भर्खरै :

नगरपालिकाको स्वीकृति नभएको सहकारी बन्द गराउनुपर्ने

नगरपालिकाको स्वीकृति नभएको सहकारी बन्द गराउनुपर्ने

भक्तपुर, २ मङ्सिर । थालाछेँ बचत तथा ऋण सहकारीको १६ औँ वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा सांसद सुवालले नगरपालिकाको स्वीकृति नभएको सहकारी बन्द गराउनु जरुरी रहेको उल्लेख गर्दै सहकारी संस्थाले सदस्यहरूलाई पहिलेभन्दा थप सेवा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको ‘चिनियाँ जनकम्युन’ अध्ययन गर्नु जरुरी छ । सहकारीलाई जनकम्युन हुँदै समाजवादसम्म विकास गर्नु आवश्यक छ । समाजवादमा सरकारको स्वामित्वमा उत्पादन र वितरण हुनेछ । शिक्षा, स्वास्थ्य, रोजगारी, आवासलगायत मानिसको गर्भदेखि चिहानसम्मको सबै जिम्मेवारी सरकारको हुने व्यवस्था समाजवाद हो ।”
समुदायमा आधारित नभएका सहकारीले जनताको खर्बौँ रुपैयाँ ठगी गरी सञ्चालक बेपत्ता भएको, ओरियन्टल सहकारीले भक्तपुरका जनताको अर्बौँ रुपैयाँ ठगी गरेको, सिभिल सहकारीले पनि जनताको अर्बौँ रुपैयाँ ठगी गरेको र यसको मुख्य सञ्चालक डिल्लीबजारको जेलमा रहेको समाचारबारे जानकारी गराउँदै सचिव सुवालले भन्नुभयो, “ब्याजको लोभमा बाहिरबाट आएका सहकारीमा जनताले बचत गर्नुहुँदैन । मन्त्रीहरू र तिनका आफन्तहरूको बचतसमेत सहकारीको ठगीमा परेको समाचार छ ।”
निजी बैङ्क सञ्चालकहरू पनि नेपाली र विदेशी दुवै देशको नागरिकता भएको हुँदा त्यस्ता निजी बैङ्कमा राखिएको जनताको बचत पनि जोखिममा पर्ने खतरा रहेको तर्फ उहाँले सतर्क गराउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “सहकारीका सदस्य र तिनका परिवारलाई सहकारी ऐन, नियमलगायत देश र विदेशको राजनीतिक अवस्थाबारे प्रशिक्षित गर्नु जरुरी छ ।”
प्यालेस्टाइनमाथि इजरायलको हमलाबारे स्पष्ट पार्दै उहाँले भन्नुभयो, “प्यालेस्टिनीहरूको भूमि कब्जा गरी यहुदीवादीहरूको लागि इजरायल देश घोषणा गरिएदेखि मध्यपूर्वमा लडाइँ भइरहेको छ । संयुक्त राष्ट्र सङ्घमा असोज ५ गते इजरायलका प्रधानमन्त्री नेतन्याहुले प्यालेस्टिनी भूमि नभएको नयाँ मध्यपूर्वको नक्सा देखाएका थिए । प्यालेस्टिनीहरूले असोज २० गते त्यसको जवाफ दिँदा इजरायलमा कमाउने र सिक्ने भनी पठाइएका १० जना नेपाली विद्यार्थीको मृत्यु भयो र १ जना बेपत्ता अवस्थामा छ । युद्ध भूमि इजरायलमा नेपाली विद्यार्थी र अन्य कामदार पठाउने प्रम, मन्त्री, सचिव र म्यानपावर कम्पनीका सञ्चालकहरू नेपाली विद्यार्थी मृत्युका दोषी हुन् । प्यालेस्टिनीहरूको सफाया गराउन नै अमेरिकी सरकारले इजरायली सरकारलाई हतियार पठाएर सहयोग गरेको हो । प्यालेस्टिनी भूमि गाजापट्टीमा २३ लाख मानिस डेढ महिनादेखि खानेपानी, बिजुली, औषधि, खाना नपाएर तड्पिरहेका छन् भने ५० हजार गर्भवती महिला छटपटीको अवस्थामा छन् । इजरायली सरकारको आक्रमणबाट गाजापट्टीका १२ हजार सर्वसाधारणको मृत्यु भयो । त्यसमध्ये ५ हजार बालबालिका छन् । कार्तिक ३० गतेको सुरक्षा परिषद्को बैठकमा गाजापट्टीमा मानवीय सहयोग पठाउने प्रस्ताव पारित भयो । त्यसअघिका चारओटा प्रस्ताव अमेरिकी सरकारले विशेषाधिकार प्रयोग गरी विफल बनायो । अहिले इजरायल सरकारले गाजापट्टीमा युद्ध चालू राख्ने बताउँदै सुरक्षा परिषद्को निर्णयलाई उल्लङ्घन गर्दै छ । मध्यपूर्व संसारको तीनचौथाइ तेलखानी भएको क्षेत्र हो । यही तेलखानी कब्जा गर्न अमेरिकी सरकारले प्यालेस्टाइनमा इजरायली सरकारलाई हतियार दिएर आक्रमण गरिरहेको हो ।”
सोभियत सङ्घ विघटन हुनु र देश टुक्रिनुमा पनि अमेरिकी साम्राज्यवादको हात रहेको स्पष्ट पार्दै सचिव सुवालले अमेरिकी साम्राज्यवादले युक्रेनमा रुसविरुद्ध छद्मयुद्ध गराइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बेलायती साम्राज्यवादले हिन्दू र मुसलमानलाई लडाएर भारतमा २१० वर्ष उपनिवेश चलाएको थियो । भारतीय विस्तारवादले नेपालको जल, जङ्गल र उद्योग–व्यापार कब्जा गर्दै छ । प्रम दाहालको पछिल्लो भारत भ्रमणमा नेपालको फुकोट कर्णाली जलविद्युत् योजना भारतीय एकाधिकार पुँजीलाई दिइयो ।”
२५० वर्षअघि पृथ्वीनारायण शाहले बेलायती साम्राज्यवादको बन्दुक ल्याएर काठमाडौँ उपत्यकामा आक्रमण गरेको र त्यसबेला यहाँका नेवारहरूबिच मतभेद ल्याइएको र अहिले पनि नेपाल संवत् ११४४ र म्हःपुजा दुईदिन गराई उपत्यकाका रैथानेहरूलाई विभाजन गराउने कोसिस भइरहेको तर्फ सचिव सुवालले सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “सहकारी संस्थाले सदस्य र तिनका परिवारलाई सीपमूलक तालिम दिने, लेखासम्बन्धी प्रशिक्षण दिने, गीत–सङ्गीत, नृत्य तालिम दिने, पाकशिक्षा, चित्रकला, स्वास्थ्य शिविर, ज्येष्ठ नागरिक आदर निकेतन आदि सञ्चालन गरी सेवा गर्नु जरुरी छ । एउटा घरबाट एक वर्षमा ७० किलोग्राम खानेकुरा फालिने समाचार छ । खाद्यान्न उत्पादन गर्न धेरै पसिना लाग्ने भएकोले खानेकुरा फाल्नुहुँदैन ।”
“नेपालको कृषि विकास गर्न किसानहरूलाई सहयोग गर्ने कामलाई सहकारीले पहिलो प्राथमिकतामा राख्नु आवश्यक छ† अहिले नेपाली युवा वैदेशिक रोजगारीमा पठाइएको हुँदा दाल, तरकारी, चामलसमेत भारतबाट किनेर खानुपर्ने बाध्यता भयो”, सचिव सुवालले भन्नुभयो ।
सहकारी संस्थाले बोक्साबोक्सी, छाउगोठलगायत टाउकोमा कलश बोकाउने, तुलादान, भूमिदानजस्ता अन्धविश्वासको खण्डन गरेर सदस्यहरूलाई विज्ञानसम्मत जीवन जीउन प्रशिक्षण दिनु जरुरी रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सहकारी संस्थाका सदस्यहरूको व्यापक हितको निम्ति आवश्यक कानुनी व्यवस्थासम्बन्धी सुझाव प्राप्त भए हामीले संसद्मा राखेर सरकारको ध्यानाकर्षण गराउनेछौँ ।”
सचिव सुवालले भन्नुभयो, “सहकारीका सदस्यहरूलाई प्रकाशनबारे अन्तरक्रिया गराई सचेत गराउनु जरुरी छ । तीन महिनायता प्रकाशित ‘समाज विकासको एक झलक’, ‘रुसको डिसेम्बर विद्रोह’, ‘अमेरिकी प्रजातन्त्र’, ‘युक्रेनमा अमेरिकी छद्म युद्ध’, ‘एमसीसीविरुद्धको सङ्घर्ष’ लगायत पुस्तकबारे संस्थाका सदस्यहरूबिच अन्तरक्रिया गर्नु उपलब्धिपूर्ण हुनेछ । जनतासँग उठाएको स्वास्थ्य बीमाको करोडौँ र अर्बौँ रुपैयाँ सरकारले जम्मा गरी सम्बन्धित अस्पताललाई नपठाउनु गरिब जनतालाई उपचार नगराई मार्नुजस्तै हो ।”
भनपा वडा नं. १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले भनपाबाट नगरवासीको आवश्यकताअनुसार सेवा गर्दै आएको र शिक्षा, स्वास्थ्य तथा सरसफाइमा विशेष जोड दिई कार्य गर्दै आएको बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णगोविन्द लाखाजूले साधारणसभाको आवश्यकता, महत्वबारे जानकारी गराउनुभयो ।
भक्तपुर बचत तथा ऋण सहकारी संस्थाका बलराम प्रजापतिले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त साधारणसभामा सहकारीका विश्वराम दुमरु, कृष्णभक्त गैडा, राधिका जति, बदनकेशरी प्रजापति र जीवन वातांकक्षीले पनि बोल्नुभएको थियो ।
सभाले सहकारीका विभिन्न प्रतिवेदनहरू पारित गर्नुको साथै सहकारीका ज्येष्ठ सदस्य, उत्कृष्ट बचतकर्ता, ऋणी र एसईई उत्तीर्ण सदस्यका छोराछोरीहरूलाई सम्मान गरिएको थियो ।
सभाले रामकृष्ण सांगाछेँको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको छ भने निर्मला ह्यौँमिखाको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति गठन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *