सामाजिक सञ्जालमा नेमकिपाविरूद्ध प्रकाशित झूटा समाचारको खण्डन
- आश्विन २८, २०८१
एमालेका एक नेता निर्मल भट्टराईले केही दिनअघि भक्तपुरको एक कार्यक्रममा नेमकिपा र भक्तपुर नगरपालिकामाथि जथाभावी झूटा लान्छना लगाएर भ्रम फैलाउने कोशिश गरे । उनले तिहारपछि एमाले नेमकिपाविरुद्ध लाग्ने बताउँदै एमाले कार्यकर्ताहरूलाई तयार भएर बस्न आह्वान गरे ।
भट्टराईका अभिव्यक्तिको सार :
१. नेमकिपाले ५० वर्षमा भक्तपुरमा के ग¥यो ?
२. भक्तपुरका विद्यालयहरूमा गठित विद्यार्थी हित समिति खारेजीको अभियान चलाउँछौँ,
३. बिस्काजात्रा, गाइजात्रा र गुठीहरू नेमकिपाले एकलौटी कब्जा ग¥यो, एमालेलाई पनि हिस्सेदारी चाहियो ।
पहिले चर्चा गरौँ भट्टराईका बारेमा
निर्मल भट्टराइ पहिले पनि एमालेकै थिए अहिले पनि एमालेमै छन् । पहिले र अहिलेमा फरक यति छ कि उनले बितेका डेढ दशकको अवधिमा करिब आधा दर्जन पार्टी परिवर्तन गरिसके । २०६४ सालपछि माओवादीको शक्ति बढेको बेला उनले एमाले छोडेर माओवादी पार्टी प्रवेश गरे । त्यतिबेला एमाले रक्षात्मक अवस्थामा थियो । २०७० सालपछि माओवादीको ओरालो लाग्ने क्रम सुरु भयो । २०७२ सालपछि बाबुराम भट्टराइले नयाँशक्ति पार्टी खोलेपछि उनी माओवादी त्यागेर नयाँ शक्तिको पछि लागे । नयाँ शक्तिबाट केही पद पाउने आशा नभएपछि उनी पुनःएमालेमै फर्किए । पद पाउञ्जेल पार्टीमा बस्ने पदबाट हट्नासाथ पार्टीलाई लात मारेर पार्टी परिवर्तन गर्ने उनको विशेषता हो । उनी छेपारोलाई पनि माथ गर्ने खालका रंग फेर्ने वा पार्टी बदल्ने एक अवसरवादी, स्वार्थी र सिद्धान्तिहीन राजनैतिक व्यक्ति हुन् ।
झलनाथ खनाल प्रधानमन्त्री भएका बेला उनी प्रधानमन्त्रीका निजी सचिव थिए । त्यही बेला उनले ताथलीमा गाईपालनको नाटक गरे; नक्कली गोठहरू बनाए । मन्त्रालयबाट अनुगमन आउने दिन गाउँका भएभरका सबै गाई गोरु त्यहाँ जम्मा गरे । गाउँलेले पछिमात्रै उनको नक्कली काम थाहा पाए । अनुगमन समितिको आँखा छलेर १ करोडभन्दा बढी अनुदान रकम पचाएका उनी एक ठगको रुपमा परिचित छन् । त्यसमा एमालेकै कार्यकर्ताहरूले कारबाही चलाउन नखोजेका पनि होइनन्, शक्तिको भरमा उनी अहिलेसम्म बच्दै आएको एमाले निकटहरू नै बताउँछन् । साथै, संयुक्त सरकारको बेला गरिबी निवारण आयोगका उपाध्यक्ष बनेर अकुत सम्पत्ति जोडेको आरोप पनि उनले खेप्दै आएका छन् । एमाले सरकारमा नभएपछि पानीबिनाको माछाझैँ उनी छटपटिरहेका छन् । कुनै दिन उनी नेकामा प्रवेश गरेमा आश्चर्य मान्नुपर्ने छैन । अहिले नक्कली जोगीले बाक्लो खरानी घसेझैँ उनले नेमकिपा र भक्तपुर नगरपालिकाको विरोध गरेर एमालेमा विश्वास जित्ने कोशिश गर्दै छन् । त्यसैको परिणाम हो, उनको असन्तुलित अभिव्यक्ति ।
अब लागौँ, नेमकिपाको विरुद्ध उनको अभिव्यक्तिबारे ।
१. नेमकिपाले के ग¥यो भन्ने प्रश्नमा :
नेमकिपाले भक्तपुरमा के ग¥यो भनेर प्रश्न गर्नुभन्दा के गरेन भनी सोच्नुपर्ने थियो । भक्तपुर जिल्लाका सारा जनताको मोहियानी हक सुरक्षित गर्ने काम नेमकिपाका अग्रजहरूले गर्नुभयो । अहिले एमाले, माओवादीलगायत विभिन्न पार्टीमा लागेकाहरूको मोहियानी नेमकिपाकै कारण सुरक्षित भएको हो ।
शिक्षामा नेमकिपाले जितेको भक्तपुरमा शिशुस्याहार केन्द्रदेखि कलेजहरूसम्म नगरपालिकाले नै सञ्चालन गरी सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । गरिब विद्यार्थीहरूका लागि शैक्षिक ऋण, छात्रवृत्तिको बन्दोबस्तले कुनै पनि विद्यार्थी गरिबीको कारण उच्च शिक्षाबाट वञ्चित हुन नपर्ने ठाउँ हो भक्तपुर । के एमाले जितेका कुनै स्थानीय पालिकामा यस्तो व्यवस्था छ ?
स्वास्थ्यमा घरघरमा नर्सहरू गएर नागरिकको हेरचाह गर्नेदेखि वडा वडामा स्वास्थ्य केन्द्र र १०० शय्याको आफ्नै अस्पताल सञ्चालन गरी २० मिनेटमा जनतालाई स्वास्थ्य केन्द्रसम्म पहुँच पुग्ने ठाउँ पनि भक्तपुर नै हो । एमालेले जितेको पालिकाहरूमा पनि भक्तपुरमा जस्तै सस्तो र गुणस्तरीय स्वास्थ्य उपचार गरेको भए जनतालाई फाइदा नै पुग्ने थियो । छ त्यस्तो कहीँ ?
आत्मनिर्भरतालाई जोड दिँदै विदेशीको अर्बौँ रुपैयाँ अस्वीकार गरी स्थानीय जनताको सहयोगमा आफ्नै मौलिक सीप, प्रविधि र साधन प्रयोग गरी सयौँ सम्पदाहरू पुनःनिर्माण पनि भक्तपुरले गरेको छ । एमालेले जस्तै सबै काम ठेकेदारलाई जिम्मा दिएर कमिसन खाने काम भक्तपुरका जनप्रतिनिधिहरूले गरेनन् । नेमकिपाका कार्यकर्ता र जनप्रतिनिधिहरू एनजीओहरूका पछि लागेनन् । जे काम गरेको छ, त्यो पारदर्शी गरेको छ ।
प्रत्येक युवालाई हातमा सीप दिनुपर्छ भन्ने भावनाले विभिन्न सीपमूलक तालिम, भाषा तालिम, युवा स्वरोगजार कोषको व्यवस्था गरी युवाहरूलाई आत्मनिर्भर बनाउने प्रयत्न पनि भक्तपुरले गर्दै आएको छ ।
केही दशक अघिसम्म फोहोरी, अनपढ, ज्यापु भनी हेला र घृणा गरिएका भक्तपुरका जनता आज सभ्य र शिक्षित नागरिकका दर्जामा पुग्दै छन् । भक्तपुर एउटा देशकै सफा, सुन्दर र कला संस्कृतिको संरक्षित सहर, पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै छ । के यो साँचो होइन ?
निजी विद्यालय तथा कलेज सञ्चालक भएर काम गरेका, निजी अस्पतालबाट अकुत सम्पत्ति जोड्ने भट्टराईजस्ता सामन्तहरूका लागि भक्तपुर नगरपालिकाले गरेका कामहरू नदेख्नु आश्चर्यको विषय होइन । आँखा, कान, दिमाग भएर पनि देख्न, सुन्न र बुझ्न नसक्ने भट्टराईजी कस्ता प्राणी हुन् ? उनकै अभिव्यक्तिले प्रमाणित गर्दैन र ?
२) विद्यार्थीहित समिति खारेज गर्नेबारे
विद्यालयहरूमा विद्यार्थीहरूको हक हितको निम्ति आवश्यकताअनुसार विद्यार्थी हित समितिहरू गठन गरिएका हुन्छन् । समय समयमा साहित्यिक, सांस्कृतिक, खेलकुदलगायतका कार्यक्रमहरू त्यस्ता समितिहरूमार्फत हुने गर्छन् । त्यसमा भट्टराईको आपत्ति किन ? के उनले सबै विद्यार्थीहरूलाई पिँजडामै राख्न चाहेका हुन् ? भक्तपुरका विद्यार्थीलाई एक्काइसौँ शताब्दीका लागि योग्य अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धी बनाउने उद्देश्यले भनपाले विद्यालय तहदेखि तयारी गरिरहेको छ; स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रियसम्मका जानकारी विद्यालय तहदेखि नै दिंँदै आएको छ । भट्टराईजस्ता सामन्ती सोचका व्यक्तिहरूले चाहे पनि नचाहे पनि विद्या विकासको रथ अघि बढिरहने छन् । त्यसमा कसैले बाधा पु¥याउन आए त्यस्तालाई फोहर फाल्ने नालीमा फालिनेछ र विकासको रथ भने अगाडि बढिरहने छ ।
उनी विद्यार्थीहरूले राजनीतिमा भाग लिन्छन् भनेर डराएका देखिन्छन् । आफू भक्तपुर क्याम्पसमा विद्यार्थी राजनीति गरेर अहिले विभिन्न पार्टीका नेता भएर हिँडेको उनले बिर्से । आफूले गर्दा ठीक अरुले गर्दा बेठीक भन्ने सोच अनैतिकता हो । जनताका छोराछोरीहरूलाई राजनीतिमा सहभागी नगराउने भट्टराइको सोच राणा र सामन्तहरूको सोचभन्दा के नै फरक भयो र ? अनि त्यस्तालाई जनताले कम्युनिस्ट पार्टीका नेता मान्नुपर्ने ? धन्य एमाले कार्यकर्ताहरू !
३) बिस्काजात्रा, गाईजात्रा र गुठीहरूमा हिस्सेदारी सम्बन्धमा
भक्तपुरका जात्राहरूबारे भक्तपुरका जनतालाई मात्रै थाहा हुन्छ । कलकारखानाहरू, बैङ्कहरू, कलेज र विश्वविद्यालयहरू भागबन्डा गरेर सिध्याएर देशलाई आर्थिकरुपमा टाट पल्टाइसकेकाहरू अब भक्तपुरका जात्राहरूलाई पनि ध्वंस गर्ने अभिव्यक्ति दिंदै छन् । आफूले गर्न पनि नसक्ने अरुले गरेको कामलाई पनि बिगार्ने बाँदर बुद्धिका भट्टराईले परम्परादेखि चलिआएका जात्राहरू, गुठीहरूमा भाग चाहियो भन्नुको अर्थ के हो ? यहाँका मूर्त र अमूर्त संस्कृति, परम्पराहरू हाम्रा सम्पदाहरू हुन् । त्यसलाई नगरपालिकाले व्यवस्थित गर्दै संरक्षण गर्दै आएको छ । समय समयमा सरोकारवालाहरूको बैठक गरी हरेक जात्राहरूलाई व्यवस्थितरूपमा सम्पन्न गर्दै आएको छ । एमालेलाई पनि भाग चाहियो भन्नुको अर्थ जात्रामा अशान्ति मच्चाई आफ्नो निहित स्वार्थ पूरा गर्नुबाहेक अरु के हुनसक्छ ?
हो, नेमकिपाले राष्ट्रघाती सन्धि सम्झौताहरू महाकाली सन्धि, नेपाललाई अमेरिकाको सैन्य क्याम्पमा पु¥याउने एमसीसी र नागरिकता विधेयकको विरोध ग¥यो । देशलाई जोगाउन नेमकिपा एक्लैले पनि सदन र सडकमा निरन्तर सङ्घर्ष गर्दै आयो । नेमकिपाले देश र जनताको सेवालाई नै राजनीति ठान्यो र त्यहीअनुसार व्यवहार गर्दै आएको छ । एमालेले जस्तै नेमकिपाले भागबन्डा खोजेन, भ्रष्टाचार गरेन र कलकारखाना कौडीको मूल्यमा पुँजीपतिवर्गलाई बेचेर युवाहरूलाई खाडी मुलुकमा पठाउने अपराध गरेन । बालुवाटारको जग्गा काण्ड, ओम्नी काण्ड, गोकर्ण रिसोर्ट काण्ड, गिरिबन्धु टी स्टेट काण्ड, पशुपतिमा सुनको जलहरी काण्ड, १०० केजी सुन काण्डमा एमालेका कति जना नेताहरू फसे ? भट्टराईजीकै नेता झलनाथको नाउँमा खोलिएको एनजीओले जस्तै सर्प पाल्न ६०–७० करोड राजस्वमा ब्रह्मलुट नेमकिपाले गरेन । हो, त्यसैले त भट्टराईजीले नेमकिपालाई प्रश्न गरेका होलान्, ५० वर्षमा नेमकिपाले के ग¥यो ? नेमकिपाले जस्तै देश र जनताको पक्षमा एमालेले सरकारमा गएको बेला काम गरेको भए देश अहिले कहाँ पुगिसक्थ्यो होला । के भट्टराईजीले अनुमान गर्न सक्छ र ? देशलाई यो अवस्थामा पु¥याउनेमा नेका र माओवादीभन्दा एमाले कम दोषी छैनन्, चेतना भया !
Leave a Reply