के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
यसपालिको तिहार तथा नयाँ वर्ष नेपाल संवत् ११४४ को पूर्वसन्ध्यामा तीनवटा नयाँ प्रकाशन हात परे । नेपाली साहित्यमा समेत आर्थिक मन्दीको नकारात्मक प्रभाव देखियो भनी सर्वत्र चिन्ता छाइरहँदा यी तीन प्रकाशनले साँच्चिकै मौनता तोडेझैँ र आशाको किरण देखाएझैँ भयो भन्दा अन्यथा नहोला !
चाडपर्व भनेपछि पूजाआजा, नाचगान, खानपिन, घुमघाममात्र हो भन्ने मनोविज्ञानमा परिवर्तन ल्याएर साहित्यिक, सांस्कृतिक तथा बौद्धिक चिन्तन–मनन एवम् अध्ययन—अन्तत्र्रिmया चाडपर्वको अनिवार्य हिस्सा हो भन्ने मान्यता स्थापित गर्न सकेको दिन नेपाली समाजले साँचो परिवर्तनको क्षितिज उघारिएको अनुभव गर्नेछन् । तसर्थ, साहित्यको सिर्जना तथा प्रकाशनले हाम्रो चाडपर्वलाई समय, समाज, देश—विदेशसँग जोड्न सहजीकरण गर्नेछ ।
पहिलो उपहार— ‘जीवन एक : सङ्घर्ष अनेक’
संयोगले ती तीनवटै प्रकाशनको सार्वजनिकीकरण कार्यक्रमको समेत दर्शक–स्रोता बन्ने अवसर मिल्यो । मिर्मिरे (The Dawn) को कार्तिक २४ गते, ‘जीवन एकः सङ्घर्ष अनेक’ को कार्तिक २५ गते तथा ‘विविध’ को कार्तिक २८ गते सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भयो । प्राध्यापक कोमलवदन मल्लको आत्मकथा ‘जीवन एकः सङ्घर्ष अनेक’ को सार्वजनिकीकरण वरिष्ठ लेखक, समाजसेवी तथा प्राध्यापकहरूको उपस्थितिमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले गर्नुभएको हो । यसप्रकार चार—पाँच दिनको अन्तरालमा महत्वपूर्ण पाठ्यसामग्री प्राप्त भएकोमा एक उत्सुक पाठकको नाताले खुसीको सीमा नै रहेन ! अजिङ्गरको आहार दैवले पु¥याउँछ भनेझैँ भयो भन्नु अतियुक्ति नहोला ! ढुङ्गा खोज्दा देउता मिल्यो ! धेरैले यस्तै अनुभूत गरेको हुनुपर्छ भन्ने अनुमान सहजै गर्न सकिन्छ । यस अर्थमा प्रकाशकहरू साधुवादका पात्र हुन् !

पूर्व—बाल्यावस्थाका जानकार तथा एक अग्रणी व्यक्तित्व प्राध्यापक मल्लको आत्मकथा सार्वजनिकीकरण कार्यक्रममा भक्तपुरमा जन्मेर हाल काठमाडौँमा स्थायी बसोबास गर्ने व्यवसायी, बुद्धिजीवीहरू तथा ज्येष्ठ नागरिकहरूको उल्लेख्य सहभागिता थियो । एक वक्ताले उल्लेख गरेको प्रसङ्ग उद्धृत गर्नु सान्दर्भिक हुनेछ । उनको कथन थियो, “आजको भक्तपुरबारे अग्रज पुस्तासमक्ष म केही कुरा निवेदन गर्छु । यो मैले बाँचिरहेको भक्तपुर हो । यहाँबाट ‘मजदुर’ दैनिक र ‘श्रमिक’ साप्ताहिक विगत तीन दशकदेखि निरन्तर प्रकाशन हुँदै छ । यी दुई वटै पत्रिका वर्षमा कहिल्यै नटुटाई प्रकाशित हुन्छन् । नेपालीमा प्रकाशित हुने यी दुईवटा पत्रिकाले अन्तर्राष्ट्रिय राजनीतिबारे यथार्थ जानकारी दिँदै आइरहेका छन् ।” उनले अगाडि थप प्रस्ट पार्दै भने, “यहाँबाट हरेक दुई या तीन महिनामा एउटा अन्तर्राष्ट्रिय विषयको पुस्तक प्रकाशित हुन्छ । दसैँदेखि आजसम्ममा ‘युक्रेनमा नवनाजीवाद’, ‘रुसको डिसेम्बर विद्रोह’, ‘देशघाती एमसीसी सम्झौताविरूद्ध सङ्घर्षमा नेमकिपा’ प्रकाशित भएका छन् । अन्य नियमित प्रकाशन त आफ्नो ठाउँमा छँदै छ । यहाँ हरेक हप्ताजसो अन्तरक्रिया, छलफल, गोष्ठी हुन्छन् ।”
प्रमुख अतिथि रोहितले विद्यालय जीवनका आफ्नी सहपाठी प्राध्यापक मल्ललाई उपन्यास लेख्न सुझाव दिँदै आत्मकथाबाट ‘म’ झिके उपन्यास बन्ने विचार राख्नुभयो । यथास्थिति तथा अन्धविश्वासको विरोध आवश्यक भएको उहाँले प्रस्ट पार्नुभयो । दुःख—कष्ट पाएकाहरूले समाजलाई परिवर्तनतर्पm डो¥याउन सङ्घर्ष गर्नुपर्ने अध्यक्ष रोहितको भनाइ थियो । आत्मकथा आत्मश्लाघातिर जाने खतरा बढी हुनेतर्पm पनि उहाँले सचेत गराउनुभयो ।
एक वक्ताले आत्मकथा विगतको भक्तपुर तथा शैक्षिक वस्तुस्थिति हेर्ने एउटा आँखीझ्याल साबित हुने विश्वास व्यक्त गरे । प्राध्यापक मल्लको पुस्तकमा प्रस्तुत गरिएका अविश्वसनीय प्रसङ्गहरू, विज्ञानसँग मेल नखाने दृष्टान्त तथा वर्तमानसँग बाझिने घटना आदिबारे थप छलफलको जरुरत पर्नेबारे विवाद नहोला ! प्राध्यापक मल्लको सरल स्वभाव, जीवन सङ्घर्ष र सफलताबारे पुस्तकले स्पष्ट तस्बिर प्रस्तुत गरेको हरेक पाठकले अनुभव गर्नेछन् ।
दोस्रो उपहार— ‘विविध’
विविध भाषा साहित्य सम्मेलन तिहारको परिपूरक बनिसकेको छ भन्दा फरक नपर्ला ! यो वर्ष त झन् रजत सम्मेलन ! तिहारमा हुने जुवातास, होहल्ला, झिलीमिली आदिबाट पर लगी साहित्य, कला, संस्कृति, राजनीतिजस्ता गम्भीर विषयबारे चिन्तन गराउने हेतुले विगत २४—२५ वर्षदेखि निरन्तर चलिरहेको यो सम्मेलनको आयोजक समितिले यो वर्ष पनि स्मारिका प्रकाशित ग¥यो— ‘विविध’ । ‘विविध’ को सज्जा पक्षमा सुधार आउनु स्वागतयोग्य मान्नुपर्छ ।
यसमा प्रकाशित अध्यक्ष रोहितको अन्तर्वार्ता हरेक राजनीतिक कार्यकर्ता, लेखक–कलाकारले अनिवार्य अध्ययन गर्न आवश्यक छ । साहित्य, संस्कृति, राष्ट्रिय—अन्तर्राष्ट्रिय राजनीतिबारे उहाँको सान्दर्भिक विचारले धेरैलाई सही दृष्टिकोण निर्माण गर्न सघाउनेछ । वर्तमान विश्व राजनीतिमा संरा अमेरिकाको स्थिति र बाइडेनले युक्रेन, प्यालेस्टाइनमा चालु राखेको युद्धको वास्तविक कारण बुझ्न यो अन्तर्वार्ता महत्वपूर्ण सामग्री हो ।

‘विविध’ भित्रका अन्य लेखरचना, कविता, कथाले स्मारिकालाई थप पठनीय बनाएको अनुभूत हुन्छ । साहित्यमार्पmत प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धता तथा साम्राज्यवादी युद्धको विरोध गरी ‘विविध’ ले आफ्नो स्पष्टतामात्र देखाएन, अन्तर्राष्ट्रवादी धर्मसमेत निर्वाह गरेको बारे दुईमत नहोला ! त्यस अर्थमा यो ‘विविध’ समयसान्दर्भिक छ । ‘विविध’ पाठकसम्म पु¥याउने मेहनती हातहरूप्रति हार्दिक आभार । ‘विविध’ पढ्न अर्को वर्ष या सम्मेलननै कुर्नुपर्ने बाध्यता याद मात्र आउँदा पनि मन भारी हुनेहरूको सङ्ख्या धेरै छ ।
तेस्रो उपहार— ‘मिर्मिरे’
‘मिर्मिरे’ (The Dawn) यदि योपटक प्रकाशित नगरिएको भए पाठकहरू एक हिसाबले अन्यायमा पर्ने थिए ! यो ३७ औँ अङ्कको मूल रचना या अग्रलेख अर्थात् नारायणमान बिजुक्छेँको मार्गनिर्देशनात्मक मन्तव्य तथा गहन विचारबाट पाठकहरू वञ्चित भएर बस्न बाध्य हुन्थे ! त्यसो भएन, राम्रो भयो । उहाँको महत्वपूर्ण विचार तथा गम्भीर चिन्तनबारे अवगत हुने पाठकहरूले राम्रो अवसर पाए ।
अध्यक्ष रोहितले महिला शिक्षा तथा महिला नेतृत्वको जुन छलफल महत्वका साथ गर्नुभयो त्यो अत्यन्त प्रेरणादायी छ । उहाँको आत्मविश्वासलाई सलाम छ ! हरेक क्षेत्रमा महिला सचेतना, सहभागिता, सक्रियता तथा सफलताबारे उहाँको अनुमान ढिलो या चाँडो साकार हुने विश्वास गर्ने प्रशस्त आधार देखिँदै छ । उहाँका शब्द जस्ताको त्यस्तै उद्धृत गर्नु सान्दर्भिक हुनेछः “यही गतिमा अगाडि बढ्यौँ भने १० वर्षमा भक्तपुरको नेतृत्व महिलाहरूले गर्नेछन् । तपाईँहरू यसबारे विचार गर्नुहोला ! एक दुई वर्षदेखि कलेजहरूको नेतृत्व पनि महिलाहरूमा जाँदै छ । विस्तारै अरु क्षेत्रमा पनि आउनेछन् । यो दस वर्ष लाग्छ तर बिचमा कुनै बाधा व्यवधान आएन भने । यो वाक्य हामीले बिर्सन हुन्न ।”
यही मन्तव्यमा अध्यक्ष रोहितले इतिहासको पुनर्लेखन आवश्यक भएको चर्चा गर्दै आलोचनात्मक चेतको विकासमा जोड दिनुभयो । इतिहास र भूगोलको अध्ययन गर्न नयाँ पुस्तालाई सल्लाह दिनुहुँदै उहाँ भन्नुहुन्छ, “इतिहास नपढेपछि हिजो के भएको हामी थाहा पाउँदैनौँ । अनि हिजो गरेको गल्ति फेरि गर्छौँ ।” विश्व इतिहासका पात्र, प्रवृत्ति तथा घटनाहरू उदाहरणका रूपमा अघि सार्दै अध्यक्ष रोहितले सरल ढङ्गमा विश्लेषण गर्नुभयो । मन्तव्यमा उहाँले विश्वका विभिन्न कुनाकाप्चामा नयाँ लडाइँको सम्भावनासमेत औँल्याउनुभएको ३ महिनामा प्यालेस्टाइनमाथि इजरायली नृशंस हमला सुरु हुनु के संयोग हो ? यस्तो महत्वपूर्ण विचार पाठकसामु पुग्न तीन—तीन महिना कुर्नुपर्ने स्थिति सम्झिँदा भने उदेक लाग्नु अस्वाभाविक मान्न सकिन्न !

भनपाका प्रमुख सुनिल प्रजापतिसँग साक्षात्कारले नयाँ पुस्तालाई थप उत्सुक एवम् जागरुक बनाउनेछ । यस प्रकृतिका अन्तरक्रियाले बालबालिकामा उमेर सुहाउँदो सामाजिक, मानसिक तथा संवेगात्मक विकासमा टेवा पु¥याउनेछ । जिम्मेवारीबोध तथा अपनत्वको क्रमिक विकास हुनेछ । वडाध्यक्ष, प्रमुख, उपप्रमुख नचिन्ने पुस्ता तयार गरेर या चिनाउनसमेत आवश्यक नठानी हुर्काइएको नयाँ पुस्ता कोप्रति उत्तरदायी होला ? सोचनीय छ । आँगन नचिनाउने अध्ययन तथा शिक्षण विधिले हामीलाई कतातिर डो¥याउला ? कहाँ पु¥याउला ? माटो नचिनाए मन कस्तो बन्ला ? सामान्य लाग्ने यी सवालको जवाफ दिन भने ढिलो भइसकेको छ !
व्यक्ति परिचय स्तम्भअन्तर्गत ‘वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी’ र ‘सधैँ पाश्र्वभूमिकामा सन्तुष्ट हुने कामरेड शोभा’ लेखले देशभित्रका असल मानिसहरूसँग नयाँ पुस्तालाई साक्षात्कार गराउनेछ । देश चिनाउन कञ्जुस्याइँ गर्ने शिक्षानीति तथा पाठ्यक्रमको खण्डन व्यवहारबाट भएको अनुभव पाठकले गर्ने निश्चित छ ।
नेपाली युवा पुस्तालाई सकेसम्म अफ्रिकाबारे जानकारी दिइन्न । स्कूल, कलेज, विश्वविद्यालयमा पढाइन्न । अफ्रिकी नेताहरूको उल्लेख विरलैमात्र गरिन्छ† गर्नै नपरे हुन्थ्यो भन्ने मनमा राखिन्छ । कथंकदाचित् जानकारी दिनैपरे नेल्सन मण्डेलासम्म मात्र पु¥याइन्छ, त्यो पनि सतही पारामा ! त्यो भन्दा पर पु¥याइन्न ! प्याट्रिस लुमुम्बा, क्वामे एन्क्रुमा, क्रिस हानी, जुलियस निरेरे, थोमस साङ्कारा, सेकुतुरे आदि त झन् लुकाइन्छन् । अफ्रिकाका स्वतन्त्रता सेनानीहरू, रङ्गभेदविरोधी नेताहरू, देशभक्त एवम् उपनिवेशवादविरोधी लेखक, कवि, कलाकारहरूबारे यहाँ चर्चा होला भन्ने डर शासकहरूमा रहेको प्रस्ट छ । यस्तो परिस्थितिमा ‘मिर्मिरे’ ले प्याट्रिस लुमुम्बा चिनाउने सानो प्रयासमात्र गर्नु पनि मरुभूमिमा थोरै पानी भेटिएको अनुभव हुनु अस्वाभाविक होइन ! यो सङ्क्षेपिकृत लेखमा पूर्णता खोज्नु त्यति उचित नहोला ! यद्यपि, आगामी दिनमा अरु धेरै महत्वपूर्ण अफ्रिकी व्यक्तित्व चिनाउने प्रयत्न जारी राखोस्, शुभेच्छा छ ।
चिनियाँ शिक्षिका मोखको नेपाल बसाइँ तथा शिक्षणको छोटो अनुभव धेरैको मन छुने खालको छ । अनुभवका अरु पत्रले पाठकका खुल्दुली मेट्ने विश्वास लिन सकिन्छ ।
बाल विकास स्कूलले प्रकाशित गरेको ‘मिर्मिरे’ त्यो पहिलो प्रकाशन हुनुपर्छ जसले सम्पादकीयमै स्वतन्त्र प्यालेस्टाइनको पक्ष लिएको छ । अङ्ग्रेजीमा लेखिएको सम्पादकीयको शीर्षक छ, “प्यालेस्टिनीहरूलाई सास फेर्न देऊ ! गाजालाई बाँच्न देऊ !” प्यालेस्टाइनमा भइरहेको बर्बरता, बालबालिकाको हत्या, महिला तथा नागरिकहरूको संहारको सम्पादकीयमा विरोध गरिएको छ । विध्वंश, जातीय सफाया, नरसंहारको विरोध गर्नु निश्चय पनि हरेक सचेत मानिसको कर्तव्य हो । शिशु, बालबालिका, आमाहरू, वृद्धवृद्धाहरूको चौविसै घण्टा हत्या भइरहँदा र मानव बस्ती, स्कूल, अस्पतालमा समेत वमवर्षा भइरहँदा मौन बस्नु मानवीय धर्म कदापि हुन सक्दैन । ‘मिर्मिरे’ ले बोल्यो, हार्दिक धन्यवाद !
शिक्षक–शिक्षिकाहरूका लेख रचना, रङ्गिन तस्बिरसहित ५४ पृष्ठको ‘मिर्मिरे’ पठनीय छ । ‘मिर्मिरे’ अमूल्य भएर नै हो कि मूल्य कतै उल्लेख गरिएको देखिँदैन !
अन्त्यमा,
विशेषगरी चाडपर्वमा साहित्यिक प्रकाशन तथा सांस्कृतिक गतिविधिको निरन्तरताको अपेक्षा राख्नेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै छ । यसले समाजको सांस्कृतिक स्तरको विकासतर्पm सङ्केत गर्दछ । विभिन्न जिम्मेवार सङ्घ—संस्थाले यतातर्पm गम्भीरता देखाउने आशा छ । यी तीन प्रकाशनले यो वर्षको तिहारलाई थप उज्यालो बनाएको हुनाले विशेष आभार ! न्हू दँ नेपाल संवत् ११४४ मा जनताका साहित्यको प्रकाशन तथा छलफलले अझ उचाइ चुमोस् !
सबै पाठक—लेखक—कवि—कलाकारमा न्हू दँ नेपाल संवत् ११४४ को भिन्तुना !
कार्तिक ३० गते
Leave a Reply