भर्खरै :

थियानफूको भव्य पुस्तकालयमा एक दिन

थियानफूको भव्य पुस्तकालयमा एक दिन

सप्ताहान्तको बिदामा कतै घुम्न नगएको दुई साता भइसकेको थियो । बिरलै घमाइलो हुने छन्तुको मौसममा कतै गइहाल्न पनि जाँगर चलिरहेको थिएन । तथापि, कतै गए केही नयाँ थाहा पाइन्छ, केही कुरा सिकिन्छ भन्ने अनुभवले नोभेम्बर १८ को शनिबार कतै जाने विचारमा थिएँ ।
फेरि सोमबार कक्षामा जाँदा शिक्षकको पहिलो प्रश्न हुन्थ्यो, ‘यो सप्ताहान्तमा तिमी कहाँ गयौ ?’ के सामना गर्नुपरेको थियो । त्यसैले पनि यसपालि कतै जाने निधो गरियो ।
केही दिनअघि सिचुवान विश्वविद्यालयकै सहपाठी बहिनीले विच्याटको पर्दामा छन्तुको एउटा पुस्तकालयको भबव्य तस्बिर पोस्ट गरेकी थिइन् । त्यस्तै खालको पुस्तकालयका तस्बिर कहिलेकाहीँ चिनियाँ सञ्चारमाध्यममा पहिले पनि देखेको थिएँ । तर, छन्तु सहरमै त्यस्तो पुस्तकालय भएको मेसो पाएपछि जाने रहर लाग्यो ।
यसपालि जान कम्मर कसेको पुस्तकालयको नाम थियानफू मानविकी तथा कला पुस्तकालय हो । ताइनफू सिचुवानको पुरानो नाम हो । थियानको अर्थ चिनियाँ भाषामा स्वर्ग वा आकाश र फूको अर्थ समृद्धि भन्ने हुँदो रहेछ । स्वर्गबाट समृद्धि झरेको (अन्नबाली राम्रो हुने ठाउँ) भएकोले कुनै बेला सिचुवान थियानफू नामले चिनिन्थ्यो रे । हिजोआज सिचुवानको प्रमुख प्रशासकीय केन्द्र पनि थियानफू चोक भन्ने ठाउँमा अवस्थित छ ।


मेट्रोबाट झन्डै एक घण्टाको यात्रापछि हामी थियानफू मानविक तथा कला पुस्तकालय पुग्दा आकाशमा घामको कुनै सङ्केत थिएन । हाम्रो अगाडि एउटा विशिष्ट वास्तुकलाले पूर्ण भव्य भवन थियो । चारैतिर काँचले मोडेर प्रकाश अनुकूल बनाइएको त्यो भवनको छानामा भने घाँसै घाँस थियो । एक जना मान्छे पाइपले घाँसमा सिञ्चन गरिरहेका थिए । छानामा घाँसे मैदान, मानिसको सिर्जनशीलता । केही बेर भवनभित्र पस्ने मूलद्वार खोज्नै समय लाग्यो ।
एक फन्को लगाएपछि भेटाएको द्वारबाट हामी पुस्तकालयको बालबालिका कक्ष पस्यौँ । केटाकेटीहरूको कक्षमा हल्लाखल्ला त हुने नै भयो । फूलजस्ता केटाकेटीहरूका हातहातमा स–साना रङ्गीबिरङ्गी पुस्तकहरू थिए । उज्यालो कोठामा केटाकेटीहरूसँगै थिए उनीहरूका आमाबुबा । फरक–फरक वास्तुका कक्षहरूमा बाजे, बज्यै, आमा र बुबाहरू आफ्ना नानीहरूलाई पुस्तक वाचन गर्दै कथा सुनाउँदै थिए । खासमा उनीहरू सबै आफ्नो भविष्यको सिञ्चन गरिरहेका थिए । केटाकेटीहरू कोही सँगै त कोही एक्लै बसेर पनि पुस्तक पढिरहेका थिए । उनीहरूका आँखामा चीनको सुन्दर भविष्य नाचिरहेको थियो ।


प्राकृतिकरूपमा सबै मानिस एकै थरी हुन्छन् । तर, मानिसले बाँच्ने जीवन भने फरक फरक हुन्छ । मानिसले बाँच्ने जीवन उसको सामाजिकीकरणको प्रक्रियासँग जोडिएको हुन्छ । त्यो प्रक्रिया बाल्यकालबाट नै सुरु हुँदो हो । कसैको भविष्य कस्तो बन्छ र बनाउने भन्ने कुराको निधो उसको बाल्यकाल कस्तो बनाउने वा थियो भन्ने कुराबाट धेरै हदसम्म निर्देशित हुन्छ । सानै उमेरदेखि पुस्तकालयमा आएर आमाबुबासँग कथा पढ्न सिकेको बालकबाट संसारले धेरै कुराको अपेक्षा गर्न सक्छ । हजुरआमाको काखमा बसेर कथा पढिरहेको बालिकाले भविष्यमा बनाउन चाहने संसार निःसन्देह सुन्दर र ममतामयी हुनेछ ।
यदाकदा बाल पत्रिका प्रकाशनको कुरा गर्दा हामीले आफूलाई खुब जान्ने ठानेर ट्याब र मोबाइलको जमानामा को केटाकेटीले कागजमा छापिएका अक्षर पढ्ला भनी तर्क गरेको सम्झन्छु । तर, हाम्रो त्यो तर्क हतारको सतही तर्क रहेछ । थियानफू पुस्तकालयमा बाल पत्रिकाको मात्र ठुलो खण्ड देख्दा म ताजुब भएँ । प्राविधिकरूपमा निकै अघि बढिरहेको चीनमा बालबालिकाको निम्ति अझै यति धेरै पत्रिका निस्कने कुरा मेरो निम्ति अनपेक्षित थियो ।


बालबालिकाको खण्डबाट निस्केर पुस्तकालयको मूल खण्डको प्रवेशद्वारबाट भित्र पस्दा मेरो मुखबाट अचानक निस्केको शब्द थियो, ‘ओहो’ । मलाई लाग्छ, पहिलो पटक कुनै पनि पुस्तकालयको त्यस्तो भव्यता देख्दा जोकोहीले बोल्ने शब्द यस्तै केही हुनुपर्छ । तल्ला तल्लामा आलमारीमा दसौँ हजारको सङ्ख्यामा पुस्तकहरूको भव्य र चित्कार्षक सजावटले थियानफू पुस्तकालयलाई वास्तवमै विशिष्ट बनाएको थियो । चिनियाँ सञ्चारमाध्यममा यदाकदा छापिएका तस्बिरका साक्षात् रूप आफ्नै आँखा अघि देख्दा मन झ्ल्याँस्स भएको भान भयो ।
पुस्तकालय भवनभित्र पस्ने बित्तिकै अग्ला अग्ला आलमारी विशिष्ट वास्तुमा सजाइएका थिए । झट्ट हेर्दा त्यो दृश्य कुनै काल्पनिक चित्रजस्तो देखिन्थ्यो । मानिसहरू सिँढी चढेर तल्ला तल्लामा आलमारीका पुस्तक नियाल्दै थिए । हरेक तल्लामा विद्यार्थी र अध्येताहरू पुस्तक, ल्यापटप र ट्याबमा निमग्न भएर पढिरहेका थिएन । बाहिरबाट यदाकदा सुनिने हल्लाले उनीहरूको एकाग्रतालाई कति पनि चिमोट्न सकेको थिए । विद्यालयका विद्यार्थीहरूदेखि ज्येष्ठ नागरिकहरूसमेत पुस्तकालयमा निमग्न भएर पढिरहेको देखिन्थ्यो । पुस्तकालयको उचाइबाट नजिकै खोला र हरियो मैदान देखिन्थ्यो । त्यताको हरियालीलाई साक्षी राखेर पुस्तक पढ्दै गरेका दम्पती पनि भेटिए । उनीहरूको लागि त्यो हप्ता दिनको व्यस्त जीवनपछि आराम गर्ने थलो बनेको हुनुपर्छ । प्रेमीप्रेमिकाहरू पनि सँगै पुस्तकका आलमारी नियाल्दै गरेको देखिए । हजुरआमासँगै पढिरहेका विद्यार्थी पनि भेटिए ।


बाहिरका अग्ला आलमारी छिचोलेर भित्र पस्दा खास पुस्तकालयको खास संसार भेटियो । हजारौँको सङ्ख्यामा मानिसहरू त्यहाँ पुस्तक पढिरहेका थिए, एकचित्त भएर । नजिकैको राजमार्गमा दौडिरहेका सयौँ सवारीले उनीहरूको विद्यार्जनको हुटहुटीलाई अलमल्याउन सकेको थिएन । उनीहरू पुस्तकले कोरिदिएको अर्को संसारमा निमग्न देखिन्थे ।
थियानफू पुस्तकालय बहुभाषिक पुस्तकालय हो । आलमारीमा राखिएका पुस्तक नियाल्दै जाँदा त्यहाँ मैले कम्तीमा चार वटा अन्तर्राष्ट्रिय भाषा अङ्ग्रेजी, स्पेनियाली, फ्रान्सेली र जर्मन भाषाका पुस्तक देखेँ । (अरु पनि होला, मैले ती भाषा खुट्याउन सकिन्न सायद ।) चिनियाँ त हुने नै भयो । ती सबै भाषाका एकसेएक पुस्तक त्यहाँ थिए । पुस्तकालयका हरेक कुनाकाप्चाको भरपुर उपयोग गरिएको थियो । पढ्ने ठाउँमा प्रकाशको उचित व्यवस्थापन गरिएको थियो । ल्यापटप चार्ज गर्ने पोडहरू पनि व्यवस्था गरिएको थियो । शौचालय सफा थियो । तातो र चिसो खानेपानीको बन्दोबस्त थियो । सयाँै मानिस भएको ठाउँमा भुइँमा सियो खस्दा पनि सुनिने शून्यता थियो । त्यहाँको शून्यमा असर पर्ला भनी सकेसम्म न्यूनतम आवाज निकाली हिँड्ने प्रयास गरिरहेको थिएँ ।


फेरि पनि पुस्तकालयको पत्रपत्रिका र म्यागाजिन कक्ष हेर्दा हामीले अब पत्रपत्रिका र म्यागाजिनको युग सकिएको घोषणा गर्न हतार गर्यौँ कि भन्ने अनुभव भयो । पुस्तकालयमा सयौँको सङ्ख्यामा पत्रपत्रिका राखिएका थिए र ती म्यागाजिन पढ्ने मानिसहरू पनि धेरै सङ्ख्यामा थिए ।
पुस्तकालयमा पुस्तक लिन र फिर्ता गर्ने काम मेसिनले गरिरहेको थियो । मेसिनमा आफूले लान वा फिर्ता गर्न चाहेको पुस्तक राखेपछि बाँकी काम मेसिन आफैँले गथ्र्यो । पुस्तकालयबाट पुस्तक लिने र फिर्ता गर्नेहरूको भिड पनि उस्तै थियो । पुस्तकालयको जीवन्तता भन्नु नै त्यही त हो ।


पुस्तकमा धुलो जमे वा पुस्तकबाट पाना उछिटिन लागे त्यसको सम्भार गर्ने मेसिन पनि त्यहाँ देखियो । पुस्तकका पानाहरूमा धुलो जमेको अवस्थामा मेसिनभित्र राख्दा मेसिन आफैँले सफा गथ्र्यो । हामीले सोचे जति कुरा चिनियाँहरूले बनाइसकेका रहेछन् ।
जब कुनै देश र समाजमा पुस्तकालय यति भव्य छ, पुस्तकालयमा यति धेरै लगानी गरिएको छ, पुस्तकालय यति व्यस्त छ, नयाँ पुस्ता पुस्तकालयमा आएर पढ्ने संस्कृतिमा अभ्यस्त छ भने त्यो देश र समाजको अगाडिको बाटो उज्यालो हुन अनिवार्य छ । त्यो समाजलाई पछार्ने कसैको महत्वाकाङ्क्षा अप्राप्य चाहनामात्र हुनेछ ।
चीन सरकारले देशैभरि पुस्तकालयलाई सांस्कृतिक केन्द्रको रूपमा विकास गर्न ठुलो लगानी गरिरहेको देखिन्छ । केही महिनाअघि पेइचिङमा आयोजित बेल्ट एन्ड रोड सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङले पुस्तकालय संस्कृतिको विकासमा जोड दिएका थिए । अन्तरसांस्कृतिक केन्द्रको रूपमा पुस्तकालय र पुस्तक संस्कृतिको विकासमा उनको जोड चिनियाँ जनताले कार्यान्वयन गरिरहेको ताजा दृश्य थियानफू पुस्तकालयमा देखियो ।


घण्टौँ लगाएर पुस्तकालय घुमेर बाहिर निस्कँदा अझै घाम देखिएको थिएन । नजिकैको तालको सुन्दर पर्यावरण नियाल्न आउने मानिसको घुँइचो बढिसकेको रहेछ । पुस्तकालयनजिकै छन्तुका दुई कला सङ्ग्रहालयका विशिष्ट भवन पनि थिए । हामी पुस्तकालय घुमेरै थाकिसकेका थियौँ । फेरि दुई वटा सङ्ग्रहालय घुम्ने ऊर्जा बाँकी थिएन । अर्को कुनै सप्ताहान्तमा आउने विचार गर्दै फर्कियौँ । हामीलाई अझै एक घण्टाभन्दा लामो मेटोको थकाइलाग्दो यात्रा गर्न त बाँकी नै थियो ।


भव्य पुस्तकालयको भ्रमणले मन फुरुङ्गै थियो । समृद्धिले मात्र पुग्ने भए चिनियाँहरूले पढ्ने थिएनन् होला । उनीहरूलाई थाहा छ, उनीहरूको आजको सुखका दिनमा पुस्तकालय र पुस्तकप्रतिको प्रेमको कहीँ न कहीँ सम्बन्ध छ । त्यसकारण, उनीहरू जति सुखी गए, उति पुस्तकालय धाउने, पढ्ने, पढाउने कामलाई जारी राखेका छन् । यसले उनीहरूको आगामी यात्रालाई अझ फराकिलो बनाउनु नै छ । क्याम्पस पुग्दा रात दिनभन्दा उज्यालो हुने गरी प्रकाशले धपक्कै बलिसकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *