भर्खरै :

तीस महिला कथाकारको ‘दना वयाच्वंगु लबु’

– नीरज
तीस जना नेपालभाषाका महिला कथाकारहरूका कथा एउटै पुस्तकमा सङ्ग्रह गरी नेपाल प्रज्ञा प्रतिष्ठानले २०६८ मै ‘दना वयाच्वंगु लबु’ (उठ्दो उभार) प्रकाशित ग¥यो तर किताब खोज्दै प्रज्ञा प्रतिष्ठानीको बिक्री कक्षमा पुग्ने वा प्रज्ञा प्रतिष्ठानले यदाकदा आयोजना गर्ने पुस्तक प्रदर्शनमा जाने पुस्तकपे्रमीबाहेकलाई यो पुस्तक पुगेन । प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्ने गरेका पुस्तकको बजार व्यवस्थापनको कमजोरीका कारण प्रकाशित महत्वपूर्ण सङ्ग्रहणीय र पठनीय पुस्तकको अधिकांश पाठकलाई जानकारीसमेत हुने गर्दैन । निजी प्रकाशन गृहले प्रकाशन गरेका पुस्तकको अतिरञ्जनापूर्ण प्रचारबाजी, पुस्तक लोकार्पण र लेखक अन्तक्र्रियाको भेलबीच प्रज्ञा प्रतिष्ठान भने कमलादीको कुनामा टुसुक्क बसिरहेको देखिन्छ । न उसलाई पुस्तक बढी बिक्री गर्ने चासो छ न पुस्तकको प्रचार गर्ने चिन्ता छ । पुस्तक प्रकाशित ग¥यो, कसैलाई चासो भए किनेर लगोस् नत्र गोदाममै थन्कियोस् भन्ने मनोवृत्ति पालेर बसेको छ–प्रज्ञा प्रतिष्ठान । उसैको आँगनमा हजारौँको सङ्ख्यामा निजी प्रकाशन गृहले पुस्तक लोकार्पण गर्छन् र त्यो किताब नपढी नहुनेजस्तो प्रकारको हेजिमोनिक प्रचार गर्छन् तर प्रज्ञा टुलुटुलु हेरेर बस्छ । पुस्तक प्रदर्शन त समयसमयमा (कम्तीमा वर्षको एकपल्ट) गरेको हुन्छ तर त्यस्ता प्रदर्शनमा कति मानिस आए, कतिको किताब किने, प्रदर्शनमा बढी मानिस आकर्षित गर्न के गर्ने आदिबारे प्रज्ञाले कहिल्यै सोच्न आवश्यक ठानेको छैन । तालिकामा भएको पुस्तक प्रदर्शनी ग¥यो, प्रतिवेदन बुझायो, मानो पाक्यो, कुरा सकियो ।
यति भनिसकेपछि अब यहाँ चर्चा गर्न खोेजेको पुस्तकमै फर्किऔँ । समाजको प्रतिबिम्ब साहित्यमा र साहित्यको प्रतिबिम्ब समाजमा पर्नु स्वाभाविक प्रक्रिया हो । नेपाली भाषाका साहित्यमा अझै पनि महिला लेखिकाहरूको कमी समाजको यही स्वाभाविक प्रभाव हो । हरेक कोणमा अघि पारिएको नेपाली भाषामा कलम चलाउने लेखिकाहरू त तुलनात्मकरूपमा कम छन् भने नेपालका अन्य भाषाभाषीमा कम मात्र लेखिका हुनु स्वाभाविक हो । तथापि भारतमा साहित्य र संस्कृतिको क्षेत्रमा हिन्दीभन्दा बङ्गाली भाषा समानस्तरमा उकासिएजस्तै नेपालको सन्दर्भमा नेपालभाषा पनि समृद्ध मानिन्छ । नेपालभाषामा कलम चलाउने महिला कथाकारमध्ये तीस जना कथाकारहरूको यो कथासङ्ग्रह आफैमा यसको प्रमाण हो ।
विषयवस्तुको हिसाबमा कथासङ्ग्रहले धेरैथरी विषयलाई समेटेको छ । महिला संवेदनशीलतादेखि मानवीय सम्बन्ध, राजनीतिदेखि क्रान्तिकारी कथासम्म, अभावदेखि महिला अधिकार, स्वतन्त्रतासम्मका कथा यसमा समेटिएका छन् । कथाकारमध्ये लगभग सबै काठमाण्डौ उपत्यकाभित्रका छन् । कोही कथाकारहरू विदेशमा बसेर पनि नेपालभाषामा कलम चलाइरहेका रहेछन् तर काठमाण्डौ उपत्यकाबाहिरका कथाकारको कुनै पनि कथा यसमा समावेश छैन । सम्भवतः त्यस्ता लेखिकाको अभाव नै यसको कारण हुन सक्दछ ।
कथासङ्ग्रहका सबै कथा उतिकै अब्बल छैनन् । कतिपय कथा उत्कृष्ट छन् भने कतिपय कथा सामान्य खालका छन् । विषय छनौटकै आधारमा पनि कतिपय कथाका विषय र पात्र चयन ज्यादै शक्तिशाली छन् भने केही कथा त्यति शक्तिशाली छैनन् । कम सङ्ख्याबाट केहीको छनौट गर्दा पनि यस्तो अवस्था आएको हुन सक्दछ । नेपालको एउटा मौलिक भाषामा कथा लेख्ने कलमहरूको हस्ताक्षर आफैमा पनि सन्तोषजनक विषय हो । यद्यपि गर्न बाँकी अझै धेरै काम भएको सत्य यो कथासङ्ग्रहमार्फत पनि अभिव्यक्त भइरहेको छ ।
केही कथाकारहरू नेपालभाषामा मात्र होइन, नेपाली भाषा साहित्यमा समेत आफ्नो उपस्थिति देखाइसकेका महिला कथाकारहरू छन् भने केही आफ्नो उपस्थिति नेपालभाषा साहित्यमै सीमित राखेका कथाकार पनि छन् । यद्यपि महिला कथाकारहरूका कथाहरू एउटै कृतिमा सङ्कलनसहित प्रकाशनले कालान्तरमा नेपालभाषा साहित्यको विकासक्रम अध्ययनको लागि सन्दर्भ सामग्री तयार भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानअन्तर्गत् मातृभाषा साहित्य विभागले प्रकाशन गरेको यो कृतिको सम्पादन रीना तुलाधर र सहसम्पादन लोचनतारा तुलाधरले गर्नुभएको छ । यस्ता कृति प्रकाशनपूर्व सार्वजनिक सूचना नै जारी गरी कथा सङ्कलन गर्न सके अझ धेरै ओझेलमा रहेका लेखकहरूलाई समावेश गर्न सकिन्छ । प्रज्ञा प्रतिष्ठानले ‘थाय्बु’ नामको नेपालभाषाको साहित्यिक पत्रिकासमेत प्रकाशन गर्ने गरेको कुरा धेरै भाषाप्रेमी र साहित्यप्रेमीलाई जानकारीसमेत नहोला । यसको मूल कारण प्रज्ञा प्रतिष्ठानको बजार नीति अझै पनि साँघुरो र सञ्कुचित छ । फलतः उसका त्यस्ता धेरै काम पनि ओझेलमा परिरहेका छन् ।
प्रज्ञाले नेपालका विभिन्न भाषा, संस्कृति र साहित्यको संरक्षणका लागि गरेका पहल पनि प्रचारको अभावमा निष्प्रभावी बनिरहेको छ । त्यसकारण नेपालभाषालगायत अन्य विभिन्न भाषामा कृति प्रकाशनको लागि प्रज्ञा प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै आगामी दिनमा प्रकाशन हुने कृतिको उचित प्रचारप्रसारको आशा गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *