अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
आज संसारका विभिन्न देशमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदै छ । १ मई १८८६ को दिन ८ घण्टाको काम र ज्याला बढाउने माग राखी संयुक्त राज्य अमेरिकाका मजदुरहरूले देशव्यापी हडताल गरेका थिए । हडतालमा हजारौँ हजार मजदुरले भाग लिएका थिए । संसारका मजदुरहरू पुँजीपतिवर्गसँग बदला लिन सङ्घर्षमा उत्रेका थिए । आन्दोलन चालु रह्यो । आन्दोलन दबाउन अनेक प्रयत्न गरियो । अन्ततः आन्दोलन सफल भयो । त्यो आन्दोलनले ८ घण्टाको कामको दिन निश्चित भयो । त्यो मजदुरहरूको विजय थियो । १८८९ मा पेरिसमा संसारका मजदुरहरूको प्रतिनिधिहरूको भेला भयो । त्यो भेलाले १ मईलाई अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने निर्णय ग¥यो । त्यस निर्णयअनुसार संसारका विभिन्न मुलुकमा १ मई दिवस मनाइँदै आएको हो ।
१ मईको दिन संयुक्त राज्य अमेरिकामा मजदुरहरूको देशव्यापी आन्दोलन भएको दिन हो । मजदुर आन्दोलन दबाउन मजदुर नेताहरूलाई दमन गरे पनि, फाँसी दिए पनि शत्रुसामु नझुकी आन्दोलनलाई अगाडि बढाइएको दिन हो । मजदुरहरूको रगत पसिनाले मोटाएका पुँजीपतिवर्ग आन्दोलनको अगाडि घुँडा टेक्न बाध्य भएको दिन हो । ८ घण्टाको काम दिन र मजदुरहरूको ज्याला बढाउने माग पूरा भएको दिन हो । लाखौँ मजदुरहरू सरिक भई मजदुर आन्दोलन सफल भएको दिन हो । यसरी मजदुर आन्दोलन सुरु र सफल भएको सन्दर्भमा संसारका विभिन्न देशमा १ मई मनाइँदै आएको हो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घले नेपाली मजदुरहरूलाई राजनीतिकरूपले सचेत र सङ्गठित गर्दै आएको छ । सचेत र सङ्गठित शक्तिले मात्र परिवर्तन गर्न र गराउन सक्छ । यो सङ्घ मजदुर आन्दोलनलाई संशोधनवादको बाटोमा लाने ट्रेन युनियनवाद र संशोधनवादको विरोध गर्छ । पुँजीवादी गणतन्त्रले पुँजीपतिवर्गको सेवा गर्छ । समाजवादी गणतन्त्रले मजदुर, किसान र कामदार जनताको सेवा गर्छ । नेपाल क्रान्तिकारी मजदुर सङ्घ समाजवादी गणतन्त्र स्थापना गर्न सङ्घर्षरत छ । मजदुर आन्दोलनको उद्देश्य मजदुरहरूका दैनिक आवश्यकताका सङ्घर्षबाट शिक्षित र सङ्गठित गर्दै समाजवादी क्रान्तिको निम्ति तयार गर्नु हो । ट्रेड युनियनवादले मजदुरहरूलाई समाजमा आमूल परिवर्तन गर्नुभन्दा स–साना आर्थिक स्वार्थ र अल्पकालीन हितमा भुलाएर समाजवादी क्रान्तिको बाटो भुलाउने काम गर्छ । यस अर्थमा ट्रेड युनियनवाद भनेको संशोधनवाद हो । संशोधनवाद मजदुर आन्दोलनभित्रको पुँजीवादी दृष्टिकोण हो । राष्ट्रिय गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू साम्राज्यवादी देशहरूबाट सञ्चालित पुँजीवादी संस्थाहरूकै हाँगाबिँगा हुन् ।
नेपालका कति मजदुर सङ्घ सङ्गठनहरू पुँजीवादी पार्टी र पुँजीवादी विचारबाट प्रभावित छन् । ती सङ्घ सङ्गठनहरूले मजदुरहरूको हित चाहँदैनन् । तिनीहरूले मजदुर आन्दोलनलाई मागी खाने भाँडो या कमाउने साधन बनाउँछन् र मजदुर सङ्घहरूलाई क्रान्तिबाट टाढा राख्ने काम गर्छन् । यसकारण, देशमा धेरै कम्युनिस्ट पार्टी भए पनि मजदुर आन्दोलनले व्यवस्थितरूपमा आन्दोलन गर्न नसकेको हो । देशमा राज्यको संरचना फेरिए पनि मजदुरहरूको काम सुनिश्चित देखिँदैन । पुँजीपतिवर्गको सरकारले देशको आवश्यकताअनुसार कलकारखानाहरू खोलेर मजदुरहरूलाई रोजगारी दिनुपर्ने हो, जनताका आधारभूत आवश्यकता पूर्ति गर्नुपर्ने हो । तर, त्यो भइरहेको देखिँदैन । भएका सरकारी उद्योगहरू घाटाको निहुँमा कति बन्द गरिए, कति निजीकरण गरिए त कति विदेशीहरूको हातमा सुम्पियो । यसले गर्दा देशमा बेरोजगारी बढ्यो र युवाहरू बिदेसिन बाध्य भए ।
देशमा मजदुरहरूको जीवन सुनिश्चित गर्न सरकारले काममामको व्यवस्था गर्नुपर्छ । मजदुरका अधिकारहरू सुनिश्चित गर्नुपर्छ । मजदुरहरूको श्रमअनुसार ज्यालाको बन्दोबस्त हुनुपर्छ । मजदुरहरू निकाल्ने, बढी काम गराएर थोरै पारिश्रमिक दिने कामको विरोध गर्नुपर्छ । मजदुरहरूको हाल प्राप्त अधिकार उपयोग गर्दै थप अधिकार प्राप्तिको निम्ति अझै सङ्घर्षको खाँचो छ । देशमा पहिले बन्द भएका र निजीकरण गरिएका सबै कलकारखाना तथा उद्योगहरू फेरि सञ्चालन गर्न सरकार लाग्नुपर्छ । यसरी मजदुरहरूको हक हितको निम्ति सङ्घर्ष गर्दै आएको नेपाल क्रान्तिकारी मजदुर सङ्घले आज मई १ को दिन १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै छ । यस अवसरमा दिनको १ बजे च्याम्हासिंहबाट जुलुस सुरु हुनेछ । जुलुस नगर परिक्रमापछि नासमनामा पुगी सभा हुनेछ । उक्त दिवस सफल पार्न सङ्घले विभिन्न कलकारखाना, उद्योग, होटल, गार्मेन्ट, गलैँचा, सरसफाइ तथा सङ्घ संस्थामा कार्यरत या आबद्ध डकर्मी, सिकर्मी, बिजुली कामदार, कर्मचारी, मेकानिकल, चालकहरूलाई सहभागी हुन आग्रह गरेको छ ।
Leave a Reply