भर्खरै :

चे ग्वेभारा गाजा पुग्दा

चे ग्वेभारा गाजा पुग्दा

सन् १९४८ मा प्यालेस्टिनी भूमिमाथि ठाडो इजरायली उपनिवेशवाद लागु भयो । त्यसलाई बेलायत र संरा अमेरिकाजस्ता उपनिवेशवादी तथा साम्राज्यवादी शक्तिले सघाएका थिए । त्यसयता प्यालेस्टिनी मुक्ति सङ्घर्ष विश्वकै आजु बन्न पुगेको छ । जहाँ कब्जा र घुसपैठ हुन्छ त्यसको प्रतिरोध अवश्य हुन्छ । ‘प्यालेस्टिनको जातीय सफाया’ विरुद्ध पनि प्रतिरोध भइरह्यो ।
इजरायल बन्नुअघि यहुदीवादी मिलिसिया वा अर्धसैन्य दस्ताले हत्याकाण्ड र बलजफ्ती निकाला जस्ता उपाय लगाएर प्यालेस्टिनमा सैन्य पकड जमाएको थियो । यसै सिलसिलामा सन् १९४८ मा नरसंहार मच्चाइएको थियो । आफ्नो देश गुमाउनुपर्दाको त्यो महाविपद्लाई प्यालेस्टिनीहरू ‘नक्बा’ भन्छन् । सन् १९६७ मा अर्को नरसंहार मच्चाइयो । अरबी देशका सेनाले पराजय व्यहोर्नुपरेको त्यो ‘धक्का’ लाई प्यालेस्टिनीहरू ‘नक्सा’ भन्छन् ।
विस्थापित रैथाने प्यालेस्टिनीहरू गाजा, पश्चिम किनारा, लेबनन, सिरिया र जोर्डनका शरणार्थी शिविरहरूमा पाल टाँगेका कामचलाउ नगरमा बस्न बाध्य भए । आहारका लागि उनीहरू राष्ट्रसङ्घको निकाय अन्राले उपलब्ध गराएको राहतमा निर्भर हुनुप¥यो ।
सुरुमा उनीहरूले आफूलाई बेदखल गरिएको भूमिमा एक दिन फर्केर जान पाउने सोचेका थिए । नक्बाको समयमा करिब ५०० नगर र गाउँमा लुटपाट मच्चाइएको थियो र तिनलाई नक्साबाट मेटाइएको थियो । ती विस्थापित र लुटिएका दरिद्रजनले आज ७० वर्षपछि पनि त्यो सपना सँगालिरहेका छन्† ‘घर फर्किने अधिकार’ पाउने दिन पर्खिँदै छन् ।
यी सबै घटनाक्रमबिच प्यालेस्टिनीहरूमा आफ्नो भूमिको प्रतिरक्षा गर्न विद्रोहभाव पलाउँदै गयो ।
अरबी शब्द ‘फेदायिन’ ले मुक्ति योद्धालाई जनाउँछ । फेदायिनहरू सङ्गठित हुन थाले† इजरायलको कब्जाकारी दलबलविरुद्ध हमला गर्न थाले । केही योद्धाहरू छिमेकी अरबी देशहरूका सिमारेखाबाट प्यालेस्टिनमा घुसे ।
सन् १९५३, १९५५ र १९५६ मा लगातार नृशंस हत्याकाण्डहरू भए । इजरायली सैन्य कमान्डर एरियल स्यारोनको नेतृत्वमा सयौँ प्यालेस्टिनीहरूको निर्मम हत्या भयो । स्यारोन उग्र जर्नेल थिए । उनले फेदायिनहरूको जरो उखेल्ने र तिनलाई सघाउने शरणार्थीहरूलाई दण्डित गर्ने किरिया नै खाएका थिए ।
इजिप्टमा क्रान्तिकारी जागरण
इजिप्टलाई त्यसबेला ‘संयुक्त अरब गणतन्त्र’ भनिन्थ्यो । सन् १९४८ देखि सन् १९६७ सम्म गाजापट्टीमा इजिप्टको शासन थियो । इजिप्टका राष्ट्रपति नासिरले स्वेज नहरलाई राष्ट्रियकरण गर्ने निर्णय गरेपछि सन् १९५६ मा इजिप्टमाथि तीनतिरबाट बेलायत, फ्रान्स र इजरायलले हमला गरे । यो हमला खासगरी दक्षिण गाजास्थित सहर खान युनिस र राफामा गरिएको थियो । आक्रमणमा परेर त्यहाँ इजिप्टका दर्जनौँ सिपाही, प्रहरी र सुरक्षा अधिकारीहरू मारिएका थिए ।
गमाल अब्देल नासिरको शासनकालमा इजिप्टमा उच्च क्रान्तिकारी भावना थियो । नासिरलाई अरबी देशहरू एकै हुनुपर्छ भन्ने अखिल–अरबवादी विचारका सूत्रधार थिए । उनी साम्राज्यवाद तथा उपनिवेशवादका कडा विरोधी थिए । यही विचारका कारण उनी लोकप्रिय थिए । अरबी राजनीति र अरबी जनमानसमा उनको बलियो प्रभाव थियो । यही माहोलमा नासिरले ल्याटिन अमेरिकी क्रान्तिकारी अर्नेस्टो चे ग्वेभारालाई इजिप्टको राजधानी कायरो भ्रमण गर्ने निम्तो दिए ।
गाजा भ्रमण गर्ने विचार चे ग्वेभाराको थियो कि नासिरको थियो भन्ने कुरा खुलेको छैन । तर, भ्रमणको समय फेदायिनहरूको नेतृत्वमा भइरहेको प्यालेस्टिनको राष्ट्रिय आन्दोलनका लागि अति नै महत्वपूर्ण थियो । त्यो प्यालेस्टिनी मुक्ति योद्धाहरूले ल्याटिन अमेरिका, भियतनाम र अल्जेरियाका छापामार युद्धहरूबाट प्रेरणा लिइरहेको अवधि थियो ।
प्यालेस्टिनी फेदायिनहरूको विचारधारा मूलतः वामपन्थी राष्ट्रवाद, समाजवाद र कम्युनिस्ट थियो । तिनीहरूले सशस्त्र सङ्घर्षमार्फत यहुदीवादलाई हराएर प्यालेस्टिनलाई मुक्त गर्ने र एउटा ‘धर्मनिरपेक्ष प्रजातान्त्रिक राज्य’ को स्थापना गर्ने घोषणा गरेका थिए ।
प्यालेस्टिनीहरूले आफ्नो भूमिमा कहिल्यै वास्तविक राष्ट्रिय स्वाधीनता हासिल गरेका थिएनन् । त्यसैले मुक्तिको विचार फैलिँदै गयो र सन् १९६४ मा प्यालेस्टिनी मुक्ति सङ्गठन (पीएलओ) को स्थापना भयो । त्यसको नेतृत्व अहमद शुकाइरीले गरेका थिए । सन् १९६९ मा यासिर अराफात पीएलओका अध्यक्ष भए । सन् २००४ मा मृत्यु हुनुअघिसम्म पीएलओका अध्यक्ष अराफात नै थिए ।
गाजामा चे ग्वेभारा
नासिरको निम्तो स्वीकारेपछि ग्वेभारालाई क्युवाली नेता फिडेल क्यास्त्रोले १४ देशको तीनमहिने भ्रमणमा पठाउनुभयो । ग्वेभाराको गाजामा एक दिन बिताउने कार्यक्रम बन्यो । त्यसबेला गाजा इजिप्टको सरहदभित्र थियो । कायरोबाट ४५० किलोमिटरको दूरी छिचोलेर सन् १९५९ को जून १८ को दिन गाढा सैनिक बर्दीमा ठाँटिएका ग्वेभारा गाजा पुग्नुभयो ।
गाजास्थित इजिप्टका कार्यकारी गभर्नर, प्यालेस्टिनी अधिकारी, नगरप्रमुखहरू तथा धेरै सर्वसाधारणले चे ग्वेभारालाई नायकको रूपमा भव्य स्वागत गरे । त्यसबेला जनरल लेफ्टिनेन्ट अहमद सलिम गाजाका गभर्नर थिए ।
गाजाको छोटो भ्रमणमा ग्वेभाराले अनेक प्यालेस्टिनी शरणार्थी शिविरको भ्रमण गर्नुभयो । उहाँ चर्चित अल–जुराइज शिविरमा जानुभयो । त्यहाँ उहाँलाई क्युवाली क्रान्तिगान गाएर स्वागत गरियो । प्यालेस्टिनी मुक्ति सङ्गठनको स्थापनालाई क्युवाले स्वागत गरेको थियो र सन् १९६५ मा सो सङ्गठनसँग औपचारिक सम्बन्ध राखेको थियो ।
गाजा भ्रमण गर्नुपछाडि चे ग्वेभाराको स्पष्ट उद्देश्य थियो । पश्चिमा साम्राज्यवाद र उपनिवेशवादविरुद्ध अरबी एवम् प्यालेस्टिनी राष्ट्रिय मुक्ति तथा क्रान्तिकारी सङ्घर्षलाई समर्थन गर्नु भ्रमणको मुख्य उद्देश्य थियो ।
जुल्फिकर स्वीर्जो ‘प्यालेस्टिनी मुक्तिका लागि जनमोर्चा’ नामक कम्युनिस्ट दलका कार्यकर्ता हुन् । एउटा अन्तर्वार्तामा उनले गाजाका मुक्तियोद्धाहरूसँग चे ग्वेभाराले क्रान्तिकारी विचार आदानप्रदान गर्दै गरेको दृश्य आफ्ना बाबुले नजिकैबाट देखेको बताए । प्यालेस्टिनी मुक्तियोद्धाहरू इजरायली सेनाविरुद्ध लड्नका लागि छापामार युद्धकलामा आधारित रणनीति बनाउन चाहन्थे ।
गाजा
गाजापट्टी भूमध्यसागरको पूर्वी तटमा अवस्थित सानो भूभाग हो । यो उहिलेको प्यालेस्टिनको दक्षिणमा पर्छ । यसको दक्षिण–पश्चिममा इजिप्ट छ भने पूर्व र उत्तरमा इजरायल छ । ४५ किलोमिटर लामो गाजा ५ देखि १२ किलोमिटर चौडा छ । यसको कुल क्षेत्रफल ३६५ वर्ग किलोमिटर छ ।
गाजाको जनसङ्ख्या झन्डै २० लाख छ । तीमध्ये पनि दुईतिहाइ गाजावासी शरणार्थी हुन् । तिनलाई तिनको घरखेतबाट सफाया गरेर गाजा पु¥याइएको थियो ।
प्यालेस्टिनी अध्येता सल्मान अबु सित्ताले ग्वेभाराको गाजा भ्रमणपछि क्युवाले प्यालेस्टिनी विद्यार्थीलाई छात्रवृत्ति दिएको, अलपत्र प्यालेस्टिनीहरूलाई नागरिकता दिएको र प्यालेस्टिनको पक्षमा धेरै सभासम्मेलन आयोजना गरेको बताए । प्यालेस्टिन उपनिवेशवादविरोधी सङ्घर्षको बिम्ब बनेको थियो । त्यसैले सन् १९६० मा बेलायती उपनिवेशवादविरोधी भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले गाजा भ्रमण गर्नु स्वाभाविक थियो । इजरायल र इजिप्टबिचको पुरानो युद्धविराम सम्झौतामा जोड दिन उनी त्यहाँ पुगेका थिए । उनले गाजास्थित राष्ट्रसङ्घको आपतकालीन दस्ता (युनेफ) सँग भेटघाट गरेका थिए ।
सन् १९६७ मा इजरायलले छिमेकी अरब देशहरूविरुद्ध ‘६ दिने युद्ध’ ग¥यो । गाजालाई इजिप्टको हातबाट खोसेर इजिप्टले पूर्णतः आफ्नो कब्जामा पा¥यो । त्यसको ६ महिनापछि १९६७ अक्टोबरमा बोलिभियामा चे ग्वेभाराको हत्या भयो ।
चे प्रतिरोधका प्रतिमूर्ति बन्नुभयो । खासगरी ‘प्यालेस्टिनी मुक्तिका लागि जनमोर्चा’, ‘प्यालेस्टिनी मुक्तिका लागि जनवादी मोर्चा’ र ‘प्यालेस्टिनी जनदल’ जस्ता वामपन्थी दलले चलाएका मुक्ति सङ्घर्षका उहाँ बिम्ब बन्नुभयो ।
चे ग्वेभाराको विरासत अझै जीवित छ । बहुसङ्ख्यक प्यालेस्टिनी अभियन्ताहरूका लागि उहाँ अझै पनि प्रेरणाका स्रोत हुनुहुन्छ । साम्राज्यवाद, उपनिवेशवाद र सैन्य कब्जाविरुद्ध गरिने विद्रोहका उहाँ लोकनायक हुनुहुन्छ ।

स्रोत : एमआर अनलाइन
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *