढिरहेको छ । विश्वभरि अनुमानित ४२ करोड मानिस मधुमेहबाट पीडित छन् । अहिलेको सङ्ख्या ४० वर्षअघिको भन्दा चारगुना बढी भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
जोखिम भए पनि मधुमेह भएका आधाभन्दा धेरै मानिसहरूलाई यो रोगबारे थाहा नै छैन । तर, जीवनशैली परिवर्तन गर्दा धेरैमा यो जोखिम नियन्त्रण गर्न सकिन्छ ।

मधुमेह कसरी हुन्छ ?
खाना खाएपछि हाम्रो शरीरले कार्बोहाइड्रेटलाई टुक्राएर ग्लुकोज बनाउँछ । पेटनजिकै अवस्थित प्यान्क्रिअस अर्थात् अग्न्याशय भनिने एउटा ग्रन्थिले इन्सुलिन होर्मन उत्पादन गर्छ जसले हाम्रो शरीरलाई त्यो ग्लुकोजलाई सोसेर पोषण बनाउन निर्देशन दिन्छ ।
तर, इन्सुलिनले राम्ररी काम नगरे वा त्यसको उत्पादन नभए रगतमा चिनी जम्मा हुन थाल्छ ।
त्यस्तो अवस्थालाई मधुमेह अर्थात् डाइअबीटीज भनिन्छ ।

मधुमेह कति प्रकारका छन् ?
मधुमेह कैयौँ प्रकारका छन् ।
‘टाइप वन डाइअबीटीज’ भनिने मधुमेहमा प्यान्क्रिअसले इन्सुलिन उत्पादन गर्न बन्द गर्छ । त्यही भएर ग्लुकोज रगतमा जम्मा भएर बस्छ ।
किन यस्तो हुन्छ भन्ने वैज्ञानिकहरूलाई स्पष्ट कारण थाहा छैन । तर, उनीहरू आनुवंशिक वा भाइरल सङ्क्रमणका कारण प्यान्क्रिअसबाट इन्सुलिन उत्पादन हुने कोशिकाहरू नष्ट भएको हुनसक्ने ठान्छन् ।
मधुमेह भएका मध्ये झन्डै १० प्रतिशत मानिसमा टाइप वन डाइअबिटीज भएको हुन्छ ।
‘टाइप टू डाइअबीटीज’ हुँदा प्यान्क्रिअस ग्रन्थिले पर्याप्त इन्सुलिन उत्पादन गर्दैन र होर्मनले पनि राम्रोसँग काम गर्दैन ।
यो समस्या अधिकांश अधबैँसे उमेरका मानिस र वृद्धवृद्धालाई हुन्छ ।
किशोरावस्थामा पनि बढी तौल र निष्क्रिय जीवनशैली भएका व्यक्तिमा तथा निश्चित समुदायका व्यक्तिहरू विशेषगरी दक्षिण एसियाली समुदायमा यस्तो समस्या देखिएको छ ।
कतिपय गर्भवती महिलाहरूमा पनि मधुमेह देखा पर्न सक्छ । त्यस बेला उनीहरूको शरीरले आफू र बच्चाका लागि चाहिने पर्याप्त इन्सुलिन उत्पादन गर्न सक्दैन ।
विभिन्न अध्ययनहरूले फरक–फरक मापदण्ड प्रयोग गरेर ६ देखि १६ प्रतिशत गर्भवती महिलामा ‘जेस्टेसनल डाइअबीटीज’ देखापर्ने गरेको जनाएका छन् ।
त्यस्तो अवस्था सिर्जना भएका महिलाहरूले चिनीको मात्रालाई आहारा, शारीरिक गतिविधि वा इन्सुलिनको प्रयोग गरेर ‘टाइप टू मधुमेह’ हुनबाट रोक्नुपर्छ ।
मानिसहरूमा मधुमेह हुनुअघिका समस्याहरू पनि देखा पर्न सक्छन् । त्यति बेला ग्लुकोजको मात्रा बढी हुने गर्छ र त्यसले पनि मधुमेह गराउन सक्छ ।

मधुमेहका लक्षणहरू के हुन् ?
सबैभन्दा सामान्य लक्षणहरू यस्ता छन् :
– एकदमै तिर्खा लाग्ने,
– नियमितभन्दा धेरै पिसाब लाग्ने, विशेष गरेर रातको समयमा,
– एकदमै गलेको महसुस हुने,
– प्रयास नगरीकनै तौल घट्ने,
– मुख र घाँटीभित्र बारम्बार घाउ भइरहने,
– धमिलो देखिने,
– चोट र घाउ निको नहुने ।
ब्रिटिस नेसनल हेल्थ सर्भिसका अनुसार ‘टाइप वन मधुमेह’ को लक्षण उमेर सानै हुँदा वा किशोरावस्थामै पनि देखा पर्न थाल्छ र यो अझ गम्भीर हुन पुग्छ ।
‘टाइप टू मधुमेह’ को जोखिम भने ४० वर्षभन्दा माथिको उमेरका (दक्षिण एसियाको हकमा २५ वर्षमाथिको उमेरमाथिका) व्यक्तिमा हुन्छ ।
आमाबुबा वा दाजुबहिनीमा मधुमेह भएका, बढी तौल भएका र दक्षिण एसियाली, एफ्रो–क्यारिबिअन वा ब्ल्याक अफ्रिकन समुदायका मानिसमा यस्तो समस्या हुन्छ ।

के मधुमेह रोक्न सकिन्छ ?
मधुमेह आनुवंशिक वा पर्यावरणीय कारणहरूमा निर्भर रहन्छ ।
तर, तपाईँले रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राख्न सक्नुहुन्छ । त्यसका लागि खानेकुरा स्वास्थ्यकर र जीवनशैली सक्रिय हुनुपर्छ ।
चिनी भएका प्रशोधित खानेकुरा र पेयपदार्थ सेवन नगर्नु तथा र पाउरोटी अनि पास्ताको साटो परम्परागत पिठोबाट बनाइएका परिकार उपभोग गर्नु त्यस दिशातिर पहिलो पाइला हो ।
रेसा र बढी भिटामिन भएका भाग हटाइने हुनाले प्रशोधित चिनी र प्रशोधित अन्नमा पोषक तत्व निकै कम हुन्छ । आँटा, सेतो पाउरोटी, सेतो चामल, सेतो पास्ता, पेस्ट्रीहरू, गुलियो पेयपदार्थ, मिठाइ र बिहानीपख खानामा खाइने चिनी मिश्रित सिरिअललाई स्वास्थ्यका लागि राम्रो मानिँदैन ।
राम्रो खानामा तरकारी, फलफूल, गेडागुडी र सग्लो अन्न पर्छन् ।
तेल, बियाँ भएका फल र ओमेगा–थ्री फ्याटी एसिडको मात्रा धेरै भएका माछाहरू जस्तै सार्डिन, स्यामन र म्याक्रल पनि यही श्रेणीमा पर्छन् ।
यी खानेकुरा नियमित अवधिमा खानु र पेट भरिएपछि खान छाड्नु एकदमै महत्वपूर्ण हुन्छ ।
शारीरिक व्यायामले पनि हाम्रो रगतमा गुलियोको मात्रा कम गर्न सघाउँछ । ब्रिटेनको राष्ट्रिय स्वास्थ्य प्रणाली एनएचएसले प्रत्येक साता अढाई घण्टा एरोबिक व्यायाम गर्न सुझाव दिएको छ । त्यसमा चाँडोचाँडो हिँड्नु र सिँढी चढ्नु पनि पर्छन् ।
शरीरको तौल ख्याल गर्दा त्यसले रगतमा गुलियोको मात्रा सन्तुलनमा राख्न सघाउँछ । यदि तपाईँ तौल घटाउन चाहनुहुन्छ भने बिस्तारै गर्ने प्रयास गर्नुहोस् । त्यो भनेको एक सातामा आधादेखि एक केजी घटाउनुहोस् भन्ने हो ।
धूमपान नगर्दा र आफ्नो कोलस्ट्रोलको तहलाई निगरानी गर्दा मुटुसम्बन्धी रोगको जोखिम कम गर्न सकिन्छ ।


मधुमेह भयो भने कस्तो समस्या निम्तिन सक्छ ?
रगतमा चिनीको मात्रा उच्च हुँदा रक्तनलीमा गम्भीररूपमा क्षति पुग्न सक्छ ।
यदि तपाईँको शरीरमा रगत राम्रोसँग प्रवाह हुन सकेन भने त्यसबाट सबै अङ्गप्रत्यङ्गमा रगत पुग्न सक्दैन । अनि रगत पुग्न नसक्दा अक्सिजनको आपूर्ति अवरुद्ध हुन्छ र त्यसबाट स्नायुप्रणालीमा क्षति हुने जोखिम बढ्छ ।
त्यसले कुनै कुरा महसुस गर्ने र देख्ने क्षमता नै गुम्न सक्ने अनि पैतालामा सङ्क्रमण पनि हुनसक्छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार विश्वमा अहिले अन्धोपन, मिर्गौलाले काम नगर्ने, हृदयाघात, पक्षाघात र शरीरको तल्लो भाग काट्नुपर्नेजस्ता समस्याको प्रमुख कारण मधुमेह देखिएको छ ।
सन् २०१६ मा अनुमानित १६ लाख जनाको मृत्यु प्रत्यक्षरूपमा मधुमेहका कारण भएको थियो ।

कति मानिसलाई मधुमेह छ ?
डब्ल्यूएचओका अनुसार मधुमेह भएका मानिसको सङ्ख्या सन् १९८० मा १०.०८ करोड थियो । सन् २०१४ मा त्यो बढेर ४२.२० करोड पुगेको छ । सन् १९८० मा विश्वभरि १८ वर्षमाथिका वयस्कमध्ये ५ प्रतिशतभन्दा कमलाई मधुमेहको समस्या थियो ।
तर, सन् २०१४ त्यो दर ८.५ प्रतिशत पुग्यो ।
इन्टनेसनल डाइअबीटीज फेडेरेशनले यो समस्या भएका झन्डै ८० प्रतिशत वयस्कहरू मध्यम तथा न्यून आय भएका देशहरूमा बस्ने गरेको र त्यहाँको आहारविहारको शैलीमा तीव्ररूपमा परिवर्तन भइरहेको जनाएको छ । विकसित देशमा मधुमेहलाई गरिबी र सस्तो मूल्यमा पाइने प्रशोधित खानाको सेवनसँग जोडेर हेर्ने गरिएको छ ।
–बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *