भर्खरै :

ठगिने धन्दादेखि सावधान

ठगिने धन्दादेखि सावधान

व्यवसायको नाममा सोझासिधा व्यक्तिलाई ठग्ने धन्दा गैरकानुनी हो । नेटवर्किङ कार्यशैलीमा अझै पनि सोझा मानिसहरू ठगिनुपरेका छन् । प्रत्यक्ष बिक्री वितरण गर्न पाउने कम्पनीको इजलास लिने त्यसपछि सदस्य सङ्ख्या बढाएर कम्पनीबाट उत्पादित वस्तुको लागतभन्दा धेरै महँगो रूपैयाँ पैसा असुलेर सोझा मानिसहरूलाई ठग्ने काम आपराधिक काम हो । यस्तो कामधन्दा अझै पनि लुकीछिपी भइरहँदा सोझा इमानदार मानिसहरू ठगिरहनुपरेको हो ।
गाउँघरमा रोजगारीको खोजीमा रहेका कलिला युवाहरूलाई फाइदाको लोभ र धेरै पैसा कमाउन सक्ने प्रलोभनमा यी नेटवर्किङ कम्पनीले सजिलैसँग फसाइरहेको पाइन्छ । नयाँ सदस्य बन्दै गर्दा ३० हजार रूपैयाँ लगानी गर्नुपर्ने र तीस हजार बराबरको महँगा केही सामानहरू पाइनेछ । नयाँ सदस्य सङ्ख्या बढाउँदै गए कमिसन, बोनस पाउने र केही महिनामै धेरै पैसा कमाउन सक्ने प्रलोभनमा गाउँका सोझासिधा मानिसहरू बढी फसेको पाइन्छ ।
कुनै समय नेटवर्किङ व्यवसायको चहलपहल धेरै थियो । प्रत्येक गाउँ घरमा कतै न कतैबाट नेटवर्किङ कारोबारमा नजोडिएको मानिस कमै भेटिन्थ्यो । धेरै सोझासिधा मानिसहरू फस्न पुगेपछि सरकारले नै नियमन गरेका थिए । अझै पनि छिटपुट रूपमा यो व्यवसाय सञ्चालन भइरहेको पाउन सक्छौँ । यसका सञ्चालक, कम्पनीहरू भारतमा रहेर पनि नेपालीहरूलाई प्रलोभन पारेको कुरा गाउँठाउँबाट सजिलै पैसा कमाउन सकिने भन्दै भारत पसेका सोझा नेपालीहरूबाट बुझ्न सकिन्छ । आज नेटवर्किङमा पैसा लगानी गरेका धेरै मानिसहरू पैसा डुबेकै कारण खाडी मुलुक विदेसिनु परे ।
आज नयाँ पुस्ता यसको फन्दामा पर्दै छन् । यस विषयमा सरोकारवाला निकायहरूको ध्यान जानु आवश्यक छ । चितवनका ग्रामीण भेगका नयाँ पुस्ताहरू यो फन्दामा फसेको पाइन्छ । इमानदार, सोझा युवाहरू नेटवर्किङ व्यवसायदेखि जोगिनु आवश्यक छ । यो अवैधानिक ठग धन्दा हो । यसबाट जोगिन बेलैमा सतर्क र सचेत हुनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *