भर्खरै :

दशरथ रङ्गशाला नबनाउने, अन्तर्राष्ट्रिय रङ्गशालाको स्वाङ !

आगामी मार्च महिनामा हुने तय भएको ते¥हौँ दक्षिण एसियाली खेलकुद (साग) राजधानीको दशरथ रङ्गशाला तयार नहुँदा निर्धारित मितिमा नहुने निश्चित भएको छ । सोमबार साग सचिवालयले नेपाल ओलम्पिक कमिटीलाई प्रतियोगिता ६ महिना पछि सार्न आग्रह गर्दै पत्राचार गरेको छ । पूर्वाधार अभावकै कारण मंसिरमा तय भएको आठौं राष्ट्रिय खेलकुद अहिलेसम्म हुन सकेको छैन ।
नेपालकै सबभन्दा ठूलो दशरथ रङ्गशाला त्यसै पनि जीर्ण थियो, गएको २०७२ सालको भूकम्पले अझ जीर्ण बनाएको छ । तर, सरकारले तीन वर्ष बितिसक्दा पनि त्यसको जीर्णोद्धार र स्तरोन्नति गर्न सकेको छैन । भएको रङ्गशालाको जीर्णोद्धार गर्न नसक्ने सरकारले आज देशैभरि रङ्गशालाको आश्वासनका पोका वितरण गरिरहेका छ । युवा तथा खेलकुदमन्त्री जगत सुनार आज जहाँ गए पनि रङ्गशाला निर्माणको आश्वास बाँड्दै हिँडिरहेका छन् । ‘विकास र समृद्धि’ को नाममा सबै तहका सरकारमा रङ्गशाला बनाउने भन्दै मन्त्री लागिरहेका छन् ।
काठमाडौँ उपत्यकाभित्र अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण गर्ने भनी खेलकुद मन्त्रालय उपत्यकावासीलाई आफूसँग भएको खेतीयोग्य भूमिबाट विमुख बनाउन खोजिरहेको छ । कृषिमा आधारित उपत्यकाको जीविकोपार्जन र संस्कृतिलाई विसृङ्खलित पार्दै यहाँ रङ्गशालाको नाममा आतङ्क फैलाइरहेको छ । जनताको विरोधलाई सत्ताको तुजुकले दबाउन प्रपञ्च बुनिँदै छ । आफ्नै बलबुत्ता र हैसियतले भएको रङ्गशाला समयमा पुनर्निर्माण वा जीर्णोद्धार गर्न अक्षम सरकारले अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माणको कुरा जनताको आँखामा धुलोछ्याप्ने पपुलिस्ट राजनीतिक प्रचारबाजी हो । विदेशी मित्रराष्ट्रबाट प्राप्त हुने सहायताको रकम भजाउने चालबाजीको रूपमा आज रङ्गशालाको कृत्रिम लहर सिर्जना गरिँदै छ । वास्तवमै सरकारले खेलकुद क्षेत्रको विकासप्रति इमानदार हो भने दशरथ रङ्गशालालाई कम्तीमा साग खेल गर्नसक्ने स्तरको किन बनाउन सकेको छैन ? किन अन्तर्राष्ट्रिय खेलमैदानमा देशको इज्जत राखी फर्केका खेलाडीलाई उचित सम्मान र भविष्यप्रति आशावादी बनाउन सकेको छैन ?
सरकारले काठमाडौँको मूलपानीमा क्रिकेटको रङ्गशाला निर्माण गर्न सुरू गरेको धेरै वर्ष भयो । तर, आजसम्म पनि त्यो मैदान क्रिकेट खेल्न लायक बनाउन सकेको छैन । बरू क्रिकेट मैदानको नाममा वरपरको जमिन किनबेचबाट भूमाफियाहरूले करोडौँ कमाइसकेका छन् । अन्तर्राष्ट्रिय स्तरको रङ्गशालाको नाममा शासक दलका नेता कार्यकर्ताले पनि गर्न खोजेको यही हो । विडम्बना ! आज उनीहरूले आफ्नो स्वार्थलाई विकास र समृद्धिको रङ्ग लिपेका छन् । कसैले उनीहरूको स्वार्थी योजना तुहाउने प्रयास गरे वा विरोध गरे उनीहरूलाई विकासविरोधीको दोषारोपण गरी आफ्नो राजनीतिक र आर्थिक दुनो सोझ्याउन खोजिरहेका छन् । दशरथ रङ्गशालासमेत समयमै जीर्णोद्धार गर्न नसकेको राज्यसत्ताले हजारौं रोपनी जमिनमा गर्ने एकीकृत योजनामा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बनाइसक्ने कहिले ? त्यसरी बनेको रङ्गशाला वरपर घर बनाएर मोटरसाइकल र कारको पार्किङ गरेर ‘घरमा बसी बसी पैसा कमाउने कहिले ?’
खेलकुदको विकास हुनुपर्नेमा द्विविधा छैन । हरेक नागरिकलाई स्वस्थ बनाउन खेलकुद क्षेत्रको विकास आवश्यक छ । देशको नाम सर्वत्र उज्ज्वल बनाउन पनि खेलकुदको विकास अपरिहार्य छ । नेपाली युवाहरूले विदेशी रङ्गशालामा विजयको पदक भिरेको र नेपालमै पनि विदेशी स्टार खेलाडीलाई आमन्त्रण गर्नसक्नु निकै राम्रो कुरा हो । तर देशलाई कतिवटा रङ्गशालाको आवश्यकता छ र तिनको निर्माण कहाँ बनाउँदा देशको सन्तुलित विकासमा योगदान हुनसक्छ भन्ने विषयमा लेखाजोखा नगरी हचुवाको भरमा रङ्गशालाको आश्वासन बाँड्दै हिँड्नु ठीक होइन । खेलकुदमन्त्री र सरकार नयाँ रङ्गशाला बनाउन भाषण गर्नुअघि पहिले भएको रङ्गशालाको उचित बन्दोबस्त गर्न ध्यान दिनुपर्छ । रङ्गशाला समयमा नबन्दा तोकिएको प्रतियोगिता गर्न नसकेको सरकारलाई अन्तर्राष्ट्रिय स्तरको रङ्गशालाको कुरा गर्न नैतिकताले दिंदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *