भर्खरै :

नेक्राकिसङ्घको मुखपत्र ‘किसान–सङ्घर्ष’ बारे अन्तरक्रिया

नेक्राकिसङ्घको मुखपत्र ‘किसान–सङ्घर्ष’ बारे अन्तरक्रिया

भक्तपुर, २ मङ्सिर । नेपाल क्रान्तिकारी किसान सङ्घको मुखपत्र ‘किसान सङ्घर्ष’ को नयाँ अङ्कको शनिबार कार्यकर्ताबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले पार्टीको मार्ग निर्देशक सिद्धान्तप्रतिको आस्था नै कार्यकर्ता जाँच्ने कसी हो भन्नुभयो । पार्टीको राजनीतिक कक्षामा बस्छ या बस्दैन, पार्टीको गतिविधिमा भाग लिन्छ वा लिँदैन, पार्टीको साहित्यको अध्ययन गर्छ या गर्दैन, पार्टीलाई नियमित चन्दा दिन्छ या दिँदैन भन्ने आधारमा कार्यकर्ताको भूमिका मापन हुने उहाँको भनाइ थियो ।
केन्द्रीय सदस्य गोसाईले पार्टीको कुनै पनि संरचनामा प्रजातान्त्रिक केन्द्रीयताको सिद्धान्त लागु हुने भन्दै कोही व्यक्तिको आग्रह वा प्रभावमा मात्र सङ्गठन सञ्चालन नहुने धारणा राख्नुभयो । मोहीयानी हकसम्बन्धी आन्दोलनबाट फाइदा लिएकालाई पार्टीको कक्षामा राखेर सङ्गठित गर्न नसक्दा किसान सङ्गठनले यथोचित विकास गर्न नसकेको विश्लेषणप्रति समीक्षा आवश्यक भएको उहाँको तर्क थियो । सङ्गठनभित्र गोप्यता कमजोर हुँदा शत्रुले फाइदा उठाएका उदाहरण दिँदै केन्द्रीय सदस्य गोसाईले जागिर दिएरमात्र सङ्गठनको विकास नहुने बरु राजनीतिक चेतनास्तर उठाएर सङ्गठनको विकास गर्न सकिने विचार राख्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले सन् १९५० को चीनको क्रान्तिमा किसानको महत्वपूर्ण भूमिका भएको भन्दै सांस्कृतिक क्रान्तिको बेला किसानबाट सिक्न सहरिया शिक्षितहरूलाई गाउँगाउँ पठाएको उदाहरण प्रस्तुत गर्नुभयो ।
साम्राज्यवादी स्वार्थको कारण मध्यपूर्वमा युद्ध भइरहेको भन्दै उहाँले नेपाललाई प्यालिस्टिन बन्न नदिन सङ्घर्ष आवश्यक भएको भनाइ राख्नुभयो ।
नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले नेक्राकिसङ्घको तेस्रो राष्ट्रिय सम्मेलन सफल पार्नको लागि काठमाडौँका जनताले धेरै सहयोग गरेको चर्चा गर्दै काठमाडौँका किसानहरू विस्तारै सङ्गठित हुँदै आएको बताउनुभयो । नेक्राकिसङ्घको आन्दोलनले गर्दा भक्तपुरका किसानहरूले मोहीयानी हक पाएको हुँदा यस्तो आन्दोलन देशभरि फैलाउनु आवश्यक भएको चर्चा गर्नुभयो । किसान सङ्घ किसानहरूको लागि विश्वविद्यालय भएको हुँदा किसान सङ्घले विभिन्न प्रकाशनहरू अध्ययन गरी अन्तरक्रिया कार्यक्रम गर्दै आउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
यहाँको सरकार पनि भारतीय इसारामा चलिरहेको हुँदा कुनै दिन नेपाल भारतमा गाभ्न सक्ने सम्भावना रहेको चर्चा उहाँले गर्नुभयो ।
कार्यक्रमका सभापति एवं नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले किसान कार्यकर्ताहरूलाई सङ्गठित गर्दै किसान सङ्घलाई विस्तार गर्न किसान कार्यकर्ताहरू अगाडि बढ्नुपर्ने चर्चा गर्नुभयो ।
उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्यहरू नारायण भेले, श्याम विशंखे, नरमान महर्जन, गीता काफ्ले, वीरबहादुर डंगोल, कवीन्द्र डंगोल र केन्द्रीय सचिव हरिराम सुवालले पनि किसान सङ्घर्षमा प्रकाशित विभिन्न लेखहरूको विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *