साउथ चाइना सीमा वास्तविक “राक्षस” को हो ?
- माघ १, २०८१
वुडसाइड (अमेरिका), १६ नोभेम्बर (एएफपी) । अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका चिनियाँ समकक्षी सी जिनपिङ एक वर्षमा उहाँहरूको पहिलो शिखर सम्मेलनमा सैन्य सञ्चार पुनःस्थापना गर्न सहमत हुनुभएको छ ।
विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएका यी दुई मुलुकबिचको बढ्दो तनावलाई द्वन्द्वमा परिणत हुनबाट रोक्ने उद्देश्यले चार घन्टाको वार्ताका क्रममा उहाँहरूले हात मिलाउनुभयो र ऐतिहासिक क्यालिफोर्निया एस्टेटको एक बगैँचामा टहलिनुभयो ।
चीनले अमेरिकामा घातक महामारीका लागि जिम्मेबार औषधि फेन्टेनाइलको उत्पादनमाथि रोक लगाउने बारेमा पनि उहाँहरू सहमत हुनुभएको छ ।
चीन र ताइवानको ‘पुनःएकीकरण’ रोक्न नसकिने भन्दै चिनियाँ राष्ट्रपति सीले आफ्ना अमेरिकी समकक्षीसमक्ष ताइवानलाई हतियार आपूर्ति रोक्न आग्रह गरेसँगै दुवै नेताले ताइवानको विषयमा आफूलाई टाढा राख्नुभयो ।
सन् २०२२ नोभेम्बरमा बालीमा वार्तामा सहभागी भएयता यी दुई नेताबिच भेट भएको थिएन । यसै वर्षको फेब्रुअरीमा अमेरिकाले कथित चिनियाँ जासुसी बेलुनलाई गोली हानेपछि दुई मुलुकबिचको सम्बन्ध चिसिएको थियो ।
यद्यपि, सन् २०११ देखि नै सीलाई चिनेको उल्लेख गर्दै बाइडेनले क्यालिफोर्नियाको फिलोली एस्टेटमा पत्रकार सम्मेलनमा भन्नुभयो, “हामीले अहिलेसम्मको सबैभन्दा रचनात्मक र फलदायी वार्ता गरेका छौँ ।” द्वन्द्व वा आकस्मिक द्वन्द्वमा नफसियोस् भनेर अमेरिकाले दृढरूपमा प्रस्तुत हुँदै गएको चीनसँग ‘जोडदार’ तर ‘जिम्मेवारीपूर्वक’ प्रतिस्पर्धा गर्ने उहाँले बताउनुभयो ।
“हामी कुनै पनि फोन उठाउन सक्छौँ, सिधै फोन गर्न सक्छौँ र हाम्रो कुरा तुरुन्तै सुनिनेछ भन्नेबारेमा उहाँ र म सहमत भएका छौँ”, राष्ट्रपति बाइडेनले भन्नुभयो ।
उहाँका अनुसार सम्भावित द्वन्द्वबाट बच्न उच्चस्तरीय अमेरिका–चीन सैन्य सञ्चार पुनःस्थापना गर्न ‘आलोचनात्मकरूमा महत्वपूर्ण’ थियो । तत्कालीन अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले सन् २०२२ जुनमा अमेरिकासँगको सैन्य सञ्चार तोडेको थियो ।
दुवै पक्ष कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) का साथै आगामी महिना दुबईमा हुने कोप २८ शिखर सम्मेलनअघि जलवायु परिवर्तनसम्बन्धी सहयोगलाई अझ गहिरो बनाउन सहमत भएका छन् ।
अमेरिकाको ‘साझेदार र मित्र’ बन्न चीन तयार छ– सी
चीनका राष्ट्रपति सी जिनपिङले बुधबार चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताउनुभएको छ । चीनको सुस्त अर्थतन्त्रप्रति चिन्ता बढिरहेको बेला उहाँले अमेरिकी व्यापारिक नेताहरूसमक्ष उक्त कुरा बताउनुभएको हो ।
“यदि एउटा मुलुकले अर्को मुलुकलाई प्रमुख प्रतिस्पर्धी र सबैभन्दा परिणाममुखी भूराजनीतिक चुनौतीको रूपमा हेर्छ भने यसले गलत नीति निर्माण, भ्रमपूर्ण कार्य र अवाञ्छित परिणाम मात्र निम्त्याउने छ”, एसिया–प्रशान्त आर्थिक सहयोग (एपिइसी) शिखर सम्मेलनका क्रममा एक रात्रिभोजमा उहाँले भन्नुभयो ।
राष्ट्रपति सीको उक्त टिप्पणी अमेरिकी राष्ट्रपति जो बाइडेनसँग उहाँको बहुप्रतीक्षित वार्ताको केही घन्टापछि आएको हो । करिब एक वर्षपछि पहिलोपटक भएको भेटमा उहाँहरूले दुई मुलुकबीचको तनावलाई कम गर्ने वाचा गर्नुभएको छ ।
उच्चस्तरीय सैन्य हटलाइनलाई पुनः सक्रियताका साथ सुरु गरी दुवै पक्षले लक्जरी फिलोली एस्टेटमा वार्तापछि धेरै सम्झौताको घोषणा गरेका छन् ।
“हामीले धेरैभन्दा धेरै पुल बनाउनुपर्छ र जनता–जनताबीच कुराकानी गर्नका लागि अधिक सडक बनाउनुपर्छ”, करिब चार सय व्यापारिक नेता, सरकारी अधिकारी र शिक्षाविदहरूको उपस्थितिमा चिनियाँ राष्ट्रपति सीले भन्नुभयो, “हामीले विभिन्न अवरोध सिर्जना गर्नुहुँदैन वा भयावहको प्रभाव सिर्जना गर्नुहुँदैन ।”
सो अवसरमा उपस्थित हुने अतिथिहरूमा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुक, ब्ल्याकरकका लरेन्स फिङ्क र पिफाइजरका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बुर्ला हुनुहुन्थ्यो ।
चीनको कडा व्यापारिक निगरानी र द्विपक्षीय तनावको चिन्तालाई ध्यानमा राख्दै अमेरिका–चीन व्यापार परिषद् र अमेरिका–चीन सम्बन्धको राष्ट्रिय समितिले आयोजना गरेको कार्यक्रममा सीको टिप्पणीलाई ध्यानपूर्वक हेरिएको थियो । अमेरिकी कम्पनीहरूले तीव्ररूपमा चीनमा लगानी गर्नबाट पन्छिरहन खोजेसँगै सेप्टेम्बरमा चीनमा विदेशी व्यापारको विश्वास वर्षौंको सबैभन्दा तल्लो स्तरमा पुगेको अमेरिकी र युरोपेली उद्यम लबीहरूले बताएका छन् ।
Leave a Reply