पश्चिमा लोकतन्त्रको कन्तबिजोग
- आश्विन १८, २०८१
कम्युनिस्टहरूको मूल उद्देश्य आमूल परिवर्तन हो । आमूल परिवर्तनको निम्ति क्रान्तिकारी पार्टी आवश्यक हुन्छ । क्रान्तिकारी पार्टीका नेता तथा कार्यकर्ताहरू जनताका आँखाका नानी हुन् । क्रान्तिकारी पार्टीविना क्रान्तिकारी नेता र कार्यकर्ता हुँदैन । क्रान्ति गर्न देशभरका जनतालाई एकगठ गर्नुपर्छ । कम्युनिस्टहरू देशका जनतालाई एकगठ गर्न लाग्छन्; जनतालाई सुसूचित पार्छन् । कम्युनिस्ट पार्टीले जनतालाई सुसूचित पार्नु भनेकै देशका किसान, मजदुर, युवा, विद्यार्थी, महिला, शिक्षक, साहित्यकार, डाक्टर, इन्जिनियर, कर्मचारी, व्यवसायी, बुद्धिजीवी आदिलाई सिद्धान्तनिष्ठ बनाउनु हो; क्रान्तिकारी बनाउनु हो । देश र जनताप्रति जिम्मेवार भएर जनतामाझ भिजेका नेता तथा कार्यकर्ताहरू जनताका मार्गनिर्देशक हुन् । उनीहरूले प्रत्यक्ष या अप्रत्यक्षरूपमा जनताको सेवा गरिरहेका हुन्छन् । यसकारण, परिवर्तन गर्न क्रान्तिकारी पार्टी र क्रान्तिकारी नेता तथा कार्यकर्ताको खाँचो हुन्छ ।
कति शिक्षक, बुद्धिजीवी र विज्ञहरू राजनीतिमा लाग्नुहुँदैन भनी देशको वस्तुस्थितिबारे वास्ता गर्दैनन्† देशमा जस्तो समस्या आए पनि बोल्दैनन् । तिनीहरू राजनीतिमा लाग्ने कार्यकर्तालाई राजनीतिमा लाग्नु हुन्न भनी भड्काउँछन् । वास्तवमा राजनीति गर्नु हुन्न भन्नु र अरुलाई भड्काउनु पनि राजनीति हो । वर्गभेद भएको समाजमा डाक्टर, इन्जिनियर, प्राध्यापक, लेखक, कवि, कलाकार, शिक्षक, किसान, मजदुर, युवा, विद्यार्थी, महिला आदि राजनीतिबाट अलग्ग बस्न सक्दैनन् । थाहा पाइकन या नपाइकन उनीहरू कुनै न कुनै वर्ग या पक्षको राजनीतिमा लागेका हुन्छन् । कुनै पनि नागरिक राजनीतिमा लागेकै हुन्छन् । देशको बन्दोबस्त नै राजनीतिमा केन्द्रित छ भने मानिसहरू कसरी राजनीतिबाट अलग्ग हुनसक्छन् ?
इतिहास पल्टाउँदा संसारका साहित्यकार, वैज्ञानिक, डाक्टर, इन्जिनियर, विज्ञहरू क्रान्तिको पक्ष र क्रान्तिको बाटोमा लागेर साथ दिएका छन् । लुसुन चिकित्सकमात्र होइनन्, चीनका क्रान्तिकारी लेखक हुन् । डा. नर्मन बेथुन क्यानाडाका खप्पिस डाक्टर हुन् । क्यानाडाको कम्युनिस्ट पार्टीको आग्रहमा उनले क्रान्तिकारी जनताको सेवा गरे । अर्जेन्टिनाको डाक्टर चे ग्वेभारा अमेरिकी साम्राज्यवादविरुद्ध लड्ने साहसिक युवा नेता हुन् । यसरी नै क्रान्तिकारी महिला र क्रान्तिकारी पत्रकारहरूले पनि समाज परिवर्तनको निम्ति उल्लेखनीय योगदान गरेका छन् । देशमा इतिहासविद्, संस्कृतिविद्, भूगोलविद्, जलस्रोतविद् र सीमाविद्हरूको खाँचो हुन्छ । देशको भूगोलबारे जानेन, इतिहासबारे जानेन, नेपालको सीमा र जलस्रोतबारे चासो नै राखेन भने देश कसरी चिन्छ, नेपालको सीमा कसरी चिन्छ, जलस्रोत कसरी संरक्षण हुन्छ ? कमाउनकै निम्ति विज्ञ बन्छ भने उसले देशको निम्ति कसरी सेवा गरेको ठहर्छ ? यसकारण, हामी देशभक्त र देश र जनताप्रति जिम्मेवार हुनुपर्छ त्यसै भनिएको होइन ।
सरकार हेरफेर हुनु, सरकारको नेतृत्व गर्नु नै आमूल परिवर्तन होइन । कुनै दल वा सरकारको नेतृत्व गर्ने व्यक्ति परिवर्तन भएर हुँदैन, व्यवस्था नै परिवर्तन गर्नुपर्छ । त्यो परिवर्तन बहुमत जनताको निम्ति हुनुपर्छ । राजतन्त्र अन्त्य गरेर पुँजीवादी व्यवस्था स्थापना हुनु परिवर्तन त हो तर त्यो आमूल परिवर्तन होइन । आमूल परिवर्तन हतारिएर हुने होइन; कसैले फुक्दैमा हुने होइन । परिवर्तनको निम्ति जनतामाझ भिजिरहनुपर्छ, राजनीति गरिरहनुपर्छ । ठुलठुलो स्वरमा बोलेर, आकर्षक र उग्र कुरा फलाकेर परिवर्तन सम्भव छैन । अतः बहुमत जनताको पक्षमा सिद्धान्त र विचारको राजनीति गर्नुपर्छ, जनतामा सुझबुझको खाँचो हुन्छ । प्रजग कोरियामा राजनीतिक, आर्थिक, वैचारिक तथा प्राविधिक क्रान्ति भयो र समाजवादी व्यवस्था स्थापना भयो । नेपालमा पनि समाजवादी क्रान्तिको आवश्यक छ ।
Leave a Reply